+
+
Shares

पार्टीका संगठित सदस्यले नै दिएनन् भोट !

विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ फागुन २८ गते २१:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले २०७९ को निर्वाचनमा समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत पाएकोमा २०७९ को तुलनामा २१ फागुन १४ लाख ५३ हजार १४० मत पाएको छ।
  • एमालेको संगठित सदस्य संख्या १२ लाख ६९ हजार १६१ रहेकोमा दुई तिहाई सदस्यले भोट नहालेको एमाले नेताहरूले बताएका छन्।
  • नेकपाले माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठित सदस्य संख्या ९ लाख १९ हजार ३८२ हुँदा समानुपातिकमा ८ लाख ११ हजार ५७७ मत मात्र पाएको छ।

२८ फागुन, काठमाडौं । एमालेले २०७९ को निर्वाचनमा समानुपातिकमा सबैभन्दा बढी अर्थात् २८ लाख ४५ हजार ६४१ मत पाएको थियो । यसपाली २१ फागुनको मतदानमा भने एमालेको चिह्न सूर्यमा जम्मा १४ लाख ५३ हजार १४० मत पर्‍यो ।

अघिल्लो निर्वाचनको तुलनामा एमालेको लोकप्रिय मत आधाले घटेको हो । त्यो भन्दा पनि रोचक त के छ भने एमालेले संगठित सदस्य संख्याकै हाराहारीमा मात्र समानुपातिक मत पाएको देखिन्छ ।

जेनजी आन्दोलनको अघिल्लो दिन गत भदौ २२ मा सम्पन्न विधान महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले संगठित सदस्य संख्या १२ लाख ६९ हजार १६१ जना रहेको बताएका थिए । संगठन विभागको अभिलेख अनुसार संगठित सदस्य ६ लाख ६७ हजार ११४ जना छन् ।

संगठित सदस्यले नै भोट हालेनन्

कतिपय जिल्ला र क्षेत्रमा त एमालेका संगठित सदस्यले सूर्यमा मत नदिएको देखिन्छ । दुई तिहाई संगठित सदस्यले नै भोट नहालेको पाइएको एमाले नेताहरू बताउँछन् ।

त्यस्तै, मध्येको एउटा क्षेत्र हो, महोत्तरी–४ । जहाँ १४ हजार ६३७ जना संगठित सदस्य रहेको एमाले संगठन विभागको अभिलेख छ । त्यसक्षेत्रबाट एमालेले पाएको समानुपातिक मत भने जम्मा ४ हजार ९९५ छ ।

समग्र मधेश प्रदेशमा भने संगठित सदस्य भन्दा प्राप्त मत थोरै बढी छ । मधेशमा एमालेका १ लाख ५६ हजार १९५ सदस्य छन् । यो प्रदेशबाट उसले पाएको मत १ लाख ८७ हजार ९०१ छ ।

यो भन्दा विजोक अवस्था छ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को । चुनाव अघि नै २६ वटा विभिन्न घटक मिलेर बनेको यो पार्टीले साविक माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठित सदस्य संख्या जति पनि समानुपातिक मत ल्याउन सकेन ।

नेकपामा एकीकरण हुनुअघिको माओवादी केन्द्रका ७ लाख ५२ हजार ९५६ र एकीकृत समाजवादीको सदस्य संख्या १ लाख ६६ हजार ४२६ थिए ।

नेकपाले समानुपातिकमा पाएको कुल मत भने ८ लाख ११ हजार ५७७ मत छ । जबकी माओवादी र एकीकृत समाजवादी संगठित सदस्य नै ९ लाख १९ हजार ३८२ पुग्छ ।

कोशी, मधेश र गण्डकी प्रदेशमा त झन नेकपाले माओवादी केन्द्रको मात्र संगठित सदस्य भन्दा पनि कम मत पाएको छ । माओवादी केन्द्रको सदस्य संख्या ९९ हजार ६०१ भएको कोशीमा नेकपाले ९७ हजार ६७९ मत प्राप्त गर्‍यो ।

त्यस्तै, मधेशमा सदस्य संख्या १ लाख १६ हजार ९७५ र नेकपाले पाएको मत १ लाख ७ हजार ६१२ छ । गण्डकीमा माओवादीको संगठित सदस्य ६६ हजार ६८७ रहेकोमा नेकपाले पाएको मत ५७ हजार ८७६ छ ।

माथिको हिसाबमा भीम रावलको मातृभूमि जागरण अभियान, रन्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी (नाउपा), महिन्द्रराय यादवको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंहको नेकपा (साम्यवादी), सुवासराज काफ्लेको जनसमाजवादी पार्टी, चिरन पुनको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी समाजवादी) लगायतको सदस्य संख्या जोडिएको छैन ।

क्रियाशील सदस्य र कांग्रेसले पाएको भोट

समानुपातिकतर्फ कर्णाली बाहेक कुनै पनि प्रदेशमा कांग्रेस पहिलो हुन सकेन । कर्णालीमा पनि दोस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा जम्मा साढे सात हजार मत बढी छ । यो प्रदेशमा कांग्रेसको क्रियाशील सदस्य नै ५५ हजार ५६६ जना छन् । २०७८ मै कांग्रेसका त्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ पुगेको थियो । त्यसमध्येका ४ लाख ४३ हजार ६७८ नयाँ थिए ।

निर्वाचन अघि विशेष महाधिवेशन गरेर ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भनेर निर्वाचनमा होमिएको कांग्रेसले समानुपातिकमा जम्मा १७ लाख ५९ हजार १७२ मत पायो । २०७९ को तुलनामा यो मत १० लाखले कम हो ।

एक जना क्रियाशील सदस्यले कति मत बढाउँछ ?

कुनै पार्टीको सदस्यता लिनु भनेको आफूले उक्त पार्टीलाई भोट दिने सुनिश्चिता मात्र होइन । सदस्यको दायित्व पार्टीको उद्धेश्य पुरा हुने गरी काम गर्नु पनि हो ।

संगठित सदस्य वा क्रियाशील सदस्यले औसतमा १५ मतदातालाई आफ्नो पार्टीतर्फ आकर्षित गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापकद्वय डोनल्ड पी. ग्रीन र एलान एस. गार्वरले आफ्ना पुस्तक ‘गेट आउट दि भोटः हाउ टु इनक्रिज भोटर टर्न आउट’ मा पार्टीको संगठित सदस्यको भूमिकाबारे विश्लेषण गरेका छन् ।

सामान्य सक्रिय पार्टी सदस्यले ५ देखि २० र अत्यन्त सक्रिय तथा प्रभावशाली सदस्यले २० देखि ३० मतदातालाई प्रभावित पार्न सक्ने उनीहरूले उल्लेख गरेका छन् ।

विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो । उनी भन्छन्, ‘संगठित सदस्य बन्नु भनेको परिआउँदा पार्टीको पक्षमा लड्नभिड्न तयार हुनु पनि हो ।’

पार्टीको कुल संगठित सदस्य संख्या जति पनि मत नआउनु अध्ययनकै विषय भएको उनको निश्कर्ष छ । डा. माबुहाङ भन्छन्, ‘नेपाल जस्तो सामाजिक संरचना भएको देशमा श्रीमान्–श्रीमती वा परिवारका अन्य सदस्यले सामान्यतया सल्लाह गरेरै भोट हाल्छन् । पार्टीलाई भोटै नहाल्नेलाई त कसरी संगठित वा क्रियाशील सदस्य मान्न सकिएला र ?’

विश्लेषक डा. बालकृष्ण माबुहाङ
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?