News Summary
Generated by OK AI. Editorially reviewed.- विश्लेषक विष्णु सापकोटाले एमाले अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने र गगन थापाले दिन नपर्ने बताएका छन्।
- झलक सुवेदीले मतपेटिकामा मौन विद्रोह भएको र नागरिकले असन्तोष व्यक्त गरेको उल्लेख गरे।
- अंगराज तिमिल्सिनाले नयाँ सरकारलाई सुशासन र विकासमा राष्ट्रिय सहमति बनाउन र दलहरूसँग समन्वय गर्न आग्रह गर्नुभएको छ।
पछिल्लो चुनाव आवधिक महत्वको चुनाव नभई एक नयाँ युग नै सुरु गर्न सक्ने ताकत भएको चुनाव भएको विश्लेषकहरुले बताएका छन् । अनलाइनखबरले विश्लेषकहरु विष्णु सापकोटा, झलक सुवेदी र अंगराज तिमिल्सिनासँग गरेका यी भिडियो वार्तामा यस्तो धारणा प्राप्त छ ।
विष्णु सापकोटा भन्छन् : ओलीले राजीनामा दिनुपर्छ, गगनले दिनुपर्दैन
विश्लेषक विष्णु सापकोटाको विचारमा एमाले अध्यक्ष केपी ओलीले पटक पटक गरेका गल्तीको नतिजा नै चुनावी मतमा व्यक्त भएकाले अब नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।
सोही खालको हार कांग्रेसले बेहोरे पनि सभापति गगन थापाले भने राजीनामा दिनु नपर्ने उनको तर्क छ ।
‘ओलीका शृंखलाबद्ध गल्तीहरुको मूल्य एमालेलाई भारी परेको छ, एमाले इतिहासकै सानो आकारमा खुम्चेको अपजस ओलीलाई जान्छ,’ सापकोटाले भने, ‘कांग्रेस सभापतिका रुपमा विगतमा शेरबहादुर देउवा र उनको नेतृत्वले कमजोरी गरेका कारण गगन थापा पक्षले नेतृत्वमा हस्तक्षेप गरेको हो । तर त्यो निकै ढिलोगरी भयो । उनलाई सिंगै नयाँ समयले परीक्षण गर्न बाँकी छ ।’
मतपेटिकामा मौन विद्रोह भयो : झलक सुवेदी
अनलाइनखबरका स्तम्भकार तथा विश्लेषक झलक सुवेदीले नागरिकहरुले आफ्ना सबै छटपटी र असन्तोषलाई मतपेटिकाबाट व्यक्त गरेको भन्दै यसको जनादेश नेताहरुले बुझ्नुपर्ने बताएका छन् ।
कांग्रेस, एमालेले विगतमा पाएको पटक पटकको अवसर र जनमतको अनादर गरेकै कारण अहिलेको अवस्था आएको सुवेदीको बुझाइ छ । ‘राजनीति शास्त्रसम्मत र लोकसम्मत दुवै हुनुपर्छ, तर ठूला भनिएका दलले यी दुवै तथ्यको अवमूल्यन गरे,’ सुवेदी भन्छन्, ‘त्यसैले नागरिकले अवसर पाएका बेला मतपेटिकाबाट चुपचाप विद्रोह गरे ।’
बालेन सरकारले सुशासन र विकासलाई प्राथमिकता देओस् : अंगराज तिमिल्सिना
संयुक्त राष्ट्रसंघका सुशासन तथा दिगो विकासका अन्तर्राष्ट्रिय विज्ञ अंगराज तिमिल्सिनाले नयाँ सरकारसामू अभुतपूर्व अवसर आउन लागेको भन्दै विपक्षीहरु तथा नागरिक समाजसँग सन्तुलन तथा संवाद मिलाएर जानुपर्ने बताएका छन् ।
तिमिल्सिनाले कतिपय कानुन पास गर्न र संविधान संशोधन लागि माथिल्लो सदनको समेत सम्मति आवश्यक पर्ने भएकाले पनि दलहरुसँग चुस्त समन्वय मिलाइराख्न बालेन शाह नेतृत्वको आसन्न सरकारसँग आग्रह गरे ।
‘राष्ट्रिय सहमति निर्माण गरेर मात्रै विकास र सुशासनको लक्ष्य पाउन सकिन्छ, किनभने नीतिगत स्थिरताबाट मात्रै ती लक्ष्य हासिल हुने हो,’ तिमिल्सिनाले भने, ‘इच्छाशक्ति राख्यो भने सरकारले आफ्नो लक्ष्य सहजै प्राप्त गर्न सक्छ । वैदशिक शक्तिहरुको चलखेल भइरहेका बेला नेपालमा पनि बाछिटा पर्न सक्छन्, होसियारी अपनाउँदै अघि बढ्नुपर्छ ।’
भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4