+
+
Shares

प्युठानको ३१ वर्ष लामो वामपन्थी वर्चस्वमा ब्रेक

उसो त पछिल्ला हरेक निर्वाचनपिच्छे प्युठानवासीले अनुहार भने बदलेर चुनेर पठाएका छन् । जसले यहाँका जनताको परिवर्तनकारी सोचलाई इंगित गर्छ । यस पटक पनि मतदाताले परिवर्तनलाई नै अनुमोदन गरेका छन् ।

सलिम मियाँ सलिम मियाँ
२०८२ फागुन २४ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा ३१ वर्ष लामो कम्युनिस्ट वर्चस्व राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकले २७ हजार ४६९ मतसहित जितेर भंग गरेका छन्।
  • वैदिक लन्डन स्कुल अफ इकोनोमिक्सका विद्यार्थी हुन् र नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
  • प्युठानमा जनताले सेवा, रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकता दिएर परिवर्तनलाई अनुमोदन गरेका छन्।

२४ फागुन, काठमाडौं । प्युठानमा तीन दशक लामो कम्युनिस्ट वर्चस्व यस पटक भंग भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार सुशान्त वैदिक निर्वाचित भएसँगै २०५१ पछि प्युठानमा कायम वामपन्थी वर्चस्वमा ब्रेक लागेको हो ।

यस पटक वैदिकले २७ हजार ४६९ मतसहित जित निकाल्दा निकटतम प्रतिस्पर्धी पनि गैह्र वामपन्थी परे । नेपाली कांग्रेसका गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाएर दोस्रो हुँदा अघिल्लो निर्वाचन जितेका नेकपा एमालेका सूर्यबहादुर थापा १६ हजार ७१० मत मात्रै प्राप्त गरे ।

प्युठानमा कम्युनिस्ट जितेकै वर्ष २०५१ जेठ १८ मा जन्मिएका वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्सका विद्यार्थी हुन् । उनले नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र जोख बहादुर महराका आर्थिक सल्लाहकार बनेर पनि उनले काम गरेका छन् । पछिल्लो पटक उम्मेदवारी दर्ता गर्नुअघि मात्रै उनी रास्वपाका प्रवेश गरेका हुन् ।

चुनावी इतिहास

प्युठान कम्युनिस्ट आन्दोलनका पुराना र हालसम्म जीवित नेता मोहनविक्रम सिंहलाई जन्माएको जिल्ला हो । सिंहले २०१० सालमा प्युठानमा कम्युनिस्ट पार्टी जन्माएका थिए । उनको जन्मस्थान हाल झिमरुक गाउँपालिकामा पर्दछ ।

२०४६ को परिवर्तनका बेला प्युठान सिंह नेतृत्वको तत्कालीन नेकपा मसालको बलियो लाल किल्ला थियो । तर, २०४८ को निर्वाचनमा मसालले संविधानसभाको माग गर्दै निर्वाचन बहिष्कार गर्दा प्युठानमा तत्काल कायम दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार जितेका थिए । त्यो तत्कालीन क्षेत्र नम्बर १ मा शिवराज सुवेदी र क्षेत्र नम्बर २ मा मुक्तिप्रसाद शर्मा विजयी भएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा भने प्युठान-२ मा तत्कालीन राष्ट्रिय जनमोर्चाका उम्मेदवार नवराज सुवेदीले जित निकाल्दा प्युठान–१ मा भने कांग्रेसका शिवराज सुवेदी नै जितेका थिए ।

त्यसरी प्युठानमा पहिलो पटक वामपन्थीले एक सिट जितेर अखडा बनाएको थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा प्युठानका दुवै क्षेत्रमा राष्ट्रिय जनमोर्चाले नै जितेको थियो । त्यो बेला प्युठान–१ मा हरि आचार्य जित्दा प्युठान-२ मा नवराज सुवेदी दोहोरिएका थिए ।

२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले दुवै सिट जित्यो । जसमा नारायणप्रसाद अधिकारी र दीपकबहादुर केसी जितेका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरू जिते । जसमा प्युठान-१ मा वामदेव गौतम र प्युठान-२ मा हिराबहादुर केसी जितेका थिए ।

२०७४ मा पनि प्युठानले वामपन्थी वर्चस्व कायम राख्यो । त्यो बेला प्युठानमा एक मात्रै निर्वाचन क्षेत्र कायम भएकामा वाम गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल निर्वाचित भइन् । २०७९ मा भने एमालेका सूर्यबहादुर थापा निर्वाचित भएका थिए ।

प्युठानले ३१ वर्ष लामो वामपन्थी विरासत मात्रै बनाएको छैन, त्यहीँ भूगोलबाट मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि थापा, मणि थापा र सूर्य थापासम्मका कम्युनिस्ट नेता पनि जन्माएको छ ।

तर, यस पटक भने ती नेताले कोरेको विरासत जनमतका आधारमा रास्वपाका वैदिकले भत्काइदिएका छन् ।

उसो त पछिल्ला हरेक निर्वाचनपिच्छे प्युठानवासीले अनुहार भने बदलेर चुनेर पठाएका छन् । जसले यहाँका जनताको परिवर्तनकारी सोचलाई इंगित गर्छ । यस पटक पनि मतदाताले परिवर्तनलाई नै अनुमोदन गरेका छन् ।

स्वर्गद्वारी बहुमुखी क्याम्पसका उपप्राध्यापक गोविन्द पोखरेल यस पटक सोचेभन्दा निकै फरक नतिजा प्युठानले दिएको बताउँछन् । ‘सुरुमा माहौल फरक थियो, जनमत नै बदलिन्छ भन्ने धेरैले सोचेका थिएनन्,’ उनी भन्छन्, ‘तर मतदाताले चुपचाप मन र मत बदलेका रहेछन् ।’

अहिलेको जनमत विचारभन्दा सेवाको डेलिभरीको भोकका रूपमा उनले लिएका छन् । ‘जनताले अहिले विचारभन्दा सेवा, रोजगारीको वातावरण, सुशासन र पारदर्शिता खोजिरहेका छन् । त्यसैको प्रस्फुटन जनमतबाट देखाए,’ पोखरेलले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सलिम मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?