४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताएका हुन् ।
‘यदि हामी आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौँ र उक्त ‘स्ट्रेट’(होर्मुज) को जिम्मेवारी त्यसको प्रयोग गर्ने देशहरूलाई दिइयो भने के हुन्छ ? भन्ने म सोचिरहेको छु,’ ट्रम्पले भनेका छन्, ‘हामी त्यसको प्रयोग गर्दैनौँ, अरूले गर्छन् ।’
यसले अमेरिकाका केही ‘सुस्त सहयोगी’ हरूलाई छिट्टै सक्रिय हुन बाध्य पार्ने ट्रम्पले टिप्पणी गरेका छन् ।
ट्रम्पले अघिल्लो ट्रूथ पोस्टमा इरान ‘विश्वको नम्बर एक आतंक समर्थक देश’ भनेर टिप्पणी गरेका थिए । जसमा अमेरिकाले आतंकवाद समर्थन गर्ने ती सबै गतिविधि छिट्टै बन्द गर्ने दाबी गरेका थिए ।
इरानमाथि अमेरिका र इजरायलले सैन्य हमला गरेपछि इरानले होर्मुज नाकामा नाकाबन्दी गरेको छ । जसले विश्वभरको ऊर्जा आपूर्तिमा संकट सिर्जना भएको छ ।
यसअघि होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले आफ्ना नेटो सहयोगी राष्ट्र र चीनको सहयोग मागेका थिए । तर, कोही पनि अगाडि आएनन् । त्यसपछि ट्रम्पको नयाँ धारणा आएको हो ।
प्रतिक्रिया 4