+
+
Shares
८ मार्च विशेष :

असीम बधाई सुशीला कार्कीलाई

नारीहरू कमजोर हुने त दृढ नभएर, नडटेर मात्र रहेछ। खोइ हाम्रो समय र अठोट केले खाइदिएको छ र हामी यसै अल्मलिन पुग्छौँ?

ज्योति जङ्गल ज्योति जङ्गल
२०८२ फागुन २४ गते ९:२५
Listen News
0:00
0:30
🔊

स्तरीय न्याय सम्पादनको कार्यक्षमता, न्यायिक निष्पक्षता, विद्वत्ता र निडर फैसलाका आधारमा एक दशकअघि सर्वोच्च अदालतमा न्यायाधीश पदका लागि छानिएकी थिइन्, सुशीला कार्की। उनी २०७३ सालमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। त्यसभन्दा अघि विराटनगरमा रही काम गरिरहेकी उनी प्रधानन्यायाधीश भएपछि एकाएक चर्चामा आइन्, जब उनीमाथि २०७४ वैशाखमा संसद्‌मा महाभियोग दर्ता गरियो। उनी प्रथम महिला प्रधानन्यायाधीश त भइन् नै, यति मात्र होइन, प्रथम महिला प्रधानमन्त्री पनि भएर नेपालमा नयाँ इतिहास रच्न सफल भइन्।

हुन त कुनै सरकारले आफ्ना मनमौजी निर्णयका पक्षमा नउभिने, निष्पक्ष न्यायिक व्यवस्था चलाउने र कुनै कुरामा मत बाझिँदा आफ्नो बाटोबाट पन्छाउन महाभियोगको हतियार चलाएर संवैधानिक निकायका प्रमुखहरू हटाउने कार्य यो देशमा मात्र होइन, विश्वभरि नै हुने गरेको पाइन्छ। यस्तो कुत्सित उद्देश्य पूरा गर्न व्यवस्थापिकामा उच्चपदस्थ व्यक्तिका विरुद्ध महाभियोग लगाई यो व्यवस्थाको दुरुपयोग पनि हुने गरेको देखिन्छ।

यो महाभियोग पनि यिनका विरुद्ध फितलो साबित भयो, जुन सातै दिनमा सर्वोच्चले फिर्ता लिन लगायो। त्यो लज्जास्पद काम नेपालको तत्कालीन संसद्‌ले गरेको थियो, तर यसले उनलाई सत्यको पक्षमा उभिन अझै दह्रो बनाइदियो।

साधारण पहिरनभित्र बसेको असाधारण व्यक्तित्वको समयले सदैव लेखा राखिरहँदो रहेछ। यसपालि भदौ २३ र २४ को जेनजी आन्दोलनको पछाडि सरकारको नेतृत्व खोज्दा सबैको भरोसा यिनमा गयो। यिनको निष्पक्ष व्यक्तित्वले फेरि कार्यपालिकाको बागडोर सम्हालेर छ महिनाभित्र चुनाव सम्पन्न गर्ने महत्त्वपूर्ण अभिभारा पायो र सरकार चलाउने जिम्मा यिनको काँधमा आइपर्‍यो।

स्पष्ट बोल्नलाई निजी लोभको तगारो जिब्राभित्र हुनुहुँदैन, जसका लागि सरल र सामान्य जीवनशैली अपनाउन जरुरी हुन्छ। यिनको चरित्रको पहिचान यही हो। बोल्न, कुनै कुरामा आफ्नो धारणा राख्न गहिरो ज्ञानको खाँचो हुन्छ। यिनको बौद्धिक कसरतको आधार अध्ययन हो र आफूले नजानेका कुरा “म जान्दिनँ” भन्न सहज मान्नु हो। यिनको साहसको तह आफूले अपराध गरेको छैन भनेर आफैँलाई विश्वास दिलाउन सक्ने गरी काम गर्नु हो, अर्काले के पो भनिहाल्छ कि भनी नअल्मलिनु पनि हो।

उनी सरकारमा आउँदा हजारौँ घाइते युवाहरू अस्पतालभरि थिए। पचासौँ युवाको मृत्यु भएको थियो र गोलीका छर्रासँगै छरिएका तिनका आलो रगतका टाटाहरू बाटोभरि छरिएका थिए। उनी अस्पतालका बेडमा गएर घाइतेलाई छातीमा लिन्थिन् र हुरुक्क भएर आँसु थामेर निस्किन्थिन्।

सरकारमा आएपछि यिनले उमेर र शारीरिक असक्षमताका सम्बन्धमा अनेकौँ व्यङ्ग्य पनि खप्नुपर्‍यो। ‘कसरी गर्दिरहिछे हेरम् न त!’ भन्नेहरू धेरै थिए। अवकाशप्राप्त जीवनमा पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा लेखहरू छपाइरहेकी, अध्ययनलाई लगातार जारी राखिरहेकी, पूर्वप्रधानन्यायाधीशसमेत भइसकेकी उनलाई आइमाई मात्र ठान्नेहरूले कति हो कति ‘ट्रोल’ बनाउँथे। केही समय त सरकारमा बस्ने मान्छे चयन गर्न नै धौधौ पर्ने स्थिति थियो।

संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा जारी थियो। उनलाई सरकार प्रमुख हुन अनुरोध गर्नेहरू नै अनेक गुट-उपगुटमा बाँडिएका थिए र ‘आजै सत्ता छोड’ भनेर दिनहुँ धम्क्याइरहन्थे। आन्दोलनमा दुःख पाएकाहरूका अनेक माग र अनेक दबाब थिए।

आन्दोलनले सुरक्षा निकायको मनोबल धरमर-धरमर बनाएको थियो। सिंहदरबार, संसद्, संवेदनशील सरकारी निकायका भवनहरू, देशभरका कतिपय नगरपालिका, प्रहरी चौकी, वडा कार्यालयसमेत डढेर ध्वस्त भएका थिए। ओहो! आज त्यो विध्वंस सम्झिँदा शरीरै सिरिङ्ग हुन्छ। त्यस्तो बेला यिनी प्रधानमन्त्री चुनिएकी थिइन्।

देशको प्रमुख पदमा भएर पनि यिनमा पदीय अहम् कतै देखिएन। तर यिनलाई पदीय दायित्व के हो भन्ने राम्रो थाहा थियो। अनवरत खटेर, सानो हुने ठाउँमा सानो भएर, आमा हुने ठाउँमा आमा भएर, आदेश दिने ठाउँमा अडिग भएर, फकाउनुपर्ने ठाउँमा फकाएर यिनले आफ्नो अहम् भूमिका निभाएरै छाडिन्। यिनले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराएर छाडिन्। यिनले इतिहासको एउटा सुन्दर अभिलेख तयार गरिन्।

अघिल्लो वैशाखमा हाम्री आमाले संसार छोडेर जानुभएपछि मैले यिनैलाई चुनाव सकिएको दिन ‘आमा!’ भनेर सम्बोधन गरेँ। ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको माहोल छ। न्याय, आशा र स्वच्छताका तीन रङहरूले हृदय र मस्तिष्कदेखि नै रङ्गिएकी प्रधानमन्त्री सुशीला कार्कीप्रति असीम बधाई र श्रद्धा व्यक्त गर्दै आफैँतिर औँला ठड्याउन मन लागिरहेछ।

नारीहरू कमजोर हुने त दृढ नभएर, नडटेर मात्र रहेछ। खोइ हाम्रो समय र अठोट केले खाइदिएको छ र हामी यसै अल्मलिन पुग्छौँ? यो वर्षको नारा छ- ‘अवसर दिए प्राप्ति हुन्छ!’ सुशीला आमा अवसर र प्राप्तिको समुच्च नाम हो!

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
ज्योति जङ्गल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?