News Summary
Generated by OK AI. Editorially reviewed.- नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितालाई यसै साता हुने भएको छ ।
- तीन दिन चल्ने प्रतियोगितालाई जापानी कम्पनी बी एन्ड टी ट्रेडिङले २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ ।
- प्रतियोगितामा ३ सय खेलाडी सहभागी हुनेछन् जसमा नेपालका विभिन्न प्रदेश, जिल्ला र क्लबका खेलाडीसहित भुटान तथा बंगलादेशका खेलाडी पनि सहभागि हुनेछन् ।
३ चैत, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालको आयोजनामा हुने नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितालाई बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ ।
आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एन्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले बुधबार प्रतियोगिता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार बी एन्ड टीले आयोजकलाई २० लाख रुपैयाँ जापानी येन उपलब्ध गराउने छ ।
यही चैत ७ देखि ९ गतेसम्म हुने प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन् । १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ । १८ देखि २१ वर्ष जुनियरको पुरुष-महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालबाट प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडी सहभागी हुने छन् । विदेशी राष्ट्रमा भुटान र बंगलादेशका खेलाडीले भाग लिने छन् । तीन राष्ट्रबाट जम्मा ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विगतका सातै संस्करणमा नेपालको बन्दी सहायता नियोग (पाम) टिम च्याम्पियन बनेको थियो । उत्कृष्ट २ पुरुष र २ महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । उनीहरुको खाना, बसोवास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
तीदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा खेलाइने छन् । पहिलो दिन ९ तथा दोश्रो र तेश्रो दिन समान १३–१३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4