News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन परिणाम अनुकूल नआएसँगै कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।
- नेतृत्वले परिणामको जिम्मेवारी लिनुपर्ने उनको तर्क छ।
- विशेष महाधिवेशनपछि चुनावी तयारीमा समय अभाव भएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।
- शुक्रबार केन्द्रीय समितिको बैठकमा सभापति थापाको राजीनामा छलफल हुनेछ।
५ चैत, काठमाडौं । नेपाली कांग्रेसको विधान अनुसार सभापतिले पदबाट राजीनामा दिँदा उपसभापति समक्ष पेश गर्नुपर्नेछ । विधानको त्यही व्यवस्था अनुसार कांग्रेस सभापति गगन थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।
उपसभापतिलाई राजीनामा बुझाउनुपर्ने व्यवस्था छ । सभापतिले दिएको राजीनामा उपसभापतिले केन्द्रीय समितिलाई जानकारी गराउनुपर्ने विधानको प्रावधान छ ।
केन्द्रीय समितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिलाई कार्यवाहक सभापति तोक्ने व्यवस्था छ ।
निर्वाचनको पूर्ण परिणाम नआउँदै (फागुन २५ गते) उपसभापति शर्माले भेटेर सभापति पदबाट राजीनामा दिने बताएका थिए ।
निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचितको टुंगो लगाइसकेपछि सभापति थापाले पार्टीको सर्वोच्च पदबाट राजीनामा दिएका छन् । निर्वाचनबाट अपेक्षित नतिजा कांग्रेसको पक्षमा नआएसँगै उनी राजीनामा गर्ने मनस्थितिमा पुगेका थिए ।
निर्वाचनको परिणामलाई लिएर कांग्रेसभित्र धेरैथरी धारणाहरु प्रवाहित भइरहेका छन् । पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरु चुनावको नजिक विशेष महाधिवेशन गर्दा पार्टी कित्ता भएको र त्यसकै कारणले पराजय भोग्नु परेको तर्क गरेका छन् ।
सभापति थापा पक्षका नेता एवं कार्यकर्ताहरु परिणाम अपेक्षित नआउनुमा पूर्व संस्थापन पक्षले चुनावमा गरेको असहयोगलाई पनि कारण औंल्याएका छन् ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनावी तयारी गर्न समय अभाव हुँदा अपेक्षा अनुसारको नतिजा आउन नसकेको निचोडमा सभापति थापा पक्षधरको निर्क्यौल छ ।
मूल नेतृत्व आफू भएको हुँदा जिम्मेवारीबोध सहित राजीनामा दिएको थापाले लेखेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
बुधबार उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘उन्नत लोकतान्त्रिक संस्कारमा एउटा स्पष्ट परम्परा छ ।
निर्वाचन परिणामको जस वा अपजस अन्ततः नेतृत्वले नै ग्रहण गर्छ। नेतृत्व केवल निर्णय गर्ने अधिकार मात्र होइन, परिणामको जिम्मेवारी लिने साहस पनि हो ।’
विशेष महाधिवेशनबाट कार्यकर्तामा उत्साह जगाएपनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय नहुँदा अपेक्षा अनुसारको नतिजा नआएको थापाको विश्लेषण छ ।
पुस २७ गतेदेखि माघ १ गतेसम्म भएको विशेष महाधिवेशनको नयाँ नेतृत्वले एकदिन पछि निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको थियो । त्यही अवधिमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्व अवैध भएको भन्दै सर्वोच्च अदालत पुगेको थियो ।
उक्त रिटलाई अदालतले अन्तरिम आदेश नदिएसँगै सभापति थापाको नेतृत्वमा चुनावमा जाने बाटो खुलेको थियो । २०७४ सालदेखि चुनावी गठबन्धन गर्दै आएको कांग्रेसले यसपटक अन्य दलसँग तालमेल नगरी चुनावी प्रतिस्पर्धा गर्यो ।
१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउँदा पार्टीभित्रका तीन समूहबाट नै टिकट प्राप्त गर्नेहरु थिए । विशेष महाधिवेशन पक्षधर, पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता डा.शेखर कोइराला पक्षकालाई टिकट वितरण गरिएको थियो ।
सभापति थापा निकट एक नेताका अनुसार देउवा समूहबाट ३२ जना उम्मेदवार बनेका थिए । कांग्रेसका १६५ उम्मेदवारमा प्रत्यक्षतर्फ १८ जना निर्वाचित हुँदा समानुपातिकमा २० जना निर्वाचित भएका छन् । सभापति थापा स्वयं सर्लाही–४ बाट पराजित भए ।
सभापति थापाले पदबाट दिएको राजीनामा बारे शुक्रबारको केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।

उपसभापति शर्माले सभापतिको राजीनाको विषयमा बैठकलाई जानकारी गराउने छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार शुक्रबार बोलाइएको बैठकमा सभापति थापाको राजीनामा प्रमुखताका साथ छलफल हुनेछ भने चुनावी पराजयबारे प्रारम्भिक समीक्षा उपसभापति शर्माले जानकारी गराउने छन् ।
महामन्त्रीद्धय प्रदीप पौडेल र गुरुराज घिमिरेले तल्लो तहलाई परिपत्र गरेर पराजयको कारण खुलाउँदै केन्द्रमा विवरण पठाउन भनिएको छ । ती पदाधिकारीले भने,‘पराजित हुनुको कारण खुलाएर केन्द्रलाई विवरण पठाउन भनिएको छ । पूर्ण विवरण आउन केही दिन लाग्ने हुँदा चुनावी समीक्षाका लागि पुनः बैठक बस्नेछ । भोलिको बैठकमा उपसभापतिले प्रारम्भिक विवरणहरु मात्रै जानकारी गराउनु हुनेछ ।’
विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति सभापति थापाको राजीनामाको विपक्षमा रहेको हुँदा स्वीकृत हुने सम्भावना नरहेको नेताहरुले जानकारी गराएका छन् । अहिलेको पराजयलाई विगतमा पार्टीले अंगालेका गलत नीतिसँग जोडेर हेर्नुपर्ने नेताहरुको तर्क छ ।
सहमहामन्त्री डा.डिला संग्रौला सभापतिले राजीनामा दिन नहुने विचार आफूले राख्दै आएको बताउँदै अनलाइनखबरसँग भनिन्,‘उहाँ सभापति भएको पाँच दिनपनि नहुँदै हामी चुनावमा जानु परेको थियो । कांग्रेसले हार बेहोर्नुमा विगतमा हामीले गरेका गलत कार्यहरुले हो । केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ ।’
चुनावी गठबन्धन, संवैधानिक निकाय र राज्यका अंगहरुमा दलीय भागबण्डा विरुद्धमा पार्टीभित्र मतहरु विगतमा आइरहेका थिए । विगतमा पार्टीले अंगिकार गरेको शासन शैली पनि पराजयको कारण रहेको सभापति थापाले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पार्टीले २०७४ साल पछि अंगालेको नीतिले पनि चुनावमा नकरात्मक असर पुगेको सभापति थापाको विश्लेषण छ ।
‘यो परिणामलाई केवल निर्वाचन अवधिका घटनासँग मात्र जोडेर बुझ्न मिल्दैन। २०७४ पछिका वर्षहरूमा नेपाली समाजमा असन्तोष क्रमशः बढ्दै गएको थियो,’ पराजयमा विगतको भूमिका स्मरण गर्दै उनले भनेका छन्,‘शासन संचालन प्रक्रियाप्रति निराशा र राजनीतिक दलहरूप्रतिको अविश्वास विस्तारै गहिरिँदै गएको यथार्थलाई बुझ्दै हामीले पार्टीभित्र र बाहिर निरन्तर रूपमा त्यसलाई सम्बोधन गर्ने प्रयास गरेका थियौं । तथापि, ती प्रयासहरू अपेक्षित रूपमा परिणाममुखी हुन सकेन ।’

शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा एजेण्डा अस्वीकृत हुने नेताहरुले जानकारी गराएका छन् । भोलि बस्ने बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् भने सभापति थापा अनुपस्थित हुनेछन् ।
१३४ सदस्यीय केन्द्रीय समितिमा सभापति थापाले राजीनामा दिनुपर्ने विचार राख्ने एक जना पनि छैनन् । विशेष महाधिवेशनको विपक्षमा रहेका उच्च तहका नेताहरुले पनि थापाले राजीनामा दिनुपर्ने विचार सार्वजनिक रुपमा व्यक्त गरेका छैनन् ।
देउवा पक्षका दोस्रो र तेस्रो तहका केही नेताले विशेष महाधिवेशनको औचित्यता सकिएको भन्दै राजीनामा दिनुपर्ने तर्क गरिरहेका छन् ।
केन्द्रीय सदस्य मधु आचार्य निर्वाचनमा पराजय विशेष महाधिवेशन र सभापतिका कारणले नभएको बताउँछन् ।
‘नैतिकताको खडेरी रहेको बेलामा सभापतिले उच्च नैतिकता देखाउनु भएको छ । कांग्रेसलाई सुदृढीकरण गर्न उहाँको नेतृत्व अपरिहार्य छ,’ आचार्यले अनलाइनखबरसँग बताए । कांग्रेस पुर्नगठन र सुदुढीकरणमा सक्रिय भएर लागिरहने राजीनामा पत्रमा सभापति थापाले लेखेका छन् । देशका विभिन्न भागमा पुग्ने, पार्टी पङ्ति र नागरिकसँग संवाद गर्ने भावी योजना थापाले सुनाएका छन् ।
निर्वाचनमा पराजय भोगेको कांग्रेसको अबको मूल ध्यान नियमित महाधिवेशन केन्द्रित हुने भएको छ । पार्टीभित्र व्यापक संगठन सुदृढीकरण आवश्यक रहेको र छिट्टै महाधिवेशन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
कांग्रेस नेताहरूका अनुसार आगामी भदौ वा मंसिरमा १५ औं महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने तयारी गरिएको छ । संगठनमा व्यापक सुदृढीकरण गर्ने गरी क्रियाशील सदस्य अद्यावधिक नयाँ विधिबाट हुने नेताहरूले जानकारी गराएका छन् ।
क्रियाशील सदस्यता टुंगिएर तल्लो तहको अधिवेशन गर्न वर्षाको समयमा कठिन हुने हुँदा मंसिरमा गर्ने गरी मिति तोक्नेबारे आन्तरिक छलफल भइरहेको नेताहरूले जानकारी गराएका छन् ।
कांग्रेसका एक पदाधिकारीले भने, ‘मुख्य काम क्रियाशील सदस्यता टुंगो लाग्नु हो । क्रियाशील सदस्यतामा व्यापक सुधार सहित अद्यावधिक गर्छौं । वर्षातको समयमा भदौमा महाधिवेशन हुन नसक्ने अवस्था बने मंसिरमा हुन्छ ।’
प्रतिक्रिया 4