+
+
Shares

सकिएन कांग्रेसको ‘संकटकाल’

आन्तरिक द्वन्द्व, विशेष महाधिवेशनबाट गरिएको नेतृत्व परिवर्तन र २१ फागुनको निर्वाचनमा पार्टीले भोगेको पराजयका कारण कांग्रेसभित्रको ‘संकटकाल’ अझै जारी छ । यो संकट टार्ने थलो आउँदो महाधिवेशन हुनेछ तर वैशाखमा हुने नहुने टुंगो छैन ।

केशव सावद केशव सावद
२०८२ चैत ४ गते १९:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्‍यो तर २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पराजय व्यहोर्‍यो।
  • निर्वाचन परिणामपछि कांग्रेसमा आन्तरिक द्वन्द्व र नेतृत्व परिवर्तनको औचित्यमाथि प्रश्न उठेको छ।
  • सभापति थापाको राजीनामा मागिएको छ।
  • कांग्रेसले आगामी मंसिरसम्म १५ औं नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

४ चैत, काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासहितका बहुमत केन्द्रीय कार्यसमितिको असहमतिबीच गत पुसमा विशेष महाधिवेशन सम्पन्न भयो ।

विशेष महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्‍यो। नयाँ नेतृत्व चयन गरेर प्रतिनिधिसभा निर्वाचनमा होमिँदा कांग्रेसले पार्टीलाई मजबुत बनाउने अपेक्षा आम कार्यकर्तामा थियो ।

तर, निर्वाचन परिणाम कांग्रेसका लागि प्रतिकूल बन्यो । निर्वाचनले जेनजी आन्दोलनपछि कांग्रेसमा विकसित संकट समाप्त गर्न सकेन । निर्वाचन सकिए पनि यतिबेला कांग्रेसमा ‘संकटकाल’ को अवस्था नसकिएको जस्तो देखिएको छ ।

आन्तरिक द्वन्द्व, विशेष महाधिवेशनबाट गरिएको नेतृत्व परिवर्तन र २१ फागुनको निर्वाचनमा पार्टीले भोगेको पराजयपछि पनि पार्टी सामु देखिएका राजनीतिक चुनौतीहरूले ‘संकटकाल’लाई निरन्तरता दिइरहेका छन् ।

निर्वाचनको परिणाम पार्टी प्रतिकूल आउनुलाई विशेष महाधिवेशन पक्षधर र विपक्षमा रहेका नेताहरू एक–अर्कामाथि दोष थोपरिरहेका छन् । निवर्तमान सभापति देउवा समूहले निर्वाचनमा असहयोग गरेको विशेष पक्षधरको दाबी छ ।

तर, देउवा समूह भने विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेकाले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने बताइरहेको छ ।

देउवा नेतृत्वको कार्यसमितिमा प्रचार विभाग सम्हालेका नेता मीन विश्वकर्मा कांग्रेसमा दुई जना सभापति रहेको तर्क गरिरहेका छन् ।

देउवा पक्षीय नेताहरू निर्वाचनमा पार्टीले बेहोरेको पराजयसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको पनि बताइरहेका छन् । कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले विशेष महाधिवेशनकै कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको भन्दै सभापति थापाको राजीनामा मागिसकेका छन् ।

यसैबीच २१ फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षाअनुरूप परिणाम नआएपछि कांग्रेस नियमित महाधिवेशनको तयारीमा जुट्ने संकेत देखिएको छ । पार्टीका संस्थापन पक्षीय नेताहरू अब आफूहरू १५ औं महाधिवेशनको तयारीमा जुट्ने बताइरहेका छन् ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि छलफल चलिरहेको जानकारी दिए । अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनका लागि तयारी गरेर जाने निर्णय गर्ने उनको भनाइ छ ।

‘नियमित महाधिवेशनबारे छलफल भइरहेको छ,’ महामन्त्री पौडलले अनलाइनखबरसँग भने, ‘अधिवेशनका लागि तयारी गरेर जाने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्छौं ।’

उनले केन्द्रीय कार्यसमिति बैठकले आगामी जेठ अन्तिम साता अथवा असोज पहिलो साताका लागि पार्टीको १५ औं महाधिवेशनको तिथि तोकिने सम्भावना पनि औंल्याए ।

‘केन्द्रीय कार्यसमिति बैठकले नियमित अधिवेशन सम्भवतः जेठ अन्तिम अथवा असोजको पहिलो हप्ताका लागि तोक्छ,’ पौडेलले भने, ‘र, अब नियमित अधिवेशनको तयारीमा अगाडि बढ्छ ।’

उपसभापति विश्वप्रकाश शर्मा निकट स्रोतले पनि नियमित महाधिवेशनको तयारीबारे पदाधिकारीबीच छलफल चलिरहेको जानकारी दिए । कांग्रेसले आगामी मंसिरसम्म १५ औं महाधिवेशन गर्ने उनको भनाइ छ ।

‘सभापति, उपसभापतिबीच नियमित महाधिवेशनबारे आन्तरिक छलफल भइरहेको छ,’ स्रोतले भने, ‘नियमित महाधिवशेन जहाँसम्म लाग्छ मंसिरसम्ममा हुन्छ ।’ पार्टीको केन्द्रीय कार्यालय स्रोतले पनि आगामी मंसिरसम्म नियमित महाधिवेशन हुन सक्ने बताएका छन् ।

यसैबीच कांग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको छ ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरूसँगै सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

भर्खरै सम्पन्न निर्वाचनमा युवा मतदाताहरूको असन्तुष्टीको शिकार बन्दा कांग्रेसले अनपेक्षित परिणाम बेहोरेको छ । निर्वाचनमा सभापति थापासहित उम्मेदवार हरेका सबै पदाधिकारीहरू पराजित भएका छन् ।

१६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले सभापति थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो । जसमध्ये कसैलाई पनि अब गठन हुने प्रतिनिधि सभामा देख्न नपाइने भएको छ ।

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर कांग्रेस निर्वाचनमा गएको थियो । तर, लामो राजनीतिक विरासत बोकेको पार्टीका सभापति थापा मतदाताहरूको असन्तुष्टीको शिकार बन्न पुगे ।

कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिएनन् । उपसभापति शर्मालाई कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक तोकेको थियो ।

मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवारी दिएका सभापति थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहसँग झण्डै ११ हजार मतले पराजित भएका छन् ।

कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेका लागि पनि निर्वाचन प्रतिकूल बन्यो । पौडेल काठमाडौं–५ मा र घिमिरे मोरङ–४ मा रास्वपाका उम्मेदवारसँग पराजित भए ।

यस्तै कांग्रेसका पाँच जना सहमहामन्त्रीहरूका लागि पनि निर्वाचन अनुकूल बन्न सकेन । निर्वाचनमा पराजित हुने सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा समेटिएको छ भने समानुपातिकतर्फ २० सिटमा चित्त बुझाउनु परेको छ ।

प्रत्यक्षतर्फ कांग्रेसबाट कोशीमा चार, मधेश र बागमतीमा एक–एक, गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा तीन स्थानमा मात्रै विजयी भएको छ ।

प्रत्यक्षतर्फ १६५ क्षेत्रमा रास्वपाले १२५, एमालेले नौ, नेकपाले आठ, श्रम संस्कृति पार्टीले तीन, राप्रपाले एक सिट जितेको छ । यस्तै स्वतन्त्रतर्फ एक जना प्रतिनिधिसभा सदस्य बनेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको मतपरिणामअनुसार कांग्रेसले २० सिट पाएको छ । समानुपातिकतर्फका ११० सांसदमध्ये रास्वपाबाट ५७, नेकपा एमालेबाट १६, नेपाली कम्युनिस्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट समान चार–चार जना निर्वाचित भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?