+
+
Shares
ब्लग :

नैतिकताको कसीमा कांग्रेस सभापति गगन थापा

दीर्घकालदेखि अनैतिक अभ्यासमा अभ्यस्त हुँदै गएको राजनीतिक संस्कृतिमा यस्तो कदमले नैतिक दबाब सिर्जना गर्न सक्छ।

सञ्जीव कार्की सञ्जीव कार्की
२०८२ फागुन २७ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनावी कमजोर परिणामको नैतिक जिम्मेवारी स्वीकार गर्दै सभापति पदबाट राजीनामा दिने निर्णय गर्नुपर्ने दबाब बढेको छ।
  • नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा अघि सार्दै नयाँ नेतृत्वको अनुहार र आशालाई केन्द्रमा राखेर जनमत मागेको थियो।
  • राजेन्द्र योञ्जन नामका कांग्रेसका साधारण कार्यकर्ताले चुनावी परिणाममा एक मतले पछि परेको जिम्मेवारी मानेर पदबाट राजीनामा दिएका छन्, जसले नेतृत्वका लागि नैतिक उदाहरण प्रस्तुत गरेको छ।

यो प्रश्न केवल गगन थापाको व्यक्तिगत निर्णयसँग मात्र सम्बन्धित छैन; यो नेपाली कांग्रेसको राजनीतिक संस्कारसँग पनि जोडिएको विषय हो। यदि कुनै पार्टीले नैतिकताको उच्च मानक स्थापित गर्न सक्छ भने त्यो केवल व्यक्तिको निर्णयबाट होइन, संस्थागत अभ्यासबाट सम्भव हुन्छ।

नैतिकता दुर्लभ मूल्य हो। अझ राजनीतिक क्षेत्रमा यसको उपस्थिति झनै दुर्लभ मानिन्छ। यसको मुख्य कारण नैतिकता कानुनी रूपमा बाध्यकारी नहुनु हो। कानुनले मानिसलाई दण्ड वा दायित्वको भयद्वारा अनुशासित बनाउन सक्छ, तर नैतिकता भने व्यक्तिको चेतना, विवेक र आत्मानुशासनसँग सम्बन्धित हुन्छ। त्यसैले नैतिकता बाध्यताको विषय होइन; यो स्वेच्छा, आत्मस्वीकृति र आत्मसंयमको अभ्यास हो।

दार्शनिक दृष्टिले हेर्दा नैतिकता केवल नियमहरूको सङ्ग्रह मात्र होइन, यो सामाजिक मूल्यहरूको प्रणाली पनि हो। यसले व्यक्तिको आचरणलाई दिशा दिन्छ र सामूहिक जीवनलाई मर्यादित बनाउँछ। यही कारणले नैतिकता व्यवहारको स्तरमा जीवनपद्धति बन्न पुग्छ। जब नैतिकता व्यवहारमा रूपान्तरित हुन्छ, तब मात्र त्यसले समाजमा विश्वास, उत्तरदायित्व र विश्वसनीयताको वातावरण निर्माण गर्छ।

राजनीतिक जीवनमा नैतिकता प्रायः भाषण, घोषणापत्र वा उपदेशका रूपमा मात्र प्रकट हुन्छ; व्यवहारमा भने यसको अभाव देखिनु असामान्य कुरा होइन। तर जब कुनै नेता वा संस्थाले नैतिकताको आधारमा निर्णय लिन्छ, त्यस्तो निर्णय कानुनी वैधताभन्दा पनि गहिरो अर्थमा सामाजिक वैधताको हिस्सा बन्दछ। इतिहासले पनि त्यस्ता निर्णयलाई नै दीर्घकालीन रूपमा स्मरण गर्छ, किनभने ती निर्णयहरूले राजनीतिक संस्कारलाई उचाइ दिएका हुन्छन्।

यसै सन्दर्भमा नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्नु आवश्यक हुन्छ। कुनै पनि पार्टीको चुनावी परिणामलाई केवल अङ्कगणितीय जित-हारका आधारमा मात्र मूल्याङ्कन गर्न सकिँदैन। त्यसमा नेतृत्वको क्षमता, रणनीतिक दृष्टि, सङ्गठनात्मक गतिशीलता र जनविश्वास जस्ता तत्त्वहरू गहिरो रूपमा गाँसिएर आएका हुन्छन्। जब कुनै पार्टी अपेक्षित परिणाम ल्याउन असफल हुन्छ, त्यसको जिम्मेवारी केवल कार्यकर्ता वा बाह्य परिस्थितिमाथि थोपर्न मिल्दैन; अन्ततः नेतृत्व नै त्यसको प्रमुख उत्तरदायी मानिन्छ।

यसै कारण नेतृत्वको नैतिकता भन्ने विषयले राजनीतिक विमर्शमा विशेष महत्त्व राख्दछ। नैतिकता कानुनी अपराधको खोजी गर्ने प्रक्रिया होइन; यो उत्तरदायित्व स्वीकार गर्ने राजनीतिक संस्कार हो। जब नेतृत्वले आफ्नो असफलताको नैतिक जिम्मेवारी स्वीकार गर्छ, त्यसले संस्थागत संस्कारलाई परिपक्व बनाउँछ। यस्तो अभ्यासले सङ्गठनभित्र आत्मसमीक्षा र पुनर्संरचनाको सम्भावना पनि खोलिदिन्छ।

यस दृष्टिले हेर्दा नेपाली कांग्रेसका सभापति गगन थापामाथि पनि नैतिक मूल्याङ्कनको प्रश्न उठ्नु स्वाभाविक हुन्छ। यदि पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन भने त्यसको जिम्मेवारीको नैतिक व्याख्या कसरी गरिन्छ भन्ने प्रश्नलाई टारेर अघि बढ्नु राजनीतिक दृष्टिले दीर्घकालीन समाधान हुन सक्दैन। नेतृत्वलाई नैतिकताको कसीमा राख्नु भनेको व्यक्तिमाथि आक्रमण गर्नु होइन; यो संस्थागत उत्तरदायित्वको लोकतान्त्रिक अभ्यास हो।

नैतिकता समयसँगै निरन्तर मूल्याङ्कन हुने प्रक्रिया हो- सेकेन्ड, मिनेट, घण्टा, हप्ता, महिना वा वर्ष जुनसुकै समयमा यसको परीक्षण हुन सक्छ। यसर्थ विशेष महाधिवेशनपछि पार्टीका समग्र राजनीतिक निर्णय र परिणामहरूको नैतिक जिम्मेवारी अन्ततः नेतृत्वकै काँधमा पुग्ने स्वाभाविक प्रक्रिया हो।

नैतिक जिम्मेवारी ग्रहण गर्नु भनेको पराजय स्वीकार गरेर राजनीति परित्याग गर्नु होइन। यसको वास्तविक अर्थ भनेको आफ्नो नेतृत्वका सीमा र कमजोरीलाई आत्मालोचनात्मक रूपमा स्वीकार गर्नु, सङ्गठनलाई नयाँ ऊर्जा दिनु तथा लोकतान्त्रिक संस्कारलाई सुदृढ बनाउनु हो। विश्वका परिपक्व लोकतन्त्रहरूमा पनि यही अभ्यास देखिन्छ।

चुनावी पराजयपछि नेतृत्वले नैतिक जिम्मेवारी ग्रहण गर्ने परम्पराले संस्थालाई कमजोर बनाउँदैन; बरु त्यसलाई थप परिपक्व र सुदृढ बनाउने काम गर्दछ। नैतिकताको कसीमा उभिन सक्ने साहस नै नेतृत्वको वास्तविक शक्ति हो। जसले सफलताको श्रेय ग्रहण गर्न सक्छ, उसले असफलताको जिम्मेवारी पनि वहन गर्न सक्नुपर्छ। यही लोकतान्त्रिक नेतृत्वको आधारभूत मानक र राजनीतिक संस्कारको मूल सिद्धान्त हो।

अन्ततः यो प्रश्न केवल गगन थापाको व्यक्तिगत निर्णयसँग मात्र सम्बन्धित छैन; यो नेपाली कांग्रेसको राजनीतिक संस्कारसँग पनि जोडिएको विषय हो। यदि कुनै पार्टीले नैतिकताको उच्च मानक स्थापित गर्न सक्छ भने त्यो केवल व्यक्तिको निर्णयबाट होइन, संस्थागत अभ्यासबाट सम्भव हुन्छ। यस्तो उदाहरणले नेपाली राजनीतिमा क्रमशः क्षीण हुँदै गएको नैतिकताको मूल्यलाई पुनः स्मरण गराउन सक्छ।

नेपाली कांग्रेसकै एक उदाहरण स्मरणीय छ। चौधौँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी, बहालवाला रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पराजय भोगेेपछि तत्काल राजीनामा दिएका थिए। पार्टीले आफूलाई महामन्त्रीका रूपमा स्वीकार नगरेको अवस्थामा सरकारमा मन्त्रीका रूपमा रहनु नैतिक दृष्टिले उचित नहुने तर्क गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा नैतिक मानकलाई प्राथमिकता दिए। यदि कुनै पार्टीमा कुनै नेता ‘निर्विकल्प’ भनेर स्थापित हुन थाल्छ भने त्यो लोकतान्त्रिक पार्टी प्रणालीका लागि स्वस्थ सङ्केत हुँदैन।

पार्टी प्रणालीको मूल दर्शन नै संस्थालाई व्यक्तिभन्दा माथि राख्नु हो। यदि व्यक्तिलाई नै प्रधान बनाइयो भने एक व्यक्ति हट्दा पार्टी स्वयं कमजोर हुने वा विघटनतर्फ जाने खतरा उत्पन्न हुन्छ। त्यसैले नैतिकताको प्रश्न कुनै नेताका लागि अनावश्यक विषय वा अरूलाई मात्र उपदेश दिने सिद्धान्त बन्नु हुँदैन; यो नेतृत्वको व्यवहारमै प्रतिविम्बित हुनुपर्छ।

वास्तवमा नैतिकता क्षणिक वा परिस्थितिजन्य विषय होइन। नैतिकता समयसँगै निरन्तर मूल्याङ्कन हुने प्रक्रिया हो- सेकेन्ड, मिनेट, घण्टा, हप्ता, महिना वा वर्ष जुनसुकै समयमा यसको परीक्षण हुन सक्छ। यसर्थ विशेष महाधिवेशनपछि पार्टीका समग्र राजनीतिक निर्णय र परिणामहरूको नैतिक जिम्मेवारी अन्ततः नेतृत्वकै काँधमा पुग्ने स्वाभाविक प्रक्रिया हो। नैतिकताको उदाहरण केवल शीर्ष नेतृत्वमै सीमित हुँदैन; कहिलेकाहीँ भुइँ तहका कार्यकर्ताले पनि अत्यन्त उच्च नैतिक उदाहरण प्रस्तुत गर्छन्।

कांग्रेसकै एक साधारण कार्यकर्ताको प्रसङ्ग यहाँ उद्धृत गर्नु सान्दर्भिक छ। राजेन्द्र योञ्जन, जो तामाकोसी गाउँपालिकाका एकाइ सचिव हुन्, उनले स्थानीय स्तरको चुनावी परिणाममा (२०५४ को स्थानीय चुनावपछि दोस्रोपटक २०८२ को सङ्घीय चुनावमा दोलखा झुलेमा) पार्टी अत्यन्त झिनो मतान्तर (एक मत) ले पछि परेको अवस्थालाई आफ्नो नैतिक जिम्मेवारी मानेर भर्खरै पदबाट राजीनामा दिएका छन्। एक साधारण कार्यकर्ताले देखाएको यस्तो नैतिक चेतना राजनीतिक नेतृत्वका लागि पनि प्रेरणादायी उदाहरण नहोला र?

आज कांग्रेस कठिन राजनीतिक चरणबाट गुज्रिरहेको छ। सङ्गठनभित्रको विश्वास कमजोर भएको छ भने आम जनतामाझ पार्टीप्रतिको भरोसा पनि डगमगाएको देखिन्छ। यस्तो अवस्थामा पार्टीलाई पुनर्जीवित गर्न नेतृत्वले सामान्यभन्दा बढी आत्मसमीक्षा, विनम्रता र नैतिक साहस देखाउनुपर्ने आवश्यकता हुन्छ। यहाँ मूल प्रश्न केवल चुनावी हारको मात्र होइन। वास्तविक प्रश्न यो हो कि गगन थापाको सभापतित्वमा चुनावमा गएको नेपाली कांग्रेसले अपेक्षाभन्दा कमजोर परिणाम किन भोग्यो। त्यसैले यो बहस पराजयको गणितीय विश्लेषणभन्दा बढी नैतिक उत्तरदायित्वको प्रश्नसँग सम्बन्धित छ।

पार्टी सभापतिको रूपमा शेरबहादुर देउवाको अनुहार र टिकटमा गरिएको हस्ताक्षरको भरमा मात्र चुनाव जित्न सकिँदैन भन्ने भाष्यका बीच कांग्रेसले विशेष महाधिवेशन (पुस २७–माघ १) मार्फत देउवाको विकल्पका रूपमा गगन थापालाई सभापतिमा अघि सार्दै चुनावी मैदानमा प्रवेश गरेको थियो। अर्थात् पार्टीले नयाँ नेतृत्वको अनुहार र आशालाई केन्द्रमा राखेर जनमत मागेको थियो। यस्तो अवस्थामा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि त्यसको नैतिक जिम्मेवारी पनि नेतृत्वले लिनुपर्छ भन्ने अपेक्षा स्वाभाविक मानिन्छ। यद्यपि कांग्रेसको कमजोर नतिजाको मूल कारण गगन थापाको नेतृत्व होइन, तथापि जस लिन अग्रसर हुँदा अपजसको भारी अन्यत्र देखाएर तर्कन मिल्दैन।

गगन थापाले अहिलेसम्म पार्टी र राष्ट्रिय राजनीतिमा पुर्‍याएका योगदानको मूल्याङ्कन इतिहासले अवश्य गर्नेछ। तर यदि उनले अहिले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिने निर्णय गरे भने त्यसको प्रभाव केवल कांग्रेसभित्र सीमित रहने छैन; यसले अन्य दल र समग्र राष्ट्रिय राजनीतिमा पनि गहिरो सन्देश दिन सक्छ। दीर्घकालदेखि अनैतिक अभ्यासमा अभ्यस्त हुँदै गएको राजनीतिक संस्कृतिमा यस्तो कदमले नैतिक दबाब सिर्जना गर्न सक्छ। त्यसैले गगनले आफ्नै पार्टीका कार्यकर्ता राजेन्द्र योञ्जन जस्ता व्यक्तिले देखाएको नैतिक उदाहरणबाट प्रेरणा लिएर राजीनामा दिने निर्णय गर्नु उपयुक्त हुन्छ।

कांग्रेसभित्रका केही ‘परिष्कृत’ धारणाका समर्थकहरूले सभापतिबाट राजीनामा दिनु कानुनी विषय नभएको तर्क प्रस्तुत गरिरहेका छन्। तर नैतिकता आफैंमा कानुनी विषय होइन भन्ने तथ्य सबैलाई स्पष्ट हुनुपर्ने हो। नैतिकता बाध्यात्मक व्यवस्था होइन; यो ऐच्छिक चेतनाबाट उत्पन्न हुने आचरण हो। कसैलाई नैतिक बन्न जबर्जस्ती गर्न सकिँदैन। नैतिकता अन्ततः उत्तरदायित्व स्वीकार गर्ने उन्नत राजनीतिक संस्कार हो।

विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूबाट प्राप्त सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक राजनीतिमा प्राप्त अनुभवले उनलाई धेरै कुरा सिकाएको छ। विशेष गरी तराई–मधेशको राजनीतिक यथार्थलाई नजिकबाट बुझ्ने अवसर उनले यस प्रक्रियामा पाए।

गगन विशेष परिस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति हुन्। एक अर्थमा उनको नेतृत्व सङ्क्रमणकालीन वा तदर्थ प्रकृतिको पनि मान्न सकिन्छ। अब पार्टीले पुनः नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएर पराजयको निर्मम समीक्षा गर्नु आवश्यक छ। यदि त्यही प्रक्रियाबाट पुनः निर्वाचित हुँदै “म एक कार्यकाल मात्र सभापति बन्छु” भन्ने स्पष्ट प्रतिबद्धता उनले व्यक्त गरे भने, त्यो नेपाली राजनीतिमा नैतिकता, इमानदारी र निष्ठाको दुर्लभ उदाहरणका रूपमा स्थापित हुन सक्छ।

वास्तवमा सबैलाई थाहा छ: यदि गगन थापाले जोखिम र पीडाबाट बच्न खोज्दै केवल ‘पेनकिलर राजनीति’ गर्दै चुनावमा नगएर पार्टीको अपरेसन गरेर नै गए। ‘कमेडी नाइट विथ च्याम्पियन’ सोका विशाल भण्डारीले व्यङ्ग्य गरेझैँ अहिले कांग्रेस केवल घण्टीमुनि छ, गगन थापाले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए माटोमुनि (चपरीमुनि) हुनेथियो।

यस सन्दर्भमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले व्यक्त गरेको एउटा टिप्पणी स्मरणीय छ: ‘अस्पतालबाट डिस्चार्ज भएर घर जान नपाई सिधै बक्सिङको रिङमा उत्रिनुपर्दा खेलाडीको जस्तो अवस्था हुन्छ।’ गगन थापा र कांग्रेसको अवस्था पनि लगभग त्यस्तै थियो। यद्यपि यो प्रक्रियाले गगन थापालाई गहिरो राजनीतिक अनुभव प्रदान गरेको देखिन्छ।

विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूबाट प्राप्त सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक राजनीतिमा प्राप्त अनुभवले उनलाई धेरै कुरा सिकाएको छ। विशेष गरी तराई–मधेशको राजनीतिक यथार्थलाई नजिकबाट बुझ्ने अवसर उनले यस प्रक्रियामा पाए।

मधेशको भूगोल, त्यहाँको सामाजिक–राजनीतिक मनोविज्ञान, प्रतिनिधित्वको प्रश्न र पहिचानको राजनीतिले कसरी मत व्यवहारलाई प्रभावित गर्छ भन्ने यथार्थलाई उनले प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। ‘मधेशको छोरो प्रधानमन्त्री बन्ने’ जस्ता भावनात्मक नाराहरूका अगाडि अन्य धेरै मुद्दाहरू कसरी गौण बन्न पुग्छन् भन्ने पनि उनले नजिकबाट देखे।

लामो समयदेखि राज्य संरचनामा विद्यमान विभेदले कसरी राजनीतिक असन्तोष र मतक्रान्तिमा रूपान्तरित हुन्छ भन्ने मनोविज्ञान बुझ्ने अवसर पनि यसले प्रदान गर्‍यो। यस क्रममा उनले राजनीति केवल समर्थन र लोकप्रियताको खेल मात्र नभई सङ्कटका क्षणमा सम्बन्ध र विश्वास कसरी बदलिन्छ भन्ने अनुभव पनि प्राप्त गरे। सङ्कटको समयमा सहयोगी ठानिएका मानिसहरू टाढा हुने र अप्रत्याशित व्यक्तिहरू साथमा उभिने यथार्थ पनि राजनीतिले सिकाउने पाठमध्ये एक हो।

गगन थापा स्वभावतः प्राज्ञिक, बौद्धिक र अनुसन्धानमुखी राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्। यसपटक उनले केवल सैद्धान्तिक विमर्शमा होइन, तराईको वास्तविक राजनीतिक ‘ग्राउन्ड’ मा उत्रिएर प्रत्यक्ष अनुभव सङ्कलन गर्ने अवसर पाए। मधेशको भूगोल मात्र होइन, त्यहाँको राजनीतिक ‘गोल’ अर्थात् शक्ति–सम्बन्धको जटिल संरचना पनि बुझ्ने मौका उनले पाए।

यस सन्दर्भमा एउटा महत्त्वपूर्ण भ्रम पनि तोड्न आवश्यक छ- ठूला नेताले चुनाव हार्नु हुँदैन भन्ने धारणा। वास्तवमा चुनाव लोकतान्त्रिक प्रतिस्पर्धा हो; यहाँ जो–कोहीले जित्न पनि सक्छ, हार्न पनि सक्छ। उदाहरणका लागि, अमरेशकुमार सिंह जस्ता नेता लामो समयदेखि मधेशको राजनीतिमा सक्रिय रहँदै २०६३ को अन्तरिम संसद्‌देखि निरन्तर चुनाव जित्दै आएका छन्।

यस्तो प्रतिस्पर्धात्मक परिवेशमा हार्नु आफैंमा लज्जाको विषय होइन। गगनको पराजयले धेरैलाई विस्मित पारेको छ। सशक्त प्रतिपक्षको रूपमा गगनको अभाव संसद्‌लाई हुन्छ भनेर आम बौद्धिक वर्गले स्वीकार गरेका छन्।

‘ठूला नेताले हार्नु हुँदैन’ भन्ने भाष्य नै लोकतन्त्रका लागि खतरनाक हुन्छ। यही मानसिकताका कारण आम नागरिकहरू भावनात्मक अतिवादतर्फ उक्सिन्छन्। कसैले नाक–कान काट्ने, आत्मदाह गर्ने, मानव मलमूत्र सेवन गर्ने, देश छोड्ने वा राजनीतिबाट सन्न्यास लिने जस्ता अतिरञ्जित घोषणाहरू गर्ने अवस्थासम्म पुग्छन्। यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्कारलाई स्वस्थ बनाउँदैन; बरु भावनात्मक उत्तेजनालाई मात्र बढाउँछ। यसर्थ चुनाव हार्नु अस्वाभाविक घटना होइन। तर चुनाव हार्दा पनि राजनीति इमान, निष्ठा, निरन्तरता र मूल्यहरूको आधारमा गर्न सकिन्छ।

मूल्य-मान्यताको राजनीति गर्ने व्यक्ति सत्ता बाहिर रहे पनि राष्ट्र निर्माणमा योगदान दिन सक्छ। देश निर्माणका लागि सधैँ सरकारमै पुग्नुपर्छ भन्ने अनिवार्यता छैन; राजनीतिक दलहरू स्वयं राज्य निर्माणका विभिन्न कम्पोनेन्टका रूपमा काम गर्छन्। यस अर्थमा चुनावमा पराजित उम्मेदवारसँग पनि जनमत रहन्छ। त्यसैले उनीहरू आफ्नो निर्वाचन क्षेत्रप्रति उत्तरदायी रहिरहनुपर्छ। संसदीय अङ्कगणितले सरकार गठनमा मद्दत गर्छ भने विचार, मूल्य प्रणाली र शक्ति सन्तुलनले राष्ट्र निर्माणको दीर्घकालीन आधार तयार गर्छ। गगन थापाले मूल्य प्रणालीलाई नजरअन्दाज पक्कै गर्ने छैनन्।

सधैँ विधि, नीति र नैतिकताको पक्षमा वकालत गर्ने गगन थापाले पार्टीको कमजोर प्रदर्शनको निर्मम समीक्षा गर्दै सभापति पदबाट हालका लागि राजीनामा दिने निर्णय गरे भने त्यसले नेपाली राजनीतिमा अर्को नैतिक मानक स्थापित गर्न सक्छ। त्यसैले कुनै बहानाबाजी, इन्तु–किन्तु, परन्तु वा ‘इफ–बट’ नखोजी गगन थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी स्वीकार गर्दै सभापति पदबाट राजीनामा दिनु उपयुक्त देखिन्छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?