+
+
Shares

नेपालको सबैभन्दा जवाफदेही प्रधानमन्त्री

त्यो मृत्यु होइन, हत्या नै थियो। त्यो सत्ताको बर्बरता थियो। आफूभन्दा दुई पुस्ता तलकाले केही गर्न सक्छन् भन्ने कल्पनासम्म नगरेकाहरूले, जसरी भए पनि सत्ता र शक्तिमै रहिरहन गरेको निर्दयीपनको हद थियो।

अमृता लम्साल अमृता लम्साल
२०८२ फागुन २४ गते १२:५६

भदौ २३ गते, २०८२ साल, सोमवारको दिन नेपालको इतिहासमा कहिले पनि क्षम्य हुन नसक्ने घटना घट्यो। प्रहरीले जता पायो उतै ताकेर प्रदर्शनकारीहरूमाथि गोली वर्षायो। कलिला विद्यार्थीको घाँटी, मुटु, छाती जताततै गोली लाग्न थाल्यो; ६ घन्टाको बीचमा १९ जनाको हत्या भयो।

त्यो मृत्यु होइन, हत्या नै थियो। त्यो सत्ताको बर्बरता थियो। आफूभन्दा दुई पुस्ता तलकाले केही गर्न सक्छन् भन्ने कल्पनासम्म नगरेकाहरूले, जसरी भए पनि सत्ता र शक्तिमै रहिरहन गरेको निर्दयीपनको हद थियो।

भोलिपल्ट, सायद धेरै अघिल्लो दिनको आक्रोश र अलिकति घुसपैठ (यसको जवाफ कार्की आयोगको रिपोर्टले दिन्छ होला!) ले अर्को विध्वंस मच्चियो। नेताका घर जले; सिंहदरबार जल्यो; सर्वोच्च अदालत जल्यो; थुप्रै व्यापारिक र सरकारी भवनहरू जले।

यो दिन यत्तिकै आएको थिएन। तीस वर्षदेखिको राजनीतिक र नीतिगत भ्रष्टाचारले नेताहरूले थुपारेका अकुत सम्पत्ति, देश र जनताको दिन–प्रतिदिनको समस्या समाधान नहुँदा भोगेको नैराश्यता, देशमा रोजगारी सिर्जना नहुँदा घरघरबाट खाडी, कतार, मलेसिया पुग्नुपर्दाको पीडा सबै समेटिएको थियो।

सोमवार शान्तिपूर्ण प्रदर्शनको आह्वान गरियो। मंगलवार जताततैको अराजक गतिविधिले विषम परिस्थितिको अवस्था खडा गर्‍यो। बुधवार ‘डिस्कोर्ड’ लगायतका सामाजिक सञ्जालबाट अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भनेर भोट गरियो। बिहीवार सरकार गठन गर्ने कानुनी कुराहरूबारे छलफल भयो र शुक्रवार नयाँ प्रधानमन्त्रीले शपथ खानुभयो। यति छिटो सत्ता परिवर्तन कहाँ हुनसक्छ होला !

यहाँनिर एउटा स्मरणीय कुरा के छ भने, युवाहरूको रोजाइमा देशले पहिलो महिला प्रधानमन्त्री पायो। यो निर्णय, महिला नै हुनुपर्छ भनेर भएको होइन; संकटको घडीमा युवाहरूको आड, भरोसा र विश्वास लिएर देश अगाडि बढाउन सक्ने नेतृत्वमा उहाँ छानिनुभयो। उहाँको नाम सुशीला कार्की थियो, जो देशको पहिलो महिला प्रधानन्यायाधीश हुनुहुन्थ्यो।

तर प्रधानमन्त्री भएको दिनदेखि पुराना सत्ताका चाटुकारहरूका साथै प्रायःजसो नेतृत्व पंक्तिका व्यक्तिहरूले समेत बस्न–खान दिएनन्। त्यतिमात्रै होइन, जुन नवयुवाहरूले उहाँको नाम डिस्कोर्डबाट छानेर पठाएका थिए, उनीहरूले समेत टोकस्न छाडेनन्; ‘अहिले नै सत्ता छाड्नुस् !’ भनेर धम्क्याइरहे।

उहाँमाथि कस्ता-कस्ता आरोप लगाइए भनेर लेख्न पनि लाज लाग्छ। कसैले पिसाब फेर्न बसेर उठ्न नसक्ने, कसैले पूर्वराजाका छोरीको सम्पत्तिसम्बन्धी मुद्दा हराइदिएकोले प्रधानमन्त्रीको पदमा रहन योग्य नभएको, कसैले सारी फेरि-फेरि लगाउने, कसैले विदेशीको दलालसँग मिलेर देश डुबाउन लागेको, कसैले देशलाई खरानी पारेर आफू सत्तामा जान चाहेको आदि-आदि आरोप लगाइरहे।

त्यो समयमा दुईवटी महिलाको हदैसम्म अपमान भइरह्यो; पहिलो- प्रधानमन्त्री कार्की र दोस्रो- बारबरा एडम्स। प्रधानमन्त्री कार्की त जीवित नै हुनुहुन्छ, उहाँमाथि लागेको आरोप त उहाँले चाहनुभएको खण्डमा जवाफ पनि दिन सक्नुहुन्थ्यो; तर उहिल्यै यो संसार छाडेर गइसकेकी बारबरा बारम्बार अपमानित भइरहनुभयो।

अर्का स्वघोषित नेता दुर्गा प्रसाईं र राजावादीहरूको डफ्फाले त सक्ने भए उहिल्यै कुर्सीबाट खेदिसकेका हुन्थे। अन्टसन्ट बक्ने ज्योतिषीहरूका त के कुरा गर्नु र !

यो सन्दर्भमा सबैभन्दा दुःख लागेको कुरा त, बारबरा एडम्स जीवित हुँदा रातदिन समय बिताएकाहरू हुन् वा फाउन्डेसनबाट मनग्गे फाइदा लिएकाहरूले समेत दिवंगत एडम्सलाई लगाइएको आरोपबारे एक शब्द बोल्न चाहेनन्। यहाँनिर अचम्म त के लाग्यो भने, जुन बारबराले पचासौँ वर्ष नेपालमा बिताएर दिवंगत हुनुभन्दा एकाध वर्ष अगाडिसम्म नेपाली नागरिकता लिनका लागि संघर्ष नै गरिरहनुपरेको थियो, यदि उहाँ वा त्यो संस्था त्यति शक्तिशाली थियो भने, उहाँले त्यतिबेलै आफूले चाहेको कुरा तुरुन्तै हासिल गर्न सक्नुहुन्नथ्यो होला ? खैर, यो सन्दर्भलाई यहीँ रोकौँ।

फागुन २१ गते चुनाव सिद्धिएपश्चात् पत्रकार तथा बुलबुल प्रकाशनका संस्थापक अच्युत घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, ‘भदौको अन्तिम हप्तादेखि लगातार वा आंशिक रूपमा प्रधानमन्त्रीलाई बारबराको नियुक्ति, विदेशी चलखेल, पक्षपोषण गर्न आएकी, कांग्रेस श्रीमान्‌की पत्नी भएकीले कांग्रेसलाई जिताउन आएकी, हिँड्न नसक्ने, प्रधानन्यायाधीश हुँदादेखि गल्ती गरेकी जस्ता घटिया स्तरको प्रहार भयो। यति मात्र कहाँ हो र ? लोकतन्त्र भँड्खालोमा पर्‍यो, प्रम पद पाउनकै लागि भदौ २३ मा सडकमा बोल्न आएकी, जेनजी आन्दोलनको तयारीमै यिनको हात थियो समेत भन्ने आरोप लगाए। प्रम खान उफ्रिँदै सडकमा निस्केकी जस्ता क्षुद्र वचन सोसियल मिडियामै लेख्नेहरूले कृपया आज उहाँको तारिफ नगर्नुहोला ! तपाईं दुईजिब्रे नबन्नुस् ! एउटा सर्तमा तपाईंले उहाँको तारिफ गर्न सक्नुहुन्छ- म सोसियल मिडियामा त्यसै बहकिने पिँध नभएको लोटा रहेछु, बल्ल बुद्धि फिर्‍यो; आइन्दा मनमा शंका लागेकै भरमा वा कसैको चरित्र हत्या गर्न जे पायो त्यही भन्ने छैन !’

रह्यो चुनावको कुरा। हामी ६ महिना भन्छौँ, तर पूरा ६ महिना उहाँले पाउनुभएन। ५ महिना र चानचुन समयमा आगोको भुङ्ग्रोमाथि सरकार बनाउन लगाएर ‘अनि ६ महिनाभित्र चुनाव गराऊ’ भन्नु आफैँमा तिमी पनि फेल भइहाल्छौ भनेर दिएको डेडलाइन थियो। नपत्याए सम्झिनुस् असोजदेखि आजसम्मका घटनाक्रम।

१५ दिनअघिसम्म पनि यो चुनाव पक्का हुन्छ भन्ने तपाईं-हामी कसैलाई ढुक्क थिएन। हिजोसम्म तरलताको फाइदा उठाउँदै नाथु एउटा फलित ज्योतिषसमेत उफ्रिँदै थियो- ‘चुनाव हुनै सक्दैन’ भनेर ! खोइ त उसको भविष्यवाणी मिल्यो ? अब मतगणना जेसुकै होस्, चुनाव भयो त। एक थोपो रगत नबगी चुनाव सम्पन्न भयो। ५५-६० प्रतिशत हाराहारीमा भोट खस्नु सफल चुनाव हो।

धमिलो पानीमाथि माछा मार्नेहरू कति थिए ? ‘बारम्बार चुनाव हुन्न, भए पनि निष्पक्ष हुन्न’ भनेर जनताको मनोविज्ञान बिगार्ने गरी कराइरहने एउटा ठूलो पार्टीका अध्यक्ष, सबैको नाडी छामिसकेर अन्त्यमा ‘राजावादी हुँ’ भन्दै सबैतिर मै हुँ भन्ने र राजा र धर्मको दुहाइ दिने अनि सरकार पूरा विदेशी इसाराको भन्ने देखाउन खोज्ने गुण्डा शैलीको एउटा शक्ति, जेनजी नाम भजाएर स्वार्थ पूर्ति गर्न तम्सेको अराजक अर्को झुन्ड, वर्षात्मा आएको त्यत्रो ठूलो बाढीपहिरो, अन्तर्राष्ट्रिय अहिलेको विषम परिस्थिति, त्यसमाथि पनि स्वच्छ छविका भन्दै हात जोडी-जोडी क्याबिनेटमा ल्याइएका सेलिब्रेटी मन्त्रीहरूको पार्टी खोल्ने मोह ! बाफ रे ! कुन कुराले साथ दियो र उहाँलाई ?’

हुन पनि, चुनाव हुने ठीक ६ दिन अगाडि कान्तिपुर रेडियोसँग गरेको कुराकानीमा भदौ २३ गते प्रदर्शनकारीहरूको आक्रोशबाट बच्न बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते चुनाव नहुने आशयको सन्देश दिइरहनुभएको थियो। तर चुनावको लगत्तै संविधानविद् भीमार्जुन आचार्यले सामाजिक सञ्जालमै लेख्न भ्याउनुभयो, परिणाम जसको पक्षमा जाला, सरकार जुन दलले बनाउला, तर अहिलेलाई तोकिएको समयमा चुनाव सम्पन्न हुनु नै एउटा उपलब्धि हो। यो हाम्रो बाध्यता हो। चुनाव हुन नसक्दाको अवस्था भयावह थियो। सामाजिक एकता, देशको दीर्घायु र सहज राजनीतिक वातावरण हाम्रो चाहना हो भने सरकार र यसको नेतृत्वको देवत्वकरण र भविष्यमा उनीहरूका लागि अर्को एक्स्ट्रा कन्स्टिच्युसनलजिम्मेवारीको वातावरण सेट गरिदिने काम बन्द गरौँ।

हामीले बिर्सनु हुँदैन, हिजोको संसद्का दलहरूले निर्वाचनमा भाग नलिइदिएको भए यो निर्वाचन सम्भव थिएन। सुरक्षा निकायको सार्थक सहयोग नरहेको भए यो निर्वाचन सम्भव थिएन। निर्वाचन आयोग र समस्त कर्मचारीहरू कर्तव्यनिष्ठ नभइदिएको भए यो निर्वाचन सम्भव थिएन। राष्ट्रपतिले दल र सरकारका बीच अभिभावकीय भूमिका निर्वाह नगरिदिएको भए यो निर्वाचन सम्भव थिएन। आम नागरिक, मिडिया, बुद्धिजीवी सबैले चुनावी माहोल निर्माण गर्न पहल नगरिदिएको भए यो निर्वाचन सम्भव थिएन। मतदाताहरू निर्वाचनमा सरिक नभइदिएको भए यो निर्वाचन सम्भव थिएन। अतः फेरि अर्को एक्स्ट्रा कन्स्टिच्युसनल र नन-कन्स्टिच्युसनलकामका लागि कसैलाई उचाल्ने र फुरकाउने मिसनमा नलागौँ। सबैको सामूहिक पहलबाट नै यो काम आधा सम्पन्न भएको हो। सबै चुनौती बाँकी नै छन्। देशको दीर्घायुको कामना गरौँ।

यो ६ महिनाको अवधिमा अत्यन्तै आदर र सम्मान आर्जन गर्न सफल हुनुभएकी प्रम कार्की, देशलाई भ्रष्टाचारीको चंगुलबाट जोगाउन आफ्नो जीवनको आहुति दिएका आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाहरू, अभिभावकीय भूमिका निभाउने सम्माननीय राष्ट्रपतिज्यू, निर्वाचन आयोगका पदाधिकारीहरूलगायत सबैलाई उच्च सम्मान

उहाँको अन्य कुरासँग असहमति राख्नुपर्ने कुरा छैन, बाहेक- ‘सरकार र यसको नेतृत्वको देवत्वकरण र भविष्यमा उनीहरूका लागि अर्को एक्स्ट्रा कन्स्टिच्युसनल जिम्मेवारीको वातावरण सेट गरिदिने काम बन्द गरौँ।’

हो, एक्स्ट्रा कन्स्टिच्युसनल जिम्मेवारीको वातावरण सेट गर्ने काम अब आइन्दा पक्कै गरिनु हुन्न; नयाँ सरकारले यसका लागि बेलैमा सोचेर संविधान संशोधन प्रक्रिया पनि सुरु गर्नुपर्छ। तर यसको मतलब प्रम कार्कीको नेतृत्वको सफलतालाई तारिफ गर्न कन्जुस्याइँ गर्नुपर्छ र ?

फेरि एकपटक अच्युत घिमिरेकै शब्दहरू सापटी लिऔँ, उहाँ भन्नुहुन्छ, ‘अहिले प्रधानमन्त्रीका लागि नाम प्रस्तावित भएका ४ जना पुरुष (वृद्ध वा तरुण) कसैमा पनि सुशीला कार्की जति क्षमता र धैर्य छैन भन्नेमा म ‘कन्फर्म’ छु। त्यसैले न भूतो न भविष्यति। सुशीला कार्की जस्तो सरकार प्रमुख पाउन हामीले वर्षौँ कुर्नुपर्छ। अब जो प्रधानमन्त्री बन्नेछ, उसले कम्तीमा सुशीला कार्कीलाई घोषित-अघोषित सल्लाहकार मानेर उहाँको अर्ति अक्षरशः पालना गर्‍यो भने धेरै सुधार हुनेछ भन्नेमा विश्वस्त छु।’

सामाजिक अभियन्ता साबित्रा ढकाल, प्रम कार्कीको नेतृत्वको सफलताबारे आफ्नो विचार राख्नुहुन्छ, ‘डिस्कोर्डबाट चयन गरिएको प्रधानमन्त्री नेपालको सबैभन्दा जवाफदेही प्रधानमन्त्री बन्न सफल ! नागरिकको मतबाट निर्वाचित प्रधानमन्त्रीहरू सरकार र आफूलाई मत दिने जनताप्रति जवाफदेही नदेखिएको अवस्थामा तपाईंले नयाँ मानक स्थापित गर्नुभयो। तपाईंले गर्विलो इतिहास रच्नुभयो र महिलाहरूलाई गर्व गर्ने अवसर दिनुभयो।’

केही व्यक्तिहरूले धमिलो पानीमा माछा मार्न पनि पछि सरेनन्; यसको उदाहरण पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आफैँ प्रधानमन्त्री बन्न तयार भएको क्षण पनि देखियो।

जेनजी आन्दोलनमध्येकै एक नेता मिराज ढुङ्गानाले त प्रम कार्कीलाई ‘कामचोर सरकार; तपाईंलाई जेनजीले प्रधानमन्त्री बनाएको होइन, कसले बनाएको हो ?’ भन्दै अपमानित गर्न भ्याए। कसैले लेखे, ‘सुशीला कार्की गलत उम्मेदवार हो भन्दा बुझ्न नखोज्ने जेनजीले देश अपहरणकारीको श्रीमतीलाई बुझाए’ समेत भन्न भ्याए। मानौँ, प्रम कार्कीको अस्तित्व भनेको बाटोमा हिँड्ने हरेकले ढुङ्गा हान्दै हिँड्न पाउने र सक्ने व्यक्तिसम्म सीमित रहेको थियो।

जति-जति उहाँमाथि अपमान र आरोपको बाढी बगिरह्यो, उति-उति यो मन पिरो भइरह्यो। अझ अनेक ‘कन्स्पिरेसी थ्यौरी’ पस्किएर चुनाव त कुनै हालतमा हुँदैन, देश सेना र विदेशीको हातमा गइसक्यो… आदि-आदि सुन्दा त रगत उम्लिएर आउँथ्यो। कतिसँग तातो बहसमा उत्रिनु; कतिका कुरा नसुनेको बहाना गर्नु !

उहाँलाई समयले समेत परीक्षा लिइरह्यो। सत्ता सम्हालेको केही दिनमै २०८२ असोज १७/१८ गते तुरुन्तै देशवासीका नाममा भिडियो सन्देश जारी गरेर जनताको दुःखमा सामेल हुँदै प्रम कार्कीले भन्नुभयो, ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस्। तपाईँहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्; हामी तपाईँहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ। म प्रस्ट पार्न चाहन्छु, तपाईँ यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोत तपाईँहरूसँगै छन्।’

त्यो बेलाको व्यवस्थापनले पनि खोट लगाउने ठाउँ छाडेन। तर नेकपा एमालेले त कुनै हालतमा कार्कीको सत्ता ढलाइछाड्ने प्रण नै गरेको थियो। त्यसको एउटा उदाहरण एमालेका नेता महेश बस्नेतले ‘एमालेले मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाको कारण सुशीला कार्की नेतृत्वको सरकार ढल्न सक्ने’ दाबी नै गरेका थिए। उनले सामाजिक सञ्जालमा लेखेर ५ गते ‘नेसनल भोलेन्टियर फोर्स’ले माइतीघरमा गर्ने मार्चपास र ६ गते एमालेले भृकुटीमण्डपमा गर्ने उपत्यका स्तरको सभाले सरकार ढाल्न सक्ने दाबी गरेका थिए।

अर्का स्वघोषित नेता दुर्गा प्रसाईं र राजावादीहरूको डफ्फाले त सक्ने भए उहिल्यै कुर्सीबाट खेदिसकेका हुन्थे। अन्टसन्ट बक्ने ज्योतिषीहरूका त के कुरा गर्नु र !

यो पंक्तिकारको स्वार्थी सोचमा एकपटक झस्का नपसेको होइन; जब उहाँका वयोवृद्ध पति दुर्गा सुवेदी पुस २० गते बिरामी परेर अस्पताल भर्ना हुनुभयो र उहाँलाई भारत लैजाने कुरा भयो। त्यतिबेला लाग्यो- लौ, अब उहाँ पनि जानुहुन्छ र त्यही अवधिमा केही भयो भने उहाँलाई असफल घोषित गर्ने मौका पाउँछन्। दुईजना मात्रै भएको परिवारमा त्यो असम्भव पनि थिएन; तर उहाँले त्यस्तो बेलामा पनि आफ्नो राज्यप्रतिको दायित्व छाड्नुभएन।

अन्त्यमा, उहाँ सफल प्रधानमन्त्री मात्रै होइन, पहिलो महिला प्रधानमन्त्री साथै पहिलो महिला प्रधानन्यायाधीश बनेर नेपालको इतिहासमा स्वर्ण अक्षरले नाम लेखाउन सफल हुनुभयो। नेपाली राजनीतिमा सक्षम महिला छैनन् भन्ने परम्परागत भाष्यलाई तोडेर ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको यो घडीमा नेपालले विश्वसामु सक्षम नेतृत्वको उदाहरण पेस गरेको छ।

उहाँको नेतृत्वमा सरकारमा रहेर उहाँलाई सघाउने अर्का दुई मन्त्रीहरू- अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको निरन्तर साथ/सहयोग उत्तिकै महत्त्वपूर्ण छ। उहाँहरूबाहेक अन्य मन्त्रीहरूले पनि परेको समयमा साथ दिनुभयो नै, बीच बाटोमा छाडेर आफ्नो स्वार्थ पूर्ति गर्न हिँड्ने केही मन्त्रीहरू त धोकेबाज नै ठहरिए।

अब लयमा फर्किएको देशमाथि फेरि कसैले खेलबाड नगरुन्, महिला सहभागिता र महिला नेतृत्वलाई कम आँक्ने काम पनि नगरुन् !

यो ६ महिनाको अवधिमा अत्यन्तै आदर र सम्मान आर्जन गर्न सफल हुनुभएकी प्रम कार्की, देशलाई भ्रष्टाचारीको चंगुलबाट जोगाउन आफ्नो जीवनको आहुति दिएका आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाहरू, अभिभावकीय भूमिका निभाउने सम्माननीय राष्ट्रपतिज्यू, निर्वाचन आयोगका पदाधिकारीहरूलगायत सबैलाई उच्च सम्मान।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?