News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी बडीबिल्डर रजनी श्रेष्ठले जेनजी आन्दोलनपछि राजनीतिमा प्रवेश गरेकी हुन्।
- रजनीले अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा नेपाललाई पदक जिताएकी छन् र खेल क्षेत्रको विकासमा जोड दिइरहेकी छन्।
- सांसद बनेपछि रजनीले खेलाडीका लागि स्वदेशमै खेल्ने वातावरण सिर्जना गर्ने र सुकुम्वासी समस्या समाधान गर्ने योजना बनाएकी छन्।
३ चैत, काठमाडौं । गत भदौ २३-२४ अघिसम्म बडिबिल्डर रजनी श्रेष्ठलाई राजनीतिबारे खासै चासो थिएन । बडीबिल्डरकी उम्दा खेलाडी रजनी कसरी नेपाललाई अन्तर्राष्ट्रिय पदक जिताउने भन्ने कुरामा केन्द्रित हुन्थिन् । जब भदौमा जेनजी आन्दोलन भयो त्यसपछि भने उनलाई राजनीतिमा आएर केही गर्ने इच्छा जाग्यो ।
उनी भन्छिन्, ‘आन्दोलनमा धेरै बालबालिकाहरू घाइते भए र धेरैले ज्यान गुमाए । त्यो देखेपछि मलाई के महसुस भयो भने म एउटा खेलाडी मात्र बनेर हुँदैन, अब देशको लागि केही गर्नुपर्छ ।’
त्यसपछि रजनी राजनीतिमा जोडिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक बन्द सूचीमा रहँदै राजनीतिमा पाइला चालिन् । ‘खेलाडी, कलाकार र व्यापारीहरू पनि राजनीतिमा आउनुपर्छ । भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ र जेनजीको माग पूरा गर्नुपर्छ भन्ने उद्देश्यका साथ म रास्वपामा जोडिएको हुँ,’ उनी भन्छिन् ।
जेनजी आन्दोलनपछि राजनीतिमा जोडिएकी रजनी फागुन २१ को निर्वाचनपछि संसद् प्रवेश गर्दैछिन् । उनी रास्वपाको समानुपातिकतर्फबाट सांसद बनेकी हुन् ।
नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेकी रजनीलाई संसद्मार्फत खेलाडीलाई स्वदेशमै बसेर खेल्ने वातावरण सिर्जना गर्ने मन छ । लामो समय खेल क्षेत्रमा लागेकी उनले नेपालमै भविष्य सुनिश्चित नदेखेर विदेसिएका खेलाडीको बाध्यता बुझेकी छन् ।

त्यसकारण पनि फुटबल, क्रिकेट मात्र नभई सबै खेलहरूलाई प्राथमिकता दिने रजनीको इच्छा छ । निर्वाचनमा प्रचारप्रसारका क्रममा रजनी गृहजिल्ला मोरङको गाउँगाउँ पुगेकी थिइन् । मतदाताहरूसँगको साक्षात्कारले थप संवेदनशील बन्न मद्दत पुगेको उनले सुनाइन् ।
नगरपालिका भनिए पनि सबै क्षेत्रमा सडक पूर्वाधान नभएको, फोनको नेटवर्क नआउने र सुकुम्वासी समस्या प्रत्यक्ष रुपमा रजनीले देख्न अवसर पाइन् ।
‘गाउँगाउँको समस्या देखेपछि राजनीतिमा लागेर केही परिवर्तन ल्याउन थप ऊर्जा दियो,’ उनी भन्छिन् ।
अब खेलकुदसँगै ती समस्या पनि समाधान गर्ने रजनीको चाहना छ । ‘खेल क्षेत्रमा मात्रै नभएर सारा सुकुम्वासीको आवाज उठाउनुपर्छ । लैङ्गिक हिंसाका कुराहरु भयो । धेरै खेलाडी तथा युवाहरु विदेशीनु भएको छ,’ उनले भनिन्, ‘स्वदेशमै रोजगारका लागि हामीले आवाज उठाउछौं ।’
प्राथमिक तहबाटै आत्मरक्षाका लागि विद्यार्थी व्यायाम तथा विशेष तालिम दिने व्यवस्था गर्ने सोच उनको छ । जसले गर्दा महिला तथा बालिकालाई बलात्कार तथा अन्य हिंसाबाट बच्न र स्वस्थ समाज निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
रोग जितेर बडिबिल्डर बनेकी रजनी
उनी खेल क्षेत्रमा जति सफल भएकी छन् त्यसअघि उनले गम्भीर स्वास्थ्य समस्या भोगेकी छन् । घाँटीमा मासुको डल्ला देखिएपछि उनी अस्पताल धाउन थालिन् । तर, समस्याको समाधान भएन । दुई वर्ष उक्त समस्याले थलिँदा उनी डिप्रेसनो सिकार बनिन् । त्यसैक्रममा जिम र फिटनेसले धेरै रोग निको भएको भन्दै श्रीमान् समीर श्रेष्ठले उनलाई जिम जान सल्लाह दिए ।
रोग निको हुने आशमा रजनी जिम धाउन थालिन् । जिम जान थालेको एक–दुई महिनामै उनको शरिरमा ठूलो परिर्वतन आयो । घाँटीमा देखिएको मासुका डल्ला हराउन थाले । ‘श्रीमान्सँगै मित्रपार्कमा रहेको जिममा गयौं । मलाई वेइट ट्रेनिङमा फोकस गराउनुभयो । एक–दुई महिना बित्यो । त्यसपछि छाम्दा सबै डल्लाहरू गायब भएछन्,’ रजनी सम्झिन्छिन् ।

त्यसपछि जिम उनको दैनिकी बन्यो । त्यत्तिकैमा जिम सञ्चालक अन्जन शाहीले काठमाडौंस्तरीय प्रतियोगितामा भाग लिन सुझाव दिए । त्यसमा उनका श्रीमान् पनि सहमत भए । अनि त्यसपछि सुरू भयो उनको बडीबिल्डिङ करिअर । रोग निको भयो । अनि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बडिबिल्डिङ प्रतियोगितामा भाग लिन थालिन् ।
रजनीले पहिलोपटक महिला फिजिक्स विधामा सहभागिता जनाइन् । सन् २०१७ मा भएको मिस्टर काठमाडौंमा उनी महिलातर्फ फिजिक्समा पहिलो स्थान हासिल गरिन् । त्यसपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा उनी सन् २०१९ मा इन्डोनेसियाको बाताममा भएको ५३औं एसियन बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी भइन् । त्यसमा पनि उनी पदकविहीन हुन परेन ।
महिला ५५ केजी तौल समूह र महिला ३० वर्षमाथिको विधामा गरी दुई पदक जित्न सफल भइन् । यस्तै सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा पनि उनले नेपाललाई पदक दिलाइन् ।
उक्त च्याम्पियनसिपको फेभरेट विधा ५५ केजी समूहमा रजनीले स्वर्ण पदक जित्न सफल भइन् । महिला फिजिक्स विधाबाट सुरु गरेकी रजनीले जर्जहरु सल्लाहपछि बडीबिल्डिङ विधामा प्रतिस्पर्धा गरिन् ।
रजनीले अहिलेसम्म राष्ट्रिय, दक्षिण एसियाली, एसियाली हुँदै विश्व स्तरका प्रतियोगितामा नेपाललाई पदक जिताइसकेकी छन् । सांसद बनेपछि उनी भन्छिन्, ‘जसरी व्यायामले मलाई नयाँ जीवन दियो, त्यसरी नै अब म राजनीतिमार्फत देशको लागि केही गर्न चाहन्छु ।’ सांसद भएपछि पनि खेल क्षेत्रलाई नरोक्ने रजनीको विश्वास छ ।
प्रतिक्रिया 4