+
+
Shares

‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय भएन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनमा ‘बदलिएको कांग्रेस’को प्रचारका लागि समय पर्याप्त नभएको उल्लेख गर्दै बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका छन्।
  • थापाले विशेष महाधिवेशनपछि छोटो समयमा नेतृत्व सम्हालेको र पार्टीभित्र बहुआयामिक सुधार सुरु भए पनि आम मतदातासम्म सन्देश पुर्‍याउन समय अभाव भएको बताएका छन्।
  • राजीनामा पत्रमा थापाले निर्वाचनको परिणामप्रति जवाफदेहिता आफूमा रहेको र पार्टी पुनर्निर्माणका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनको क्रममा ‘बदलिएको कांग्रेस’को प्रचारका लागि समय पर्याप्त नभएको उल्लेख गरेका छन् । थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार बुझाएको राजीनामा पत्रमा सो कुरा उल्लेख छ ।

विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमा निर्वाचनमा पार्टीको नेतृत्व गर्नु अवसर र चुनौती दुवै भएको उनले उल्लेख गरेका छन् । पुस २७ गते सुरु भई माघ १ बिहान सकिएको विशेष महाधिवेशनबाट उनी सभापतिमा चयन भएका थिए ।

सभापति भएको भोलिपल्ट निर्वाचन आयोगले थापा सभापति भएको नेतृत्वलाई मान्यता दिएको थियो । निर्वाचन आयोगले मान्यता दिएसँगै नवनिर्वाचित समितिको संसदीय बोर्डले टिकट वितरणको कार्य सुरु गरेको थियो ।

विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्रै नगरेको उल्लेख गर्दै सभापति थापाले पार्टीभित्र बहुआयामिक सुधार र आत्मसमीक्षाको सुरुवात पनि गरेको राजीनामा पत्रमा लेखेका छन् । ‘पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय प्राप्त हुन सकेन । यसपटकको परिणामका प्रमुख कारणहरूमध्ये समयको यो सीमितता मुख्य कारण रहेको मेरो बुझाइ छ,’ सभापति थापाले राजीनामा पत्रमा लेखेका छन् ।

सभापति थापाले यदि विशेष महाधिवेशन सम्पन्न नभइ निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति कांग्रेसका लागि झनै प्रतिकूल परिणाम प्राप्त हुने जिकिर गरेका छन् । पराजयको जिम्मेवारी लिँदै सभापति थापाले लेखेका छन्, ‘तथापी यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो । वर्तमान परिणामप्रतिको जवाफदेहिता मेरो हो भन्नेमा म पूर्णत: स्पष्ट छु ।’

निर्वाचनको पूर्ण परिणाम नआउँदै थापाले उपसभापति शर्मासँग राजीनामा दिने बताइसकेका थिए । निर्वाचनसँग जोडिएका विषयहरु सम्पन्न गर्ने कार्यभार रहेकाले उनले राजीनामालाई केही समय पर सारेको पदाधिकारीहरुले जानकारी गराएका छन् ।

समानुपातिकतर्फ कांग्रेसका निर्वाचितहरुको नाम निर्वाचन आयोगमा पठाउने कार्य सकिएलगत्तै उनले राजीनामा दिएका छन् । राजीनामा पेश गर्नका लागि केही समय पर सर्नुको कारणबारे सभापति थापाले भनेका छन्, ‘निर्वाचन सम्पन्न भएलगत्तै मैले राजीनामा दिने मनस्थिति बनाएको थिएँ, तर निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारीसँग जोडिएका अन्य आवश्यक कार्यहरू सम्पन्न गर्नुपर्ने भएकाले ती सम्पन्न गर्नासाथ मैले यो राजीनामा पेश गरेको हुँ ।’

आगामी दिनहरूमा देशका विभिन्न भागमा पुगेर पार्टीका नेता कार्यकर्ता एवं नागरिकसँग संवाद गर्ने राजीनामा पत्रमा लेखेका छन् । ‘उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु,’ थापा राजीनामा पत्रमा लेख्छन्, ‘आज मैले पार्टीको सभापति पदबाट राजिनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन । त्यसैले मेरो यो निर्णय अन्त्य होइन, यो त नेपाली कांग्रेसको आत्मसमीक्षा, जवाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?