News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरण अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्यो।
- उपकप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा ५० रन बनाउँदै अविजित अर्धशतक प्रहार गरे र प्लेअर अफ दि म्याच बने।
- दीपेन्द्रले विश्वकपमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने र नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।
६ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै ‘हाई नोट’मा विश्वकप सकायो । सुरुवाती तीन खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि नेपाली समर्थक निराश बनेका थिए ।
तर अन्तिम खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य ४ बल अगावै ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल आसिफ शेख, सोमपाल कामी, गुल्सन झा लगायत खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । टिमको रुपमा नेपालको प्रदर्शन राम्रो देखिएको थियो ।
तर खेलमा मुख्य नायकको रुपमा दीपेन्द्र सिंह ऐरी रहे । मिडल अर्डर सम्हाल्नेदेखि आवश्यक परेको बेला बलिङ गर्नेसम्मको भूमिका दीपेन्द्र देखिए ।
दीपेन्द्रले यस पटक विश्वकपमा चौथो नम्बरमा ब्याटिङ गरे । टी-२० विश्वकप खेल्नुअघि श्रीलंका र भारतके मुम्बईमै भएको तयारीदेखि चेन्नईमा भएको विश्वकपको अफिसियल वार्म अप खेलमा पनि चौथो नम्बरमै ब्याटिङ गरेका थिए । जुन उनका लागि निकै सुहाउने पोजिसन समेत हो । आवश्यक परेको बेला इनिङ्स बिल्ड गरेर आक्रमक प्रहार गर्नेसम्मको क्षमता उनमा छ ।
यस्तै रनिङ बिटविन दी विकेटमा निकै छरिता दीपेन्द्रले विपक्षी फिल्डरलाई समेत निके दौडाउने गर्छन् । दीपेन्द्र नेपालका उत्कृष्ट फिल्डरका रुपमा चिनिन्छ्न। उनलाई टाइगर उपनामले नै चिनिन्छ ।

यस पटक त्यही चार नम्बर पोजिसनमा दीपेन्द्रले आफुलाई न्याय गरे । उनले चार खेल खेल्दा दुई अर्शशतक नै प्रहार गरे । त्यसैको नतिजा वेस्ट इन्डिज विरुद्धको ५८ र स्कटल्यान्ड विरुद्ध अविजित ५० रन हो । पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध पनि उनले नेपालको लागि व्यक्तिगत उच्च स्कोर ४४ रन बनाएका थिए । इटली विरुद्ध भने उनी १७ रनमै आउट भएका थिए ।
यसअघि केही वर्ष दीपेन्द्रले लोअर अर्डरमा फिनिसिरको भूमिकामा खेल्दै आएका थिए । ओमानमा नोभेम्बरमा भएको टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा पनि दीपेन्द्रले विभिन्न पिजसनमा ब्याटिङ गरेका थिए । त्यसबेला उनले टोलीको आवश्यकता अनुसार ६ नम्बर ५ नम्बर र ४ नम्बरमा ब्याटिङ गरेका थिए र समाओ विरुद्ध वान डाउनमा ब्याटिङ गरेका थिए ।
यस पटक भने मुख्य प्रशिक्षक स्टुअर्ट ल सहितको कोचिङ टिमले दीपेन्द्रलाई नम्बर ४ पोजिसन नै दिए । उनले पनि त्यस भुमिकालाई राम्रोसँग निर्वाह गरे ।
सन् २०१८ मा लर्ड्समा नेदरल्यान्ड्स विरुद्ध टी-२० आईमा दीपेन्द्रले डेब्यु गरेका थिए । तर वर्षाका कारण त्यो खेल पूरा हुन पाएन । त्यसपछि दीपेन्द्रले सन् २०२२ मा नम्बर ४ पोजिसनमा धेरे समय ब्याटिङ गरे । आवश्यकता अनुसार दिपेन्द्र अन्य पोजिसनमा समेत खेल्थे ।
तर पछिल्लो समय मोन्टी देसाई प्रशिक्षक हुँदा भने दीपेन्द्रको भूमिका फिनिसरको रुपमा थियो । अहिले फेरि भूमिका फेरियो र दीपेन्द्रले त्यही पोजिसनमा इन्जोए गर्न थाले ।
भारत र श्रीलंकामा भइरहेको यस संस्करणको टी-२० विश्वकपमा नेपालबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमा उनै दीपेन्द्र रहे ।
मंगलबार १८ हजार भन्दा बढी समर्थक उपस्थित भएको वानखेडे स्टेडियममा दीपेन्द्रले अविजित अर्धशतक प्रहार गर्दै नेपाली समर्थकलाई खुशी दिलाउन भूमिका खेले ।
दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्दै २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरी अर्धशतक बनाएका थिए ।
नेपाललाई जिताउँदा दीपेन्द्रले अर्धशतक बनाउने देखि विभिन्न उपलब्धिहरू पनि बनाए । उनकै अर्धशतकमा नेपालले १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो खेल जित्यो ।
यस्तै दीपेन्द्रको अर्धशतकको चर्चा नेपालको क्रिकेटमा लामो समय सम्म हुनेछ । किनभने दीपेन्द्रले अघिल्लो खेलमा वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गर्दै टी-२० विश्वकपमा १२ वर्षपछि अर्धशतक बनाउने खेलाडी बने ।

यस्तै स्कटल्यान्ड विरुद्धको अर्धशतकपछि उनी टी-२० विश्वकपमा लगातार दुई अर्धशचक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बने ।
टेष्ट राष्ट्र वेस्ट इन्डिज विरुद्ध दीपेन्द्रले ५८ रन बनाएका थिए । जुन टी-२० विश्वकपमा नेपाली खेलाडीले बनाएको व्यकतिगच उच्च स्कोर पनि हो । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा टी-२० विश्वकपमा डेब्यु गर्दा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध ५६ रन बनाएका थिए । त्यो खेल नेपालले जितेको थियो ।
१२ वर्षपछि दीपेन्द्रले पहिलो अर्धशतक प्रहार गर्दा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । तर अर्को खेलमा पनि दीपेन्द्रले अर्धशतक हान्दा भने नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो । लगातार तीन खेल हारेको नेपालका लागि यो जित राहतको रुपमा समेत रह्यो ।
दीपेन्द्रको अन्य उपलब्धीहरू पनि छन् । उनी यस संस्करणमा नेपालका लागि दुई अर्धशतकसहित सर्वाकि (१६९) रन बनाउने खेलाडी पनि बने । मंगलबारसम्म दीपेन्द्र यस संस्करणमा न्युजिल्यान्डका टिम साइफर्ट पछि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा समेत छन् ।
यसैगरी दीपेन्द्र नेपालका लागि टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । उनले अहिलेसम्म ७ खेल खेल्दा ९१९ रन बनाएका छन् । सन् २०२४ मा टी-२० विश्वकपमा डेब्यु गर्दा दीपेन्द्रले ३ खेलमा ३२ रन मात्र बनाएका थिए ।
मंगलबारको खेलअघिसम्म दीपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट (८) लिने खाडी समेत थिए । स्कटल्यान्ड विरुद्ध सोमपाल कामीले ३ विकेट लिएपछि दीपेन्द्रलाई उछिने । सोमपालले टी-२० विश्वकपमा नेपालका लागि १० विकेट लिएका छन् ।
स्कटल्यान्ड विरुद्ध २३ बलमा ५० रन बनाउँदा दीपेन्द्रले बाउण्ड्रीबाट मात्रै ३४ रन जोडेका थिए । यो पनि नेपाली ब्याटरको टी-२० विश्वकपमा कीर्तिमान नै हो । यसअघि सुबास खकुरेलले नै अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गर्दा बाउण्ड्रीबाट ३० रन जोडेका थिए ।
स्कटल्यान्डलाई हराउँदै दीपेन्द्र प्लेअर अफ दि म्याच बनेपछि कप्तान रोहित पौडेलले पनि दीपेन्द्रको तारिफ गरे । ‘दीपेन्द्र र गुल्सनले हाम्रो लागि खेल जिताए । दीपेन्द्र प्लेअर अफ दि म्याचको लायक छन् । उनी धेरै ट्यालेन्ट खेलाडी हुन्’ खेलपछि लाइभ ब्रोडकास्टरसँग रोहितले भने ।
यस्तै खेलपछि स्कटल्यान्डका बलर ब्राड क्युरीले पनि दीपेन्द्र राम्रो खेलाडी भएको बताए । ‘नेपालले आज राम्रो खेल्यो । विशेषगरी दीपेन्द्रसिंह ऐरीले । उनी (दीपेन्द्र) कति धेरै राम्रा खेलाडी हुन् भनेर सबैलाई थाहा छ’ उनले भने । यसबाट पनि पुष्टि हुन्छ कि दीपेन्द्रको क्षमता कति छ भनेर ।
पछिल्लो समय आईसीसीको टी-२० वरियतामा अलराउन्डरतर्फ दीपेन्द्र लगातार शीर्ष दश भित्र समावेश छन् । एक बेला उनी अलराउन्डर वरियताको दोस्रो स्थानसम्म पुगेका थिए ।
प्रतिक्रिया 4