समकालीन राजनीतिमा छुटाउन नहुने नाम बन्न गएका छन् रवि लामिछाने र गगन थापा। चुनावअघि गगन नेपालको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति थिए। चुनावले रविलाई सबैभन्दा ठूलो पार्टी रास्वपाको सभापतिका रूपमा उभ्याइदियो ।
एउटा समय थियो, गगन आफ्नो पार्टीबाट रविलाई चुनावमा उठाउन पाए हुन्थ्यो भन्ने सोच्थे। रवि चाहिं गगनलाई आफ्नो लिडरसिप रियालिटी शोको निर्णायक बनाउन पाए हुन्थ्यो भन्ठान्थे ।
उनीहरूबीच संवाद र विवादका लामा शृंखला छन्, आज चर्चा नगरुँ। आज बरु चर्चा गरुँ– गगनले चैत ३ गते मंगलबार दिएको राजीनामाको, अनि रविले भोलिपल्ट चैत ४ गते बुधबार ग्वार्कोमा गरेको भाषणको ।
रविले चुनाव जित्ने रास्वपाका १८२ सांसदहरूलाई बुधबार बधाई दिंदै विजयको उन्माद होइन, विनम्र बनेर जिम्मेवारी उठाउन अपिल गरे ।
गगनले उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै मंगलबार साँझ पार्टी सभापति पदबाट राजीनामा लेखे– ‘नेतृत्व केवल निर्णय गर्ने अधिकार मात्र होइन, परिणामको जिम्मेवारी लिने साहस पनि हो । म स्पष्ट छु— यदि विशेष महाधिवेशन सम्पन्न नभई निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति र परिणाम अझ प्रतिकूल हुन्थ्यो । तथापि यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालें वा कुन अवस्थामा सम्हालें वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो । वर्तमान परिणामप्रतिको जवाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु ।’
आज एस्प्रेसोमा यिनै दुई पात्रका केही प्रवृत्तिबारे कुरा गरौं।
रवि र गगनका केही कुरा मिल्छन्, केही कुरा मिल्दैनन् । मिल्ने के हुन् भने– रवि र गगन दुवै मिडिया पृष्ठभूमिबाट आए । दुवै जना बाचाल, बोलक्कड छन्। दुवै जना बनिबनाउँ फर्म्याटभन्दा केही बाहिरबाट सोच्ने प्रयास गर्छन् ।
आम चुनावअघि रास्वपा र कांग्रेसले सार्वजनिक गरेका घोषणापत्रहरू अरू कुनै पनि पार्टीका घोषणापत्रभन्दा बढ्ता पठनीय र मननीय छन् । गगनले पार्टीभित्र बसेर सुधार, पुनर्गठन र पुस्तान्तरणको लडाइँ छेड्दा रविले छुट्टै पार्टी बनाएर त्यो एजेन्डालाई एक कदम अघि बढाए ।
जेनजी विद्रोहपछि गगनको घर जल्यो, त्यसबेलाका पार्टी सभापति शेरबहादुर देउवा कुटिए। रवि नख्खु जेलबाट अलिक अपरिपक्व र अस्वाभाविक तरिकाले बाहिर निस्के। गगनले आन्दोलन आफूहरू समेतको कमजोरीका कारण हुन पुगेको भन्दै माफी मागे, बदलिने संकल्प गरे। शहीद र घाइते परिवारलाई भावनात्मक अपिल गरे ।
रविले पनि जेलबाट निस्केपछि शहीद परिवार भेटे, घाइतेसँग कुरा गरे। त्यसबेला प्रधानमन्त्रीका रूपमा खोजी गरिएका बालेन शाहले पीडितहरूप्रति संवेदना झल्किने गतिविधिमा सामेल नहुँदै गर्दा रवि र गगनले जनतासँग जोडिने गतिविधि गरे ।
तर रवि र गगनका बीचमा नमिल्ने कुराहरू पनि त्यत्तिकै छन् : चुनावमा रविले विशाल विजय पाउँदा गगन आफ्नै निर्वाचन क्षेत्रमा ठूलो अन्तरले पराजित छन् ।
रविमाथि नागरिकता, पासपोर्ट, सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दाहरूको सूची छ। गगनविरुद्ध कानूनी मुद्दाहरू छैनन्, राजनीतिक प्रश्नहरू भने अवश्यै शुरु भएका छन् ।

रविले कतिपय नैतिक र चारित्रिक आचरणसँग सम्बन्धित प्रश्नहरू सामना गर्नुपरेको छ, गगनलाई अहिलेसम्म त्यस्ता प्रश्नहरू प्राप्त भएका छैनन्। बाख्राकाण्ड भन्दै जोडिएका प्रश्नबारे उनका शुभेच्छुकले मटन डटवर्ल्ड नामक वेबसाइट नै खोलेर प्रतिवाद गरेका छन् ।
ससुरा तथा पुराना कांग्रेस नेता अर्जुननरसिंह केसीले पाएको समानुपातिकतर्फको टिकट तत्कालीन सभापति शेरबहादुर देउवाकै पालाको थियो, जसबारे तत्कालीन महामन्त्री हुनुको नाताले गगन समेत प्रश्नका भागीदार बन्न पुगेका छन् ।
रविले आफ्ना मुद्दाहरूको सप्रमाण प्रतिवाद गर्लान् वा झुटा ठहरे सहुँला बुझाउँला भन्लान्, त्यो अलग्गै छलफल गर्नुपर्ने विषय हो। हाललाई राष्ट्रिय राजनीतिमा रविले अघि सारेका प्रस्तावहरूले बृहत् आकारको जनअनुमोदन पाएका छन् । यही चुनावभन्दा ठिक अगाडि अर्थात् माघ १ गते सकिएको विशेष महाधिवेशन मार्फत पार्टीभित्र विद्रोह गरेका गगन थापा आफ्ना प्रस्तावहरू जनतामाझ पुर्याउन एकदमै ढिलो भएको स्वीकारोक्तिमा छन् ।
यही पृष्ठभूमिमा गगनले चुनावमा भयंकर पराजयसँगै त्यसको जिम्मेवारी लिंदै जुन राजीनामा पेश गरेका छन्, त्यसका कारण नेपाली कांग्रेस मात्रै होइन, राष्ट्रिय राजनीतिमा नै फेरि एकपल्ट उनका बारे बहस शुरु भएको छ ।
सँगसँगै गगनले राजीनामा दिएको भोलिपल्ट रास्वपाको ग्वार्को भेलामा रविले दिएको आधा घण्टाको भाषण यतिबेला चर्चा गर्नैपर्ने खालको छ ।
एस्प्रेसोका प्रिय पाठक तथा दर्शकवृन्द, खासमा विजयको रथमा बालेन शाहसँगै सवार रवि लामिछाने, अनि चुनावी हार बेहोरेका गगन थापाको राजीनामापत्रको पूर्णपाठ हेर्ने हो भने सारमा ती दुवैको सन्देश र त्यसभित्रको मर्म एउटै छ ।
रविले चुनावअघिसम्म कस्ता कुरा गर्थे सम्झौं त। उनी आफूलाई जेलभित्र सुतेकै ठाउँमा अन्तिम इच्छा के छ भनेर सोधिएको बनावटी कुरा गर्थे, मानौं नेपालमा मृत्युदण्डको कानून छ ।
उनी आफू वा बालेनमाथि कसैले सोधेका प्रश्नको किन जवाफ नदिएको भनी पत्रकारले सोधे भने ‘प्रश्न सोध्ने ठेक्का कसैलाई दिएका छैनौं’ भन्थे ।
नागरिकता र पासपोर्ट काण्डले गृहमन्त्री पद गुमाउँदा रविले त्यसको सबै रिस पत्रकार र मिडिया हाउसमाथि पोखे। रविले ‘१२ भाइ’ नामक कपोलकल्पित सम्पादक बैठकहरूलाई यस्तरी स्थापित गरिदिए कि त्यसको मूल्य सिंगो नेपाली प्रेसले चुकाउनु परिरह्यो, अझै चुकाउँदै छ ।
अब धेरै बुँदा नबनाउँ। एउटा नेताका रूपमा रवि लामिछानेका सबल र सकारात्मक बुँदा बनाउन थाल्यो भने लक्ष्मणदत्त पन्त जस्ता एक–दुई स्वनामधन्य मिडिया विश्लेषकहरूको टाउको अनाहकमा टन्किन थाल्छ। अनि तिनीहरू आफ्ना रचनात्मक आलोचना गर्ने महत्वपूर्ण जिम्मेवारी बिर्सेर कुण्ठा, भर्त्सना र निन्दामा ओर्लिन थाल्छन् ।
रविका सीमा र कमजोरी केलाउन थाल्यो भने एउटा ठूलै ग्याङ हामीमाथि खनिन थाल्छ। ठिकै छ– हजारौं फेसबुक पेजहरूलाई फुल्न दिउँ, सयौं विचारका धारहरूलाई प्रतिस्पर्धा गर्न दिउँ ।
मूल कुरो फेसबुक पेजहरू होइनन्, मूल कुरो हामीले जिम्मेवार भूमिकामा बसेर गरिरहेको आत्मरतिको हो। हामी राजनीतिक संस्कृतिलाई जानाजान विषाक्त बनाउँदै छौं। यसो गर्नेमा कतिपय नेता, बुद्धिजीवी, सञ्चारकर्मी समेत छन् ।
चर्को र हावादारी कुरालाई दश गुणा ठूलो बनाएर महामारीका रूपमा फैलाउनेहरूका बीचमा रवि लामिछानेले आफ्नो शैली बदल्ने प्रारम्भिक संकेत गरेका छन् ।
रविले पार्टी सभापतिका रूपमा आफ्ना सांसदहरूलाई गरेको अपिल एकदमै महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने खालको छ। रास्वपाका सांसद, नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक सबैले त्यो विनम्रताको ५० प्रतिशत मात्रै अपेक्षा पूरा गरे पनि चित्त बुझाउनुपर्ने खालको छ ।
अनि त्यस्तै विनम्रता र संस्कार कांग्रेस, एमाले, नेकपा, राप्रपा लगायत पार्टीहरूबाट अपेक्षित छ। यो सूचीमा श्रम संस्कृति पार्टीलाई किन छुटाउने ? हर्क साम्पाङले पनि छिटै यस्तो अपिल गर्लान् ।
अब रह्यो कांग्रेसको कुरा– खासमा कांग्रेसले आफूलाई सोसल डेमोक्रेटिक धारमा उभ्याउन खोजेको छ। रास्वपाले आफूलाई लिबरल डेमोक्रेटिक स्पेसमा राख्न खोजेको छ। सम्भावित जनाधार उस्तै उस्तै नै हो दुवैको, धेरै फरक छैन ।
आज नेपालमा ठूलो युवा उभार आएको छ। यो नयाँ पुस्तालाई नेतृत्व गर्नु भनेको समाजमा नयाँ संस्कार र संस्कृति हस्तान्तरण गर्नु पनि हो। यो काम रास्वपाले विनयशीलता साथ गर्न सिकोस्।
कांग्रेसले गगनको राजीनामाबारे के निर्णय गर्ला, हेर्न बाँकी छ । उपसभापति विश्वप्रकाश शर्माको संकेत हेर्दा गगनको राजीनामा पास हुन कठिन छ । तर उनलाई आफ्ना निर्णयहरुमा छाडिदिनु पार्टी अनि समग्र राजनीतिक संस्कृतिका लागि हितकर हुन सक्छ ।
गगनले आफ्नो पराजयलाई समग्र राजनीतिक पराजय नठानी चुनावी जितहार, अनि जनताको सधैं अगाडि मात्र जान चाहने सोचको उपज मान्न सके भने त्यसले नेपाल राष्ट्रका आगामी दिनहरूलाई अझै राम्रो बनाउन सक्नेछ ।
उता रविले आफ्नो छवि बदलेर गरेको भाषण हामी पछिसम्म सम्झने छौं । प्रेस, नागरिक समाज र आम जनताप्रति नेतृत्वले गर्नुपर्ने व्यवहारबारे उनले बोलेका वाक्य उनी स्वयंले पनि लागू गर्नेछन् भन्ने अपेक्षा छ ।
गगन र रवि दुवैलाई धन्यवाद, र आउने दिनहरूका लागि शुभकामना । हामी तपाईंहरू दुवैलाई संयमपूर्वक निरीक्षण गर्दै रहनेछौं ।
प्रतिक्रिया 4