+
+
Shares
विचार :

राजीनामा होइन कांग्रेस सुधारको संकल्प

गगन थापाले मैदान छाड्ने होइन, अझ मिहिनेत गरेर पार्टीभित्र आमूल सुधारको संकल्प गर्नुपर्छ। र, जनताको बीचमा नवीन कांग्रेस लैजानुपर्छ।  

रमेश बस्ताकोटी रमेश बस्ताकोटी
२०८२ फागुन २८ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको थियो तर निर्वाचनमा अपेक्षित नतिजा नआएपछि नेतृत्वको राजीनामा मागिएको छ।
  • सभापति गगन थापाले ५० दिनमै पार्टीलाई पुनर्जीवन दिने प्रयास गरे पनि आन्तरिक असहयोग र समय अभावले निर्वाचनमा सफलता पाउन सकेनन्।
  • गगन थापाले राजीनामा नदिई १५औं महाधिवेशनमार्फत कांग्रेसलाई पूर्ण रूपान्तरण गर्नुपर्ने र पार्टीलाई बलियो लोकतान्त्रिक शक्ति बनाउनुपर्ने सुझाव दिइएको छ।

निर्वाचनताका नेपाली कांग्रेसले एउटा आकर्षक नारा प्रचारमा ल्यायो– ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’। तर, यो नारालाई आम जनताले पत्याउने आधार चाहिं बनिसकेको थिएन। गगनकुमार थापा र विश्वप्रकाश शर्माहरूले कांग्रेस बदल्ने सुरुवात गरेका थिए यो सत्य हो, तर आम नागरिकले ‘रूख’ चिह्नमा नै भोट हाल्ने गरी पत्याइहाल्ने अवस्था निर्वाचनअघि बन्न सकेको थिएन। गगन–विश्वले कोसिस गरेका थिए। विशेष महाधिवेशन गरेर हामी बदलियौं भन्ने सन्देश प्रवाह गर्न खोजेका थिए। तर आम नागरिकले त्योभन्दा अगावै मत बदल्ने मन बनाइसकेका थिए। जसको नतिजा निर्वाचनको परिणामले देखाइसकेको छ।

सिट संख्या र जनमतका हिसाबले कांग्रेसका लागि यो नतिजा अपेक्षाभन्दा निकै तल रह्यो। प्रतिकूल परिणामपछि पार्टीभित्र र बाहिरबाट नेतृत्वको नैतिकतामाथि प्रश्नहरू उठेका छन्। लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक पार्टीभित्र सभापति गगन थापाको राजीनामा मागिनुलाई कतिपयले स्वाभाविक लोकतान्त्रिक अभ्यास मानेका होलान् तर सतहमा देखिएको यो ‘हार’ को भित्री पाटो, राजनीतिक क्रोनोलोजी र धरातलीय यथार्थ केलाउने हो भने गगन थापाले यतिबेला राजीनामा दिनुहुन्न भन्ने बलिया र अकाट्य आधारहरू फेला पर्छन्। मैले यो आलेखमा यसैको चर्चा गर्ने प्रयास गरेको छु।

अहिलेको आवश्यकता भनेको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापाको राजीनामा होइन, बरु निर्वाचनले दिएको ‘चेतावनी’लाई आत्मसात् गर्दै कांग्रेसलाई पूर्ण रूपान्तरण गर्ने संकल्प गर्नुपर्ने बेला हो। कतिपय कांग्रेस नेताका कुरा सुनिन्छ, ‘निर्वाचन अघि विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नु ठूलो गल्ती भयो। गगन–विश्वहरूले हतार गरे।’ कांग्रेस पार्टीलाई सधैं शेरबहादुर देउवा र उनकै आसेपासेको जालो भित्रै कैद गर्ने चाहना राख्नेहरूको नजरबाट हेर्दा त्यो जायज देखिएला तर यथार्थ के हो भने कांग्रेसभित्र नेतृत्व परिवर्तन अत्यावश्यक भइसकेको थियो। त्यसकारण विशेष महाधिवेशनको निर्णय र कदम अत्यन्तै आवश्यक थियो र भयो। अझै भन्नुपर्दा यो ढिलोगरी भयो।

कांग्रेसको नेतृत्व परिवर्तन नियमित समयमा नियमित प्रक्रियाबाटै भएको भए नतिजा पक्कै फरक आउँथ्यो होला। तर, तत्कालीन मूल नेतृत्वले समय गुजार्ने र नियमित समयमा नियमित महाधिवेशन हुनबाट रोक्ने काम गरिरहेपछि विशेष महाधिवेशनको बाध्यता आइपरेको थियो।

गगन–विश्वहरूले जोखिम मोलेरै भए पनि कांग्रेस बदल्ने प्रयास नगरेको भए २१ फागुनको नतिजा अझ भयानक आउने रहेछ।

अघिल्लो नेतृत्वको बेलामा कांग्रेस धेरै ठाउँमा चुकेको थियो, जसको मूल्य यो निर्वाचनमा पार्टीले चुकाउनुपर्‍यो। सत्ता र शक्ति प्राप्त गर्ने लोभमा कांग्रेसले जब आफ्नो ‘लिक’ छोड्न थाल्यो त्यही बेलादेखि हो कांग्रेसको अधोगति सुरु भएको। सत्ता र शक्तिको लोभमा कहिले माओवादी त कहिले एमालेसँग गठबन्धन गर्दै आफ्नो सिद्धान्त र जिम्मेवारी समेत भुल्न पुग्दा जनताले कांग्रेसलाई पत्याउन छाडिसकेका थिए। आफ्नो पहिचान नै संकटमा पारेर एमाले र माओवादीसँग सत्ताको ‘म्युजिकल चेयर’ खेल्नु तत्कालीन नेतृत्वको गम्भीर भूल थियो। लिक बाहिर हिंडिरहेको पार्टीलाई ‘रेस्क्यु’ गरी लिकमा ल्याउनु अपरिहार्य थियो। त्यसैले गगन–विश्वहरूले हस्तक्षेप नै गरेर भए पनि पार्टीलाई लिकमा ल्याउने कोसिस गरेका हुन्। यदि त्यसो नगरेको भए थप क्षति हुने निश्चित थियो। त्यसकारण विशेष महाधिवेशनकै कारण पार्टी हार्‍यो भन्नु अल्लारेपन हो।

वर्षौंदेखि गुट र गिरोहतन्त्रमा फसेर शिथिल बनेको संगठनलाई ५० दिनमै पुनर्जीवन दिएर चुनाव जिताउने गगन र उनको टिमका लागि असम्भवप्राय: थियो। परिणामले त्यही देखाइदियो। त्यो असम्भवप्राय: रहेको अवस्था बदलेर देशभर नवीन कांग्रेसको माहोल तयार पार्न गगन–विश्वले अथक पसिना बगाएका थिए। कुनै पनि नेतृत्वले आफ्नो कार्यक्षमता देखाउन र संगठनमा आफ्नो प्रभाव स्थापित गर्न न्यूनतम समय पाउनुपर्छ। त्यो न्यूनतम समय गगन–विश्वलाई मिलेन। उम्मेदवारी दर्ताको दुई दिनअघि नेतृत्व सम्हालेका गगनसँग न उनले सोचेजसरी उम्मेदवार चयन गर्ने पर्याप्त समय थियो, न त देशभरका असन्तुष्ट पक्षलाई मिलाउने अवसर। पार्टीभित्रको एउटा शक्तिशाली समूह, जसले दशकौंसम्म सत्ता र शक्ति ओगटेको थियो, उसलाई यो परिवर्तन किमार्थ स्वीकार्य थिएन। उसलाई गगन पार्टी सत्तामा आएको मन परिरहेको थिएन। पार्टी निर्वाचनमा पराजय हुनुको पछाडि कांग्रेसभित्रको यही आन्तरिक असन्तुष्टि अर्को मुख्य कारक हो। विशेष महाधिवेशन मार्फत देउवा जस्ता शक्तिशाली नेतालाई विस्थापित गर्दा सिर्जना भएको ‘इगो’ ले निर्वाचनमा अन्तर्घातको रूप लियो। यो ‘ओपन सेक्रेट’ कसले बुझेको छैन र!

गगन थापाले नेतृत्व सम्हाल्नुअघि नै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वैकल्पिक राजनीतिको लहर आइसकेको थियो। जनताले ‘मन परिवर्तन’ गरिसकेको अवस्थामा ५० दिनको इमानदार कोसिसले मात्र त्यो विशाल जनलहरलाई रोक्न सम्भव थिएन। गगन नेतृत्वमा आएपछि जति सम्हाल्न सकिन्छ उनले इमानदार कोसिस गरेकै हुन्। गगनको टिमसँग पार्टीलाई लयमा फर्काउने पर्याप्त समय नै भएन।

सर्लाही–४ मा गगन थापाले बेहोरेको व्यक्तिगत पराजय पनि यही ‘परिवर्तनको चाहना’ र आन्तरिक असहयोगको कारण हो। डा. अमरेशकुमार सिंहसँगको हारलाई आधार मानेर सिंगो देशले आशा गरेको नेतृत्वको अवसान खोज्नु न्यायपूर्ण हुँदैन। हाम्रै देशमा सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूले पनि चुनावी हार बेहोरेका थिए, विश्वमा यस्ता थुप्रै नेता छन् जसले पटक–पटक चुनाव हारेका छन् तर उनीहरूको नेतृत्व र विचार कहिल्यै पराजित भएन। देउवा समूहको अघोषित बहिष्कार र असहयोगका बाबजुद सभापति गगन थापा र उपसभापति विश्वप्रकाशको प्रयासमा आज कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी झण्डै ३८ स्थान प्राप्त गर्ने अवस्थामा छ। देशभर आएको ‘घन्टी’ लहर, आन्तरिक घेराबन्दी र असहयोगका बीच प्राप्त यो नतिजालाई असफलता मात्र होइन, बरु एउटा गम्भीर सङ्कटको बीचमा गरिएको सफल व्यवस्थापन मान्नुपर्छ।

विशेष महाधिवेशनको कारण पार्टी हार्‍यो भन्नु अल्लारेपन हो। त्यो बाटो नहिंडेको भए आजको दिन कांग्रेस एमालेभन्दा कमजोर देखिने थियो।

कांग्रेस विवाद सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। त्यही अवस्थामा हामी बदलियौं भनेर कांग्रेस निर्वाचनमा होमिएको हो। एउटा हातमा अदालतको फाइल र अर्को हातमा चुनावी घोषणापत्र बोकेर हिंड्नुपर्ने बाध्यताका बीच गगनले पार्टीलाई जुन ऊर्जा दिए, त्यसले कार्यकर्तामा आशाको सञ्चार त गरायो, तर संरचनात्मक अवरोधहरूका कारण त्यसलाई पूर्ण नतिजामा बदल्न समय अभाव भयो।

यो निर्वाचन परिणामले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने र युवाहरूको आकांक्षा आत्मसात् गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनी पनि हो। अब निर्वाचनको सिकाइलाई आत्मसात् गर्दै वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ। यतिबेला कांग्रेसका लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण, र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ। देश फेरि लयमा फर्कन थालेको छ, र यस यात्रामा गगनको नेतृत्वले कांग्रेसहरूलाई आशा र दिशानिर्देश दिएको छ। अब सभापतिको राजीनामा होइन कांग्रेसलाई १५औं महाधिवेशनतर्फ लैजानु आवश्यक छ। १५औं महाधिवेशनले मात्र कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा पूर्णता दिन सक्छ। यो जतिसक्दो छिटो गर्न आवश्यक छ। गगनले अब राजीनामातिर नसोचुन्, १५औं महाधिवेशन छिटो सम्पन्न गर्नतिर लागुन्।

गगन थापाको राजनीतिक जीवन सधैं उतारचढावयुक्त रहेको पाइन्छ। उनी चुनौती स्वीकार्ने र जोखिम मोल्ने नेता हुन्। अहिलेको अवस्थामा राजीनामा दिएर हिंड्नु उनका लागि ‘सुहाउने काम’ होइन। राजीनामाको बाटो सजिलो त होला तर गगनका लागि ‘थिल्थिलिएको’ कांग्रेसलाई काँध थापेर अघि बढ्दै पार्टीको पूर्ण रूपान्तरण गर्नु नै गगन जस्ता जोखिम मोल्न सक्ने नेताका लागि ‘योग्य काम’ हो। धरातल नबुझी ‘इगो’का भरमा उनको राजीनामा माग्नेहरू वास्तवमा कांग्रेसका शुभचिन्तक होइनन्। जो–जसले राजीनामा माग्दैछन्, उनीहरूले आफूलाई सोध्नुपर्छ, के उनीहरूले निर्वाचनमा ‘रूख’ चिह्नलाई जिताउन इमानदार प्रयत्न गरे?

गगनले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले कांग्रेसीहरूलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजीनामा दिनुले पार्टी फेरि नेतृत्वविहीनता र अस्थिरतातर्फ जान्छ, जसको प्रत्यक्ष लाभ यथास्थितिवादी शक्तिहरूलाई पुग्नेछ।

निर्वाचन परिणामले दिएको निराशालाई शक्तिमा बदलेर पार्टीलाई जगैदेखि पुन:निर्माण गर्ने जिम्मा गगन थापाकै काँधमा छ।

गगन थापाको नेतृत्वमा कांग्रेसले नयाँ ऊर्जा, नयाँ आशा र नयाँ रूपान्तरणको बाटो देखिरहेको छ। राजनीतिमा हार र जित एउटा प्राविधिक चक्र हो, तर नेतृत्वको विचार र साहसको हार हुनुहुँदैन। निर्वाचनको परिणामले सिकाएको पाठलाई शक्तिमा बदलेर पार्टीलाई जगैदेखि पुन:निर्माण गर्ने जिम्मा अब गगनकै काँधमा छ। मैदान छाडेर होइन, मैदानमै बसेर पार्टी सुधार्ने संकल्प नै अहिलेको वास्तविक आवश्यकता हो। अबको लक्ष्य र १५औं महाधिवेशनको व्यापक तयारी र कांग्रेसलाई देशको सबैभन्दा आधुनिक र बलियो लोकतान्त्रिक शक्तिका रूपमा पुनर्जीवित गर्ने हुनुपर्छ। अब सबैले गगनको राजीनामाको अनावश्यक बहसलाई छोडौं, गगन स्वयंले पनि यो कुरा छाडुन्। कांग्रेसभित्र व्यापक रूपान्तरण गर्दै समग्र कांग्रेस एकढिक्का भएर गगनलाई साथ दिनु नै अहिलेको आवश्यकता हो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रमेश बस्ताकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?