News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो आम चुनाव २०१५ साल फागुन ७ गतेदेखि चैत्र २१ गतेसम्म भएको थियो।
- चुनावमा कांग्रेसको पिपलको रुख, कम्युनिस्टको मकैको घोगा र हँसिया, के. आई. सिंहको धानको बाला चिह्न प्रयोग भएको थियो।
आजभन्दा ठ्याक्कै ६७ वर्षअघि २०१५ सालमा नेपालमा पहिलो आम चुनाव भएको थियो । त्यसबेला चुनावको माहौल कस्तो थियो ? देख्ने र भोग्ने धेरै मान्छे यतिबेला धर्तीमा छैनन् । जसले देखेका छन्, भोगेका छन् उनीहरू सीमित छन् । त्यहीमध्येका एक हुन्, विष्णुप्रसाद गौतम ।
पर्वत राम्जा निवासी विष्णुप्रसादले त्यो समय उमेर नपुगेका कारण भोट हाल्न पाएनन् । त्यतिबेला अहिलेजस्तो १८ नभई भोट हाल्ने उमेर २१ वर्ष तोकिएको थियो । उनको उमेर एक वर्ष कम भयो ।
अहिले ८७ वर्ष पुगेका विष्णुप्रसाद यसपाली पनि भोट हाल्दैछन् । उनले त्यो समयको चुनावबारेका सम्झनाहरू सुनाएका छन् ।

विष्णुप्रसाद गौतमको अनुभव उनकै शब्दमा
त्यो समय अहिलेजस्तो धेरै चुनावको प्रचार–प्रसार हुँदैनथ्यो । देशभर फागुनको ७ गतेदेखि चैत्र २१ गतेसम्म चुनाव भएको थियो । त्यस बीचमा हाम्रो गाउँमा कुन दिन चुनाव भयो मिति थाहा छैन ।
खेतीपातीको काम केही थिएन । गाउँका मान्छेहरू फुर्सदिला थिए । फागुनकै महिना होकि जस्तो लाग्छ ।
गाउँका जान्नेसुन्नेले चुनावबारे कुरा गरेको सुनिन्थ्यो ।
कांग्रेसको पिपलको रुख चुनाव चिह्न भनेर प्रचार गरिएको थियो । कम्युनिस्टको मकैको घोगा र हँसिया चिह्न थियो । के. आई. सिंहको धानको बाला चिह्न थियो । गाउँमा अरूको चर्चा थिएन ।
रुख चिन्ह वालाले पिपलको रुख, पिपलको पात विष्णु भगवान हो, यसमा भोट हाल्दा धर्म हुन्छ भन्दै भोट माग्थे ।
धानको बालाले हामी किसानको पार्टी हो भन्थे । कम्युनिस्टले हामी दु:खी/गरिबको पार्टी हो भन्दै भोट माग्ने गर्थे ।
‘के. आई. सिंहको धानको बाला असिनाले खायो’ भन्दै मान्छेहरूले गीत पनि गाउँथे ।
चुनाव हुँदैछ, भोट हाल्न जानुपर्छ भनेर गाउँका मुखियाले कटुवाल घोकाएका थिए ।
अधबैंसे र बुढापाका लोग्नेमान्छे मात्रै भोट हाल्न गएका थिए । गाउँका कोही पनि महिलाहरू भोट हाल्न गएनन् । भोट हाल्नका लागि त्यो समय राम्जा ठाँटी पाठाशालामा जानुपर्थ्यो । हाम्रो गाउँबाट त्यहाँ पुग्न डेढ घण्टा जति लाग्थ्यो ।
उमेर पुगेकै पनि धेरै मान्छे भोट हाल्न गएनन् । त्यो बेला भोट किन हाल्नुपर्छ, भोट हाले के हुन्छ भन्ने कुरा पनि धेरै गाउँलेलाई थाहा थिएन् ।
पहिला केही ठाउँमा पद्म शमशेरले चुनाव गराए रे भन्ने सुनिन्थ्यो । हाम्रो गाउँमा चाहिँ चुनाव भएको त्यो नै पहिलो पटक थियो ।
घान्द्रुकेले जित्यो भनेर चुनाव सकिएको केही दिनपछि गाउँमा चर्चा भएको थियो । उनी कांग्रेसका मीनबहादुर गुरुङ थिए । गाउँतिर उनलाई घान्द्रुके भनेर चिनिन्थ्यो ।
प्रतिक्रिया 4