+

पेटमा भरिएको ग्यास निकालेर छिट्टै राहत दिने ४ घरेलु उपाय

२०८३ वैशाख  ३ गते १७:४८ २०८३ वैशाख ३ गते १७:४८
Shares
पेटमा भरिएको ग्यास निकालेर छिट्टै राहत दिने ४ घरेलु उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अदुवा, पुदिना, टिमुर र मनतातो पानीले पेटको ग्यास कम गर्न घरेलु उपायका रूपमा प्रयोग गर्न सकिन्छ।
  • ग्यास समस्या बारम्बार दोहोरिएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिइन्छ।

भागदौडपूर्ण जीवनशैली, अनियमित खानपान, धेरै चिल्लो–मसालेदार परिकार, कम पानी पिउने बानी, छिटो–छिटो खाना खाने स्वभाव र शारीरिक गतिविधि घट्दै जाँदा पेटमा ग्यास जम्ने समस्या धेरैमा सामान्य बन्दै गएको छ ।

धेरै समय खाली पेट बस्ने, राति ढिलो खाने, खाना राम्ररी नचपाई निल्ने वा तनावमा रहने बानीले पनि आन्द्राभित्र वायु जम्न सक्छ । यही कारण पेट फुल्ने, डकार आउने, पेट कडा हुने, गडबडी हुने, पेट दुख्ने र कहिलेकाहीँ छातीसम्म असहज महसुस हुने समस्या देखिन्छ ।

धेरैजसो अवस्थामा यस्तो समस्या खानपान र पाचन प्रक्रियासँग जोडिएको हुन्छ । खाना राम्ररी नपच्दा आन्द्रामा अम्लीय पन बढ्छ, जसले ग्यास बनाउँछ । कब्जियत, दाल–चना, बन्दागोभी, कोल्ड ड्रिंक, धेरै चिया–कफी, दूधजन्य परिकार वा धेरै समय बसिरहने बानीले पनि समस्या झन् बढाउन सक्छ ।

औषधि खानुअघि घरमै पाइने केही प्राकृति खानेकुरा अदुवा, पुदिना, सौंफ÷टिमुरजस्ता मसला र मनतातो पानी मात्रा मिलाएर खाँदा हल्का ग्यासमा राम्रो राहत दिन सक्छन् ।

१.पाचनलाई चलायमान बनाउने अदुवा

अदुवा पेटको ग्यासमा सबैभन्दा छिटो काम गर्ने घरेलु उपायमध्ये एक मानिन्छ । यसमा पाइने सक्रिय तत्त्वहरूले पाचन रस र एन्जाइमको कामलाई सक्रिय बनाउँछन् । यसले खाना पेटमा लामो समय अड्किन नदिई छिटो तलतिर सार्न मद्दत गर्छ, जसले आन्द्राभित्र बन्ने अतिरिक्त वायु कम हुन्छ । ग्यासका कारण पेट बाठिने, वाकवाकी हुने वा भारीपन महसुस हुँदा अदुवा विशेष उपयोगी हुन सक्छ ।

यसका लागि ताजा अदुवाको सानो टुक्रा कुटेर एक कप पानीमा ५–१० मिनेट उमाल्नुहोस् । मनतातो भएपछि बिस्तारै पिउनुहोस् । खाना खाएपछि वा पेट फुलेको बेला यो पिउँदा धेरैलाई आराम मिल्छ । केही चिकित्सकीय स्रोतहरूले अदुवाले पेटको मांसपेशीलाई शान्त पारेर ग्यास बाहिर निस्कन मद्दत गर्ने उल्लेख गरेका छन् ।

२.पुदिनाले पेटको मांसपेशीलाई आराम दिन्छ

पुदिनामा पाइने मेन्थोलले पेट र आन्द्राको मांसपेशीलाई शिथिल बनाउँछ । जब आन्द्राको मांसपेशी धेरै कस्सिएको हुन्छ, ग्यास बाहिर निस्कन गाह्रो हुन्छ । पुदिनाले यही कसावट कम गरेर गुम्सिएको वायुलाई सहज रूपमा तलतिर निकाल्न मद्दत गर्छ । पेट बाठिने, डकार रोकिने, खाना खाएपछि भारी महसुस हुने वा ऐंठनजस्तो हुने अवस्थामा पुदिना धेरै उपयोगी हुन सक्छ ।

केही ताजा पुदिनाका पात तातोपानीमा ५ मिनेट भिजाएर त्यसको झोल पिउन सकिन्छ । यदि पात उपलब्ध छैन भने पुदिनाको चिया पनि प्रयोग गर्न सकिन्छ । नियमित रूपमा खाना पछि पिउँदा ग्यास बन्ने प्रवृत्ति पनि कम हुन सक्छ ।

३.जमेको वायु घटाउने टिमुर

नेपाली भान्सामा सजिलै पाइने टिमुर पेटको ग्यासका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको मसला हो । यसको तिखो र सुगन्धित गुणले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । खाना राम्रोसँग नपचेका कारण पेट र आन्द्रामा बन्ने वायुलाई कम गर्न यसले मद्दत गर्छ ।

टिमुरको थोरै दाना कुटेर मनतातो पानीमा हालेर पिउन सकिन्छ । यसलाई ५ मिनेट पानीमा उमालेर पनि पिउन सकिन्छ । खाना खाएपछि पेट फुलेको, डकार अड्किएको वा तलतिर वायु ननिस्किएको अवस्थामा यो उपाय उपयोगी हुन सक्छ ।

४.मनतातो पानी र हल्का हिँडाइ

धेरैजसो अवस्थामा पेटको ग्यास एकै ठाउँमा अड्किएको हुन्छ । यस्तो बेला मनतातो पानी बिस्तारै पिउनु र १०–१५ मिनेट हल्का हिँड्नु निकै प्रभावकारी उपाय हो । मनतातो पानीले पाचन प्रणालीलाई सहज बनाउँछ, आन्द्राको गति बढाउँछ र जमेको वायु तलतिर सार्न मद्दत गर्छ ।

खाना खाएलगत्तै सुत्ने बानीले ग्यास झन् बढ्न सक्छ । त्यसैले खाना खाएपछि केही बेर बस्ने, बिस्तारै हिँड्ने र शरीरलाई चलायमान राख्ने बानीले प्राकृतिक रूपमा ग्यास बाहिर निस्कन सहयोग गर्छ । धेरै ग्यासको समस्या जीवनशैलीसँग जोडिएको हुने भएकाले यो उपाय दीर्घकालीन रूपमा पनि उपयोगी हुन्छ ।

समस्या बारम्बार दोहोरिए के संकेत हुनसक्छ ?

यदि ग्यासको समस्या बारम्बार हुन्छ, पेट अत्यधिक फुल्छ, कब्जियत, पखाला, एसिडिटी, पेट दुखाइ वा तौल घट्ने समस्या पनि सँगै छ भने यो केवल सामान्य ग्यास मात्रै नहुन सक्छ ।

यस्तो अवस्थामा आन्द्राको संवेदनशीलता, ल्याक्टोज असहिष्णुता, कब्जियत, अम्लपित्त वा अन्य पाचन समस्या पनि कारण हुन सक्छ । त्यसैले घरेलु उपायले अस्थायी राहत दिए पनि समस्या दोहोरिरहेमा चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ ।

आयुर्वेद ग्यास
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय