News Summary
Generated by OK AI. Editorially reviewed.- २०८२ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका दुवै क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेर वामपन्थी जनप्रतिनिधि विना रहन पुगेको छ।
- मकवानपुरमा विगत ३४ वर्षमा वामपन्थी दलले निरन्तर जित्दै आएका थिए, तर यसपटक रास्वपाले पहिलो पटक दुवै सिट जितेको छ।
- रास्वपाका प्रकाश गौतम र प्रशान्त उप्रेती कम्युनिस्ट पृष्ठभूमिका उम्मेदवार हुन्, जसले मकवानपुरको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएका छन्।
२४ फागुन, हेटौंडा । २०८२ को प्रतिनिधिसभा निर्वाचनले मकवानपुरको राजनीतिक धरातलमा ऐतिहासिक मोड ल्याएको छ ।
२०४६ सालमा बहुदल आएपछि भएका २०४८ यताका निर्वाचनमा कम्युनिस्टहरूले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ । मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्र ३ वर्षअघि मात्रै स्थापित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ ।
२०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ (३४ वर्ष) मा भएको निर्वाचनमा दुई पटक राप्रपाले र एक पटक मात्रै कांग्रेसले जितेको छ । त्यो पनि एउटा निर्वाचन क्षेत्र मात्रै । बाँकीमा वामपन्थी उम्मेदवार विजयी भएका थिए ।
२०५१ को मध्यावधि निर्वाचनमा मकवानपुर–१ मा राप्रपाका कमल थापाले र २०७९ मा राप्रपाकै दीपक सिंहले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाट पहिलो पटक कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । त्यसयता संघीय संसद्मा माओवादी जितविहीन छ । बाँकी सबै निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । जस्तोसुकै राजनीतिक परिस्थितमा पनि मकवानपुरले कम्युनिस्ट प्रतिनिधि नगुमाएको विगत अब इतिहासको पानामा सीमित बनेको छ ।
मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख यम सिलवाल देशको नेतृत्व कसलाई दिने वा नदिने भन्ने आम मतदाताको एउटै मनोबल बनेको कारण रास्वपाले जित निकालेको बताउँछन् । ‘मतदाताले स्थानीय उम्मेदवार चिनेको पाइँदैन्थ्यो । देशको नेतृत्व बालेनलाई दिलाउनुपर्छ र केपी ओली अब हुनुहुँदैन भन्ने मनोबलले मकवानपुरमा पनि यो नतिजा आएको हो,’ उनले भने ।
विगतका ७ वटा निर्वाचनमा मकवानपुरले वामपन्थी जनप्रतिनिधि पाइरह्यो । तर ३४ वर्षपछि अर्थात् २०८२ को निर्वाचनमा भने मकवानपुर वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको हो । कम्युनिस्ट साम्राज्य भत्किँदा दुवै सिट नयाँ दल रास्वपाले जित्यो । मकवानपुर–१ बाट रास्वपाका ३७ वर्षीय प्रकाश गौतम र २ नम्बर क्षेत्रबाट रास्वपाकै २५ वर्षीय प्रशान्त उप्रेती विजयी भए ।
गौतमले ३६ हजार ३३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले १४ हजार ३८ मत पाइन् । नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३, नेकपाका विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, राप्रपाका दीपकबहादुर सिंहले ४ हजार ५७४ मत पाएका छन् ।
२ नम्बर क्षेत्रबाट उप्रेतीले ३० हजार ५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत पाए । अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६, नेकपाका लवशेर विष्टले १२ हजार ४९२, उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७, श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका रामबहादुर थोकरले ७८५ मत पाए ।
रोचक के छ भने, दुवै विजयी प्रतिनिधि कम्युनिस्ट ‘स्कुलिङ’का हुन् । गौतम नेकपा माओवादीका पूर्वकार्यकर्ता हुन् भने उप्रेती नेकपा एमालेको संगठित सदस्य भएको परिवारका सदस्य हुन् । छोरा रास्वपाबाट उम्मेदवार बनेपछि उप्रेतीका बाबु ३५ वर्षदेखिको एमालेको संगठित सदस्यता त्यागेर चुनावी मैदानमा लागेको विषयले चर्चा नै पाएको थियो ।
कसले कहिले जितेका थिए चुनाव ?
मकवानपुरमा २०४८, २०५१ र २०५६ को निर्वाचनमा तीन वटा क्षेत्र थिए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा ४ वटा क्षेत्र बनाइयो । नयाँ संविधान जारीसँगै राज्य पुन:संरचना पश्चात् २०७४, २०७९ र २०८२ मा भएका प्रतिनिधिसभा निर्वाचनमा दुई वटा क्षेत्र भयो ।
२०४८ सालको निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहाल, विरोध खतिवडा र हिरण्यलाल श्रेष्ठ विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा कमल थापा (राप्रपा), विरोध खतिवडा (एमाले) र हिरण्यलाल श्रेष्ठ (एमाले) निर्वाचित भए ।
२०५६ सालको निर्वाचनमा पुन: एमालेकै कृष्णप्रसाद दाहाल, विरोध खतिवडा र वीरबहादुर लामा विजयी भए । थापा, दाहाल र खतिवडा निरन्तर निर्वाचन क्षेत्र १ र २ नम्बरबाट चुनाव लडेका थिए । श्रेष्ठ र लामाले ३ नम्बर क्षेत्रबाट जित निकालेका हुन् ।
१० वर्ष लामो सशस्त्र यद्ध चरमोत्कर्षमा पुगेपछि एकैपटक २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भयो । जसका लागि मकवानपुरमा चार वटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । चारवटै क्षेत्र तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवारले जिते । निरन्तर चुनाव जित्दै आएका एमालेका उम्मेदवार पराजित भए पनि मकवानपुरले वामपन्थी प्रतिनिधि नै पायो ।
२०६४ मा १ नम्बर क्षेत्रबाट दिलबहादुर घिसिङ, २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी, ३ नम्बर क्षेत्रबाट प्रल्हाद लामिछाने र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार सबै पराजित हुन पुगे र पुन: एमाले र एउटा निर्वाचन क्षेत्रमा कांग्रेसले पहिलो पटक जित निकाल्यो ।
२०७० को निर्वाचनमा १ नम्बर क्षेत्रबाट इन्द्रबहादुर बानियाँ (कांग्रेस), २ नम्बर क्षेत्रमा सुभाषचन्द्र ठकुरी (एमाले), ३ नम्बर क्षेत्रमा अनन्त पौडेल (एमाले) र ४ नम्बर क्षेत्रमा राजाराम स्याङ्तान (एमाले) विजयी भए । बानियाँले मकवानपुरमा पहिलो पटक कांग्रेसलाई जित दिलाए । ठकुरीले माओवादीका शीर्ष नेतृत्व भित्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।
२०७२ सालमा संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र एमालेले जित्यो । १ नम्बर क्षेत्रमा कृष्णप्रसाद दाहाल र २ नम्बर क्षेत्रमा विरोध खतिवडा पुन: निर्वाचित भए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १ नम्बर क्षेत्र राप्रपाका दीपकबहादुर सिंह र २ नम्बर क्षेत्र महेश कुमार बर्तौला (एमाले)ले जिते । यो निर्वाचनमा सिंह र बर्तौला उही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए तर चुनाव रास्वपा जित्यो ।
प्रतिक्रिया 4