+
+
Shares

कांग्रेसका सभापति थापासहितका सबै पदाधिकारीहरू पराजित

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १८:५५

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएका सबै पदाधिकारीहरू पराजित भएका छन् । कांग्रेसले केन्द्रीय कार्यसमितिबाट विभिन्न जिल्लामा उम्मेदवार बनाएका पदाधिकारीहरू पराजित भएका हुन् ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो । जसमध्ये कसैलाई पनि अब गठन हुने प्रतिनिधि सभामा देख्न पाइने छैन ।

कांग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा होमिएको थियो । तर, लामो विरासत बोकेको पार्टीका सभापति थापा युवा मतदाताहरूको असन्तुष्टिको शिकार बन्न पुगे ।

कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार थिएनन् । उपसभापति शर्मालाई कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक तोकेको थियो ।

मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवारी दिएका सभापति थापाको संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंह तगारो बनेका छन् ।

उनले सभापति थापालाई झण्डै ११ हजार मतले पराजित गरेका छन् । रास्वपा उम्मेदवार सिंह ३५ हजार ६८८ मत ल्याएर सांसद निर्वाचित हुँदा थापाले २२ हजार ८३१ मत ल्याएका छन् ।

कांग्रेस महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरेका लागि पनि निर्वाचन प्रतिकूल बन्न पुग्यो । पौडेल काठमाडौं–५ मा र घिमिरे मोरङ–४ मा रास्वपाका उम्मेदवारसँग पराजित भए ।

महामन्त्री पौडेल रास्वपाका सम्मित पोखरेलसँग साढे २१ हजार मतले पराजित भएका छन् । निर्वाचन आयोगका अनुसार पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा पौडेलले नौ हजार १५९ मतमात्रै पाए । उनी गत निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।

अर्का महामन्त्री घिमिरे रास्वपाका उम्मेदवार सन्तोष राजवंशीसँग २८ हजार मतले पराजित भएका छन् । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मतमा चित्त बुझाउनु परेको छ ।

यस्तै कांग्रेसका सात जना सहमहामन्त्रीहरूका लागि पनि निर्वाचन अनुकूल बन्न सकेन । निर्वाचनमा पराजित हुने सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा रहेका छन् ।

सहमहामन्त्री मन्सुर मधेश प्रदेशको बारा–३ मा रास्वपाका अरबिन्द साहसँग हारेका हुन् । ४० हजार ६९७ मत ल्याएर साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा मन्सुरले १० हजार ५२ मतमात्रै ल्याएका छन् ।

सहमहामन्त्री राणा ललितपुर–१ मा रास्वपाकै उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएका छन् । महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा राणाको पक्षमा १३ हजार ५२० मतमात्रै खसेको छ ।

त्यस्तै सहमहामन्त्री रसाइली सुदूरपश्चिमको बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरसँग हारेका छन् । महरले १८ हजार ५४३ मत ल्याउँदा सहमहामन्त्री रसाइलीले १६ हजार ३०४ मत पाएका छन् ।

कांग्रेसका अर्का सहमहामन्त्री चौधरी पनि लुम्बिनी प्रदेशको दाङ–१ मा रास्वपाकै उम्मेदवारसँग पराजित भएका छन् । रास्वपा नेता देवराज पाठकले उनलाई २७ हजारभन्दा बढी मतले हराएका छन् । आयोगका अनुसार पाठकले ४२ हजार ६०२ र चौधरीले १५ हजार २८० मत पाएका छन् ।

कर्णाली प्रदेशको डोल्पामा उम्मेदवार रहेका सहमहामन्त्री बुढा आफ्नौ सहोदर भाइसँग (नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार) धनबहादुर बुढासँग पराजित भएका हुन् । धनबहादुरले छ हजार ८०२ मत ल्याएर विजयी हुँदा कर्णबहादुर दुई हजार ९४७ मतमै रोकिन पुगे ।

प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १७ सिटमा समेटिएको छ । कांग्रेसबाट कोशीमा तीन, मधेश र बागमतीमा एक–एक, गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा तीन स्थानमा विजयी भएको हो ।

कांग्रेसबाट कोशी प्रदेशमा नरेन्द्रकुमार केरूङ (पाँचथर), सन्तोष सुब्बा ( तेह्रथुम) र प्रकाशसिंह कार्की (सोलुखुम्बु) प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

यस्तै मधेश प्रदेशका ३२ सिटमध्ये रौतहट–२ बाट फिरदोश आलम र बागमती प्रदेशका ३३ सिटमध्ये रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशबाट टेकबहादुर गुरूङ (मनाङ) र योगेश गौचन थकाली ( मुस्ताङ) तथा लुम्बिनी प्रदेशबाट सन्दीप राना (पाल्पा–१) र अभिषेकप्रताप शाह ( कपिलवस्तु–३) निर्वाचित हुने सूचीमा परेका छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट चुनाव जित्नेमा बासना थापा (दैलेख–१), खड्ग शाही (मुगु), विष्णुबहादुर खड्का (सुर्खेत–१), जयपती रोकाया (हुम्ला) र खडकबहादुर बुढा (जाजरकोट) रहेका छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशका १६ मध्ये तीन क्षेत्रमा मात्रै कांग्रेस विजयी भएको छ । कांग्रेस डोटी, अछाम–१ र बाजुरामा विजयी भएको हो । कांग्रेसले डोटीमा भरतबहादुर खड्का, अछाम–१ मा भरतकुमार स्वार र बाजुरामा जनकराज गिरीलाई उम्मेदवार बनाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?