लोकप्रिय पोडकास्ट ‘द जो रोगन एक्सपिरियन्स’ (जेआरइ) को २४६० औं शृङ्खलाले हालैका दिनमा बौद्धिक जगतमा विवाद पैदा गरेको छ।
फेब्रुअरी २६, २०२६ मा प्रसारित यस एपिसोडमा प्रख्यात पोडकास्ट होस्ट जो रोगनले लेखिका तथा सांस्कृतिक टिप्पणीकार राहेल विल्सनसँग झन्डै तीन घण्टा लामो अत्यन्तै गहन र विवादास्पद संवाद गरेका छन्।
यो संवाद विल्सनको चर्चित पुस्तक ‘अकल्ट फेमिनिज्म: द सिक्रेट हिस्ट्री अफ विमेन्स लिबरेसन’ मा केन्द्रित थियो।
संवादको क्रममा विल्सनले नारीवादका लुकेका इतिहास, यसको ओकल्ट (गुप्त) जडहरू, यूजेनिक्स (जनसंख्या नियन्त्रण), सीआईएको भूमिका र आधुनिक समाजमा महिलाको स्थितिका बारेमा वर्णन गरेकी थिइन ।
पृष्ठभूमि र व्यक्तिगत वैचारिक द्वन्द्व
राहेल विल्सनको अनुसन्धान कुनै सतही कौतूहल मात्र होइन । यो उनको आफ्नै जीवनको भोगाइ र वैचारिक द्वन्द्वको उपज हो।
विल्सनले संवादको सुरुमै आफ्नो बाल्यकालको बारेमा चर्चा गर्दै भनिन् कि उनी दुईवटा विपरीत वैचारिक ध्रुवका बीचमा हुर्किएकी थिइन्।
उनकी आमा एक कट्टर मार्क्सवादी नारीवादी थिइन् भने बुबा परम्परावादी रिपब्लिकन थिए। ९ वर्षको उमेरमा आमाबुबाको सम्बन्धविच्छेद भएपछि उनले यी दुवै विचारधारालाई नजिकबाट नियाल्ने अवसर पाइन्।
विल्सनका अनुसार, उनकी आमाको मार्क्सवादी सोचले सधैँ समाजका समस्याहरूका लागि ‘बाह्य संरचना’ वा ‘पितृसत्ता’ लाई दोष दिने गर्थ्यो। तर विल्सनले सानै उमेरमा महसुस गरिन् कि यो विचारधारामा एउटा ठूलो विरोधाभास छ।
उनले भनिन्, “मैले सधैं मार्क्सवादलाई ‘फेक’ र ‘स्टुपिड’ ठानें र यसमा कहिल्यै विश्वास गरिनँ।” यही सन्देहले उनलाई नारीवादी आन्दोलनको वास्तविक इतिहास खोज्न प्रेरित गर्यो, जसको परिणाम स्वरूप उनको पुस्तक ‘ओकल्ट फेमिनिज्म’ जन्मियो।
अकल्ट फेमिनिज्म: नारीवादको आध्यात्मिक र गुप्त जडहरू
विल्सनको अनुसन्धानको सबैभन्दा स्तब्ध पार्ने दाबी यो हो कि नारीवाद केवल सामाजिक अधिकारको आन्दोलन मात्र थिएन, बरु यसको जरा गहिरो रूपमा ‘ओकल्ट’ (गुप्त अध्यात्म) र क्रिश्चियन विरोधी अभियानहरूसँग जोडिएको थियो।
विल्सनले भिक्टोरिया वुडहल र एलिजाबेथ काडी स्ट्यान्टन जस्ता नारीवादका आधारस्तम्भ मानिने व्यक्तित्वहरूको चर्चा गरिन्। उनका अनुसार, यी महिलाहरू १९ औँ शताब्दीको ‘अध्यात्मवाद’ मा गहिरो रूपमा संलग्न थिए। उनीहरूले ‘सेइन्स’ (आत्माहरूसँग कुरा गर्ने अभ्यास) मार्फत परम्परागत धार्मिक र पारिवारिक संरचनालाई भत्काउन खोजेका थिए।
विल्सनले सन् १९७३ को ‘एमएस म्यागजिन’ को पहिलो कभरको उदाहरण दिँदै भनिन् कि त्यहाँ हिन्दू देवी कालीको चित्रण गरिएको थियो। उनको तर्क छ कि यसले महिलाको सिर्जनात्मक शक्तिलाई भन्दा पनि ‘विनाशकारी’ र ‘विद्रोही’ रूपलाई प्रतीकको रूपमा स्थापित गर्न खोजेको थियो। उनले यसलाई ‘लुसिफेरियन’ विचारधाराको एउटा पाटो भनिन्, जसले ईश्वरको आदेश भन्दा पनि ‘स्वेच्छा’ लाई सर्वोपरी मान्छ।
सीआईए र ग्लोरिया स्टाइनम
संवादको एउटा अत्यन्तै महत्त्वपूर्ण र सनसनीपूर्ण पक्ष भनेको नारीवादी आन्दोलनमा अमेरिकी गुप्तचर संस्था सीआईएको भूमिका हो।
विल्सनले दाबी गरिन् कि शीतयुद्धको समयमा सोभियत संघको साम्यवादी प्रभावलाई कम गर्न र ‘उदारवादी लोकतन्त्र’ को प्रचार गर्न सीआईएले ग्लोरिया स्टाइनम जस्ता चर्चित नारीवादी नेताहरूलाई उपयोग गरेको थियो।
विल्सनका अनुसार, स्टाइनमलाई सीआईएले ‘इन्डिपेन्डेन्ट सर्भिस फर इन्फर्मेसन’ मार्फत आर्थिक सहयोग र तालिम दिएको थियो। यसको मुख्य उद्देश्य दुईवटा थियो:
१. महिलाहरूलाई घरबाहिर निकालेर कार्यक्षेत्रमा लैजाँदा राज्यले दुई गुणा बढी कर संकलन गर्न पायो।
२. परिवारको परम्परागत संरचनालाई कमजोर बनाएर बच्चाहरूको मानसिक विकासमा राज्यको नियन्त्रण बढाउनु।
यूजेनिक्स र मार्गरेट सेंगरको अँध्यारो विरासत
विल्सनले महिलावादी आन्दोलनको अर्को एउटा अँध्यारो पाटो ‘यूजेनिक्स’ सँगको सम्बन्धलाई पनि उजागर गरिन्।
उनले ‘प्लान्ड प्यारेन्टहुड’ की संस्थापक मार्गरेट सेंगरको कट्टरपन्थी र विवादास्पद विचारहरूको कडा आलोचना गरिन्।
सेंगरले ‘निम्न कोटिका’ र ‘अक्षम’ मानिसहरूको प्रजनन रोक्नुपर्ने वकालत गर्थिन्। विल्सनले सेंगरको एउटा भयानक भनाइ उद्धृत गर्दै भनिन्, “यदि हामीले सबै निम्न जातिहरूलाई प्रजनन रोक्न मनाउन सक्यौं भने मानवताको लागि राम्रो हुन्थ्यो।”
विल्सनले यो पनि स्पष्ट पारिन् कि ‘प्लान्ड प्यारेन्टहुड’ लाई सुरुवाती चरणमा ‘रकफेलर ब्यूरो फर सोसल हाइजिन’ सँग जोडिएको थियो, जुन स्पष्टत : एउटा नस्लवादी यूजेनिक्स कार्यक्रम थियो।
यसले के देखाउँछ भने, प्रजनन अधिकारको नाममा सुरु भएको अभियानको एउटा लुकेको उद्देश्य निश्चित समुदायको जनसंख्या नियन्त्रण गर्नु पनि थियो।
आर्थिक वास्तविकता: ‘दोहोरो आम्दानीको पीडा ‘
जो रोगन र राहेल विल्सनबीचको संवादमा अर्थतन्त्रको विषयले पनि उत्तिकै प्राथमिकता पायो। विल्सनले तर्क गरिन् कि महिलाहरूको कार्यबल प्रवेशले उनीहरूलाई सशक्त बनाउनुको सट्टा आर्थिक रूपमा थप कमजोर बनाएको छ।
माग र आपूर्तिको आर्थिक सिद्धान्त अनुसार जब बजारमा काम गर्ने मानिसहरूको विशेष गरी महिलाहरूको संख्या अचानक दोब्बर भयो, त्यसले श्रमको मूल्य घटाइदियो।
विल्सनले भनिन्, “पहिले एक जनाको कमाइले घर चल्न सक्थ्यो, तर अहिले दुवै जनाले काम नगरेसम्म घर चल्दैन। यो प्रगति होइन, यो आर्थिक दासता हो।”
विल्सनले टिप्पणी गरिन् कि महिलाहरूले पहिले घर र समुदायका लागि जुन निःशुल्क सेवाहरू दिन्थे, अहिले ती सबै कार्यहरू कर्पोरेसनहरूले गरिरहेका छन् ।
यसले गर्दा महिलाहरू घरबाट बाहिर निस्केर कर्पोरेट अफिसमा काम गर्न बाध्य भए, जसले गर्दा राज्य र ठूला कम्पनीहरूलाई मात्र फाइदा पुग्यो।
खुसीको विरोधाभास: आधुनिक महिला किन दुःखी छन्?
संवादको एउटा अत्यन्तै संवेदनशील पक्ष भनेको ‘प्याराडक्स अफ डिक्लाइनिङ फिमेल ह्याप्पिनेस” (घट्दो महिला खुसीको विरोधाभास) हो।
विल्सनले तथ्याङ्क प्रस्तुत गर्दै भनिन् कि सन् १९७० को तुलनामा आजका महिलाहरू बढी शिक्षित, बढी कमाउने र बढी अधिकार प्राप्त भए पनि उनीहरूको खुसीको स्तर भने लगातार घटिरहेको छ।
“फेमिनिज्मले महिलाहरूलाई खुसी बनाएको छैन। यसले उनीहरूलाई सुरक्षित बनाएको छैन। मलाई लाग्छ यसले उनीहरूलाई बढी छनोटहरू दिएको छैन, यसले मात्र फरक छनोटहरू दिएको छ,” विल्सनले ठोकुवा गरिन्।
हाल अमेरिकाका करिब २६ प्रतिशत महिलाहरू मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधिहरू सेवन गरिरहेका छन्, जसले आधुनिक जीवनशैलीको नकारात्मक पक्षलाई दर्साउँछ।
साथै उनले महिला र पुरूषबीच समानताको नाममा गरिएका औपचरिक मूल्य मात्र बोकेका कार्यक्रमहरूलाइ पनि तिखो व्यंग्य गरिन् । महिला र पुरुष सदा समान नभइ परिपूरक हुन् भन्ने धारणा राखिन् ।
विल्सनले भनिन् , “यो सत्य होइन कि पुरुष र महिला समान हुन्। हामी एकअर्काका पूरक हौँ।”
के नारीवादको पुनर्मूल्यांकन आवश्यक छ ?
जो रोगन र राहेल विल्सनबीचको यो संवादले एउटा मूल निष्कर्ष दिएको छ – सभ्यताको आधार परिवार हो र परिवारको आधार महिलाको स्थिरता हो।
विल्सनका अनुसार, नारीवादले महिलाहरूलाई आफ्नो जैविक पहिचान र मातृत्वको प्राकृतिक चाहनाबाट टाढा पुर्याएर एउटा कृत्रिम कर्पोरेट अर्थतन्त्रमा होमिदिएको छ।
लगभग तीन घण्टा लामो संवादले एउटा नयाँ बहसको सुरुवात भने गरेको छ। यसले श्रोतालाई इतिहासको गहन अध्ययन गर्न र हामीले ‘प्रगति’ भनेर मानेका कुराहरूको पछाडि लुकेका नियतहरूलाई बुझ्न प्रेरित गर्दछ।
विल्सनको यो खोजले नारीवादको परम्परागत भाष्यलाई चुनौती दिँदै भविष्यको समाज निर्माणका लागि एउटा नयाँ र गम्भीर दृष्टिकोण प्रदान गरेको छ।
प्रतिक्रिया 4