News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावमा पराजयको जिम्मा लिएर पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको उपसभापति विश्वप्रकाश शर्मालाई जानकारी गराएका छन्।
- उपसभापति विश्वप्रकाश शर्माले सभापतिको मात्र दोष नभएको र राजीनामा दिए पार्टी झनै अप्ठ्यारोमा पर्ने भएकाले समग्र समीक्षा गर्नुपर्ने बताएका छन्।
- उपसभापति शर्माले अनलाइनखबरसँगको कुराकानीमा सभापतिले राजीनामा दिन्छु भनेको र छलफल भइरहेको पुष्टि गरेका छन्।
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् ।
सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा ससभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका हुन् ।
‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु,’ गगनलाई उदृत गर्दै स्रोतले भन्यो ।
गगनले राजीनामा दिने बताएपछि विश्वले निर्वाचनमा पराजित हुनुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन अप्ठ्यारोमा पर्ने बताएका थिए ।
‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केबल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो,’ विश्वलाई उदृत गर्दै स्रोतले भन्यो,’नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’
उपसभापति अनलाइनखबरसँगको कुराकानीमा पनि सभापतिले राजीनामाबारे कुरा गरेको पुष्टि गरे । ‘सभापतिले राजीनामा दिन्छु भन्नु भएको छ । यही विषयमा छलफल भइरहेको छ,’ उपसभापति शर्माले भने ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । रास्वपाले भने प्रत्यक्षमै १२५ सिट जितेको छ । रास्वपा दुई तिहाइनजिक छ ।
सभापति थापा पनि रास्वपाकै उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । उनी काठमाडौं ४ छोडेर सर्लाही ४ पुगेका थिए । त्यहाँ उनी १२ हजार बढी मतान्तरसहित पराजित भए ।
उपसभापति शर्माले भने यसपटक चुनावै लडेनन् ।
प्रतिक्रिया 4