News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०७९ मंसिरको चुनावपछि पहिलो दलको हैसियत कायम गर्दै प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।
- नेपाली कांग्रेसले २०७९ को चुनावमा पहिलो दलको हैसियत पाएको भए पनि यसपटक प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित दोस्रो दल बनेको छ।
- नेकपा एमालेले २०७९ को तुलनामा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १४ लाख मत पाउँदै तेस्रो दलको हैसियत कायम गरेको छ।
२७ फागुन, काठमाडौं । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको आम निर्वाचनमा विभिन्न ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाउने गरी मत पाए । यसमध्ये श्रम संस्कृति पार्टी यसपटक उदाएको नयाँ दल हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ मंसिरको चुनावबाट उदाएको पार्टी हो । रास्वपाले भने विघटित प्रतिनिधिसभामा संसदीय अभ्यासको अनुभव लिइसकेको छ ।
विघटित प्रतिनिधिसभामा राष्ट्रिय दलको रुपमा रहेका रास्वपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुनः राष्ट्रिय दलको हैसियत कायम राखेका हुन् ।
राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत मत ल्याउनु पर्दछ ।
यसअनुसार विघटित प्रतिनिधिसभामा रहेका दलहरू नै पहिलो, दोस्रो, तेस्रो, चौथो दल भएका छन् । तर उनीहरूको हैसियतमा भने उलटफेर भएको छ ।
विघटित प्रतिनिधिसभामा चौथो दलको रुपमा रहेको रास्वपा यसपटक झण्डै दुई तिहाइ मतसहित पहिलो दल बनेको छ । ७ असार २०७९ मा जन्मिएको यो पार्टीले २०७९ मंसिरको चुनावमा प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिक तर्फ १३ सिट पाएको थियो ।
त्यसबेला कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बने । त्यसपछि रिक्त तनहुँ-१ मा भएको उपनिर्वाचनबाट एक एक सिट थपेर रास्वपाले सांसद्को संख्या २१ पुर्याएको थियो ।
२१ सिटबाट बढेर यसपटक रास्वपा एकैपटक दुई तिहाइ नजिक पुगेको हो । प्रत्यक्षतर्फ यसले १२५ सिट जितेको छ ।
समानुपातिक तर्फ रास्वपाले २०७९ सालमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो । यसपटक बढाएर ५१ लाख ८१ हजार ३३० पुर्याएको छ । आयोगले अन्तिम केही मत इन्ट्री गरिरहेको छ । केही मत बढ्न सक्छ । यो मतका आधारमा रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाउँदा उसको प्रतिनिधिसभामा १८२ जना सांसद हुनेछन् । रास्वपाको यो छलाङमा अन्य दल निकै खुम्चिएका छन् ।
इतिहासकै कमजोर कांग्रेस
२०७९ सालको निर्वाचनबाट विघटित प्रतिनिधिसभामा पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस निकै कम सिटसहित यसपटक दोस्रो भएको छ ।
कांग्रेसले २०७९ मा प्रत्यक्षतर्फ ५७ सिट जितेको थियो भने समानुपातिक तर्फबाट ३२ सिट पाएको थियो । यसपटक प्रत्यक्षतर्फ कांग्रेसले केवल १८ सिट जितेको छ । २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको थियो । यसपटक दश लाख कम अर्थात् १७ लाख ५८ हजार ९०३ मत पाएको छ । यो समानुपातिक मतका आधारमा कांग्रेसले २० सिट पायो भने उसको प्रतिनिधिसभामा ३८ सिट हुनेछ ।
कांग्रेस नेपालको साढे सात दशक पुरानो पार्टी हो । यसले २०१५ साल देखिका हरेक चुनाव लडेको छ र एउटा शक्तिको रुपमा रहँदै आएको छ । २००६ सालमा स्थापना भएको यो पार्टीले २०१५ सालमा दुई तिहाइ बढी मत ल्याएको थियो ।
त्यसबेला १०९ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७४ सिट जितेको थियो । यो चुनावपछि पार्टीका संस्थापक बीपी कोइराला प्रधानमन्त्री भए । तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कु गरेर प्रजातन्त्र खोसे । पञ्चायती व्यवस्था चलाए । २०४६ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि २०४८ सालमा भएको निर्वाचनमा पनि कांग्रेसले एकल बहुमत ल्यायो ।
त्यसबेला २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ११० क्षेत्र जित्यो । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । तर, कांग्रेसभित्रको अन्तरद्वन्द्वले प्रतिनिधिसभा विघटन भयो ।
२०५१ सालमा मध्यावधि चुनाव हुँदा कांग्रेस दोस्रो दल बन्यो । मध्यावधिमा ८३ सिट मात्रै जित्न सकेको कांग्रेसले २०५६ सालको निर्वाचनमा पुनः बहुमत पायो । त्यसबेला कांग्रेस एक्लैले ११३ सिट जितेको थियो । त्यसपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । फेरि अन्तरद्वन्द्व भयो र शेरबहादुर देउवाले पार्टी फुटाए ।

२०६२/६३ सालको संयुक्त जनआन्दोलनपछि कांग्रेस एक भयो । २०६४ सालको पहिलो संविधान सभामा निर्वाचन क्षेत्र बढेर २४० कायम भयो । कांग्रेसले ३७ सिट मात्रै जित्दै दोस्रो शक्ति बन्यो ।
२०७० सालमा कांग्रेसले १०५ सिट जित्यो । २०७२ सालको संविधानले निर्वाचन क्षेत्र घटाएर १६५ कायम गरेपछिको निर्वाचन २०७४ सालमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्यो ।
२०७९ सालको चुनावबाट प्रत्यक्ष र समानुपातिकसहित ८९ सिट पाएर पहिलो दल बनेको कांग्रेस यसपटक पुनः दोस्रो भएको छ । पहिलो र दोस्रोको ग्याप निकै धेरै छ ।
प्रत्यक्षतर्फ सिङ्गल नम्बरमा एमाले
यसपटकको निर्वाचनमा नेकपा एमाले पनि उस्तैगरी खुम्चिएको छ । एमालेले २०७९ सालमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट जितेको थियो । यसपटक प्रत्यक्षतर्फ ९ सिटमा सीमित भएको छ भने समानुपातिक मत निकै घटाएको छ ।
२८ लाख ४५ हजार ६४१ मत ल्याएर २०७९ मा एमाले समानुपातिक तर्फको पहिलो दल बनेको थियो । पपुलर मतमा पहिलो पार्टी बनेको भनेर एमालेले यसलाई ठूलो उपलब्धीको रुपमा प्रचार समेत गरेको थियो । यसपटक एमालेले अघिल्लो निर्वाचनको तुलनामा समानुपातिकतर्फ आधा मात्रै मत अर्थात्, १४ लाख ५५ हजार ६६९ मत पाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा स्थापना भएको हो । नेपाल कम्युनिस्ट पार्टीले २०१५ सालको चुनावमा भाग लिएको थियो र ४ सिट जितेको थियो । यो पार्टीको लिगेसीमाथि दावी गर्दै आएको एमाले २०४८ सालदेखि एउटा बलियो शक्तिको रुपमा रहँदै आएको छ ।
२०४८ सालमा दोस्रो ठूलो दल भएरर एमाले प्रमुख प्रतिपक्ष बनेको थियो । त्यसबेला २०५ सिटका लागि भएको निर्वाचनमा एमालेले प्रत्यक्षमा ५९ सिट जितेको थियो । एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा ८८ सिट पायो र सबैभन्दा ठूलो दल बन्यो । एमालेबाट मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए । २०५६ सालमा फेरि दोस्रो शक्ति बन्यो । त्यसबेला प्रत्यक्षमा ७१ सिट जित्यो ।
२०६४ सालको पहिलो संविधान सभामा निर्वाचन क्षेत्र बढेर २४० कायम भयो । एमाले प्रत्यक्षमा ३३ सिट ल्याएर तेस्रो भयो । २०७० मा एमालेले प्रत्यक्षमा ९१ सिट जित्यो । २०७२ को संविधानले निर्वाचन क्षेत्र घटाएर १६५ कायम गरेपछिको निर्वाचन २०७४ मा एमालेले प्रत्यक्षमा ८० सिट जित्यो र समानुपातिक समेत गरी १२१ सिट पुर्याए पहिलो दल बन्यो ।
२०७९ को चुनावबाट प्रत्यक्ष र समानुपातिकसहित ७९ सिट पाएर दोस्रो दल बन्यो । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ भने एमाले पहिलो दल थियो । जेनजी आन्दोलन हुँदा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । यसपटकको निर्वाचनमा एमाले प्रत्यक्षमा ९ सिट जितेर तेस्रो भएको छ ।
०४८ सालको जनमोर्चाकै हालतमा नेकपा
नेपाली कम्युनिस्ट पार्टीको अवस्था पनि विगतको तुलनामा निकै खस्किएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।
तत्कालीन नेकपा माओवादी केन्द्रले २०७९ सालको चुनावमा प्रत्यक्षतर्फ १८ सिट जितेको थियो भने समानुपातिक तर्फबाट १४ सिट पाएको थियो । त्यसबेला नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको थियो । एकीकृत समाजवादीले समानुपातिकतर्फ भने थ्रेसहोल्ड कटाएको थिएन ।
यी दुवै दलसहितका अन्य कम्युनिस्ट घटक समेत मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले यसपटक प्रत्यक्षमा आठ सिट जितेको छ भने समानुपातिकतर्फ आठ लाख ११ हजार ३९३ मत पाएको छ ।
यो पार्टीको मुख्य पृष्ठभूमि २०५२ सालदेखि १० वर्षसम्म चलेको तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्ध हो । जसले नेपालमा समावेशिता, धर्मनिरपेक्षतासहितको गणतन्त्रात्मक शासन व्यवस्थामा नेपाललाई रुपान्तरण गर्न सक्यो ।

शान्ति प्रक्रियापछि यो २०६४ सालमा भएको पहिलो संविधान सभाको चुनावमा सबैभन्दा ठूलो दल बनेर उदाएसँगै यो नेपालको संसदीय राजनीतिमा एउटा शक्तिको रुपमा निरन्तर छ ।
तर, सशस्द्ध युद्धमा होमिनु अगाडि २०४८ सालको निर्वाचनमा भाग लिएको संयुक्त जनमोर्चासँग यसको सम्बन्ध छ । त्यसबेला संयुक्त जनमोर्चाको ९ सिट थियो । यही पार्टीले पार्टीको नाम माओवादी राखेर दश वर्ष सशस्त्र युद्ध गरेका हुन् ।
शन्ति प्रक्रियामा आएपछि माओवादीले भाग लिएको पहिलो चुनाव २०६४ हो । त्यसबेला प्रत्यक्षमै १२० सिट जितेर माओवादी सबैभन्दा ठूलो शक्ति बनेको थियो ।
२०७० को चुनावमा प्रत्यक्षमा २६ सिट जितेर तेस्रो दलमा झर्यो भने २०७४ को चुनावमा पनि प्रत्यक्षमा ३६ सिट जितेर तेस्रो दलकै हैसियत कायम राख्यो ।
२०७९ को चुनावमा प्रत्यक्षतर्फ १८ सिट र समानुपातिक तर्फबाट १४ सिट पाएर तेस्रो दलकै रूपमा रह्यो । ३२ सिटको पार्टी भएपनि यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८ महिना सरकारको नेतृत्व गरे ।
यसपटक अघिल्लो निर्वाचनमा भन्दा आधा कम सिट पाउँदै नेपाली कम्युनिस्ट पार्टी चौथो दलको रुपमा प्रतिनिधिसभामा रहने भएको छ ।
संसद्मा निरन्तर राप्रपा
राप्रपाको अवस्था यसपटक अघिल्लो निर्वाचनको तुलनामा खुम्चिएको छ । अघिल्लो पटक राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको थियो भने समानुपातिक तर्फबाट ६ सिट पाएको थियो । यसपटक प्रत्यक्षतर्फ एउटा मात्रै सिट जित्न सकेको छ । २०७९ मा ५ लाख ८८ हजार ८४९ मत पाएको राप्रपाले यसपटक ३ लाख ३० हजार ६४९ मत पाएको छ ।
अवस्थामा उतारचढाव रहेता पनि राप्रपा २०४८ सालदेखि संसद्मा निरन्तर रहेको दल हो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांगे्रस र वामपन्थी दलमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका हुन् । पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए ।

तर, एकीकृत पार्टी बनाउन सहमति नजुटेपछि प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपाको जन्म भयो ।
एकताको पहल हुँदै गर्दा नेताहरूबीच सहमति नजुट्दा एकै दिन (२०४७ जेठ १५) राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो ।
जनआन्दोलनद्वारा स्थापित अन्तरिम मन्त्रिपरिषद्ले २०४८ वैशाख २९ मा तल्लो सदन अर्थात् प्रतिनिधि सभाको आमनिर्वाचन सम्पन्न गर्यो । आमनिर्वाचनमा राप्रपा (चन्द) का तीन जना र राप्रपा (थापा) का एक जना उम्मेदवारमात्रै प्रतिनिधि सभा सदस्य निर्वाचित भए ।
२०५१ को मध्यावधि निर्वाचनमा पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २० सिटसहित तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा चन्द र २०५४ मा कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बने । सत्तामोहले राप्रपामा फेरि विभाजन ल्यायो । २०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे ।
२०६४ मा राप्रपाले प्रत्यक्षमा १२ सिट जितेको थियो । २०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच २०७३ मंसिर ५ मा एकता भयो र संविधान सभामा एउटा ठूलो शक्तिको रुपमा रह्यो ।
२०७४ मा कमल थापा समूहले गाई, राप्रपाको अर्को समूहले गोलाकारभित्र हलो र तेस्रो समूहले वर्गाकारभित्र हलो चुनाव चिह्न लिएर चुनाव लडे । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देनबाहेक कसैले पनि चुनाव जित्न सकेनन् ।
२०७४ मा राप्रपाको तर्फबाट संसद्मा एक्लै रहेका लिङ्देन २०७९ को निर्वाचनपछि १३ सिटसहित पुनः प्रतिनिधिसभामा प्रवेश गरेका थिए । यसपटक भने लिङ्देन आफैँले चुनाव जितेनन् ।
तथापि, प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ । समानुपातिकतर्फबाट ४ सिट पाउँदा राप्रपाको प्रतिनिधिसभामा ५ सिटसहितको उपस्थिति रहनेछ ।
यसपटक श्रम संस्कृति नयाँ पार्टीको रुपमा उदाएको छ । यसले राप्रपा भन्दा बढी मत पाएको छ । यसले अहिले झण्डै ३ लाख ८५ हजार ८ सय ५२ मत ल्याएको छ । यो पार्टीका ४ जना समानुपातिक सांसद हुनसक्छन् ।
निर्वाचन आयोगले मतगणना सकेपनि तथ्यांक प्रशोधन गरिरहेकाले केही मत अझै बढ्न सक्छ ।
प्रतिक्रिया 4