+
+
Shares

कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह

विशेष महाधिवेशनका कारण किनारामा पुगेको संस्थापन इतर समूहले पूर्णबहादुरको अध्यक्षतामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेसम्मको आन्तरिक तयारी गरेको छ ।

केशव सावद केशव सावद
२०८२ चैत ५ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरेपछि सभापति गगनकुमार थापाले नेतृत्वमा आएको ६४ दिनमै राजीनामा दिए।
  • संस्थापन र इतर समूहबीच १४औं र १५औं महाधिवेशनको अधिकारितामा विवाद छ र अदालतमा विचाराधीन छ।
  • नेता रामहरि खतिवडाले सबैलाई एकताबद्ध भएर १५औं महाधिवेशनमा जानुपर्ने र पुराना–नयाँ नेताहरूलाई सम्मान गर्नुपर्ने बताए।

५ चैत, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि झन्डै आठ दशक लामो राजनीतिक विरासत बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ ।

निर्वाचनमा पार्टीले भोग्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले नेतृत्वमा आएको ६४ दिनमै राजीनामा दिनु कांग्रेसका लागि असाधारण राजनीतिक घटना बनेको छ ।

ऐतिहासिक र लोकतान्त्रिक मूल्य बोकेको कांग्रेसले निर्वाचनमा भोग्न परेको पराजयले संगठन, नेतृत्व र पार्टी प्रभावित भएको छ ।

पार्टीमा अहिलेको अवस्था आउनुमा सभापति थापा दोषी रहेको संस्थापनइतर समूहका नेताहरूको आरोप छ ।

निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेता मीन विश्वकर्मा भन्छन्, ‘गगन थापाको नीति, कार्यशैली र महत्त्वाकांक्षाका कारण पार्टी अहिलेको अवस्थामा पुग्यो ।’

इतर समूहका नेताहरू निर्वाचन परिणामले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले अब पार्टी नियमित महाधिवेशनमा जानुपर्ने पनि बताइरहेका छन् ।

कांग्रेस विशेष महाधिवेशन : यस्तो छ बन्दसत्रको कार्यतालिका – Online Khabar

‘विशेष महाधिवेशनको सबै औचित्य समाप्त भइसक्यो,’ निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले भने, ‘अब जाने भनेको १५औं महाधिवेशनमा हो ।’

अर्का नेता रामहरि खतिवडा विगतका कमी–कमजोरीको समीक्षा गर्दै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँछन् ।

‘अहिले मेरो गुट, तेरो गुट भनेर जाने बेला छैन,’ उनले भने, ‘समग्र देशका प्रजातन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा राखेर जानु नै अहिले हाम्रो लागि बृहत् हितकर छ ।’

आन्तरिक लफडा र झै–झगडामा अल्झिने अवस्था नरहेको भन्दै नेता खतिवडाले सबै नेताहरू एकताबद्ध भएर १५औं अधिवेशनमा जानु पर्ने पनि बताए । ‘बृहत्तर एकता गर्नुपर्छ, सबैसँग सल्लाह गर्नुपर्छ,’ उनले भने, ‘सबै कुरा मै हुँ भनेर कसैले पनि हिँड्नु हुँदैन ।’

समग्र कांग्रेसको हितका लागि अब के गर्नुपर्छ ? खतिवडा भन्छन्, ‘सबैलाई एकताबद्ध बनाएर हिँड्नु नै अहिले कांग्रेसको हित हुन्छ । पुराना नेताहरूलाई सम्मान गरौं, नयाँ साथीहरूलाई पनि आकर्षित गरौं । यो वातावरणमा जानुपर्छ ।’

नियमित महाधिवेशन : तर्क आ-आफ्नै

निर्वाचन परिणाम सुखद् नआएपछि संस्थापन र इतर समूहका नेताहरू नियमित महाधिवेशनमा जानुपर्ने अभिव्यक्ति दिइरहेका छन् । तर, नियमित महाधिवेशनमा जाने विषयमा दुवै पक्षका नेताहरूको आ-आफ्नै तर्क छ ।

संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले नै १५औं महाधिवेशन गर्ने पक्षमा देखिन्छन् ।

तर, संस्थापन इतर पक्षीय नेताहरू १४औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्ने बताइरहेका छन् ।

‘आधिकारिताको विषय अदालतमा विचाराधीन छ । हामीलाई के विश्वास छ भने, अदालतले पुरानै ठाउँमा फर्काउँछ,’ इतर पक्षीय निवर्तमान एक पदाधिकारीले भने, ‘हामी १५औं महाधिवेशनको तयारी गर्छौं । हाम्रो विश्वास यही छ ।’

निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले पनि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै १५औं महाधिवेशन गर्ने जिकिर गरे ।

‘हामी त के कन्फर्म छौं भने देउवा नेतृत्वको कार्यसमिति नै वैधानिक हो,’ उनले भने, ‘आधिकारिता फर्किन्छ । त्यसले नै महाधिवेशन आयोजना गर्छ भन्नेमा ढुक्क छौं ।’

तर, महामन्त्री प्रदीप पौडेलले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको तिथिमितिबारे निर्णय गर्ने बताएका छन् ।

उनले बुधबार अनलाइनखबरसँग भनेका थिए, ‘केन्द्रीय कार्यसमिति बैठकले नियमित अधिवेशन सम्भवतः जेठ अन्तिम अथवा असोजको पहिलो हप्ताका लागि तोक्छ । र, अब नियमित अधिवेशनको तयारीमा अगाडि बढ्छ ।’

विशेषबाट चयन भएको कार्यसमितिले महाधिवेशन आयोजना गर्दा देउवा समूह सहभागी हुन्छ त ? उक्त समूहका नेता भन्छन्, ‘उहाँहरू फेरि अधिवेशन गर्न सक्नु हुन्न ।’

तत्कालीन महामन्त्री थापा (हाल सभापति) का कारण महाधिवेशन हुन नसकेको देउवा पक्षीय नेताहरूको आरोप छ ।

‘हिजो जसका कारण महाधिवेशन गर्न सकिएन, फेरि तिनकै कारण सकिँदैन,’ एक नेताले भने, ‘हिजो पनि महामन्त्री गगन थापाकै कारण सदस्यता नटुंगिएर अधिवेशन नभएको हो ।’

खड्काको अध्यक्षतामा बैठकको तयारी

विशेष महाधिवेशनका कारण किनारामा पुगेको संस्थापन इतर समूहले १४औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेसम्मको आन्तरिक तयारी गरेको छ ।

विशेष महाधिवेशन अघि तत्कालीन संस्थापन पक्षीय नेताहरू बीच समन्वय गरेर आन्तरिक छलफललाई तीव्रता दिएका मध्येका एक नेताले भने, ‘पुरानो कार्यसमितिको बैठक बोलाउनेबारे आन्तरिक छलफलमा छौं ।’

तथापि, आधिकारिकताको विषय अदालतमा विचाराधीन रहेका कारण कतिपयले नेताहरूले अदालतको फैसला कुर्नुपर्ने सल्लाह पनि समूहका शीर्ष नेताहरूलाई दिएका छन् ।

‘१४औं महाधिवेशनबाट चयन भएको कार्यसमितिको बैठक बस्छ । तर, अदालतलाई प्रभावित पार्नु हुन्न भनेर अहिले केही नगर्ने भन्ने कुरो भएको छ,’ देउवाका विश्वासपात्र भनिने मध्येका एक नेताले भने ।

ती नेताले बोल्न नजान्ने भएर र बोल्न नसक्ने भएर आफूहरू चुप नलागेको पनि बताए । ‘हामीले ठट्टा–मजाकमा मौन अवधि नै भनेर बसेका छौं । बोल्न नजान्ने भएर, बोल्न नसक्ने भएर सबै चुप लागेका होइनौं नि !,’ उनले भने ।

पार्टी नबिग्रियोस् भनेर आफूहरू मुखरित नभएको ती नेताको भनाइ छ । विशेष पक्षधरले मौन बस्नुलाई कमजोरी मानेर उत्ताउलो भएपछि केही नेताहरू मुखरित हुन थालेका ती नेताको भनाइ छ ।

‘१६७ जना कार्यसमितिमा ३४ जना बाहिर गएका छन् । १३३ जना हामी एक ठाउँ बसेका छौं । पार्टी निर्माण गर्दादेखिका नेताहरू यहीँ हुनुहुन्छ,’ उनले भने, ‘र, पनि चुपचाप किन बसेका होलान्, ? पार्टी नबिग्रियोस् भनेर हो नि । साइलेन्ट बस्नुलाई यी कमजोर हुन भनेर जब साथीहरू उत्ताउलो हुन थाले अनि अलिअलि बोल्नु परेको हो ।’

को के भन्छन् ?

‘विमति भएको विन्दुमा फर्किदा पार्टी मिल्छ’

मीन विश्वकर्मा, निवर्तमान प्रचार विभाग प्रमुख

हामीले गत पुसको ३० गते रातिसम्म पनि विशेष महाधिवेशनले पार्टीलाई विभाजित गर्छ, निर्वाचनलाई प्रभावित गर्छ, परिणाम अत्यन्तै नराम्रो आउँछ । त्यसो भएको हुनाले निर्वाचनको मुखमा पार्टीलाई विभाजित हुने कुनै पनि काम गर्नु हुन्न भनेका थियौं ।

यसो भन्दाभन्दै पनि उहाँहरू विभिन्न कुराहरूबाट लोभिएर हो वा प्रभावित भएर हो, दबाब–प्रभावमा परेर अनिष्ट काम गर्न पुग्नुभयो । त्यसमा त्यतिबेला पनि हाम्रो सहमति होइन । पछि पनि उहाँलाई स्वीकारेको होइन ।

चुनाव चिह्न रूखका विरूद्धमा भोट माग्नलाई हाम्रो नैतिकताका कारणले नमिल्ने भएकाले र कांग्रेस बलियो भयो भने भोलि मिलौंला नि भनेर हामीले उहाँलाई होलसेल जिम्मेवारी दिएका हौं ।

तर, उहाँको नीति, कार्यशैली र महत्वकांक्षाका कारण पार्टी अहिलेको अवस्थामा पुग्यो । अब हामीबीच जुन विन्दुमा विमति भएको थियो, सबै त्यही विन्दुमा फर्कियौं भने पार्टी मिल्छ ।

जुन विन्दुमा हामी छुटेका थियौं, त्यही विन्दुमा हामीले आफूलाई रि–कन्फिनेसन गर्ने हो । आत्मसमीक्षा गर्ने हो । र, त्यही विन्दुबाट के–के न गर्छु भनेर जानेहरूले पनि सरी भन्नुपर्‍योऊ । त्यतिबेला नजाउ–नजाउ भनेर फर्काउन नसक्नेहरूले पनि सरी भन्नु पर्‍यो ।

त्यही ठाउँमा पुगेर मिल्नु पर्‍यो । पुरानै विन्दु भनेको १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पुसको ३० गतेसम्म हामी जुन ठाउँमा थियौं, त्यही ठाउँमा पुग्नुपर्छ ।

अदालतमा विचारधीन मुद्दा सहमति गरेर फिर्ता लिन सकिन्छ । मेलमिलाप गर्ने ठाउँ हुन्छ नि अदालतमा । गल्ती स्वीकार गरेर फर्किनु भयो भने उहाँहरू माथि गरिएको कारबाही फिर्ता हुन सक्छ । अदालतको मुद्दा फिर्ता हुन सक्छ ।

‘पुराना नेतालाई सम्मान गरौं, नयाँ साथीहरूलाई आकर्षित गरौं’

रामहरि खतिवडा, निवर्तमान केन्द्रीय सदस्य

पार्टीमा बृहत् एकता कायम नगरिकन अहिलेको च्यालेन्जलाई हामी मिट–अप गर्न सक्दैनौं । बृहत् एकता गरेर सबैलाई समेटेर जानुपर्ने हुन्छ । यसमा नयाँ–पुराना सबै साथीहरूको आवश्यकता पर्दछ ।

इगो र प्रतिशोधको राजनीति र एउटाले अर्कोलाई लडाउने राजनीति गर्ने अहिले बेला छैन । देश गम्भीर अवस्थामा गएको छ । अन्तर्राष्ट्रिय रूपमा पश्चिम एसियाको युद्धले पनि हामीलाई लगानीका र आय कम हुँदै छन् । रोजगारीहरू गुम्दैछन् ।

देश भयावह अवस्थामा जाने बेलामा कांग्रेस आन्तरिक लफडामा, आन्तरिक झैं–झगडामा अल्झिने अवस्था छैन । सबैलाई एकता गरेर अधिवेशनमा जानु पर्छ । कांग्रेस अधिवेशनतिर लाग्नु पर्दछ ।

अहिले मेरो गुट, तेरो गुट भनेर जाने बेला छैन । समग्र देशका प्रजातन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा राखेर जानु नै अहिले हाम्रो लागि बृहत्तम हितकर छ । जनताले दिएको अभिमतलाई स्वीकार्नै पर्छ । कतिपय कुराहरू हामीले जुन कल्पना गरेका थियौं, त्योअनुसार भएन ।

जनताको अभिमतलाई स्वीकार्दै राम्रा काममा सरकारलाई समर्थन गर्ने, नराम्रा कामको विरोध गरेर जानुपर्ने पद्दति र पार्टीलाई एकीकृत बनाउनका लागि गुटको राजनीति होइन, जुटको राजनीति गर्नुपर्छ । पुराना नेताहरूलाई पनि सम्मान गरेर नयाँलाई आकर्षित गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

बृहत्तर एकता गर्नुपर्छ, सबैसँग सल्लाह गर्नुपर्छ । सबै कुरा मै हुँ भनेर कसैले पनि हिँड्नु हुँदैन । नयाँ–पुरानो तिर म गइनँ । सबैलाई एकतावद्ध बनाएर हिँड्नु नै अहिले कांग्रेसको बृहत्तम हित हुन्छ । पुराना नेताहरूलाई सम्मान गरौं, नयाँ साथीहरूलाई पनि आकर्षित गरौं । यो वातावरणमा जानुपर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?