+

सेनेगलले जितेको अफकन उपाधि दुई महिनापछि मोरोक्कोलाई

२०८२ चैत  ४ गते १०:११ २०८२ चैत ४ गते १०:११
सेनेगलले जितेको अफकन उपाधि दुई महिनापछि मोरोक्कोलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफ्रिकी फुटबल महासंघले दुई महिनापछि मोरोक्कोलाई अफ्रिकी कप अफ नेसन्स २०२५ को विजेता घोषित गरेको छ ।
  • सेनेगलले फाइनल खेल विवादास्पद रुपमा छाडेपछि काफले नियम अनुसार मोरोक्कोलाई ३-० को नतिजा सुनाएको छ ।
  • सेनेगल फुटबल महासंघले काफको निर्णयलाई अस्वीकार्य भन्दै खेलकुद मध्यस्थता अदालतमा अपिल गर्ने जनाएको छ ।

४ चैत, काठमाडौं । अफ्रिकी फुटबल महासंघ (काफ) ले मंगलबार सनसनीपूर्ण निर्णय गर्दै दुई महिनापछि मोरोक्कोलाई अफ्रिकी कप अफ नेसन्स २०२५ को विजेता घोषित गरेको छ ।

सेनेगलले विवादास्पद रुपमा खेल छाड्ने निर्णयका कारण काफले दुई महिनापछि नतिजा उल्टाउँदै सेनेगलको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषित गरेको हो ।

राबतमा जनवरी १८ को विवादास्पद फाइनलमा मोरोक्कोलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

निर्धारित समयमा खेल बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा मोरोक्कोलाई पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीहरूले त्यसमा विरोध जनाउँदै मैदान छाडेपछि खेल निकै विवादास्पद बनेको थियो ।

करिब १७ मिनेट ढिलाईपछि सेनेगलका खेलाडीहरु मैदान फर्किएका थिए । तर मोरोक्कोले पेनाल्टीमा गोल गर्न सकेन ।

ब्राहिम डियाजको पेनाल्टी सेभ भयो भने अतिरिक्त समयमा पापे गुयेले गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए ।

तर मोरोक्को अपिलमा काफको अपिल कमिटीले निर्णय गरेपछि अब काफले उक्त नतिजा उल्टाएको छ र मोरोक्को पक्षमा ३-० को नतिजा सुनाइएको छ ।

काफको विज्ञप्ती अनुसार सेनेगलले फाइनल खेल छाडेको र त्यसले गर्दा मोरोक्को पक्षमा नतिजा दिइएको उल्लेख छ ।

सेनेगल फुटबल महासंघले यस निर्णयविरुद्ध खेलकुद मध्यस्थता अदालत (कवर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स) मा अपिल गर्ने जनाएको छ । उसले यो निर्णयलाई ‘अन्यायपूर्ण, अभूतपूर्व र अस्वीकार्य’ भनेको छ ।

काफले ‘टिमको व्यवहारका कारण’ सेनेगलले अफ्रिका कप अफ नेसन्सको नियमावलीको धारा ८२ उल्लङ्घन गरेको स्पष्ट पारेको छ र त्यसका कारण धारा ८४ लागू भएको जनाएको छ ।

धारा ८२ अनुसार यदि कुनै टिमले रेफ्रीको अनुमति बिना खेल्न अस्वीकार गर्छ वा निर्धारित समय सकिनु अघि मैदान छोड्छ भने त्यसलाई पराजित मानिन्छ र प्रतियोगिताबाट बाहिर गरिन्छ ।

धारा ८४ अनुसार धारा ८२ उल्लङ्घन गर्ने कुनै पनि टिमलाई स्थायी रूपमा प्रतियोगिताबाट हटाइन्छ र उक्त खेल ३-० ले हारेको मानिन्छ ।

मोरोक्को फुटबल महासंघले विज्ञप्ती जारी गर्दै उनीहरूको अपिल टिमहरूको खेल प्रदर्शनलाई चुनौती दिनका लागि नभई प्रतियोगिताका नियमहरूको कार्यान्वयन सुनिश्चित गर्नका लागि मात्र गरिएको जनाएको छ ।

अफ्रिकी फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय