४ चैत, काठमाडौं । अमेरिकाको आतंकवाद नियन्त्रण केन्द्र प्रमुख जो केन्टले इरानविरुद्धको युद्धको विरोध गर्दै पदबाट राजीनामा दिएका छन् ।
उनले यो जानकारी सामाजिक सञ्जाल एक्स मार्फत दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले इरानसँगको युद्धप्रति गम्भीर असहमति जनाएका छन् ।
केन्टले आफ्नो पत्रमा ‘इरान अमेरिकालाई खतरा थिएन’ भन्दै यो युद्ध इजरायल र त्यससँग सम्बन्धित अमेरिकी लबिको दबाबका कारण सुरु गरिएको दाबी गरेका छन् ।
उनले ‘नैतिक रूपमा यस्तो युद्धलाई समर्थन गर्न नसक्ने’ उल्लेख गर्दै पद त्याग गरेको जनाएका छन् ।
को हुन् जो केन्ट ?
४५ वर्षीय केन्ट पूर्व अमेरिकी सेना विशेष बल (स्पेसल फोर्सेस) का सदस्य हुन् । उनले ११ पटकसम्म युद्धक्षेत्रमा खटिएर सेवा गरेका थिए, जसमा इराक युद्ध पनि समावेश छ । उनकी श्रीमती श्यानन केन्ट सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा मारिएकी थिइन् ।
सेनाबाट बाहिरिएपछि उनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) मा काम गरे र पछि राजनीतिमा प्रवेश गरे । उनी रिपब्लिकन पार्टीबाट दुई पटक संसदमा उठे पनि पराजित भएका थिए ।
केन्टले राष्ट्रिय काउन्टरटेररिज्म केन्द्र (आतंकवाद विरोधी केन्द्र)को निर्देशकका रूपमा करिब आठ महिनामात्रै काम गरेका थिए ।
केन्टले इरानविरुद्धको युद्धलाई ‘अनावश्यक र भ्रामक सूचनामा आधारित’ भनेर टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले पहिले ‘अनन्त युद्धबाट टाढा रहने’ नीति लिएको स्मरण गराउँदै उनले ट्रम्पको अहिलेको निर्णय त्यसविपरीत भएको बताएका छन् ।
उनले आफ्नो पत्रमा इजरायली अधिकारी र अमेरिकी मिडियाले गलत जानकारी फैलाएर युद्धतर्फ धकेलेको आरोप समेत लगाएका छन् । साथै, आफ्नी श्रीमतीको मृत्यु युद्धमा भएको स्मरण गर्दै उनले अर्को पुस्तालाई पनि त्यस्तै युद्धमा पठाउन नसकिने बताएका छन् ।
ट्रम्पले के भने ?
केन्टको राजीनामापछि राष्ट्रपति ट्रम्पले उनलाई ‘सुरक्षाका मामिलामा कमजोर’ भएको आरोप लगाउँदै उनको बहिर्गमन उचित भएको बताएका छन् ।
केन्टले आफ्नो पत्रमा इजरायलको भूमिकाबारे गरेको टिप्पणीका कारण केही नेताहरूले उनलाई ‘यहूदी विरोधी’ भएको आरोप लगाएका छन् । तर उनका समर्थकहरूले भने यसलाई ‘साहसिक र सिद्धान्तगत निर्णय’ भन्दै प्रशंसा गरेका छन् ।
केन्टको राजीनामालाई ट्रम्प प्रशासनभित्र इरान युद्धबारे आएको सबैभन्दा उच्चस्तरीय विरोधको रूपमा हेरिएको छ । यसले अमेरिकी विदेश नीतिमा थप बहस र विभाजन ल्याउने संकेत गरेको अलजजिराले जनाएको छ ।
विश्लेषकहरूका अनुसार केन्टको राजीनामाले तत्काल अमेरिकी नीतिमा ठूलो परिवर्तन नल्याए पनि राजनीतिक रूपमा असर पार्न सक्छ ।
विशेषगरी आगामी मध्यावधि निर्वाचनअघि ट्रम्प समर्थकभित्र नै असन्तुष्टि बढ्न सक्ने संकेत गरिएको अलजजिराको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया 4