+
+
Shares

इतिहासकै सजिलो क्रान्तिबाट आयौं, परिणाम नदिए नालायक ठहरिन्छौं

सरकारी गाडी चढेर झण्डा हल्लाउँदै हिँड्नु र त्यसैलाई सफलताको मानक ठान्नु नै हाम्रो सबैभन्दा ठूलो भूल हो। यदि तपाईंले यिनै कुरालाई मात्र सफलताको सूचक मान्नुभएको छ भने, विश्वास गर्नुस्—हामी ‘रङ डिरेक्सन’ (गलत दिशा) मा छौँ। गलत बाटोमा हिँडेर गन्तव्यमा कहिल्यै पुगिँदैन। त्यसैले, कृपया ‘यू-टर्न’ लिनुहोस् ।

रवि लामिछाने रवि लामिछाने
२०८३ वैशाख २७ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रवि लामिछानेले रास्वपा सांसदहरूलाई प्रशिक्षण दिँदै राजनीतिमा निरन्तर सिकाइ र सुधार आवश्यक रहेको बताए।
  • उहाँले नेतृत्वलाई दक्ष बनाउन राजनीतिक गुणसँगै प्राविधिक र बौद्धिक क्षमता सिकाउने एकेडेमीको आवश्यकता औंल्याए।
  • सांसदहरूले पदको मोहभन्दा कानुन निर्माणमा केन्द्रित भएर काम गर्नुपर्ने र जनताको सेवामा योगदान दिनुपर्ने कुरामा जोड दिए।

प्रशिक्षण र अभ्यासको आवश्यकता जहिले पनि रहिरहन्छ। ‘लर्निङ’ र ‘अनलर्निङ’ (सिक्ने र गलत कुरा बिर्सने) प्रक्रिया एउटा निरन्तर यात्रा हो। यसको अर्थ यो होइन कि हाम्रा सांसदहरू राजनीतिमा नयाँ हुनुहुन्छ र उहाँहरूलाई मात्र सिकाउनुपर्ने हो।

सिक्ने र सिकाउने कुरा त जीवनको अभिन्न अङ्ग नै हो। आफूले विगतमा सिकेका गलत कुराहरूलाई त्याग्दै नयाँ र सही कुराहरू आत्मसात् गर्ने यो प्रक्रियामा तपाईंहरू सक्रियताका साथ सहभागी हुनुभएको छ।

कोही साथीहरू मन्त्रालयको कार्यव्यस्तताका बाबजुद यहाँ आउनुभएको छ, कोही अन्य जिम्मेवारीमा हुनुहुन्छ।

यी तमाम कार्यभारका बीच पनि ज्ञान लिने र दिने यो क्रमलाई तपाईंहरूले जुन निरन्तरता दिनुभएको छ, यसले जनमानसमा र राजनीतिमा एउटा सकारात्मक सन्देश दिएको छ।

म आफैँ पनि राजनीतिको एउटा तहमा छु र म के ठान्छु भने—हामीले अरूलाई सिकाउने भन्दा पनि एक-अर्काबाट धेरै कुरा सिक्न सक्छौँ।

राजनीतिमा प्रयोग हुने भाषाहरूले ठूलो अर्थ राख्छन्। विश्व राजनीति र हाम्रो समाजको परिवेश बदलिँदो छ। हिजोका दिनमा एउटा विद्रोह र क्रान्तिको जगबाट हामीले राजनीतिक दलको सुरुवात गर्यौँ।

तर आजको परिप्रेक्ष्यमा संसदीय अभ्यासलाई अझ मर्यादित, सुसंस्कृत र जनमुखी बनाउनु हाम्रो मुख्य दायित्व हो। नेताको जीवनशैली र कार्यशैलीलाई अझै निखार्नका लागि हामीले यो सानो प्रयास गरेका हौँ।

‘धेरै मानिसहरूको एउटै मात्र सपना थियो, जसलाई मैले पनि एउटा संकल्पका रूपमा अगाडि सारेको थिएँ। सरकारको कुन तहमा को पुग्छ, को उपसभापति हुन्छ वा को मन्त्री बन्छ—यो ठूलो कुरा होइन। पद त आउने-जाने कुरा मात्रै हुन्।

मुख्य कुरा त, हाम्रो समाज र अबको नयाँ युगलाई कस्तो नेतृत्व आवश्यक छ भन्ने हो। नेतृत्वलाई दक्ष बनाउन एउटा यस्तो ‘एकेडेमी’ (प्रतिष्ठान) को खाँचो छ, जसले राजनीतिक गुण मात्र होइन, अन्य प्राविधिक र बौद्धिक क्षमता पनि सिकाउन सकोस्।

कहिलेकाहीँ साथीहरू मलाई भन्नुहुन्छ—’सभापतिज्यू, म त सुरुवातदेखि लागेको मान्छे, मेरो योगदान यति छ’ भन्दै योगदानको मूल्य माग्न ढोका ढक्ढक्याउनुहुन्छ ।यस्तो सुन्दा मलाई दुःख लाग्छ। साथीहरू, यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो त भएको छैन भने तपाईंहरूको कसरी भयो ?

जबसम्म हामीले नेतृत्वलाई यसरी तयार गर्न सक्दैनौँ, तबसम्म पार्टीको सभापति बन्ने दौडमा मात्र लाग्नुको कुनै अर्थ रहँदैन; त्यो एउटा भ्रम मात्र हुनेछ।

म त खासमा लेख्न हिँडेको मान्छे, एउटा लेखक हुँ। यदि मलाई आफ्नो व्यक्तिगत जीवनी मात्र लेख्नु हुन्थ्यो भने त त्यो कुनै ठूलो कुरै थिएन। तर हामीले त इतिहास रच्नु छ, र आजको सन्देश पनि यही नै हो। तपाईंहरू यहाँ हुनुहुन्छ, तपाईंहरूको अनुहारमा म त्यो सम्भावना देखिरहेको छु।

म दोहोर्याएर भन्न चाहन्छु,राजनीतिमा आउनु वा चुनाव जित्नु मात्रै सफलता होइन। तपाईंको व्यक्तित्व आफैँमा एउटा सन्देश बन्नुपर्छ। तपाईंहरू केवल ‘बेस्टसेलर’ किताब लेख्ने लेखक मात्र होइन, समाज बदल्ने एउटा जिउँदो इतिहास बन्नुपर्छ। हामी केवल पदका लागि दौडिने साधारण कार्यकर्ता मात्र होइनौँ।

हामी इतिहास लेख्ने एउटा नयाँ यात्रामा छौँ र यसको अध्याय भर्खरै सुरु हुँदैछ। मलाई लाग्छ, यो यात्राका लागि हामीलाई एउटा बलियो संस्थागत संरचना चाहिन्छ।

यसबारे अझै कति सोच्न बाँकी छ मलाई थाहा छैन, तर मेरो चाहना के हो भने यसले हामीलाई सधैँ मार्गनिर्देश गरोस् र अप्ठ्यारोमा सघाओस्।

केही कुरा म स्पष्ट भन्न चाहन्छु—नेपाली जनताको भरोसाले हामी आज राजनीतिमा यो स्थानसम्म आइपुगेका छौँ । तर निर्वाचन आयोगले ‘राजनीतिज्ञ’ भनेर दिने सर्टिफिकेटले मात्रै कोही गुणसम्पन्न वा पूर्ण ज्ञानी हुँदैन।

हामीले पुराना राजनीतिक दलहरूको संघर्षलाई कहिलेकाहीँ कटाक्ष त गर्छौँ, चाहे त्यो नेपाली कांग्रेस होस्, नेकपा एमाले होस् वा अन्य कम्युनिस्ट घटकहरू।

तर उहाँहरूले ३०औँ वर्षसम्म जुन अनवरत संघर्ष गर्नुभयो, त्यसलाई भुल्नु हुँदैन।
त्यतिबेलाका नेताहरूलाई यो परिवर्तन कहिले आउँछ वा आउँछ कि आउँदैन भन्ने कुराको कुनै हेक्का थिएन। यो संघर्ष कति लामो हुन्छ भन्ने कुनै अन्दाज पनि थिएन।

कतिले निर्वासित हुनुपर्‍यो, कतिले आफ्ना कलिला बालबालिकालाई छोडेर लुक्दै-भाग्दै हिँड्नुपर्‍यो। न पढाइको ठेगान थियो, न परिवारलाई के खुवाउने भन्ने टुङ्गो। जीवन सधैँ जोखिममा थियो।

उहाँहरू ३० वर्ष लाग्छ भनेर यो लडाइँमा होमिनुभएको होइन। सफलता मिल्छ कि मिल्दैन भन्ने थाहा नहुँदा नहुँदै पनि, त्यो निरङ्कुश एकदलीय शासन व्यवस्थाका विरुद्ध उहाँहरू निरन्तर लडिरहनुभयो।

आजको हाम्रो यात्रालाई सफल बनाउन उहाँहरूको त्यो त्याग र धैर्यलाई बुझ्न जरुरी छ।

त्यस्तो कठोर व्यवस्थालाई पनि चुनौती दिएर उहाँहरू संघर्षमा होमिनुभयो। एक दिन, दुई दिन वा एक-दुई वर्ष मात्र होइन, ३०-३० वर्षसम्म खाने-बस्ने र परिवारको कुनै ठेगान नभई परिवर्तनको यात्रामा ती दलहरू अगाडि बढेका थिए।

त्यसपछिको कालखण्डमा सशस्त्र विद्रोह भयो। ‘यो देशमा परिवर्तन गर्छु’ भनेर माओवादी पार्टीका नेता-कार्यकर्ताहरू युद्धमा होमिए। उनीहरूलाई यो लडाइँ १० वर्ष चल्छ कि २० वर्ष, वा नतिजा के हुन्छ—केही पनि थाहा थिएन।

तर, अनवरत रूपमा ज्यान जोखिममा राखेर उनीहरू हिँडिरहे। कैयौँ नेताहरूको टाउकोको मूल्य तोकिएको थियो। परिवर्तन कहिले आउँछ भन्ने उनीहरूलाई कुनै हेक्का थिएन, तर आफ्नो आस्था र विचारका लागि उनीहरू लडिरहे।

उनीहरूको विचार वा उद्देश्यसँग हाम्रो असहमति हुन सक्छ, तर परिवर्तनका लागि ज्यान हत्केलामा राखेर होमिएका ती राजनीतिक मानिसहरूको साहसलाई नजरअन्दाज गर्न सकिँदैन। उनीहरूलाई यो व्यवस्था र प्रणाली बदल्न सकिन्छ कि सकिँदैन भन्नेमा समेत शङ्का थियो, तैपनि उनीहरू लडे।

यस्तो कठिन संघर्षको जगबाट आजको राजनीति यहाँसम्म आइपुगेको छ। आज अवस्था बदलिएको छ। हामीलाई त सबै कुरा थाहा छ।

चुनावमा जाँदा हाम्रो बहुमत आउँछ भन्ने कुरामा पनि हामी ढुक्क थियौँ र हामी सबैलाई यो थाहा थियो। हिजोको त्यो अनिश्चितता र आजको यो सुनिश्चितताबीचको खाडललाई बुझेर मात्र हामीले अबको बाटो तय गर्नुपर्छ।

साँच्चै भन्नुपर्दा, हामीले जति सजिलो संघर्ष त इतिहासमा सायद दुनियाँमा कसैले पनि गरेको छैन। हामी अत्यन्तै सहज राजनीतिक यात्राबाट यहाँसम्म आएका हौँ।

तर, हाम्रो यो यात्रालाई यति सजिलो बनाउनुअघि यो देशका पुराना राजनीतिज्ञहरूले जुन कठिन र कष्टकर संघर्ष गरे, त्यो राजनीतिक जग त हामीसँग छ नि !

घर-घर पुगेर नमस्कार गर्यौँ र भन्यौँ—’हामीलाई केही चाहिँदैन, बस सेवा गर्ने मौका दिनुहोस्। त्यतिबेलाको हाम्रो त्यो विनम्रता कहाँ गयो ? भोट माग्न जाँदा एउटा मतदाता छुट्ला कि भनेर जति चिन्ता थियो, आज जिम्मेवारी पूरा गर्दा त्यति नै चिन्ता छ त ?

पार्टीका रूपमा हामी अलग हौँला, विचार र सिद्धान्तका रूपमा हाम्रा आफ्नै बाटो होलान् ।

तर, मुलुकको राजनीतिक परिवर्तनका लागि जुन जग खनिएको छ, त्यसमा उहाँहरूले गर्नुभएको जस्तो दुःख न त तपाईं-हामीले अहिले भोग्नुपरेको छ, न भोलि नै भोग्नुपर्नेछ। अबको पाँच वर्ष त हामीले केवल काम गरेर देखाउने हो।

कहिलेकाहीँ साथीहरू मलाई भन्नुहुन्छ—’सभापतिज्यू, म त सुरुवातदेखि लागेको मान्छे, मेरो योगदान यति छ’ भन्दै योगदानको मूल्य माग्न ढोका ढक्ढक्याउनुहुन्छ ।

यस्तो सुन्दा मलाई दुःख लाग्छ। साथीहरू, यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो त भएको छैन भने तपाईंहरूको कसरी भयो? मैले पनि त योगदान दिएको छु, तर अहिले मूल्य माग्ने होइन, बरु अझ धेरै योगदान दिने बेला हो ।

यो संघर्ष र यो क्रान्तिलाई हेर्नुस् त—इतिहासकै सबैभन्दा सजिलो क्रान्ति हो यो। तपाईं घरमा तातो खाजा खाएर निस्कनुहुन्छ, तपाईंका बालबच्चा र परिवार सकुशल छन्, कसैले लखेटेको छैन।

यस्तो सुरक्षित र सहज वातावरणमा बसेर गरिने राजनीतिलाई हामीले ‘कठिन संघर्ष’ भन्न मिल्दैन। अब त यो प्राप्त अवसरलाई जनताको सेवामा बदल्ने बेला हो।

अहिले हामीले कतै लुक्दै-भाग्दै हिँड्नुपरेको छैन। डाइनिङ टेबलमा तातो खाना तयार हुन्छ, बाहिर निस्कँदा सबैले ‘नमस्कार’ गर्छन्।

वरिपरि क्यामेरा छन्, जताततै वाहवाही छ, र अन्तर्वार्ता दिन स्टुडियोहरूमा पुग्न भ्याइनभ्याइ छ। साथीहरू, इतिहासकै यति सजिलो क्रान्तिबाट आएर पनि यदि हामीले परिणाम दिन सकेनौँ भने, हामी जत्तिको ‘नालायक’ कोही ठहरिने छैन।

एउटा कुरा बुझौँ—व्यवस्था बदल्ने मात्र क्रान्ति होइन, जनताको अवस्था बदल्ने क्रान्ति झन् ठूलो हो। आज जनताले त्यो शक्ति हाम्रै हातमा सुम्पिएका छन् ।

अब म तपाईंहरूको मनको एउटा कुरा भन्छु, जुन सुन्दा अलिकति चित्त दुख्न सक्छ—र, म चाहन्छु कि तपाईंहरूलाई थोरै महसुस होस् पनि।

कहिलेकाहीँ साथीहरू भन्नुहुन्छ—’मेरो निर्वाचन क्षेत्रको बजेट के भयो ? मेरो क्षेत्रका मतदातालाई के भन्ने ?’ म स्पष्ट भन्छु, १६५ वटा निर्वाचन क्षेत्रको अलग-अलग बजेट बन्ने होइन, एउटा सिङ्गो नेपालको बजेट बन्ने हो। हामीले केवल आफ्नो क्षेत्र ‘सेक्योर’ गर्ने र आगामी चुनाव कसरी जित्ने भनेर मात्र सोच्ने होइन।

हामीमध्ये धेरैले जितेर आयौँ, तर सबैजना मन्त्री हुन सकेनौँ। कतै न कतै मनमा त्यो ‘खसखस’ छ—’मैले पाउनुपर्ने, म भइनँ।’

ल, मन्त्री त भइएन, कम्तीमा यो संसदीय समितिको सभापति त मलाई बनाउनुपर्ने नि! यत्रो योगदान छ मेरो, यति पनि पाइनँ भनेर चित्त दुखाएर बस्नुभएको छ।

बाहिर हाँसे पनि मनभित्र कतै न कतै त्यो पद नपाएको घाउ पालेर बस्नुभएको छ।

तर साथीहरू, म आज तपाईंहरूलाई एउटा कुरा बुझाउन यहाँ उपस्थित भएको छु। सांसदका रूपमा तपाईंले यो देशको ‘सिस्टम’ र विज्ञानलाई दिन सक्ने योगदान कुनै मन्त्री वा समितिको सभापतिले भन्दा कम छैन।

मात्र तपाईंले एकपटक आफूभित्रको क्षमता र ती कानुनका पानाहरू पल्टाएर हेर्नुपर्छ कि—मैले के-के गर्न सक्छु ?

सांसदका रूपमा हामीले विधेयकहरूमा काम गर्नुछ, प्रभावकारी कानुन निर्माण गर्नुछ। यदि तपाईंले आफ्नो यो भूमिका मात्रै इमानदारीपूर्वक बुझिदिनुभयो भने, देशमा वास्तविक परिवर्तन सम्भव छ। मैले पटक-पटक भन्दै आएको छु—हाम्रो मुख्य जिम्मेवारी कानुन निर्माण नै हो, पदको मोह होइन।

मुख्य कुरा त हामीले कानुन निर्माणमै केन्द्रित भएर काम गर्नु पर्नेछ। तर विडम्बना, हामीले सामाजिक प्रतिष्ठाको परिभाषा नै गलत बनाएका छौँ। मन्त्री हुनु, सरकारी गाडी चढेर झण्डा हल्लाउँदै हिँड्नु र त्यसैलाई सफलताको मानक ठान्नु नै हाम्रो सबैभन्दा ठूलो भूल हो।

यदि तपाईंले यिनै कुरालाई मात्र सफलताको सूचक मान्नुभएको छ भने, विश्वास गर्नुस्—हामी ‘रङ डिरेक्सन’ (गलत दिशा) मा छौँ।

म तपाईंहरूलाई यति कुरा ठोकुवा गरेर भन्न सक्छु—गलत बाटोमा हिँडेर गन्तव्यमा कहिल्यै पुगिँदैन। त्यसैले, कृपया ‘यू-टर्न’ लिनुहोस्। यो बाटो गलत छ, एकपटक यसबाट फर्कनुहोस्।

अस्ति भर्खरै त हामी चुनावमा गएका हौँ, हैन र ? सम्झनुस् त, हामीले कुन घर छोड्यौँ ? हामीले कति हात जोड्यौँ, कतिलाई त साष्टाङ्ग दण्डवत् समेत गर्यौँ ।

घर-घर पुगेर नमस्कार गर्यौँ र भन्यौँ—’हामीलाई केही चाहिँदैन, बस सेवा गर्ने मौका दिनुहोस्। त्यतिबेलाको हाम्रो त्यो विनम्रता कहाँ गयो ? भोट माग्न जाँदा एउटा मतदाता छुट्ला कि भनेर जति चिन्ता थियो, आज जिम्मेवारी पूरा गर्दा त्यति नै चिन्ता छ त ?

म यहाँ तुलना गर्दैछु—हिजोका ती नेताहरू, जसले परिणाम आउँछ कि आउँदैन भन्ने थाहा नपाई भोक-प्यासको परवाह नगरी संघर्ष गरे।

इतिहासले मान्छेलाई बदनाम हुने वा सफल हुने अवसर जहिले पनि दिन्छ। हामी यहाँ कुनै ‘लोकसेवा’ पास गरेर जागिर खान आएका मान्छे होइनौँ । हामी त जनतामाझ एजेन्डा लिएर गएका हौँ। हामीले भन्यौँ—’हामी देश बदल्छौँ,’ र त्यही विश्वासका आधारमा आज हामी यहाँसम्म पुगेका हौँ। अब त्यो वाचा पूरा गर्ने बेला आएको छ।

म के भन्न चाहन्छु भने—हामीले गरेका वाचाहरू पूरा गर्ने एउटै बलियो माध्यम भनेकै ‘विधेयक’ र कानुन निर्माण हो। म तपाईं माननीयज्यूहरूलाई देख्नेबित्तिकै एउटा छुट्टै जोश र ऊर्जा महसुस गर्छु।

कहिलेकाहीँ त मलाई लाग्छ, मेरो आफ्नो शरीरले जति धान्छ, त्योभन्दा बढी सक्रिय भएर तपाईंहरूका लागि बोलिदिऊँ। तर यो कुनै अभिनय होइन, यो मेरो भित्री चाहना हो।

हो, हामी मानिस हौँ। कतै न कतै राम्रो पद पाइयोस् भन्ने अपेक्षा राख्नु स्वाभाविक होला।

तर मन्त्री पद पाइन्छ कि भनेर मन्त्रालयतिर मात्र आँखा लगाउने, अनि विधेयक पढ्न र कानुन बनाउन चाहिँ जाँगर नगर्ने हो भने हामी नयाँ भएर आउनुको के अर्थ रह्यो ?

अबको पाँच-छ वर्षपछि फेरि अर्को चुनाव आउँछ। त्यतिबेला हुने प्रतिस्पर्धाका लागि अहिलेदेखि नै डराउने होइन।

कहिलेकाहीँ साथीहरू भन्नुहुन्छ—’मेरो निर्वाचन क्षेत्रको बजेट के भयो ? मेरो क्षेत्रका मतदातालाई के भन्ने ?’ म स्पष्ट भन्छु, १६५ वटा निर्वाचन क्षेत्रको अलग-अलग बजेट बन्ने होइन, एउटा सिङ्गो नेपालको बजेट बन्ने हो।

हामीले केवल आफ्नो क्षेत्र ‘सेक्योर’ गर्ने र आगामी चुनाव कसरी जित्ने भनेर मात्र सोच्ने होइन। हामीले त यो देशमा जन्मिएको नयाँ पुस्ताको भविष्य कसरी सुरक्षित गर्ने र कस्तो विधि बसाल्ने भन्ने सोच्नुपर्छ।

सरकारका कामहरूको निगरानी गर्ने र सही विधि निर्माण गर्ने काममा हामी चुक्नु हुँदैन। कहिलेकाहीँ लाग्न सक्छ यो बाटो गाह्रो छ, तर यदि हामीले इमानदारीपूर्वक काम गर्यौँ भने मात्रै हाम्रो र यो देशको भविष्य सुरक्षित हुनेछ ।

(रास्वपा सांसदहरूलाई प्रशिक्षण दिँदै सभापति  रवि लामिछानेले गरेको सम्बोधनको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?