News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकाल्दा नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगितामा सुखद अन्त्य भएको बताउनुभयो।
- रोहितले दोस्रो चरणमा पुग्ने लक्ष्य अधुरो रहेको र महत्वपूर्ण खेलहरूमा अपेक्षाअनुसार नतिजा नआएको उल्लेख गर्नुभयो।
- अन्तिम खेलमा जित निकालेर समर्थकलाई मुस्कान दिन सफल भएको र अर्को पटक बलियो भएर आउने प्रयास गर्ने बताउनुभयो।
५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकालेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगितामा सुखद अन्त्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
खेलपछि पोस्ट म्याच प्रेस कन्फेरेन्समा कुरा गर्दै कप्तान रोहितले सुरुवात राम्रो भए पनि निरन्तरता दिन नसक्दा दोस्रो चरणमा पुग्ने लक्ष्य अधुरै रहेको बताए।
‘समग्रमा भन्दा हामीले राम्रो सुरुवात गरेका थियौं। पहिलो खेल जित नजिक पुगेर पनि गुमाउनुपरेको थियो’ उनले भने, ‘इटली र वेस्ट इन्डिजविरुद्ध भने हामीले सोचे जस्तो प्रदर्शन गर्न सकेनौं, जसले गर्दा निराश हुनुपर्यो।’
नेपाल दोस्रो चरणमा छनोट हुने लक्ष्यसहित प्रतियोगितामा उत्रिएको थियो। तर महत्वपूर्ण खेलहरूमा अपेक्षाअनुसार नतिजा निकाल्न नसक्दा टोली समूह चरणमै रोकियो।
‘हामी दोस्रो चरणमा पुग्न चाहन्थ्यौं, तर सफल हुन सकेनौं। अब अर्को पटक अझै बलियो भएर आउने प्रयास गर्नेछौं’ रोहितले भने।
अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्दै टोलीले समर्थकलाई मुस्कान दिएको उनले उल्लेख गरे। ‘अन्तिम खेल हाई नोटमा सकायौं, त्यसमा खुसी छौं। हामीले समर्थकलाई अन्तिममा हाँसो दिन सक्यौं’ उनले थपे।
स्टेडियममा उल्लेख्य संख्यामा नेपाली समर्थक उपस्थित थिए। टोली समूह चरणबाट अघि बढ्न नसक्दा उनीहरू निराश देखिए पनि अन्तिम जितले केही सन्तोष दिएको रोहितको भनाइ थियो।
‘धेरै समर्थक आउनुभएको थियो। हामी अघि बढ्न नसक्दा उहाँहरू निराश हुनुभयो। तर फ्यानका लागि पनि यो जित महत्वपूर्ण रह्यो’ उनले भने।
प्रतिक्रिया 4