News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, जसमा ३७ जिल्लाबाट कुनै पनि सांसद चयन भएका छैनन्।
- समानुपातिक सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २० र नेकपा एमालेका १६ सांसद छन्।
- काठमाडौंबाट सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद निर्वाचित भएका छन्, जसमा रास्वपाका १० जना छन्।
३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ । २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन् ।
तर, फरक फरक दलबाट सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन । यसपटक समानुपातिकतर्फ ३७ जिल्लाबाट सांसदको प्रतिनिधित्व छैन । ती बाहेकका जिल्लाबाट भने समानुपातिकमा एउटै जिल्लाबाट १७ जना सम्म सांसद भएका छन् ।
समानुपातिकतर्फ ११० सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाका समान चार–चार जना प्रतिनिधिसभा सदस्यहरू रहेका छन् ।
आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीअनुसार विजयी उम्मेदवारहरूको नागरिकता जारी भएको जिल्लालाई आधारमान्दा ४० जिल्लाबाट कम्तिमा पनि एक जनाको प्रतिनिधित्व भएको देखिन्छ ।
यस्तै ३७ जिल्लाबाट समानुपातिकतर्फ कुनै पनि दलबाट एक जना पनि उम्मेदवार समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएका छैनन् । यस्तै मधेश प्रदेशका आठवटै जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व भएको छ ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट विभिन्न दलका गरी १७ जना समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको आयोगको तथ्यांकले देखाउँछ ।
यस्तै झापाबाट छ जना, धादिङ र मोरङबाट समान पाँच–पाँच जना, सुनसरी, सिराहा, धनुषा, दाङ र कञ्चनपुरबाट समान चार–चार जना उम्मेदवार विजयी भएका छन् ।
ताप्लेजुङ, महोत्तरी, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, बाग्लुङ, रुपन्देही, कैलालीबाट समान तीन–तीन र संखुवासभा, रौतहट, सप्तरी, चितवन, गोरखा, नवलपरासी बर्दघाट सुस्ता, बर्दिया, सुर्खेत, कालिकोट र डडेल्धुराबाट दुई–दुई जना निर्वाचित भएका छन् ।
पाँचथर, सोलुखुम्बु, सर्लाही, बारा, पर्सा, मकवानपुर, नुवाकोट, दोलखा, तनहुँ, पाल्पा, स्याङ्जा, बाँके र अछामबाट एक–एक जना समानुपातिकतर्फ विजयी भएका छन् ।
प्रदेशअनुसार संख्या
समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नागरिकता जारी भएको जिल्लाअनुसार सबैभन्दा धेरै सहभागिता बागमती प्रदेशमा देखिन्छ । यहाँबाट विभिन्न दलका ३६ जना नेताहरू सांसद बनेका छन् ।
यस्तै दोस्रोमा कोशी प्रदेश र तेस्रोमा मधेश प्रदेश रहेको छ । निर्वाचन आयोगको तथ्यांकले कोशी प्रदेशबाट २२ जना र मधेश प्रदेशबाट १८ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।
कोशी प्रदेशमा ताप्लेजुङ, मोरङ, सुनसरी, झापा, पाँचथर, संखुवासभा र सोलुखुम्बु गरी २२ जना, मधेश प्रदेशमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी (सबै जिल्ला) बाट १८ जना निर्वाचित भएका आयोगको तथ्यांकले देखाउँछ ।
तथ्यांकअनुसार बागमती प्रदेशमा पर्ने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र दोलखा गरी ३६ जना परेका छन् ।
गण्डकी प्रदेशका गोरखा, बाग्लुङ, तनहुँ र स्याङ्जाका सात जना, लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया, पाल्पा र नवलपरासीका १३ जना, कर्णाली प्रदेशका सुर्खेत र कालिकोटका चार जना र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछामका १० जना निर्वाचित भएका छन् ।
जिल्लाअनुसार संख्या
समानुपातिकतर्फ निर्वाचित सांसदको संख्या हेर्दा जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंबाट १७ जना परेका छन् । यहाँ रास्वपाबाट मात्रै १० जना रहेका आयोगको तथ्यांकले देखाउँछ ।
रास्वपाबाट काठमाडौंबाट नागरिकता जारी भएका अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, कुसुम महर्जन, भूमिका श्रेष्ठ, कृपा महर्जन, लिमा भट्टराई आचार्य, विधुषी राणा, समीक्षा बास्कोटा, सुरेन्द्र चौधरी र अफ्साना बानु रहेका छन् ।
काठमाडौंका भूमिका लिम्बू सुब्बा, रामबहादुर थापामगर र कुलभक्त शाक्य नेकपा एमालेबाट, प्रमेशकुमार हमाल र परशुराम तामाङ नेकपाबाट तथा भरत गिरी र खुश्बु ओली राप्रपाबाट समानुपातिकतर्फ निर्वाचित भएका छन् ।
रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित झापाबाट ६ जना नेताहरू समानुपातिकतर्फ विजयी भएका छन् । झापामा रास्वपाबाट टीका संग्रौला, कांग्रेसबाट सुशीला आचार्य ढकाल, रीना उप्रेती र मनमाया विक विजयी भएका हुन् ।
यस्तै एमालेबाट नीता घतानी र श्रम संस्कृति पार्टीबाट अम्बिकादेवी संग्रौला निर्वाचित भएका छन् । उनीहरू दुवै जनाको नागरिकता झापाबाट जारी भएको आयोगमा तथ्यांक छ ।

झापापछि मोरङ र धादिङबाट नागरिकता जारी पाँच–पाँच जना नेताहरू विजयी भएका छन् । मोरङबाट रजनी श्रेष्ठ, प्रेमलाल चौधरी, रुक्मिणीदेवी कोइराला, प्रमिलाकुमारी गच्छदार र गुरूप्रसाद बराल विजयी भएका हुन् ।
रजनी र प्रेमलाल रास्वपाबाट, रुक्मिणी र प्रमिला कांग्रेसबाट र गुरूप्रसाद एमालेबाट समानुपातिकतर्फ निर्वाचित भएका आयोगले जनाएको छ ।
यस्तै धादिङका बसुमाया तामाङ, सीता थपलिया, गंगादेवी श्रेष्ठ, पुष्पराज कडेल र सरस्वती लामा निर्वाचित भएका हुन् । बासुमाया रास्वपा, सीता कांग्रेस, गंगादेवी तथा पुष्पराज एमाले र सरस्वती राप्रपामा आवद्ध छन् ।
सुनसरीबाट समानुपातिकतर्फ निर्वाचित भएका सिर्जना श्रेष्ठ, सृष्टी भट्टराई, प्रकाशचन्द्र दर्जी र निशा मेहता चारै जना रास्वपाका नेताहरू हुन् । सिराहाबाट पुरुषोत्तम शुप्रभात यादव, पुनमकुमारी अग्रवाल र ललिता कुमारी पनि रास्वपाबाटै विजयी भएका हुन् ।
सिराहबाट चन्देश्वर मण्डल पनि समानुपातिकतर्फ निर्वाचित भएका छन् । उनी एमालेका नेता हुन् । धनुषाबाट चन्द्रमोहन यादव, यशोधा कुमारी, जोगकुमार बरबरिया यादव, रूबी कुमारी विजयी भएका छन् ।
धनुषाबाट निर्वाचित चन्द्रमोहन कांग्रेस नेता हुन् भने यशोदा कुमारी एमालेमा आवद्ध छिन् । यस्तै जोगकुमार पनि एमालेकै नेता हुन् । रूबी कुमारी भने श्रम संस्कृति पार्टीकी सांसद हुन् ।
लुम्बिनी प्रदेशको दाङबाट पनि चार जना निर्वाचित भएका छन् । यहाँबाट क्रान्तिशिखा धिताल, खिमा विक, साजिदा खातुन सिद्धिकी र भीमकुमारी बुढामगर विजयी भएका हुन् । दाङबाट संसद बन्न सफल क्रान्तिशिखा र खिमा रास्वपा तथा साजिदा खातुन एमाले र भीमकुमारी नेकपामा आवद्ध छन् ।
सुदूरपश्चिमको कञ्चनपुरबाट समानुपातिकतर्फ चार जनाको प्रतिनिधित्व भएको छ । आयोगका अनुसार कञ्चनपुरबाट प्रतिभा रावल, गीता चौधरी, निराशा चौधरी डगौरा र कृपाराम राना निर्वाचित भएका हुन् । उनीहरूमध्ये रास्वपाबाट प्रतिभा र गीता, नेकपाबाट निराशा तथा एमालेबाट कृपाराम रहेका छन् ।
आयोगका अनुसार काभ्रेपलाञ्चोकबाट राम लामा, रचना खतिवडा खत्री, तारा विश्वकर्मा, ललितपुर खुसबु सरकार श्रेष्ठ, सुम्निमा यादव, प्रभा कार्की, ताप्लेजुङबाट मिङमा ग्याबु शेर्पा, रमेश प्रसाईं, गीताकुमारी सेन्दाङ निर्वाचित भएका छन् ।
यस्तै बाग्लुङबाट गंगा छन्त्याल, रेनुका काउचा, बलावती शर्मा, भक्तपुरबाट प्रमिला कुलुजु, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, रुपन्देहीबाट श्रद्धा कुँवर क्षेत्री, मञ्जु भुसाल, ताहिर अलि भाट, कैलालीबाट करिश्मा कठरिया, प्रेमबहादुर बयक, गणेशबहादुर विश्वकर्मा र महोत्तरीबाट कामिनी कुमारी, नीनुकुमारी कर्ण, रेखाकुमारी यादव विजयी भएका छन् ।
संखुवासभा, गोरखा, डडेल्धुरा, बर्दिया, नवलपरासी बर्दघाट सुस्ता, सुर्खेत, रौतहट, चितवन, सप्तरी, कालिकोट गरी १० जिल्लाबाट नागरिकता जारी भएका २० जना निर्वाचित भएका छन् ।
संखुवासभाबाट सुजाता तामाङ, पूर्णप्रसाद लिम्बू, गोरखाबाट एलिजा गुरूङ, शोभा खनाल, डडेल्धुराबाट आकृति अवस्थी, हरिनादेवी कामी, बर्दियाबाट ज्ञानु पौड्याल, रीमा विश्वकर्मा, नवलपरासी (बर्दघाट सुस्ता) बाट अमृत बिक, रिगला यादव निर्वाचित भएका छन् ।
यस्तै सुर्खेतबाट सीता बादी, राधिका रम्तेल, रौतहटबाट गजला शमीम मिकरानी, शाहजान खातुन, चितवनबाट समिना मिया, टुकाभद्र हमाल, सप्तरीबाट खगेन्द्र कर्ण, अंकिता ठाकुर । कालिकोटबाट कालिबहादुर सहकारी, एशुदाकुमारी बराल विजयी भएका छन् ।
यसैगरी विभिन्न १३ जिल्लाबाट एक–एक जना समानुपातिकतर्फ विजयी भएका आयोगको तथ्यांकले देखाएको छ । आयोगका अनुसार बाराबाट प्रभा ढकाल, दोलखाबाट स्मृति सेन्चुरी, बाँकेबाट सुष्मा स्वर्णकार (डिम्पल), पाँचथरबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।
गीता गुरूङ सोलुखुम्बुबाट, अर्जुननरसिंह केसी नुवाकोटबाट, रत्नाकुमारी थापा अछामबाट, पवित्रा विक मकवानपुरबाट, सरिता महतो सर्लाहीबाट समानुपातिकतर्फ एकल प्रतिनिधित्व गर्ने नेतामा पर्छन् ।
आयोगका अनुसार पर्साबाट सुनिताकुमारी चौधरी, तनहुँबाट विष्णुमाया विक, पाल्पाबाट पार्वती विक र स्याङ्जाबाट पदमाकुमारी अर्याल पनि समानुपातिकतर्फ एकल विजयी भएका उम्मेदवार हुन् ।
निर्वाचनमा दलहरूले प्राप्त गरेको मतको आधारमा समानुपातिकतर्फ उम्मेदवार निर्वाचित गर्दा ३७ जिल्लाबाट कोही पनि नपरेका देखिएको छ ।
समानुपातिकतर्फ सांसद नपाउने जिल्लाहरू

प्रतिक्रिया 4