News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले दुई तिहाइ निकट बहुमतपछि आफ्नो शैली शान्त, संयम र जिम्मेवार बनाएको बताएका छन्।
- लामिछानेले पार्टीका सांसदलाई जनताको सेवक बन्न र सरकारी अस्पतालमै उपचार सेवा लिन अपिल गरेका छन्।
- सभापति लामिछानेले विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न र सामाजिक सञ्जालमा आक्रामकता बन्द गर्न निर्देशन दिएका छन्।
४ चैत, काठमाडौं । आम चुनावभन्दा पहिले रास्वपा सभापति रवि लामिछानेका वक्तव्यहरु सन्तुलित र तथ्यपरक कम थिए । झन्डै दुई तिहाइ निकटको अभुतपूर्व बहुमतपछि उनी शान्त, संयम र जिम्मेवार देखिएका छन् ।
चुनावभन्दा ठीक अघिका भाषणहरूमा उनी आफूलाई सुतेकै ठाउँमा अन्तिम इच्छा सोध्न आउनेविरुद्ध मत खसाल्न उत्तेजक आह्वान गरिरहेका हुन्थे । उनी प्रश्न सोध्ने पत्रकारहरूप्रति समेत आक्रामक रुपमा भन्थे, ‘प्रश्नको ठेक्का कसैलाई दिएका छैनौं ।’
शब्दहरूमा कठोर पकड राख्न सक्ने पूर्वसञ्चारकर्मी लामिछाने बोलेर मासलाई अपिल गर्दैगर्दा प्रधानमन्त्री प्रस्तावित अर्का नेता बालेन शाह भने नबोलेर वा कम बोलेर प्रभाव पारिरहेका हुन्थे ।
रास्वपा सांसदहरूका लागि पार्टीले ग्वार्कोमा राखेको दुई दिने अभिमुखीकरणको समापन क्रममा बुधबार सभापति लामिछानेले आफ्नो शैली पूर्ण रुपमा बदलेको देखियो । उनले दुई तिहाइ निकट बहुमत पाएको पार्टीको सभापतिका रुपमा राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रहरुलाई आफ्नो पार्टीको नेतृत्वप्रति भरोसा गर्न अपिल गरेका छन् ।
उनले निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदाय अनि लगानीकर्ताहरुलाई समेत विश्वास दिलाउन खोजेका छन् ।
लामिछानेको पूर्ववत् आक्रामकता अब नयाँ भूमिकासहित बदलिने संकेत देखिएको छ । उनले रास्वपाका कार्यकर्तालाई राम्रोसँग प्रशिक्षित गर्ने समय नै नपाएको स्वीकार गर्दै सामाजिक सञ्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्न निर्देशन दिएका छन् । उनले रास्वपा समर्थकहरुलाई विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न पनि आह्वान गरेका छन् ।
पार्टीका सांसदहरूलाई जनताको शासक होइन, सेवक बन्न उनको अपिल छ । अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिए । सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपिल गरे ।
लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई उनीहरुले इतिहासमा गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिए । आफूहरुले इतिहासको योगदानलाई धन्यवाद भनेको, अनि भविष्यको जिम्मेवारी चाहिँ रास्वपाले लिने उनले सन्देश दिए ।
पार्टी स्थापनाकालदेखि साढे तीन वर्षमा कदम–कदममा चुनौती बेहोर्नुपरेको, तर त्यसलाई नागरिकको मायाले जित्दै आएको लामिछानेको भनाई छ ।
अब सरकारमा आएर परिणाममार्फत् त्यो गुन तिर्ने उनले बताए ।
लामिछानेले नागरिकमा नेतृत्वप्रति निराशा रहे पनि उनीहरुलाई ३५ वर्ष कुरेको, तर आफूहरुलाई ३५ दिन पनि नकुर्ने भन्दै पाइला पाइलामा सावधान रहेर सही काम गर्न आग्रह गरे । सांसदहरुलाई उनले यसअघिको जस्तो निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि निर्देशन गरे । ‘पार्टीभित्र स्वतन्त्रता छ, तर यसको अर्थ अनुशासन पनि त्यहीँनेर छ,’ लामिछानेले भने, ‘धेरै कुरामा विचार गर्नुहोला । यसपल्ट हामी राइट टु रिकल (प्रत्याह्वान) को व्यवस्थालाई कडाईका साथ लागु गर्नेछौं ।’
उनले मन्त्री बन्ने दौडमा सामेल नहुन सांसदहरुलाई आग्रह गरे । स्वार्थसमूहहरुले विभिन्न बहानामा प्रभावित पार्न कोसिस गर्ने भन्दै सतर्क हुन उनको आग्रह थियो । रमाइलो वा उत्सवको अनुभूति नराख्न उनले भन्दै सम्झना दिलाए, ‘याद राख्नुहोला, यहाँ शहीदकी आमा पनि छिन् । आफ्नो छोरा गुमाएर उनी संसदमा आएकी छन् ।’
यसअघिका सरकार निर्माण क्रममा अनुभूति सुनाउँदै सभापति लामिछानेले भने, ‘सरकार बनेकै साँझदेखि ढाल्ने प्रयासमा समूहहरु लाग्छन् । हामी सतर्क बन्नुपर्छ ।’
लामिछानेले वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो आस्था अविच्छिन्न कायम रहेको भन्दै आशंका नराख्न पनि आग्रह गरे । नेपाली जनताले अहिलेसम्म कसैलाई नगरेको विश्वास रास्वपालाई गरेकाले यसको महत्व बुझ्न उनले सांसदहरुलाई निर्देशन दिए ।
वरिष्ठ नेता बालेन शाह कार्यक्रममा सहभागी भएनन् । लामिछानेले बालेनको नाम आफ्नो मन्तव्यमा उच्चारण गरेनन् ।
बालेन स्वास्थ्यलाभ गरिरहेको रास्वपाले जानकारी दिएको छ । यद्यपि उनी रुटिन अफ् नेपाल बन्दका सन्चालक भिक्टर पौडेलले लेखेको स्टाटसमा कमेन्ट लगायत क्रियाकलाप गरिरहेको बेला पार्टीको महत्वपूर्ण बैठकमा किन एकछिन पनि सहभागी भएनन् भन्ने जिज्ञासा उठिरहेको छ ।
बालेनले हालसम्म एकपल्ट बाहेक पार्टी कार्यालयमा जाने, सचिवालय लगायत बैठकमा सामेल हुने गरेका छैनन् । कार्यक्रममा उनको नाममा नामै लेखेर सिट रिजर्भेसन गरिएको थियो ।
प्रतिक्रिया 4