+

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

२०८२ असार  १५ गते ९:३० २०८२ असार १५ गते ९:३०
Shares
गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिलो महिना ‘आमा बन्दैछु’ भन्ने अनुभूति गहिरिँदै गएको गर्भवती महिलाले पाउँछिन्।
  • गर्भावस्था सुरु भएपछि हर्मोनको स्तर नाटकीय ढंगले उच्च हुन्छ ।
  • सामान्य जाँच र चिकित्सकको परामर्श बिना औषधि नखानु र लामो यात्रा नगर्न सुझाव दिइन्छ।

गर्भावस्थाको विशेष यात्रा पहिलो महिनाबाट सुरु हुन्छ । जहाँ केवल शारीरिक परिवर्तन मात्र होइन, भावनात्मक उतारचढावले पनि जीवनको गति परिवर्तन गर्न थाल्छ।

२४ घण्टा, एक दिन हुँदै महिनौं पुग्दा ‘आमा बन्दैछु’ भन्ने अनुभूति गहिरिँदै गएको महिलाले पाउँछिन्। यो समय उत्साह, डर, जिज्ञासा, जिम्मेवारीका असंख्य भावनाहरू उनको मस्तिष्कमा बस्छन्।

शरीरमा लगातार परिवर्तन भइरहेको हुन्छ, मन पनि संवेदनशील बन्दै जान्छ । यो समयमा उनीहरू भावुक महसुस गर्न थाल्छन् । स–साना कुराले मन छोइरहन्छ र सामान्य अवस्थामा सहज लाग्ने विषयहरूमा पनि गम्भीर चिन्तन हुन थाल्छ ।

मनमा आगामी दिन, सन्तानको विकास, आफ्नो स्वास्थ्य, जिम्मेवारीबारे अनेकौं सोच र जिज्ञासाहरू उब्जन्छन् । यतिबेला कस्तो हुन्छ गर्भावस्थाको समय ? के गर्ने ? के नगर्ने ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ ।

गर्भ रहनासाथ एस्ट्रोजेन र प्रोजेस्ट्रोन जस्ता हर्मोनहरूको स्तर तीव्र रूपमा बढ्न थाल्छ । यसले शरीरमा अन्य धेरै परिवर्तन ल्याउँछ – शारीरिक मात्र होइन, भावनात्मक रूपमै प्रभाव पार्छ ।

आमामा देखिने शारीरिक परिवर्तन

गर्भ रहेको पहिलो संकेत महिनावारी रोकिनु नै हो । त्यससँगै बिहान विशेषगरी वाकवाकी हुन थाल्छ । हल्का टाउको दुख्ने, अल्छी लाग्ने, थकान, निद्रा बढी लाग्ने हुन्छ ।

खाना देख्दा मन नगर्ने वा गन्धले झन् वाकवाकी हुने सम्भावना हुन्छ । अर्को परिवर्तन भनेको स्तनमा संवेदनशीलता भई कोमल, भारी र दुखेजस्तो अनुभव हुनसक्छ । प्राय हिँड्दा दुखाइको अनुभव बढी हुन थाल्छ।

हर्मोन परिवर्तनले पाचन प्रक्रियामा असर गरी कब्जियत, पेट फुल्ने र ग्यास बन्ने जस्ता लक्षण देखिन्छन् । करिब ६ दखि १२ दिनपछि भ्रूण गर्भाशयमा बसेपछि थोरै रगत देखिन सक्छ ।

यो सामान्य हो, तर निरन्तर र धेरै भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । केही महिलाले यो समयमा महिनावारीको जस्तो पेट, कम्मरको दुखाइ अनुभव गर्न सक्छन् । दुखाइ बढ्दै गयो भने चिकित्सकलाई भेट्नुपर्छ ।

पहिलेकोभन्दा बढी पिसाबको मात्रा बढ्ने, पिसाब गर्दा पोल्ने वा अप्ठ्यारो भए संक्रमणको आशंका हुन सक्छ । पिसाब गर्दा पोल्ने वा अप्ठ्यारो भए, संक्रमणको आशंका हुन सक्छ ।

गर्भवती भएपछि शरीरमा रगतको मात्रा बढ्न थाल्छ । यसको मतलब मिर्गौलालाई तरल पदार्थ प्रशोधन गर्न थप समय लाग्छ । यो सिलसिला समयसँगै कम हुन्छ ।

कुनै महिलालाई मनपर्ने खानेकुरा पनि मन नपर्न सक्छ । तर सबैको हकमा त्यस्तो नहुन सक्छ ।

मनसिक तथा भावनात्मक स्थिति

गर्भावस्था सुरु भएपछि हर्मोनको स्तर नाटकीय ढंगले उच्च हुन्छ । पहिलो, दोस्रो र तेस्रोमध्ये पहिलो त्रैमासिकको सुरुवाती यो महिनामा हर्मोनल उतारचढावले एकातिर आनन्द, उत्साह र आमा बन्ने गर्वको अनुभूति हुन्छ ।

अर्कोतर्फ, ‘सन्तान स्वस्थ होला कि?’, ‘मैले के खानुपर्छ?’ , यो ९ महिने यात्रा कस्तो रहला ? भन्ने चिन्ताले सताउन सक्छ । यस्ता प्रश्नले मनमा गहिरो चिन्ता ल्याउन सक्छ ।

पहिलो पटक गर्भवती भएका महिलामा यो झन् बढी हुन्छ । एकछिनमा रमाइलो लाग्ने, अर्कोछिनमा नजिकको मान्छेसँग रिस उठ्ने वा निराश हुन सक्छन् ।

यो सबै हर्मोन परिवर्तनका कारण सामान्य हो। सामान्य पेट दुखाइ, हल्का रक्तस्रावजस्ता लक्षण देखिँदा बच्चालाई केही हुने होकि भन्ने डर लाग्न सक्छ । कतिपय त गुगलमा लक्षण खोजेर डर बढाउने बानीले मानसिक अस्थिरता निम्त्याउन सक्छ ।

बच्चाको विकास गति

गर्भधारण गर्नेबित्तिकै निषेचन भएको अण्डा डिम्बहिनी नलीसम्म पुग्छ । अण्डा कोषिकाहरूमा विभाजित हुन्छ, जसमा केही भ्रुण बन्छन् । केही प्लासेन्टा बन्छ ।

प्लासेन्टाले बच्चाको लागि पोषण तयार गर्छ । बच्चा अहिले बीउको आकार भन्दा सानो हुन्छ । बच्चा भए नभएको भिडियो एक्स-रे गरेर पनि देखिँदैन।

पहिलो महिनामा लगभग चार हप्ताजस्तो देखि चाहिँ बच्चाको मुटुको एउटा आकार आउँदै गरेको अरु अंगहरु बिस्तारै बन्दै गरेको जस्तो अवस्थाहरु चाहिँ हुन्छ । जसकारणले गर्दा नसाहरु बन्ने, अरु अंगहरू बन्ने प्रारम्भिक सम्भावना हुनसक्छ ।

सम्भावित जटिलता

गर्भवती महिलाले अनुभव गर्ने लक्षणमा केही तलमाथि पनि हुनसक्छ । कुनै चिन्ता वा अन्योलमा परे चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन।

थायराइड, उक्त रक्त चाप पहिलेबाट उच्च छ भने गर्भपात हुने जोखिम हुन्छ । त्यसैले, यसलाई औषधि खाएर नियन्त्रण गर्नुपर्छ । यो समयमा अत्यधिक बान्ता हुने, नरुच्ने, पानी खाँदा पानी बान्ता हुन्छ भने अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था हुनसक्छ ।

त्यसैगरी, अत्यधिक पेटको दुखाइ, अलिअलि रगत बगे जस्तो हुने, पिसाब पोले जस्तो हुनेसम्म सम्भावनाहरू आउन सक्छ । कुनै शंकास्पद लक्षण देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

परीक्षण के गर्ने ?

पहिलो महिना सही चिकित्सक र अस्पताल छनोट गर्ने बेला हो । किनकि पहिलो महिनादेखि नै नियमित जाँच तथा चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।

नियमित चेकजाँचमा रक्त परीक्षण गरी रगतको कमी (हेमोग्लोबिन), प्लेटलेट र रक्त समूह (पोजिटिभ/नेगेटिभ) जाँच हुनसक्छ।

एचआईभी, हेपाटाइटिस बी/सी पनि परीक्षण हुनसक्छ ।

मधुमेह, उच्चरक्तचाप र थायराइडको पनि परीक्षण हुनसक्छ । पहिलो महिनामा बच्चा धेरै सानो हुने भएकाले अल्ट्रासाउन्ड सामान्यतया दोस्रो महिना (६–८ हप्ता) मा मात्र गरिन्छ ।

चिकित्सकलाई पोषणको सूची माग्न सकिन्छ । चिकित्सकले के खाने ? के नखाने ? कति मात्रा खाने सूची दिन्छ्न् ।

के खाने ?

— बच्चाको मेरुदण्ड र स्नायु प्रणालीको विकासका लागि फोलिक एसिड अनिवार्य छ । (गर्भावस्था योजना गर्नुभन्दा ३ महिना अगाडिदेखि यो सप्लिमेन्ट लिन सुरु गर्नुपर्छ ।)

— हरियो सागपात, फलफूल, दूध, गेडागुडी, माछा, अण्डा र प्रोटिनयुक्त खानेकुराहरू खानुपर्छ ।

—  तरकारीहरू फलामको भाँडामा पकाएर खानुपर्छ । जसले आइरन पर्याप्त मात्रामा पुग्छ ।

— प्रशस्त पानी तीन देखि चार लिटरसम्म पिउनुपर्छ ।

—  खानेकुरामा रुचि नभए सानो अदुवाको टुक्रा मुखमा राख्ने या सुक्खा भुटेको चना भिजाको चना, भुटेको चनालाई दुई तीन पिस मुखमा राख्ने गर्ने हो भने  वाकवाक आउने सम्भावना कम गर्छ ।

—  कमजोरी अनुभव भए जीवनजल खान सकिन्छ ।

के नखाने ?

— रक्सी, चुरोट, कुनै सुर्तीजन्य पदार्थहरू पूर्णरूपमा त्याग्नुपर्छ ।

— प्याकेट बन्द गरिएको, मसालेदार खाना र जंक फूडबाट बच्ने ।

यात्रा गर्न मिल्छ ?

गर्भवती भएको थाहा भए पछि छोटो दूरीको यात्रा गर्न मिल्छ । तर, लामो दूरीको यात्रा भने गर्न मिल्दैन ।

यो समय बच्चाले ठाँउ लिन सकेको हुँदैन । यस्तोमा थोरै उथलपुथलले पनि बच्चा खेर जान सक्छ । त्यसैले, सकेसम्म यात्रा नगर्नु बेस हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

— पोषिलो खानेकुरामा जोड दिने ।

— निद्रा पर्याप्त पुर्‍याउने कोसिस गर्ने ।

— ढाड सिधा पारेर बस्ने ।

— हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।

— हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।

— भारी सामान नउठाउने, झट्ट उठ्ने बस्ने नगर्ने र बिस्तारै उठ्ने ।

— तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने ।

चिकित्सकलाई भेट्नु पर्ने अवस्था

— वाकवाकी लागेर पानी पनि पिउन नसक्ने अवस्था ।

— बेहोसी जस्तो हुने ।

— पिसाब फेर्न गाह्रो हुने ।

— रगत चोक्टा देखिने ।

परिवारको साथ सहयोग

गर्भावस्थाको यो संवेदनशील समयमा परिवारको साथ र सहयोग अनिवार्य छ । श्रीमान् वा परिवारले गर्भवती महिलाको भावनालाई बुझेर सान्त्वना र प्रोत्साहन दिनुपर्छ ।

यो बेला वाकवाक र चक्कर लाग्दा शरीर सन्चो नहुने हुँदा आराम गर्न लगाउने, गर्भवतीले नभने पनि बुझेर उसले गरिरहेका कामहरू गरिदिने गर्नुपर्छ । तनाव कम गर्न सकारात्मक कुराकानी र सुखद माहोल बनाउनुपर्छ ।

गर्भावस्था योजनाबद्ध होस् वा बिनायोजना, पति–पत्नीलेसँगै बसेर भविष्यको योजना बनाउनुपर्छ । हर्मोनल उत्तारचढावका कारण गर्भवती महिला अत्यधिक रिसाउने र झर्किने हुनसक्छ । कतिपय अवस्थामा त सही र गलत हो भनेर छुटाउन पनि नसक्ने हुनसक्छिन् ।

यस्तोमा उनलाई गाली होइन उसको भावना बुझेर सम्झाउने र सहज वातावरण सिर्जना सबै मिलेर गरिदिनुपर्छ ।

सावधानी

पहिलो महिनामा स्वस्थ गर्भावस्थाका लागि केही सावधानी अपनाउनु महत्वपूर्ण छ ।

— चिकित्सकको परामर्श लिई फोलिक एसिड र अन्य भिटामिन खानुपर्छ ।

— गर्भावस्थामा आराम होइन, सक्रिय रहनुपर्छ । यसो भन्दैमा भारी काम गर्ने, भारी सामान उचाल्नु कार्य भने गर्नुहुँदैन ।

— व्यक्तिगत स्वास्थ्य र गर्भावस्थामा पर्ने आवश्यकताबारे स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।

— चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि खानुहुँदैन ।

— सडक अवरुद्ध भएको स्थानमा नजाने ।

— लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने ।

(चिकित्सकको फलोअप कुनै पनि बेला छुटाउनु हुँदैन । किनकि, एउटा छुटेमा पनि जटिलता आएको थाहा नभई पछि समस्या हुनसक्छ ।)

गर्भावस्था first month pregnancy
डा. दिजा खनाल
लेखक
डा. दिजा खनाल
प्रसूति तथा स्त्री रोग विशेषज्ञ

डा. खनाल हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन् । प्रसूति रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल नम्बर २०९८६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’

कोलेस्टेरोल किन बढ्छ ?

कोलेस्टेरोल किन बढ्छ ?

गर्भावस्थाको तेस्रो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको तेस्रो महिना के गर्ने, के नगर्ने ?