+
+
Shares

अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च प्रशोधित युरेनियम वासिङटन ल्यायो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च प्रशोधित युरेनियम निकालेर साउथ क्यारोलाइनाको सवाना रिभर परमाणु साइटमा प्रशोधन गर्न पठाएको छ।
  • यो अपरेसन अमेरिका, भेनेजुएला, बेलायत र आईएईएले मिलेर ६ हप्ताभन्दा कम समयमा सम्पन्न गरेको हो र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पुष्टि गरेको छ।
  • हालै अमेरिका र भेनेजुएलाबीच व्यावसायिक उडान सुरु भएको छ र अमेरिकी दूतावास पुनः खोलिएको छ, जसले दुई देशबीच सम्बन्धमा सुधार संकेत गर्छ।

२६ वैशाख, काठमाडौं । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च रूपमा प्रशोधित युरेनियम निकालेर वासिङ्गटन ल्याएको छ । यो युरेनियम धेरै वर्षदेखि त्यहाँको एउटा पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो।

अमेरिकाले शुक्रबार जानकारी दिएअनुसार, उक्त युरेनियम काराकास नजिकै रहेको साइटबाट निकालिएको हो र त्यसपछि सुरक्षित रूपमा अमेरिका पठाइएको हो।

यो अपरेसन अमेरिका, भेनेजुएला, बेलायत र आईएईएले मिलेर गरेका हुन्। अमेरिकी ऊर्जा विभागका अनुसार युरेनियमलाई जमिन र समुद्री मार्ग हुँदै अमेरिका पुर्‍याइएको हो। अब यसलाई साउथ क्यारोलाइनाको सवाना रिभर परमाणु साइटमा प्रशोधन गरिनेछ।

अमेरिकी एजेन्सी नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन (एनएनएसए) ले यो अपरेसन दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएको छ। एजेन्सीका अनुसार भेनेजुएलाको आरभी-१ रिसर्च रिएक्टर कैयौँ दशकसम्म आणविक अनुसन्धानका लागि प्रयोग गरिन्थ्यो। सन् १९९१ मा अनुसन्धान बन्द भएपछि पनि त्यहाँ उच्च प्रशोधित युरेनियम राखिएको थियो।

अमेरिकाले ६ हप्ताभन्दा कम समयमा पूरा गर्‍यो मिसन

अमेरिकी अधिकारीहरूका अनुसार यो काम ६ हप्ताभन्दा कम समयमा पूरा भएको हो। युरेनियमलाई विशेष कन्टेनरमा प्याक गरिएको थियो। यसपछि करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगिएको थियो। त्यहाँबाट बेलायतको न्युक्लियर ट्रान्सपोर्ट सोलुसन्स कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको हो।

एनएनएसएका डेपुटी एडमिनिस्ट्रेटर डा. म्याट नेपोली पनि यस मिसनको निगरानी गर्न भेनेजुएला पुगेका थिए। उनले टोलीको अनुभवका कारण यो अपरेसन सफल भएको बताए। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि अपरेसनको पुष्टि गरेको छ। एजेन्सीले यो एउटा जटिल र संवेदनशील अपरेसन भएको बताएको छ।

एनएनएसएका अनुसार सन् १९९६ देखि यता एजेन्सीले विश्वका विभिन्न देशहरूबाट ७,३५० किलोभन्दा बढी उच्च प्रशोधित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित गर्ने काम गरिसकेको छ।

रिपोर्टका अनुसार ट्रम्प प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च प्रशोधित युरेनियमलाई लिएर दबाब बनाइरहेको छ। इरानसँग यस्तो करिब ४०८ किलो युरेनियम रहेको बताइन्छ। यद्यपि, अमेरिका अहिलेसम्म त्यसलाई हटाउन सफल भएको छैन।

भेनेजुएलामा अमेरिकाको हस्तक्षेप उत्कर्षमा

अमेरिका र भेनेजुएलाको सम्बन्धमा पनि परिवर्तन देखिएको छ। हालैका महिनाहरूमा सीआईए निर्देशक जोन र्‍याटक्लिफसहित कैयौँ अमेरिकी अधिकारीहरू भेनेजुएला पुगेका छन्। सात वर्षपछि दुई देशबीच व्यावसायिक उडान (कमर्सियल फ्लाइट) पनि सुरु भएको छ। अमेरिकी दूतावास पनि पुनः खोलिएको छ।

भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएका देशहरूमध्ये एक हो। रिपोर्टमा भनिएको छ- अमेरिका अब त्यहाँ ऊर्जा र खानी क्षेत्रमा व्यापार बढाउने कोसिस गरिरहेको छ। यद्यपि, केही लोकतन्त्र समर्थक समूहहरूले ट्रम्प प्रशासनको यस नीतिको आलोचना पनि गरिरहेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?