+
+
Shares

अमेरिकी बालबालिकाको डेटा सुरक्षा मुद्दामा टिकटकसँग सम्झौताको तयारी

अमेरिकी न्याय विभागले सन् २०२४ मा टिकटक र यसको मातृ कम्पनी बाइटडान्स विरुद्ध मुद्दा दायर गरेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १४:२५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा टुंग्याउन भिडियो साझेदारी एप टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ।

एबीसी न्युजका अनुसार उक्त रकम वासिङ्टन डीसी क्षेत्रमा ट्रम्पले प्रस्ताव गरेका ‘ब्युटिफिकेसन् प्रोजेक्ट’ बारे ह्वाइट हाउसमा छलफल भइरहेको छ। ट्रम्पले यसअघि राजधानी क्षेत्रका विभिन्न परियोजनाका लागि अमेरिकी कंग्रेससँग १० अर्ब डलर बजेट माग गरेका थिए।

रिपोर्टअनुसार ह्वाइट हाउसका अधिकारीहरूले अर्लिङ्टन राष्ट्रिय समाधिस्थल नजिक ट्रम्पले प्रस्ताव गरेको ७६ मिटर अग्लो ‘ट्रायम्फल आर्च’ निर्माणमा उक्त रकम कानुनी रूपमा प्रयोग गर्न सकिने वा नसकिने विषयमा पनि केही सातादेखि छलफल गरेका छन्।

यस विषयमा ह्वाइट हाउसले कुनै टिप्पणी गर्न अस्वीकार गर्दै प्रश्नहरू अमेरिकी न्याय विभागतर्फ पठाएको थियो। न्याय विभागले पनि तत्काल प्रतिक्रिया दिएको छैन। टिकटकले पनि समाचार संस्थाको टिप्पणी अनुरोधको जवाफ दिएको छैन।

अमेरिकी न्याय विभागले सन् २०२४ मा टिकटक र यसको मातृ कम्पनी बाइटडान्स विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा १३ वर्षमुनिका लाखौँ अमेरिकी बालबालिकाको व्यक्तिगत विवरण अभिभावकको अनुमति बिना संकलन र सुरक्षित गरिएको आरोप लगाइएको छ।

अमेरिकी सरकारले टिकटकले बालबालिकामुखी सेवाले १३ वर्षमुनिका प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गर्नुअघि अभिभावकको सहमति लिनुपर्ने कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ उल्लंघन गरेको दाबी गरेको छ।

न्याय विभाग र संघीय व्यापार आयोग (एफटीसी) ले दायर गरेको मुद्दामा टिकटकले बालबालिकालाई नियमित अकाउन्ट खोल्न अनुमति दिएको, उनीहरूले सर्ट भिडियो तथा सन्देश अन्य प्रयोगकर्तासँग साझा गर्न पाएको र यस क्रममा उनीहरूको व्यक्तिगत जानकारी अभिभावकको अनुमति बिना संकलन गरिएको उल्लेख गरिएको छ।

उता, टिकटकको चिनियाँ स्वामित्व रहेको बाइटडान्सले अमेरिकी डाटा सुरक्षा सुनिश्चित गर्न तथा अमेरिकामा सम्भावित प्रतिबन्ध टार्न जनवरीमा बहुमत अमेरिकी स्वामित्व रहने संयुक्त उद्यमसम्बन्धी सम्झौता अन्तिम रूप दिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?