+
+
Shares
चुनाव समीक्षा–१ :

चुनावपछिको कांग्रेस र गगन थापा

चुनावको चार दिनपहिले मात्र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासहितका पदाधिकारी पराजित भएका छन्। यसको अर्थ हो गगनहरूले जुन प्रयास गरे त्यो जनताले मत बनाउनुभन्दा निकै ढिलो हुन पुग्यो।

झलक सुवेदी झलक सुवेदी
२०८२ फागुन २५ गते १८:५५
Listen News
0:00
0:30
🔊

चुनावमा पहिले कल्पना नगरिएको स्तरमा जित हासिल गर्दै रास्वपा दुईतिहाइ नजिक पुगिरहँदा यसका कार्यकारण सम्बन्धहरूको खोजी जारी छ। रास्वपाको जितका अर्थ र परिणामका बारेमा बहस हुँदै गर्दा यससँगै जोडिएर आउने विप्ल्याँटो पाटो छ: कम्युनिस्ट पार्टीहरू र नेपाली कांग्रेसको लज्जास्पद पराजय।

यो लेख तयार पार्दासम्म समानुपातिक मतगणनाको परिणाम हेर्दा रास्वपाले ४८ प्रतिशत हाराहारी मत प्राप्त गर्ने, कांग्रेसले १६ र एमालेले १४ प्रतिशत मत प्राप्त गर्ने अवस्था देखिएको छ। नेकपाले ७ प्रतिशत जति मत प्राप्त गर्ने देखिन्छ। अघिल्लो निर्वाचनमा ४० प्रतिशतभन्दा माथि मत ल्याएका कम्युनिस्टहरू समग्रमा २० प्रतिशतवरपर सीमित भएका छन्।

कांग्रेस २५ प्रतिशतबाट १६ मा झरेको छ। यसरी हेर्दा यो चुनावबाट सबैभन्दा बढी गुमाउनेमा नेकपा एमाले र नेकपा बनेका छन्। कम्युनिस्ट पार्टीहरूमाथि उनीहरूको भविष्यलाई लिएर प्रश्न उठाउन थालिएको सन्दर्भमा लामो र विस्तारित चर्चा आवश्यक छ। त्यो काम अर्को अंकका लागि छाडेर यो आलेखमा कांग्रेस पराजयको सन्दर्भमा केही चर्चा गरिनेछ।

१.

नेपालमा पुँजीपति वर्गको हित रक्षा गर्ने कांग्रेसबाहेकको विश्वसनीय वैकल्पिक शक्ति नभएको अवस्थामा रास्वपाको जितले उदारवादी खेमामा उत्साह थपिएको छ। पराजयबाट दुःखी हुन अब कांग्रेससँग आफ्ना कार्यकर्ता र सदस्य मात्र बाँकी छन्। शुभचिन्तकहरू र विकल्प नभएको समयमा कांग्रेसबाटै लाभ लिएकाहरूको पङ्क्ति बिस्तारै नयाँ डेमोक्रेटिक शक्तिका रूपमा रास्वपालाई स्वीकार गर्दै उतै लहसिनेछन्।

कांग्रेसलाई भुइँबाट उठ्न, धुलो टक्टक्याएर अघि बढ्न आवश्यक खुराक दिने बौद्धिकहरू समेतलाई नयाँ शक्तिको जितको मात लागेर तिनको जिब्रो लरबराउन थालिसकेको छ।

विचारधाराका रूपमा उदारवादी राजनीतिका समर्थकहरूका लागि नयाँ विकल्प उपस्थित भएको छ। यस मानेमा यो परिणाम, यस अगाडिसम्मका धेरै कांग्रेसी मतदाताका लागि जित र हार दुवै बन्न पुगेको छ।

२.

नेपाली कांग्रेसको व्यक्तित्वमा अविच्छिन्न रूपमा दुईवटा पक्षहरू गाँसिएर आउँछन्। पहिलो, स्थापनाकालमा यो समाजवादी आदर्शबाट प्रेरित थियो। संसदीय उदारवादी व्यवस्थाभित्रबाट, अझ प्रस्ट भन्नुपर्दा पुँजीवादी उत्पादन पद्धतिकै सीमाभित्र सामाजिक न्यायका पक्षमा उभिने र सीमान्त वर्गको हित पनि हेर्ने यसको आदर्श थियो। यही कारणले पनि, बीपीकै समयदेखि अमेरिकी धुरीको विद्यमान विश्व पुँजीवादी व्यवस्थाका चालकहरू कांग्रेससँग निकटता र दूरी कायम गर्दै काम गर्थे।

पहिलोपटक गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा लिइएका नवउदारवादी आर्थिक नीतिका कारण यो पश्चिमा पुँजीवादको निकट पुगेको थियो, नवउदारवादका औजारहरूको प्रयोगकर्ता बनेको थियो। ज्ञानेन्द्रले ‘कु’ गरेर शक्ति हत्याएको र आम जनमतमा समाजवादी विचारप्रतिको झुकाव बढेको समयमा यसले सत्ताका लागि मात्रै भए पनि समाजवादी नीतिप्रति झुक्दै गयो। त्यसैले विश्व पुँजीवादको नयाँ चरणमा नेपालमा उनीहरूका लागि बुर्जुवा वर्गको विश्वासिलो पार्टी चाहिएको थियो।

दोस्रो, कांग्रेसको हुर्काइलाई, त्यसको विचार निर्माणलाई प्रभावित पारेको भारतीय नेतृत्वसँगको सम्बन्धले हो। भारतीय सहरमा निर्वासित या अध्ययनका लागि गएका उच्च तथा मध्यमवर्गका पढालेखा वर्गको सक्रियतामा बनेको नेपाली कांग्रेसको धेरै उठबस भारतीय कंग्रेस पार्टीका नेता, कार्यकर्ता, बौद्धिक तप्का तथा समाजवादीहरूसँग थियो। नेपाली कांग्रेस लामो समय नेपालमा भारतीय शासक वर्गसँग निकटता रहेको विश्वासिलो मित्रशक्तिका रूपमा रह्यो।

बीपीका समयदेखि नै पश्चिमाहरूसँग नेकाको सम्बन्ध भनेको मूलतः युरोपेली समाजवादी र लेबर पार्टीसँग रह्यो। कांग्रेस अहिले पनि समाजवादी इन्टरनेसनलको सदस्य छ। भारतीय राजनीतिक वर्गसँगको उसको सम्बन्ध भारतीय जनता पार्टी निर्णायक भएर आएसँगै कमजोर भएर गएको छ। प्रदीप गिरि र प्रणव मुखर्जीहरू रहुन्जेल अनौपचारिक रूपमा कायम यो सम्बन्ध गगनहरूसम्म आउँदा पातलिँदै गएको छ।

काठमाडौं र दिल्लीका पनि कतिपय शक्तिकेन्द्रहरू अमेरिकाले आफ्ना कार्यसूची लागू गराउन गगनलाई नै अघि सार्न चाहन्थ्यो भन्ने विश्वास गर्छन्। त्यस्तो प्रयास भएको पनि हुन सक्छ। तर उनी नेतृत्वमा पुग्न ढिलो भएको, केही सामाजिक न्यायका कुरा पनि गरिरहेको र अलिकति युरोपेली विकास मोडलप्रति मोह भएको देखिएकाले पनि उनीबाट आफ्ना योजना पूर्ण रूपमा लागू हुनेमा अमेरिका कम विश्वास गर्न थालेको थियो।

३.

यसकारण बिच्केका अमेरिकीहरू कांग्रेससँग सम्बन्ध कायम गर्दै नेपालमा आफ्ना हितहरूको प्रतिनिधित्व गर्ने अलग शक्ति निर्माणमा सक्रिय थिए। उनीहरू यसका लागि नागरिक समूहहरूमा लगानी गरिरहेका थिए। देख्दा उदारवादी विचारधाराको समर्थन गर्न दिइएको या लिइएको सहयोग मानिए पनि त्यसले अन्तिममा उदारवादभित्रैबाट अनुदारवादी बुर्जुवा विचार बोकेको समूह निर्माणमा योगदान दियो।

गतवर्ष प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका पूर्वसन्ध्यामा बीआरआई सम्झौताको प्रारूप तयार पार्न गगनहरूले देखाएको सक्रियता र त्यसबेला भएका विवादले पनि कांग्रेसमार्फत आफ्ना सबै कार्यसूची लागू गर्न सकिन्न भन्ने निष्कर्षमा अमेरिका पुगेको हुनुपर्छ।

सीआईए र अमेरिकी विदेश मन्त्रालय अलग-अलग रूपमा यसमा लगानी पनि गरिरहेका थिए (दूतावास, युएसएड, एसिया फाउन्डेसन, इन्डोमेन्ट फर डेमोक्रेसी, जर्ज सोरोस फाउन्डेसन आदिबाट यस्तो लगानी प्रवाहित हुन्छ)। रास्वपाबाट यसपटक निर्वाचन लडेका र जितेका कतिपय युवा नेताहरू लामो समय अमेरिकी दूतावासबाट सञ्चालित युथ कंग्रेसमा काम गरेकाहरू रहनु संयोग मात्र होइन (उहाँहरू कसैको पनि देशप्रेममाथि आशङ्का गर्ने मेरो मनसाय होइन, कसैले पनि यस्तो गर्न मिल्दैन। सरकार या दल र अमुक नेताका नीतिगत निर्णयले या व्यवहारले पुष्टि गरेका खण्डमा भने प्रश्न उठाइने नै छ)।

रास्वपामार्फत आफ्ना एजेन्डाहरू लागू गर्नु, अर्थनीतिलाई पूर्ण रूपमा ठूलो पुँजीपति वर्गको हित अनुकूल बदल्नु, राज्यको भूमिका सीमित गर्नु र नेपालको बाह्य लगानी र सुरक्षा रणनीतिमा आफ्ना हितहरू सुनिश्चित गर्नु रास्वपामार्फत् अमेरिकाले गर्न चाहेका अरू कामहरू हुन सक्छन्।

यसप्रकारका नीतिहरू लागू गराउन कांग्रेसमार्फत गरिएका प्रयासहरू असफल भइसकेका थिए (आफ्नै विगतप्रति गर्व गर्ने र आत्मसम्मान भएको कसैबाट पनि यस्तो हुन सक्दैनथ्यो)। गगन आउँदा उनले समाजवादसँगको सम्बन्ध त तोड्ने नै थिए तर आफ्ना अघिल्लो पुस्ताका नेताहरू खासगरी बीपी र कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसादहरू जस्तै नेपालको अलग विदेश नीति रहने कुरालाई प्राथमिकतामा राख्न कोसिस गरिरहन्थे।

बीपी कोइरालाका स्वतन्त्र विदेश नीतिहरू र कतिपय अडानहरूले गर्दा उतिबेलै भारतीयहरूसमेत बीपीलाई पन्छाउन चाहन्थे। इतिहासको यो गौरवगाथा गाउनु कांग्रेसलाई राष्ट्रवादी देखाउने एउटा सफ्ट पावर थियो। गतवर्ष प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका पूर्वसन्ध्यामा बीआरआई सम्झौताको प्रारूप तयार पार्न गगनहरूले देखाएको सक्रियता र त्यसबेला भएका विवादले पनि कांग्रेसमार्फत आफ्ना सबै कार्यसूची लागू गर्न सकिन्न भन्ने निष्कर्षमा अमेरिका पुगेको हुनुपर्छ।

रास्वपा आउँदैमा विदेश सम्बन्धमा एकपक्षीय झुकाव राख्न नेपाललाई सम्भव छ भन्ने होइन। तर, सुशीला कार्की नेतृत्वको सरकार बनेदेखि नै तिब्बत मामिलामा देखिएको उदारता र दलाई लामाको शुभकामना प्रकरणले पश्चिमा पक्ष रास्वपाबाट के चाहन्छ  भन्ने प्रस्टै भइसकेको छ।

भारत र अमेरिकाको स्वार्थ चीनसँगको सम्बन्धको मामिलामा उस्तै भए पनि भारत र चीन नेपाललाई अमेरिकी धुरीको सक्रिय सदस्य भएको देख्न चाहने छैनन्। यो द्वन्द्वको सन्तुलित व्यवस्थापन गर्न नसके रास्वपाले शासन सञ्चालनमा अनेक अवरोधहरू सामना गर्नुपर्ने निश्चित छ। यता आर्थिक क्षेत्रमा लिइने नीति र वैदेशिक लगानीका क्षेत्रहरूलाई अमेरिकी हित प्राथमिकतामा पार्न दबाब भने रास्वपाले झेल्नुपर्नेछ। जसले अन्ततोगत्वा नेपाललाई भूराजनीतिक घर्षणको नयाँ चरणमा धकेल्नेछ।

४.

नेपालको सन्दर्भमा, अमेरिका र पश्चिमा शक्तिलाई कांग्रेसको विकल्पमा जुन शक्ति चाहिएको थियो त्यसको पूर्ति रास्वपाबाट गर्न खोजिनेछ, दबाब दिइनेछ। यस्तो दबाब रवि, डीपी र स्वर्णिमले सोचेभन्दा बढी अब आफ्नै पङ्क्तिबाट पनि झेल्नुपर्नेछ। चीन र अमेरिकाबीचको तीव्र शक्ति सङ्घर्ष र अमेरिकाले हालै लिन थालेको १७औं, १८औं शताब्दीको जस्तो चुनौती असामान्य बन्दैछन्।

एउटा रेडलाइन खिच्न सकेन भने रास्वपाले आन्तरिक र बाह्य प्रतिरोधका यस्ता झट्काको सामना गर्नुपर्नेछ जसले गर्दा उसले अघि सारेका सुशासन र विकासका कार्यसूची लागू गर्नसमेत असम्भव हुनेछ। यसै पनि अब कम्युनिस्ट पार्टीहरूको भविष्य सडक सङ्घर्षमा निर्भर हुँदैछ।

फागुन २१ को चुनाव सकिएलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासले एउटा वक्तव्य जारी गर्दै नयाँ सरकारसँग ‘समृद्धि र सुरक्षाका साझा लक्ष्यहरू’ मा मिलेर काम गर्न तयार रहेको बताएको छ। सुरक्षाका साझा लक्ष्यको भाष्यभित्र लुकेको रहस्य जटिल र दूरगामी छ। यहींनिर अमेरिकाका नेपालसम्बन्धी नीतिका दबाबहरू झल्किन्छन्। नेपालसँग सरोकार राख्ने अमेरिकी सुरक्षा रणनीतिका मुख्य दुई पिलर इन्डो-प्यासिफिक स्ट्राटेजी र स्टेट पार्टनरसिप प्रोग्राममा नेपाललाई सामेल गराउन यसअघिका कांग्रेस-कम्युनिस्ट नेतृत्वका सरकारहरू पन्छिन खोजेकोले बालेन नेतृत्वको सरकारको यसमा पनि परीक्षा हुनेछ।

५.

यसपालि कांग्रेस पराजयको मुख्य अर्थ भने नेपाली राजनीतिमा गैर-कांग्रेस बुर्जुवा पार्टीको विकल्प निर्माण हुँदै गरेको भन्ने लाग्छ। भारतीय राष्ट्रिय कंग्रेसका तुलनामा भारतीय जनता पार्टीले अघि सारेका नीतिहरूले प्रत्यक्ष रूपमै भारतको ठूलो पुँजीपति वर्गको रक्षा गर्थे। नेहरू र इन्दिराको संरक्षणवादी नीतिका समयमा हुर्केको र मनमोहनको उदारवादले मलजल गरेको पुँजीपति वर्गलाई त्योभन्दा बढी लुटखसोटको अवसर चाहिएको थियो। उदाउँदो भारतको नाराभित्र बीजेपीले त्यो काम गर्दै थियो। त्यो २०१४ को निर्वाचनमा मतमा परिणत भयो।

गगनमा जुन उत्साह र सम्भावना थियो त्यसमा चुनावले अवश्य प्रश्न उठाएको छ। तर, कांग्रेसलाई यो हालतमा पुर्‍याउन मुख्य योगदान गरेका देउवा र उनको मण्डलीसँग निर्णायक रूपमा सम्बन्ध विच्छेद गरेर र भुइँतहसम्म फेरि नवयुवाहरूसँग संवाद गरेर कांग्रेसलाई नवजीवन दिने ठाउँ बाँकी छ।

नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरूसँग गरिरहेको सहयात्रा र नीतिगत सम्झौताका कारण स्वच्छन्द पुँजीवादभन्दा क्रोनी पुँजीवादको विकासका लागि अनुकूलता सिर्जना गरेका थिए। त्यसबाट सेपमा परेको पुँजीपति वर्ग पनि यतिबेला रास्वपाको पक्षमा उभिन पुग्यो (यद्यपि भदौ २४ का आगजनी र लुटपाटका कारण यो समूह बालेन शाहप्रति नकारात्मक धारणा राख्थ्यो)।

कांग्रेस-कम्युनिस्ट सरकारका गणितीय खेल र कुशासनबाट वाक्क भएको पङ्क्तिले स्वर्णिम वाग्लेहरूबाट पनि आफ्ना हितहरूको रक्षा हुने अपेक्षा गरेको थियो। सारमा यो मध्यम तथा निम्न पुँजीपति वर्गले कुशासनका विरुद्ध गरेको मौन विद्रोह र पुँजीपति वर्गले खोजिरहेको आश्रयको परिणाम थियो जसले अन्ततः ठूलो पुँजीपति वर्गको रक्षा गर्नेछ।

६.

यसरी, आफ्नो विचारधारात्मक इतिहासको लिगेसी, २०४८ मा सत्तामा आएदेखि नै गरिएको तीव्र दलीयकरण र कुशासन, पार्टीका सभापतिहरूले आफ्नो सत्ता बचाउन खेलेका गठबन्धनका नग्न खेल र आदर्शहरूको हत्या, अविकास र बेथितिबाट वाक्क भएका आफ्नै मतदाताको तिरस्कारले यतिबेला नेपाली कांग्रेस रन्थनिएको छ। चुनावको चार दिनपहिले मात्र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासहितका पदाधिकारी पराजित भएका छन्। यसको अर्थ हो गगनहरूले जुन प्रयास गरे त्यो जनताले मत बनाउनुभन्दा निकै ढिलो हुन पुग्यो।

देउवाले गरेका यावत् अनुचित र आदर्शच्युत व्यवहार, सतहमा देखिएका अनेक काण्डहरू र त्यसबाट बेलैमा आफूलाई अलग देखाउन नसकेको युवा पुस्ताका सबै कमजोरीको भारीले यसपटक गगन मात्र होइन कांग्रेस पनि थिचिएको छ। कांग्रेस इतिहासमै यसपटक सबैभन्दा बढी पछारिएको छ। जनताले कांग्रेसलाई गर्धनमा चोके लगाएर चौबाटोतिर हुत्याएका छन्।

ऊ उठ्न त सक्छ तर रास्वपाले बुर्जुवा वर्गको पार्टीका रूपमा, दक्षिणपन्थी रुझानसहित विश्व पुँजीवादी प्रणालीसँग सम्झौता गर्दै गयो भने नेपालको ठूलोदेखि पेटीबुर्जुवा वर्गसम्मले फेरि कांग्रेसको छाता खोज्नुपर्ने आवश्यकता लामो समय पनि महसुस नगर्न सक्छ। जसरी कंग्रेस (आई) २०१४ देखि लगातार सीमान्तमा धकेलिएको छ त्यस्तै अवस्था कांग्रेसलाई पनि आउन सक्छ।

यसको अर्थ हो कांग्रेसले अब आफूलाई मध्यमार्गी या मध्यवामपन्थी पार्टीका रूपमा थप व्यवस्थित हुनुपर्नेछ। दक्षिणपन्थ या अनुदारवादको स्पेस रास्वपाले लिने र आफ्नो नियतिले वामपन्थी हुन नसक्ने कांग्रेसका लागि बीपीकै बाटो अनुसरण गर्नु पुनरुत्थानको पहिलो सर्त बन्न पुगेको छ।

गगनमा जुन उत्साह र सम्भावना थियो त्यसमा चुनावले अवश्य प्रश्न उठाएको छ। तर, कांग्रेसलाई यो हालतमा पुर्‍याउन मुख्य योगदान गरेका देउवा र उनको मण्डलीसँग निर्णायक रूपमा सम्बन्ध विच्छेद गरेर र भुइँतहसम्म फेरि नवयुवाहरूसँग संवाद गरेर कांग्रेसलाई नवजीवन दिने ठाउँ बाँकी छ। रास्वपा अनुदारवादी बाटोमा हिँड्ने, राजनीतिक स्पेस साँघुरो बनाउने र उदारवादलाई कमजोर बनाउने बाटोमा लाग्न सक्छ।

विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र (प्राध्यापक र विद्यार्थीहरूको गतिविधिमा नियन्त्रण) बनाउन खुल्लमखुला आह्वान गर्नेहरूले भोलि सामान्य सभा-जुलुस र कार्यथलोहरूमा मजदुरले गर्ने हड्ताल, अल्पसङ्ख्यक र आदिवासीहरूले उठाउने अधिकारका सवालमा पनि नियन्त्रणको प्रयास गर्न सक्छन्। यो स्पेस बचाउन पनि कांग्रेसले आफूलाई पुनर्गठन गर्दै फेरि पनि वामपन्थीहरूसँग खास-खास मुद्दामा सहकार्यको बाटो लिनुपर्नेछ। गगन र कांग्रेसको पनि उत्थान यसैमा निहित छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?