News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका तराई र भारतको उत्तर–पूर्वी क्षेत्रहरूमा नैरोबी फ्लाई संक्रमण बढिरहेको छ।
- यस कीरा रसायनले छालामा गम्भीर समस्या निम्त्याउँछ।
- संक्रमणबाट जोगिन घर सफा राख्ने र सुरक्षात्मक लुगा प्रयोग गर्न सुझाव दिइएको छ।
वर्षा सुरु भएसँगै नेपालका तराई तथा भारतको उत्तर–पूर्वी क्षेत्रहरूमा नैरोबी फ्लाई भनिने ‘पेडेरस बिटल’ नामक कीराबाट हुने छालासम्बन्धी रोगको संक्रमण बढ्न थालेको छ। विशेषगरी नेपालका कोशी प्रदेश, मधेस, सुदुरपश्चिम र भारतको बिहार, उत्तर प्रदेश र असमका केही क्षेत्रहरूमा यसको प्रभाव देखिन थालेको छ।
यो कीरा आफैंमा हानिकारक नदेखिए पनि, मानव छालामा बसेपछि यसले छाड्ने ‘पेडेरिन’ नामक रसायनले गम्भीर छालाजन्य समस्या निम्त्याउँछ। संक्रमणको लक्षण सामान्य एलर्जीबाट लिएर गम्भीर छालाको जलन, घाउ र सेकेन्डरी संक्रमणसम्म हुन सक्छ।
नैरोबी फ्लाई के हो ?
नैरोबी फ्लाई एक प्रकारको सानो, रातो-कालो रङको कीरा हो जुन ‘पेडेरस जेनस’मा पर्दछ । मूल रूपमा अफ्रिकाबाट उत्पत्ति भएको भए पनि जलवायु परिवर्तन, मानव आवास विस्तार र क्षेत्रीय उष्णता वृद्धि जस्ता कारणले नेपाल–भारत क्षेत्रमा पनि यसको उपस्थिति तीव्र रूपमा बढेको छ ।
यो कीरा रातको समयमा बत्तीमा आकर्षित हुन्छ, र धेरैजसो मानिस सुतिरहेको बेला यो छालामा बस्छ। जब मानिसले यो कीरा पन्छाउने वा मार्ने प्रयास गर्छन्, त्यसबेला यसको शरीरबाट निस्कने पेडेरिन नामक विषले छालामा जलन, फोका, रातोपन वा दाग उत्पन्न गर्छ ।
संक्रमणका लक्षण
-छालामा रातो डाम, डोब वा धर्काजस्तो दाग देखिने
-जलन, पोलाइ वा चिलाउने समस्या हुने
-प्वालजस्तो फोका वा फाटेको घाउ हुने
-आँखामा परे आखा पोल्ने, चहर्याउने, आँखा सुन्निने
-संक्रमण फैलिन गएमा सेप्सिस वा सेलुलाइटिसको समस्या हुने
लक्षण प्रायः कीरा छालामा बसेको स्थानमा देखिन्छ र सामान्य अवस्थामा १–२ हप्ताभित्र निको हुन सक्छ। तर धेरैजसो अवस्थामा scratch वा secondary infection का कारण समस्या जटिल बन्छ।
जोखिममा को ?
-रातको समयमा झ्याल खुला राखेर सुत्नेहरू
-खेतबारी, जंगल वा बगैंचामा काम गर्नेहरू
-लामो बाहुला र सुरक्षात्मक लुगा नलगाउनेहरू
-विद्यालय जाने बालबालिका र वृद्धवृद्धाहरू
नेपाल र भारतमा वर्तमान स्थिति
सामाजिक सञ्जालमा हालै विभिन्न व्यक्तिहरूले रातारात छालामा जलनसहितको घाउ देखिएको फोटो सेयर गरेका छन् । बुटवल, वीरगन्ज, जनकपुर, विराटनगर, नेपालगन्ज, धनगढी लगायतका शहरहरूमा यो संक्रमणका केसहरू भेटिन थालेका छन् ।
भारतमा असम, बिहार, झारखण्ड र उत्तरप्रदेशमा नैरोबी फ्लाई संक्रमणको चेतावनी स्थानीय स्वास्थ्य संस्थाहरूले दिइसकेका छन् ।
कसरी बच्ने ?
निम्न सावधानीले नैरोबी फ्लाईबाट जोगिन सकिन्छ
१.कीरालाई नछुने – यदि कीरा छालामा देखिएमा त्यसलाई नरमसँग फुक्ने, नमार्ने।
२.झुल प्रयोग गर्ने – रातमा सुत्दा झुलभित्र सुत्ने ।
३.झ्याल ढोका बन्द राख्ने – विशेषतः रातको समयमा कीरा भित्र पस्न नदिने ।
४.सुरक्षात्मक लुगा लगाउने – लामो बाहुला भएको सर्ट र पाइन्ट लगाउने ।
५.बाहिरी बत्ती घटाउने – कीराहरू उज्यालोमा आकर्षित हुन्छन् ।
६.सफा वातावरण राख्ने – घर वरिपरि सफा राखेमा कीराको आगमन कम हुन्छ ।
संक्रमण भए के गर्ने ?
यदि कीरा छालामा बसेको छ भने,
-छालालाई तुरुन्त साबुन र पानीले धुनुहोस् ।
-भ्यासलिन वा साधारण मोइस्चराइजर लगाउनुहोस् ।
-जलन वा घाउ गम्भीर भएमा डर्माटोलोजिस्टको सल्लाह लिनुहोस् ।
-कुनै पनि एन्टिबायोटिक वा स्टेरोइड प्रयोग गर्नुअघि विशेषज्ञसँग परामर्श लिनु अत्यावश्यक छ ।
प्रतिक्रिया 4