५ चैत, प्युठान । प्युठान जिल्ला अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की र ग्यास्ट्रिकसम्बन्धी औषधि अभाव भएपछि उपचारमा समस्या देखिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि नआएपछि यस्तो अवस्था आएको हो ।
अस्पतालका स्टोरकिपर नवीन थापाका अनुसार सिटामोलको स्टक छैन, करिब ७-८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन । धेरै प्रयोग हुने औषधि छिट्टै सकिंदा अभाव देखिएको उनले बताए ।
प्रदेश सरकारमार्फत आउने ९८ प्रकारका औषधि चालु आर्थिक वर्षमा अझै प्राप्त भएको छैन । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी माधव पोख्रेलका अनुसार खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ।
स्वास्थ्यकर्मीहरूले संघीय र प्रदेश सरकारबाट मात्र आपूर्तिमा भर नपर्न स्थानीय तहहरूले आवश्यक औषधि आफैं खरिद गरी वितरण गरिरहेको बताएका छन् ।
स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ खोप अधिकृत मधुसुदन खड्काका अनुसार पालिकाहरूले आवश्यक औषधि खरिद गरी अभाव हुन नदिन व्यवस्था मिलाएका छन् ।
मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले पनि संघीय-प्रदेश सरकारबाट आउने औषधिसँगै पालिकामार्फत थप औषधि खरिद गरी स्वास्थ्य संस्थामा अभाव रोकिएको बताए । यसअन्तर्गत निःशुल्क औषधि र नसर्ने रोगसम्बन्धी औषधि उपलब्ध गराइएको छ ।
यसवर्ष जिल्लाका १३,५२८ किशोरीलाई १३ हप्ताका लागि आइरन चक्की वितरण गरिएको छ । गत आर्थिक वर्षमा भने ५,९३ जना गर्भवती महिलालाई आइरन चक्की दिइएको थियो ।
प्रतिक्रिया 4