+
+
Shares

रास्वपा सांसदलाई रवि लामिछानेका १० निर्देशन

रविको मन्तव्यको सबैभन्दा परिपक्व पक्ष भनेको उनले पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई गरेको सम्मान हो। ‘इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ’ भन्ने भाष्यले राजनीतिक ध्रुवीकरणलाई कम गर्न खोजेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिएका छन्।
  • लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण हुनु पर्ने र व्यक्तिगत स्वार्थभन्दा देश केन्द्रित राजनीति गर्नुपर्ने बताए।
  • उनले पार्टीभित्र अनुशासन कायम राख्न र सामाजिक न्याय, लगानीकर्ता आश्वस्त पार्न जोड दिएका छन्।

४ फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिए ।

ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरणमा बुधबार सम्बोधन गर्दा सभापति लामिछाने हिजोको विद्रोही र आलोचक छविबाट माथि उठेर उनी एउटा जिम्मेवार नेता र संस्थागत नेतृत्वको रूपमा रूपान्तरण हुन खोजेको सन्देश दिए ।

लामिछानेले पुरानो राजनीतिक शैलीको अन्त्य, इतिहासको सम्मान, सामाजिक न्याय र लगानीकर्तालाई आश्वस्त पार्ने विषयमा आफ्नो सम्बोधन केन्द्रित गरे । उनको मन्तव्य एउटा ‘पपुलिस्ट’ नेताको भाषणबाट जिम्मेवार नेता बन्ने दिशातर्फको पाइला जस्तो अनुभूति हुनेगरी आएको छ ।

उनले आफ्ना सांसदहरूलाई शक्तिको उन्मादबाट जोगाउन, जिम्मेवारीको बोध गराउन र दललाई एउटा परिपक्व, सहिष्णु र परिणाममुखी संस्थाको रूपमा रूपान्तरण गर्न गम्भीर, स्पष्ट र सन्तुलित निर्देशन दिएका छन्।

यसक्रममा उनले इतिहास निर्माण गरेका परम्परागत दलका नेताहरूप्रति कृतज्ञता प्रकट गरे, धन्यवाद दिए । सँगै, भविष्य आफ्नो दलले बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । सामाजिक सञ्जालमा प्रतिक्रियात्मक देखिने नेता कार्यकर्ताहरूलाई त्यस्तो अभ्यासबाट बाहिर निस्कन निर्देशन दिए ।

बहुरंगी पृष्ठभूमिबाट आएका सांसदहरूलाई पार्टीको अनुशासनमा चल्न र मतदाताको मन दुख्ने र निरास बनाउनेगरी अभिव्यक्ति नदिन पनि लामिछानेले आह्वान गरे ।

लामिछानेको सन्देशका १० सन्देशहरूः

१. अब राजनीति हिजोको जस्तो चल्नेवाला छैन

रविको पहिलो र मुख्य सन्देश नै ‘अब राजनीति हिजोको जस्तो चल्नेवाला छैन’ भन्ने हो। उनले आफ्ना सांसदहरूलाई स्पष्ट पारेका छन्- सत्ताको दौडधुप, गुटबन्दी, बिचौलियासँगको उठबस र शक्तिको अभ्यास अब हिजोका पुराना दलहरूको जस्तो हुनेछैन। यसले रास्वपा परम्परागत राजनीतिको निरन्तरता नभई त्यसको ‘विकल्प’ हो भन्ने भाष्यलाई पुनः स्थापित गर्न खोजेको छ।

२. सांसदको मूल काम कानुन निर्माण गर्नु हो 

नेपालको राजनीतिमा सांसदहरू प्रायः विकास निर्माणका एजेन्ट (ठेकेदार, बाटो खन्ने, पुल हाल्ने) का रूपमा बुझिन्छन्। तर, रविले सांसदको प्राथमिक काम ‘कानुन निर्माण’ हो भनेर सैद्धान्तिक स्पष्टता दिएका छन्। कानुनका कुन दफाले जनताको धारामा पानी आउन रोकेको छ भनेर अध्ययन गर्न निर्देशन दिनुले उनीहरूलाई ‘पपुलिजम’ बाट ‘पोलिसी मेकिङ’ (नीति निर्माण) तर्फ डोर्‍याउन खोजेको देखिन्छ।

३. ‘राइट टु रिकल’ को चेतावनी

रास्वपाले आफ्नो विधानमा राखेको ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) लाई रविले चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। दुई तिहाइ नजिकको बहुमत भए पनि सरकारको सङ्ख्या घट्ने प्रवाह नगरी अनुशासनहीन वा जनअपेक्षा विपरीत काम गर्नेलाई फिर्ता बोलाइने कडा चेतावनीले दलभित्रको आन्तरिक अनुशासन र उत्तरदायित्वलाई बलियो बनाउने सङ्केत गर्छ।

४. ‘म’ बाट ‘देश’ केन्द्रित राजनीतिमा आउनुहोस् 

‘तपाईंको र मेरो मन्त्री/प्रधानमन्त्री बन्ने सपनाको भारी यो समाजले बोक्दैन, समाजको सपनाको भारी हामीले बोक्ने हो,’ भन्ने रविले पार्टीभित्र सन्देश दिन चाहिरहेका देखिन्छन् । यसले सांसदहरूलाई व्यक्तिगत स्वार्थ, पद र शक्तिको लालसाबाट माथि उठेर सामूहिक र राष्ट्रिय स्वार्थमा केन्द्रित हुन गम्भीर अपिल गरेको छ। उनले प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहलाई पनि केही सन्देश दिन खोजेका छन् ।

५. सार्वजनिक अभिव्यक्ति र कूटनीतिक संवेदनशीलता ख्याल गर्नुहोस्

हिजो रास्वपा नेताहरू ‘भाइरल’ हुन रुचाउँथे। तर आज रविले सांसदहरूलाई मिडियामा हल्काफुल्का टिप्पणी गर्नबाट रोक लगाएका छन्। विशेषगरी परराष्ट्र सम्बन्ध र अर्थतन्त्रजस्ता गम्भीर विषयमा बोल्दा सचेत हुन दिएको निर्देशनले उनी दलको नयाँ उचाइ र त्यसले ल्याएको कूटनीतिक तथा राष्ट्रिय संवेदनशीलताप्रति पूर्ण जानकार रहेको देखाउँछ। उनले स्पष्ट भनेका छन्, ‘तपाईंको हल्का अभिव्यक्तिले देशलाई दीर्घकालीन असर गर्न सक्छ।’

६. चुपचाप काम र विज्ञहरूको सम्मान

राजनीतिमा प्रायः मिडियामा छाउने अनुहारले मात्र अवसर पाउँछन्। तर रविले ‘छेकिएका’ र चर्चामा नआएका विज्ञहरूलाई पनि पार्टीले हेरिरहेको र मिडियालाई समेत त्यस्ता विज्ञहरूतर्फ क्यामेरा फोकस गर्न आग्रह गरेर दलभित्रको योग्य सांसदहरू पनि छन् भन्ने सन्देश दिनुका साथै उनीहरूको प्रवर्द्धन गर्न खोजेको देखिन्छ।  उनले भने, ‘प्रत्यक्ष र समानुपातिक सांसदहरूबीच कुनै विभेद हुनुहुँदैन। हामी समय र परिस्थितिले जोडिएका हौँ, अब सामूहिक खेलाडी (टिम प्लेयर) का रूपमा काम गर्नुपर्छ।’

उनले थपे, ‘व्यक्तिगत रूपमा कसैको आचरण मन पर्नु नपर्नु बेग्लै कुरा हो, तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान, संसद्‌को नियमावली र पार्टीको विधान हो।’

७. इतिहासको सम्मान र सहिष्णुताको अपिल

रविको मन्तव्यको सबैभन्दा परिपक्व पक्ष भनेको उनले पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई गरेको सम्मान हो। ‘इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ’ भन्ने भाष्यले राजनीतिक ध्रुवीकरणलाई कम गर्न खोजेको छ।

साथै, आफ्ना समर्थकहरूलाई ‘अराजक र असहिष्णु’ नबन्न र विपक्षीलाई कटाक्ष नगर्न दिएको कडा निर्देशनले रास्वपालाई एउटा सहिष्णु र मध्यमार्गी लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक प्रयास देखिन्छ।

८. भौतिक पूर्वाधार भन्दा ‘सामाजिक न्याय’ मा जोड दिनुपर्छ

विकास भनेको भ्युटावर वा चिल्ला सडक मात्र होइन, ‘सामाजिक न्याय’ हो भन्ने रविको परिभाषाले रास्वपाको वैचारिक धरातललाई स्पष्ट पारेको छ। कर्णाली र मधेसका जनताको जीवनस्तर सुधारलाई उनले विकासको मुख्य सूचक मानेका छन्। साथै, राई–लिम्बु समुदायको प्रतिनिधित्व हुन नसकेकोमा सार्वजनिक रूपमै क्षमा माग्दै आगामी दिनमा समावेशितालाई प्राथमिकता दिने प्रतिबद्धताले दलको समावेशी समानुपातिक व्यवस्थाप्रतिको बुझाइलाई संकेत गरेको छ ।

९. लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त

आफ्नो मन्तव्यमार्फत रविले आन्तरिक सांसदहरूलाई मात्र होइन, बाह्य जगत्‌लाई पनि सन्देश दिएका छन्। निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई ‘तपाईंको लगानी सुरक्षित छ, अब नेताले होइन नीतिले संरक्षण गर्छ’ भनेर नयाँ सरकारले आर्थिक कूटनीति र लगानीको वातावरणलाई प्राथमिकतामा राखेको सन्देश दिएका छन् ।

१०. संस्थागत रूपान्तरण: ‘वि विल ह्यान्डल इट विथ केयर

नयाँ र कलिलो शक्तिले दुई तिहाइ बहुमत पाउँदा अधिनायकवाद वा लोकतन्त्र खतरामा पर्छ कि भन्ने आम आशङ्कालाई रविले चिर्ने प्रयास गरेका छन्। ‘मुलुक नयाँ मान्छेको हातमा गयो, लोकतन्त्र खतरामा पर्छ कि वा अधिनायकवाद आउँछ कि भन्ने शङ्का र भ्रम कसैलाई छ भने म प्रस्ट पार्न चाहन्छु- मुलुक राम्रो हातमा छ,’ उनले भने, ‘वि विल ह्यान्डल इट विथ केयर’। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्नेछौँ।’

लामिछानेको यो आश्वासनले नागरिक र सरोकारवालालाई शान्त पार्ने र लोकतान्त्रिक व्यवस्थाप्रति रास्वपाको प्रतिबद्धता जनाउने काम गरेको छ।

रास्वपा सांसदहरूलाई रवि सम्बोधनको सम्पादित अंश-

रास्वपा सांसदलाई रविका निर्देशन: स्टन्ट होइन, सिस्टममा काम गरौँ

तपाईंहरूले चुनाव जितेपछि गरेजस्तै सेलिब्रेसन जनताले अबको पाँच वर्ष प्रत्येक दिन गर्न सक्नेगरी काम गर्नुपर्छ । तपाईंको परिवार र आफन्त कति खुसी हुनुभएको छ माननीय हुनुभएको छ । देश-विदेशमा कत्रो सेलेब्रेसन चल्यो होला । केक काट्नुभयो होला । दियो बाल्नुभयो होला । रातभर रमाइलो गर्नुभयो । मानिसहरूले त्यहीँ ढंगले दौडधुप गरेको पनि मैले देखेको छु ।

यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएजस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ।

साथीहरू, मलाई थाहा छ- ‘राजनीति यसैगरी चल्छ’ भनेर कहीँ कतै मानिसहरू त्यही ढङ्गले दौडधुप गरिरहेको पनि मैले देखिरहेको छु। तर, राजनीति त्यसैगरी चल्नेवाला छैन। ‘नथिङ’, कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। हामीले काँचुली फेर्ने हो, सर्लक्कै काँचुली फेर्ने हो। त्यही काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्।

हामी कानुन बनाउन आएका हौँ। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईंहरूको काँधमा नेपाली जनताले दिएका छन्। जनतालाई थाहा छैन- कुन कानुन फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ वा इन्टरनेट चल्छ। तर, तपाईंलाई थाहा हुनुपर्छ- कुन धाराले कहाँ अड्काएको छ। मान्छेको घरमा धारा ल्याउन तपाईंले अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडधुप, यता उता, ‘यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि, यसो भेटेर गएर फोटो खिचे हुन्छ कि’- यो पसल बन्द गर्नुहोला साथीहरू।

म आज अलिकति तितो कुरा गरिरहेको छु। ‘ल मेकर’ (कानुन निर्माता) का रूपमा तपाईं–हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। पछिल्लो परिवर्तन र संविधान कार्यान्वयन हुनका लागि समेत कयौँ कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा–अड्चनहरू भए। तर, नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुईतिहाइको बहुमत दिएका छन्। अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईं–हाम्रो नियतले मात्रै हो।

मेरो राजनीतिमा धेरै लामो अनुभव त रहेन, तर जति समय रहेँ, सधैँभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नुपर्‍यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो, पार्टीको नाममा मुद्दा चल्यो, यसलाई जन्मँदै कुल्चिने कोसिस भयो। तर, हामीले बचाउँदै ल्यायौँ। यो पार्टीको चुनाव चिह्नमा मुद्दा चल्यो, चिह्न नै भत्काइदिने गरी प्रहारहरू भए। स्थापित राजनीतिक दलहरू, विभिन्न स्वार्थ समूह र शक्ति समूहबाट जोगाएर ल्यायौँ। हामीले घण्टी बचायौँ किनकि नेपाली जनताको लागि घण्टी बचाउनुपर्थ्यो, घण्टी बजाउनुपर्थ्यो। यो सजिलो थिएन। देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ। हामी डराएनौँ, हल्लिएनौँ किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। ‘एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ’ भनेर हामीले ८४ कुरेका थियौँ। नागरिकले सबै हेरेका हुन्छन्।

जनताको चेतनालाई कसै–कसैले चुनौती दिन्छन्, ‘जनता नै खराब भयो कि’ भनेर। तर होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई २१ सिट होइन, एकैपटक दुईतिहाइ दिन सक्थे। अघिल्लो चुनावमा जनताले के भने भने- ‘यी नयाँहरूलाई एकपटक हेरौँ, ताकि यिनीहरू नमात्तिऊन्। त्यति मात्र सिट दिऊँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिट्यान्न नपारौँ।’ नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो।

शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी बाँधिन्छ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई त नेपाली जनताले ३४-३५ वर्ष कुरे, तपाईं–हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैनन्। यो कुरामा निर्धक्क हुनुहोला। किनकि जनता अब्बल चेतनामा आएका छन्। अब कानुन निर्माताका रूपमा तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन। गुट बनाएर कांग्रेस–एमालेलाई जितिँदैन साथी हो! कुनै गुट बनाउनुपर्दैन, घण्टीका मुनि सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति धेरै तागत छ, कहीँ गुट बनाउनुपर्दैन।

‘आफ्नो पोजिसन के हुन्छ? म कहाँ हुन्छु? मलाई के हुन्छ? पार्टीमा मेरो हैसियत के हुन्छ? संसद् र सरकारमा मेरो हैसियत के हुन्छ?’- यो ‘म केन्द्रित’ राजनीतिबाट माथि उठ्न सकिएन र ‘देश केन्द्रित’ राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूको भन्दा पनि खत्तम हुन्छ। यो कुरा म तपाईंहरूलाई ‘डे वान’ मै बताउन गइरहेको छु। आफूलाई सेन्टरमा राख्ने होइन। आजसम्म राजनीति त्यस्तै भयो- ‘राष्ट्रिय सहमति’ भन्दै नेताहरूले आ–आफ्नो र पार्टीको ठाउँ सुरक्षित राखे। तर देशलाई केन्द्रमा राखियो कि राखिएन? त्यो महत्त्वपूर्ण कुरा हो।

यतिखेर देश केन्द्रमा छ। देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईंको र मेरो मन्त्री/प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले र समाजले बोक्दैन, तर यो समाजको सपनाको भारी तपाईं–हामीले बोक्ने हो। त्यसैका लागि मत दिएर पठाएका हुन्। यो सामान्य कुरा होइन, यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग साठगाँठ गर्नुभन्दा अगाडि, एक कप चिया वा एक घुट्को पानी खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनुहोला। आफ्नो छोरो चढाएर संसद् छिरेकी छन् सहिदकी आमा।

यो देशमा बिचौलियाहरूको बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ, त्यो अनुभव तपाईंहरूलाई सुनाउँदै छु। तपाईंहरूलाई विचलित र प्रभावित बनाउन मानिसहरू दौडिन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको दिनबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ, अब यिनीहरूबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ–ठाउँबाट प्रयास हुन्छन्। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ। हामीविरुद्ध पनि लाखौँ भोट परेका छन्। विरोधीहरूको कमी रहँदैन, तर फरक यति हो कि हामी कति बलियो छौँ? आफू बलियो हुनुपर्छ, ‘अर्काले फुटायो, विदेशीको चाल, उसको चाल’ जस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन, हामी मिल्न सकेनौँ र स्वार्थको बन्दी बन्यौँ भने मात्रै समस्या पर्ने हो।

विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईंहरूले कहीँ कतै लघुताभास राख्नै पर्दैन। ‘मलाई पुरानो पार्टीको भन्छन् कि’ वा ‘पुराना पार्टीलाई गाली गर्दा अनुहार रातो पार्नुपर्छ कि’ भन्नुपर्दैन। हृदय ठूलो पारेर हामीले तपाईंहरूलाई स्वागत गरेका छौँ, खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाईंहरू टक्टकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्थाबाट नचलोस् भनेर कलिला भाइबहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो पाँच वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त सहिदहरूले रगत बगाएर आएको चुनाव हो।

यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। तपाईं–हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको अभिव्यक्ति वा क्रियाकलापबाट हुनुहुँदैन। सञ्चारमाध्यममा बोल्न र आफ्ना बारेमा ‘वाहवाह’ हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरूले राम्रो कुरा लेखिदिँदा मख्ख पर्नुहोला, तर तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा के प्रभाव पारेको छ भन्ने याद नगरी हल्काफुल्का रूपमा उभिनुभयो भने त्यसले देशलाई दीर्घकालीन असर गर्न सक्छ। अब तपाईं हिजोको मान्छे होइन, जिम्मेवार सांसद र राजनीतिज्ञ हो।

जो कोहीलाई अझै पनि ‘म हिजोकै जस्तो सार्वजनिक अभिव्यक्ति दिन्छु’ भन्ने लाग्छ भने ‘यु आर मोर देन वेलकम टु लिभ दिस’, तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ। तर होइन भने अब जिम्मेवार बन्नुपर्छ। मैले कानुनहरू फेर्नुपर्नेछ, संसद्‌मा नयाँ कानुन ल्याउनुपर्नेछ। मलाई मत दिएका जनताको घरघरमा खुसियाली आउनुपर्नेछ र चुलो बल्नुपर्नेछ। उनीहरूले अस्पतालमा उपचार गर्न जाँदा कसैको ‘सोर्स’ बिना बेड पाउनुपर्छ भन्ने कुराको महसुस तपाईंलाई हुनुपर्छ। म अनुरोध गर्न चाहन्छु- सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमै उपचार गराउनुस् (इमर्जेन्सीको बेलामा भनेको होइन)। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीलाई अप्ठ्यारो पर्ने तर तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन। यो महसुस गर्न सक्नुपर्छ।

रास्वपा स्थापना भएको साढे तीन–चार वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। रास्वपाभित्र सिङ्गो देशको अनुहार छ। एउटा कुरा म आजै स्पष्ट पार्न चाहन्छु- सरकार दुईतिहाइको छ, सङ्ख्या घट्ला, बहुमतमा रहला वा अल्पमतमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मँदै आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, अर्को अनुशासन हुन्छ। ‘फ्रिडम’ र ‘डिसिप्लिन’ बीचको पातलो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। पार्टीको कुनै पनि उद्देश्य तपाईंको स्वतन्त्रता हनन गर्ने छैन। तपाईं स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर। परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौँ भने त्यसले अराजकता सिर्जना गर्छ, जसलाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ।

म आज अलिकति फरक सुनिएको छु होला, तपाईंले महसुस गर्नुभएको होला। ‘अलिअलि कारबाहीका कुरा गर्‍यो, राइट टु रिकलको कुरा गर्‍यो, खबरदारी गर्‍यो’ भन्ने लागेको होला। लाग्नुपर्छ तपाईंलाई। किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन्, त्यो ठूलो जिम्मेवारीको महसुस तपाईंलाई प्रत्येक दिन हुनुपर्छ। ‘यो देश अहिले पनि बनेन भने कहिल्यै बन्दैन’, ‘बाबु यो देश बचाऊ’- भोट माग्न जाँदा आमाबुवाहरूले रुँदै भनेका यी शब्द कति गहन र ठूला छन्! हामी जस्ता सामान्य मान्छेको हातमा नीलो झन्डा र घण्टी बोकेर हिँडेकाहरूको काँधमा जेष्ठ नागरिकदेखि बालबालिकासम्मले ‘देश बचाऊ’ भनिरहेका छन्। जति ठूलो शक्ति, त्यति ठूलो जिम्मेवारी!

अब संसद्‌को सेसन चलेको बेलाबाहेक तपाईंहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। चुनाव त फेरि पनि आउँछ, तर यसपटक हामीले नागरिकसँग ‘करार’ गरेका छौँ। त्यो करारका अक्षर–अक्षर पढ्नुहोला।

तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या ‘मिडिया ट्रायल’ गरेर ‘म फलानो मन्त्री’ भन्ने जस्ता चिज बन्द गरिदिनुहोला। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने निर्णय गरिसकेको छैन। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईंले भन्नुपर्दैन। पार्टीलाई तपाईंहरूको क्षमता र विज्ञता थाहा छ। कैयौं साथी देखिएको देखियै गर्नुहुन्छ, कैयौं साथी छेकिएको छेकियै गर्नुहुन्छ ।

म सञ्चारकर्मी साथीहरूलाई पनि अनुरोध गर्छु- सार्वजनिक चर्चामा आइसकेका बाहेक रास्वपाभित्र १०१ विज्ञ साथीहरू यो हलभित्र हुनुहुन्छ, क्यामेरा अलिकति उहाँहरूतर्फ पनि फोकस गरिदिनुहोला।

हामीले भनेका थियौँ, ‘यसपटक आफ्नो भाग्य र इतिहास आफ्नै हातले लेख्ने हो।’ आज म तपाईंहरूलाई भनिरहेको छु- यो देशको भविष्य कस्तो लेख्ने भन्ने तपाईंहरूकै हातमा छ। नजानेको कुरा सिक्न कहिल्यै अप्ठ्यारो मान्नुपर्दैन। सांसदको लोगो लगाउनेबित्तिकै ज्ञान ओइरिएर आउने होइन, अध्ययन र रिसर्च गर्नुपर्छ।

अन्त्यमा, यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको ‘सामाजिक न्याय’ हो। भौतिक पूर्वाधार, ठूला बिल्डिङ र चिल्ला सडक विकासका सूचक हुन सक्लान्, तर मेरो लागि विकासको सूचक भनेको ‘सामाजिक न्याय’ हो। जुन समाजमा न्याय छैन र विभेद छ, त्यो मान्छे बस्ने समाज होइन। रास्वपाले चाहेर पनि कयौँ साथीहरूलाई जोड्न सकेन। अन्य दलभन्दा धेरै महिला साथीहरूलाई उठाए पनि यो पर्याप्त होइन। म दुःखका साथ क्षमायाचना गर्दै भन्छु- हाम्रो पार्टीभित्र राई–लिम्बु समुदायको प्रतिनिधित्व यो संसद्‌मा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्दै आगामी दिनमा समावेशिताको यो कडीलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउँछु।

भोलि तपाईंहरू मन्त्री बन्नुहोला, तर बजेट आफ्नो क्षेत्रमा मात्र सोरेर लगेर कर्णाली, मधेस वा सुदूरपश्चिमलाई रुवाउनुभयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन। कर्णालीमा अस्पताल बन्यो कि बनेन, मधेसमा शिक्षा र स्वच्छ खानेपानी पुग्यो कि पुगेन- विकासको सूचक यो हो। ‘अर्को पटक बाटो लगिनँ भने चुनाव जित्दिनँ’ भनेर लाग्नुभयो भने मलाई फेरि पनि ‘राइट टु रिकल’ को सम्झना गराउनुपर्ने हुन्छ। हामी एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौँ। अर्को पुस्ताले हार्नु हुँदैन साथी हो!

म लोकतान्त्रिक पद्धति, वर्तमान व्यवस्था र संविधानप्रति पूर्ण प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही सुधार चाहिएको छ भन्ने हेक्का छ, तर संविधानप्रतिको हाम्रो प्रतिबद्धता डगमगाएको छैन र तपाईंहरूले पनि डगमगाउन दिनुहुनेछैन। इतिहास रचनामा एउटा मान्छे वा पार्टीको मात्र हात हुँदैन। पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आजको दिन ल्याउनुभएको छ। उहाँहरूका बेथितिप्रति हाम्रो प्रश्न हो, तर इतिहासले दिएको उहाँहरूको योगदानलाई अपमानित गर्ने हक हामी कसैलाई छैन। इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ।

हाम्रा विपक्षीहरूप्रति कटाक्ष भयो भने अनर्थ हुन्छ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विपक्षीहरूप्रति सामाजिक सञ्जालमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनुभएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु वा विपक्षीलाई कटाक्ष गर्नु होइन। रास्वपाका समर्थकहरू अराजक, असहिष्णु र सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिन्छन् भन्ने आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईंहरूको काँधमा छ। सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार र सहिष्णु भएर प्रस्तुत हुन अनुरोध गर्दछु। यो रास्वपाले जितेको होइन, देशले जितेको हो।

प्रत्यक्ष र समानुपातिक सांसदहरूबीच कुनै विभेद हुनुहुँदैन। हामी समय र परिस्थितिले जोडिएका हौँ, अब सामूहिक खेलाडी (टिम प्लेयर) का रूपमा काम गर्नुपर्छ। व्यक्तिगत रूपमा कसैको आचरण मन पर्नु नपर्नु बेग्लै कुरा हो, तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान, संसद्‌को नियमावली र पार्टीको विधान हो।

म यसै मञ्चबाट देशको निजी क्षेत्रलाई आश्वस्त पार्न चाहन्छु- तपाईंहरू विचलित नहुनुहोला, निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। विदेशमा रहेका डायस्पोराका साथीहरूलाई स्वदेशमा लगानी ल्याउन आह्वान गर्दछु। अन्तर्राष्ट्रिय समुदायलाई पनि म भन्न चाहन्छु कि नेपाल लगानीका लागि सुरक्षित छ। तपाईंलाई कुनै अमुक नेता वा पार्टीले होइन, देशको ‘नीति’ ले संरक्षण गर्नेछ।

मुलुक नयाँ मान्छेको हातमा गयो, लोकतन्त्र खतरामा पर्छ कि वा अधिनायकवाद आउँछ कि भन्ने शङ्का र भ्रम कसैलाई छ भने म प्रस्ट पार्न चाहन्छु- मुलुक राम्रो हातमा छ। ‘वि विल ह्यान्डल इट विथ केयर’। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्नेछौँ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?