+
+
Shares

तिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण

विश्व बैंकको आर्थिक सहयोगमा बनेको करिब ७ किलोमिटर लामो यो सडक नगरपालिका स्थापना भएपछिको पहिलो आधुनिक सडक हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विश्व बैंकको आर्थिक सहयोगमा ७ किलोमिटर आधुनिक सडक निर्माण सम्पन्न भएको छ।
  • मंगलापुर-बेबरा-कान्छीबजार सडक ५७ करोड ८२ लाख ५६ हजार रुपैयाँ लागतमा बनेको छ र ५ मार्च २०२१ मा सम्झौता भएको थियो।
  • नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्दै सडकले स्थानीय आवागमन सहज हुने र धुलोले स्वास्थ्यमा पर्ने असर कम हुने बताए।

२७ वैशाख, बुटवल । विश्व बैंकको आर्थिक सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ७ किलोमिटर दूरीको आधुनिक सडक निर्माण सम्पन्न भएको छ ।

नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत मंगलापुर-बेबरा-कान्छीबजार सडक ५७ करोड ८२ लाख ५६ हजार २८८ रुपैयाँ लागतमा बनेको हो ।

सडक निर्माणका लागि ५ मार्च २०२१ मा सम्झौता भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा निर्माण भएको यो सडकलाई तिलोत्तमाको महत्वपूर्ण शहरी पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ ।

२०७१ सालमा साविकका ६ गाउँ विकास समिति मिलाएर नगरपालिका स्थापना भएपछि बनेको नगरको यो पहिलो र आधुनिक प्रविधिको सडक हो । संस्थापक नगर प्रमुख वासुदेव घिमिरेको पालामा योजना छनोट र विश्व बैंकसँग सम्झौता तथा निर्माण व्यवसायीसँग पहिलो चरणको कामको ठेक्का भएर निर्माण सुरु भएको सडक २०७९ को निर्वाचनबाट नयाँ नेतृत्व् आएपछि कामले तीव्रता पाएको थियो ।

नगरपालिकाका अनुसार परियोजनाको मुख्य उद्देश्य शहरी आवागमनलाई सहज बनाउने, सडक सुरक्षामा सुधार ल्याउने, ढल निकास व्यवस्थापन व्यवस्थित गर्ने तथा योजनाबद्ध शहरी विकासलाई प्रबर्द्धन गर्ने रहेको छ ।

परियोजनाअन्तर्गत कालोपत्रे सडक, दुवैतर्फ नाली, फुटपाथ, सडक सुरक्षा संकेत, सडक फर्निचर, सडक वत्ती तथा शहरी सौन्दर्यीकरणका काम पनि सम्पन्न भएका नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर प्रदीप वनले बताए ।

पहिलो प्याकेजअन्तर्गत मंगलापुर-बेबरा खण्ड ४० करोड ५२ लाख रुपैयाँमा बनेको हो । दोस्रो प्याकेजअन्तर्गत बेबरा-कान्छीबजार खण्ड १७ करोड २९ लाखमा बनेको हो ।

यसअघि ४ मिटर चौडाइ रहेको क्यारिज वे अहिले ७.५ मिटर पुगेको छ भने दुवैतर्फ २.७५ मिटरको फुटपाथ निर्माण गरिएको छ । सडकमा ट्राफिक संकेत, रोड मार्किङ र ३० किलोमिटर प्रतिघण्टा डिजाइन स्पिडसहित आधुनिक शहरी सडक मापदण्ड लागु गरिएको छ ।

ठेक्का लागतभन्दा कममा सम्पन्न

पहिलो प्याकेजको निर्माण शर्मा सगुन जेभीले गरेको हो । ८ जुलाई २०२२ मा सम्झौता भएको उक्त प्याकेजको ठेक्का रकम ४६ करोड ५९ लाख रुपैयाँ रहेको थियो, जुन अनुमानित लागतभन्दा २८.८६ प्रतिशत कम हो । निर्माणको अन्तिम लागत करिब ४० करोड ५२ लाख रुपैयाँ छ ।

दोस्रो प्याकेज आशिष-आशीर्वाद जेभीले निर्माण गरेको हो । १४ अप्रिल २०२४ मा सम्झौता भएको उक्त प्याकेजको ठेक्का रकम १९ करोड १७ लाख रुपैयाँ रहेको थियो, जुन अनुमानित लागतभन्दा १६.३५ प्रतिशत कम रहेको नगरपालिकाले जनाएको छ । निर्माणको अन्तिम लागत १७ करोड २९ लाख रुपैयाँ छ ।

सडकको आइतबार विश्व बैंकका प्रतिनिधि, शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिको उपस्थितिमा नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

सडक उद्घाटनपछि बोल्दै नगर प्रमुख खाँणले आधुनिक फराकिलो सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, व्यवसायी, विद्यार्थी तथा सेवा प्रदायकहरूलाई आवागमनमा सहजता हुने बताए ।

कालोपत्रे नहुँदा धुलोका कारण सडक आसपासका स्थानीयको स्वास्थ्यमा परेको असर अब धेरै कम हुने र स्थानीय व्यवसायमा सुधार आउने उनले औंल्याए ।

कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यालिका सदस्य सुरेन्द्र श्री लगायतले यो सडक निर्माणले शहरी विकास, सुरक्षित यातायात र प्रभावकारी नगर सेवा प्रवाहमा टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?