२६, वैशाख, धनगढी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘आज पार्टीभित्र सबैलाई यो भूगोलमा उभिएर भन्दै गर्दा गगनजी या विश्वप्रकाश, अरु साथीहरूको उमेर जति राजनीति गरिसक्नुभएका नेताहरूलाई पनि सँगसँगै हामी यात्रामा लिन जान चाहन्छौं,’ शर्माले भने, ‘खासगरी सुदूरपश्चिमको भूगोलका साथीहरू ।’
उनले कांग्रेस नेतृत्वले कसैका प्रति पनि पूर्वाग्रह राख्न नहुनेमा जोड दिए । ‘प्रत्येक साथीलाई एउटा विश्वास रहोस् कि नयाँ नेतृत्व आइसकेपछि त्यो नेतृत्वले हामीलाई यो वा त्यो कारणले, कोणले, रंगले हेर्ने, पूर्वाग्रह राख्ने बिल्कुल हुँदैन,’ उपसभापति शर्माले भने ।
शर्माले पार्टीलाई बलियो बनाएर अगाडि जाने सन्दर्भमा सबै एकताबद्ध हुन जरूरी रहेको औंल्याए । ‘हरेक मुद्दामा स्पष्टताको, हरेक मुद्दामा प्रखरताको, पार्टीभित्र संयमको, पार्टीभित्र एकताको, पार्टीभित्र एउटाले अर्कोलाई स्वीकार्ने हृदयको, कांग्रेस बलियो बनाएर जाने कुराको सन्दर्भमा तपाईं–हामी एकताबद्ध हुनुछ,’ उनले भने ।
उपसभापति शर्माले २१ भदौमा सम्पन्न निर्वाचनमा पार्टीको पक्षमा खसेको १७ लाख मतलाई लोकतान्त्रिक पद्दतिका लागि भएको पनि जिकिर गरे । ‘त्यो १७ लाख मत लोकतान्त्रिक पद्दतिका लागि, कांग्रेसको जीवनका लागि, भोलिको उज्यालोका लागि तपाईं हाम्रो साथमा उभिएको तागत हो,’ उनले भने ।
शर्माले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताभित्र रहँदासम्म सरकारलाई कांग्रेसको साथ र समर्थन रहने पनि बताए । तर, उनले सरकारका गतिविधिहरू संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र नरहेका टिप्पणी गरे । ।
नयाँ बनेको सरकारलाई हाम्रो साथ, समर्थन, शुभेच्छा छ । तर, त्यहाँसम्म मात्रै जहाँसम्म संविधान भित्र सरकार रहन्छ । त्यहाँसम्म मात्रै जहाँसम्म सरकार लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहन्छ । त्यहाँसम्म मात्रै जहाँसम्म यो देशको समग्र अग्रगतिलाई केन्द्रीय भागमा राखिन्छ,’ शर्माले भने, ‘तर, अहिले सरकारका गतिविधिहरू भइरहेका छन्, त्यो दिशातर्फ देखिँदैन ।
प्रतिक्रिया 4