+
+
Shares

विश्वकपमा नेपाल : जस्तो तयारी, त्यस्तै प्रदर्शन

विश्वकपअघि ठूला राष्ट्रहरूसँगको भेटले आत्मविश्वास मात्रै बढाउँदैन, प्रेसरलाई थेगेर खेल्ने साहस पनि प्रदान गर्छ । ठूला राष्ट्रहरूसँग खेलेको अनुभवको कमी यो विश्वकपमा नेपाली टिममा देखियो ।

रिखिराम जिसी रिखिराम जिसी
२०८२ फागुन ७ गते १२:४६

६ फागुन, काठमाडौं । तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेल्न जाँदै गर्दा धेरैको अपेक्षा थियो– नेपालले कम्तीमा समूह चरणका २ खेल जित्छ । नेपाली टोली त सुपर ८ सम्म पुग्ने लक्ष्य लिएरै भारत पुगेको थियो ।

अपेक्षालाई बल पुग्ने गरी नेपाली टोलीले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो । इंग्ल्यान्डसँग ४ रनले पराजित भए पनि विश्व क्रिकेट जगतमा नेपालको चर्चा भयो ।

तर, त्यो चर्चा धेरै दिन टिकेन । दोस्रो खेलमा टिम नेपाल तुलनात्मक रूपमा आफूभन्दा कमजोर मानिएको इटालीसँग निरीह बन्न पुग्यो । उक्त खेलमा फराकिलो हार बेहोरेसँगै नेपालको सुपर–८ मा पुग्ने योजनामा तुषारापात लाग्यो नै, थप कम्तीमा दुई खेलमा जित निकाल्ने योजनामा समेत धक्का लाग्यो ।

भारतसँगको विवादका कारण बंगलादेश नखेल्दा स्कटल्यान्डले विश्वकप खेल्ने मौका पाएको थियो । बंगलादेशको ठाउँमा स्कटल्यान्ड आउँदा नेपाललाई दुई खेल जित्न कठिन पनि थिएन । स्कटल्यान्ड नेपालकै स्तरको थियो भने इटाली नेपालभन्दा तुलनात्मक रूपमा कमजोर ।

तर, नेपालले त्यसको फाइदा उठाउन सकेन । इटालीसँग १० विकेटले हारेको नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्ड र वेस्ट इन्डिज पराजित भयो । स्कटल्यान्डसँगको अन्तिम खेल जितेर नेपाल घर फर्कियो ।

थिएन पर्याप्त तयारी

नेपालले गत असोजमा भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअघि टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग ऐतिहासिक सिरिज खेल्यो । ३ खेलको टी–२० सिरिजमा २ खेलमा जित निकाल्दै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज नेपालले आफ्नो पक्षमा पार्‍यो ।

त्यसपछि नेपालले विश्वकपको एसिया तथा इस्ट एसिया छनोट खेल्यो । छनोटअघि वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले आत्मविश्वास छनोटमा देखायो । छनोटमा शतप्रतिशत नतिजा निकाल्दै नेपालले उपाधि जित्यो र विश्वकपमा छनोट भयो ।

नेपाल क्रिकेट संघ क्यानले विश्वकपअघि पनि कुनै टेस्ट राष्ट्रसँग सिरिज खेल्ने बताउँदै आएको थियो । तर सफल हुन सकेन । नेपाल प्रिमियर लिग (एनपीएल), श्रीलंका र भारतका घरेलु टिमसँगका केही खेललाई क्यानले विश्वकपको तयारीको रूपमा खुम्च्यायो । विश्वकपअघि क्यानले टेस्ट राष्ट्र त परैको कुरा, आफ्नो स्तरका राष्ट्रसँग पनि सिरिज खेल्ने अवसर खेलाडीलाई दिएन ।

विश्वकपमा नेपाललाई हराएको इटालीले विश्वकपअघि टी–२० वरीयतामा आफूभन्दा १४ स्थान माथि रहेको आयरल्यान्डसँग सिरिज खेल्यो । नेपालको स्तरमा रहेको नेदरल्यान्ड्सले टेस्ट राष्ट्र बंगलादेशसँग सिरिज खेल्दै विश्वकपको तयारी गर्‍यो ।

विश्वकपअघि यूएईका खेलाडीले आफूभन्दा ५ स्थान माथि रहेको आयरल्यान्डसँग सिरिज खेल्ने अवसर पाए । तर नेपालले श्रीलंकाको ‘ए’ टिम र भारतको स्थानीय टिमसँगको केही अभ्यास खेललाई विश्वकपको तयारीको रूपमा लियो । जसको नतिजा विश्वकपमा देखियो ।

विश्वकपका वार्मअप खेलहरूमा पनि नेपालले ठूला देशहरूसँग प्रतिस्पर्धा गर्न पाएन । विश्वकपमा नेपालले हराएको स्कटल्यान्डले टेस्ट राष्ट्र अफगानिस्तानसँग वार्मअप खेल्ने अवसर पायो । ओमन र नेदरल्यान्ड्सले टेस्ट राष्ट्र जिम्बाब्बे र अमेरिकाले न्युजिल्यान्डसँग वार्मअप खेल्दा नेपालले यूएई र क्यानडासँग चित्त बुझायो ।

विश्वकपअघि ठूला राष्ट्रहरूसँगको भेटले आत्मविश्वास मात्रै बढाउँदैन, प्रेसरलाई थेगेर खेल्ने साहस पनि प्रदान गर्छ भन्ने कुरा नेपालले विश्वकप छनोटमा देखाइसकेको थियो । ठूला राष्ट्रहरूसँगको अनुभवको कमी नेपाली टिमको इंग्ल्यान्डसँगको खेलमा देखियो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । जुन टी–१० क्रिकेटमा सामान्य मानिन्छ । त्यहाँ नेपाल चुक्न पुग्यो र ऐतिहासिक जित नजिक पुगेर ४ रनको नमिठो हार बेहोर्नुपर्‍यो ।

विश्वकपका लागि नेपालको तयारी जुन रूपमा हुनुपर्ने त्यो नभएको क्यानका एक सदस्य बताउँछन् । पर्याप्त तयारी भएको भए नेपालको नतिजा फरक हुने उनको तर्क छ ।

‘विश्वकप तयारीका लागि आईसीसीले ५ लाख डलर दिन्छ । जुन रूपमा हामीले तयारी गर्नुपर्थ्याे, त्यो हुन सकेन । तयारीमा हामी चुकेकै हो,’ ती सदस्यले भने, ‘क्यानले थप तयारी गर्नुपर्थ्याे ।’

डेथ ओभर सधैंको समस्या

नेपाली क्रिकेटमा सधैं याद आउने कुरा हो– दक्षिण अफ्रिकासँगको एक रनको हार । नेपालले सन् २०२४ मा भएको टी–२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम बलमा चुक्दा एक रनको नमिठो हार बेहोरेको थियो ।

समर्थकले बिर्सन नसक्ने अर्काे हार यो विश्वकपमा पनि थपिएको छ–इंग्ल्यान्डसँगको ४ रनको पराजय । धेरैले इंग्ल्यान्डविरुद्ध नेपालको जित हुन्छ भनेर सेलिब्रेसन गर्न थालिसकेका थिए । तर अन्तिममा रन जोड्न सकेन र पराजित भयो । यसमा पनि ठूला टिमसँग पे्रसर थेगेर खेल्ने अनुभवको कमी देखियो ।

सोही खेलको बलिङको डेथओभरमा नेपाल सम्हालिन सकेन । इंग्ल्यान्डले अन्तिम ३ ओभरमा ४५ रन जोड्यो । जुन नेपालको पुरानो समस्या हो । पछिल्लो ४–५ वर्षदेखि नेपालले यो समस्या भोग्दै आएको छ । तर समस्या समाधान र विकल्प खोज्नेतर्फ खासै ध्यान दिएको देखिँदैन । जसका कारण नेपाल हारको नतिजा स्वीकार्न बाध्य छ ।

सर्ट सेलेक्सनमा पनि नेपाल चुक्न पुग्यो । जुनसुकै बलमा पनि एकै प्रकारको सर्ट हान्न खोज्ने र क्याच आउट हुने नियति यस पटक पनि दोहोरियो । प्रेसरमा एक–दुई रन लिएर विकेट होल्ड गर्ने धैर्यता नेपाली खेलाडीले राखेनन् । त्यसमा नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले असन्तुष्टि पोखे । ‘हामीसँग ड्रेसिङ रुममा धेरै सिप छ । तर दुर्भाग्यवश हामी छिटो सिकिरहेका छैनौं,’ उनले भने, ‘एउटै गल्ती पटक–पटक दोहोर्‍याउनु हुँदैन ।’

सन् २०१३ देखि नेपाली टोलीका क्रिकेट विश्लेषक (एनालिस्ट) का रूपमा रमन शिवाकोटीले काम गर्दै आएका छन् । टेस्ट तथा बलिया राष्ट्रहरूले कोचसहित सबै टिम मुख्य प्रशिक्षकको रोजाइमा राखेका हुन्छन् । नेपालमा भने २०१३ पछि आएका मुख्य प्रशिक्षकले रमनसँगै काम गर्नुपरेको छ ।

एनालिस्टको काम आफ्नो टिमको कमजोरी र बलिया पक्ष पत्ता लगाउनु, विपक्षी खेलाडीको कमजोरी केलाउनु र अवस्थाअनुसार गेम प्लान बनाउनु हो । तर पछिल्लो समय नेपाल एउटै गल्ती पटकपटक दोहोर्‍याइरहेको छ । त्रुटि केलाएर समाधान गर्ने एनालिस्टको जुक्तिले काम नगरेको हो या त्रुटि केलाउनै नसकिएको हो, त्यो प्रशिक्षकले थाहा पाउने कुरा हो ।

अन्य धेरै देशका खेलहरू फरकफरक मैदानमा थियो । संयोग भनौं या आईसीसीको नियत, नेपालका समूह चरणका ४ वटै खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा थियो । आईसीसीका अनुसार नेपाल र इंग्ल्यान्डको खेलमा १९ हजार ३६९ दर्शक स्टेडियममै पुगेर खेल हेरेका थिए ।

त्यसपछिका नेपालका खेलमा पनि उत्तिकै मात्रामा दर्शक उपस्थित थिए । त्यसमा अधिकांश नेपाली समर्थक थिए । नेपाली समर्थकको साथका कारण नेपाली खेलाडीलाई घरेलु मैदानमा खेले जस्तो भएको थियो । एउटै मैदानमा खेल्न पाएको नेपालले त्यसको फाइदा भने उठाउन सकेन ।

प्रशिक्षकले देखाउन खोजेको क्यानको व्यवस्थापन

इटालीसँगको हार क्रिकेट समर्थकलाई मात्र होइन, प्रशिक्षकलाई पनि अस्वाभाविक लाग्यो । बलियो राष्ट्र इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले नवप्रवेशी इटालीविरुद्ध फितलो प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्टुअर्ल ल असन्तुष्ट बने ।

इंग्ल्यान्डसँगको प्रदर्शनपछि विश्वकप क्रिकेटमा नेपाली क्रिकेट र खेलाडीको उच्च प्रशंसा भयो । उक्त प्रशंसामा प्रफुल्लित भएर खेलाडीले इटालीविरुद्ध राम्रो प्रदर्शन नगरेको भान प्रशिक्षक ललाई भयो । त्यसपछि उनले सामाजिक सञ्जालले धेरै असर गर्ने र त्यसमा भन्दा खेलमा केन्द्रित हुन सांकेतिक रूपमा खेलाडीलाई आग्रह गरे ।

‘नेपालमा सामाजिक सञ्जाल एउटा ठूलो हिस्सा हो भन्ने म बुझ्छु । मेरो लागि सामाजिक सञ्जाल ठूलो ड्रिस्ट्राक्सन हुनसक्छ’ उनले भने, ‘यदि हामी टोलीको आवश्यकता र खेलभन्दा बढी सामाजिक सञ्जालमा मानिसहरूले के भनिरहेका छन् भन्ने कुरामा ध्यान दिन्छौं भने, हामी आफ्नो कामबाट विचलित हुन्छौं ।’

क्यानले नेपालको फरक प्रतियोगितामा फरकफरक व्यवस्थापक पठाउँछ । जिल्ला, प्रदेश र केन्द्रबाट सबैलाई समेट्ने गरी क्यानले फरकफरक व्यक्ति व्यवस्थापकको रूपमा पठाइराखेको हुन्छ । जसलाई कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले असहमति प्रकट गरे । उनले पटकपटक व्यवस्थापक परिवर्तन हुँदा ड्रेसिङ रूममा असर गरेको उल्लेख गरे ।

लेखक
रिखिराम जिसी

जिसि अनलाइनखबरमा खेलकुद रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?