News Summary
Generated by OK AI. Editorially reviewed.- मस्तिष्क मृत्यु भनेको मस्तिष्क र ब्रेनस्टेमको स्थायी र अपरिवर्तनीय अन्त्य हो, जसपछि व्यक्तिलाई कानुनी रूपमा मृत घोषित गरिन्छ।
- नेपालमा हालसम्म मस्तिष्क मृत्युपछि ६ को मात्र अंगदान भएका छन्, जुन न्यून छ।
- नेपालले मस्तिष्क मृत्युलाई कानुनी मान्यता दिएको भए पनि, जागरूकता र पूर्वाधारको अभावले अंगदानमा बाधा आइरहेको छ।
मस्तिष्क मृत्यु भन्नाले मस्तिष्क र ब्रेनस्टेमको सम्पूर्ण क्रियाशीलताको स्थायी र अपरिवर्तनीय अन्त्य जनाउँछ । मस्तिष्क मृत्यु प्रमाणित भएपछि ती व्यक्ति कानुनी तथा चिकित्सकीय रूपमा मृत घोषित हुन्छन्, यद्यपि मुटु कृत्रिम जीवन समर्थन प्रणालीबाट केही समयसम्म धड्किरहेको हुन सक्छ ।
कोमा भनेको बेहोसीको गम्भीर अवस्था हो, जहाँ मस्तिष्क आंशिक रूपमा क्रियाशील रहन्छ र बिरामीमा ब्रेनस्टेम रिफ्लेक्सहरू जीवित रहन सक्छन् । कोमाबाट निको हुने सम्भावना पनि रहन्छ, तर मस्तिष्क मृत्यु भएपछि व्यक्ति कहिल्यै पुनर्जीवित हुँदैन।
नेपालको वर्तमान अवस्था
नेपालमा हालको अस्पताल र आईसीयूको अवस्थालाई हेर्दा हप्तामा ४–५ मस्तिष्क मृत्युका घटना हुन सक्छन्, जसअनुसार वार्षिक रूपमा लगभग २४० देखि २५० मस्तिष्क मृत्युका केसहरू हुने अनुमान छ । यदि तीमध्ये कम्तीमा ५० प्रतिशत बिरामीका अंगहरू दान गरियो भने, ८०० देखि ९०० जीवनहरू बचाउन सकिन्छ ।
तर, यथार्थमा भने नेपालमा हालसम्म मस्तिष्क मृत्यु भएका ६ जनाको अंग मात्रै दान गरिएको छ, जुन अत्यन्तै न्यून र दुःखद तथ्य हो।
नेपालको कानुनी व्यवस्था
नेपाल सरकारले मानव शरीर अंग प्रत्यारोपण (नियमन तथा प्रतिषेध) ऐन, २०७२ मार्फत मस्तिष्क मृत्युलाई कानुनी मान्यता दिएको छ। यस अनुसार, उपयुक्त चिकित्सकीय प्रमाण र परिवारको सहमतिमा मस्तिष्क मृत्यु घोषणा भई अंग संकलन गर्न पाइन्छ ।
मस्तिष्क मृत्यु पुष्टि गर्ने निकाय
नेपालमा मस्तिष्क मृत्यु पुष्टि गर्न चिकित्सकहरूको विशेष समिति चाहिन्छ, जसमा निम्न सदस्यहरू हुन्छन् :
-न्युरोसर्जन वा न्युरोलोजिस्ट
-फिजिसियन वा इन्टेन्सिभ केयर विशेषज्ञ
-एनेस्थेसियोलोजिस्ट
-अस्पताल प्रशासन प्रतिनिधि
यी विशेषज्ञहरूले मिलेर मापदण्ड अनुसार मस्तिष्क मृत्यु घोषणा गर्ने प्रावधान छ।
नेपालमा अंगदानमा रहेका मुख्य बाधाहरू
१.चेतनाको अभाव : धेरै मानिसहरू र अस्पतालका स्वास्थ्यकर्मीहरूलाई समेत मस्तिष्क मृत्यु र अंगदानको सटिक जानकारी छैन।
२.धार्मिक तथा सांस्कृतिक मान्यताहरू : केही धर्म/समुदायले मृत शरीरमा हस्तक्षेप गर्न नहुने विश्वास गर्छन् ।
३.अंग संकलन केन्द्रको अभाव : केही सीमित अस्पतालहरू मात्र यस्तो कार्यका लागि सक्षम छन् ।
४.स्थानीय अस्पतालको नीति र तालिमको कमी : परिवारसँग संवाद गर्न र अंगदानमा अगाडि बढाउन तालिमप्राप्त ट्रान्सप्लान्ट कोअर्डिनेटरहरूको अभाव छ ।
५.भ्रामक लक्षणहरू : मस्तिष्क मृत्युपछि पनि केही समयसम्म बिरामीको शरीरमा हातखुट्टा चल्ने, औंला फुस्फुसाउने, टाउको घुम्ने, सासजस्तै लाग्ने चाल देखिन सक्छ, जसले
चिकित्सकहरूलाई पनि निर्णयमा अलमलमा पार्न सक्छ।
६.परिवारको असहमति र कठिनाइ : परिवारलाई मस्तिष्क मृत्युको बारेमा बुझाउनु, भावनात्मक सहारा दिनु र अंगदानमा तयार गराउनु चुनौतीपूर्ण काम हो।
मस्तिष्क मृत्युमा सरोकारवालाको भूमिका
–न्युरोसर्जन र फिजिसियनहरू : समयमै मस्तिष्क मृत्यु पहिचान, पुष्टि, परिवारसँग संवाद गर्ने प्रमुख भूमिका यी चिकित्सकहरूको हुन्छ।
-परिवारजन : उनीहरूको समझदारी र इच्छाशक्ति नै अंगदानमा निर्णायक हुन्छ ।
-अस्पताल प्रशासन : अंग संकलन प्रक्रियाको सहजता र समन्वय अस्पताल नीतिले सुनिश्चित गर्नुपर्छ।
-सरकार र संघसंस्थाहरू : जनचेतना फैलाउने, तालिम दिने र आवश्यक पूर्वाधार विकास गर्ने मुख्य जिम्मेवारी हुन्छ ।
विश्व सन्दर्भमा नेपाल
आजको मितिमा विश्वका ७० प्रतिशत भन्दा बढी मुलुकमा मस्तिष्क मृत्युलाई कानुनी मान्यता वा चिकित्सकीय दिशानिर्देशनबाट पुष्टि गर्ने चलन छ । स्पेन, अमेरिका, भारत लगायतका देशहरूमा मस्तिष्क मृत्युपछिको अंगदानले उल्लेखनीय प्रगति गरेको छ । नेपालले पनि २०७२ मा कानुनी आधार तयार गरेको भए पनि कार्यान्वयन र व्यवहारमा अझै ठूलो सुधार आवश्यक छ।
जागरूक बनौँ, जीवन बचाऔँ
मस्तिष्क मृत्युपछि अंगदान गर्नु एक मानवीय, नैतिक र जीवनदायी कार्य हो । नेपालमा सयौं बिरामीहरूले प्रतिक्षा गरिरहेका छन्, जब कि प्रत्येक वर्ष सयौं अंगहरू खेर गइरहेका छन् । चिकित्सक, नीति निर्माता, सञ्चारकर्मी र आम जनता जनसमुदाय मिलेर यो कार्यलाई सफल बनाउनुपर्छ ।
अब हामी नयाँ युगतर्फ अघि बढ्नुपर्छ, जहाँ मस्तिष्क मृत्युलाई मृत्युको रूपमा स्वीकार्ने, मृतकको अंगदाताको इच्छालाई सम्मान गर्ने र जीवन बचाउने प्रयासमा सबै एकजुट हुने समय आएको छ।
हामी सबैको सानो प्रयासले असंख्य जीवनहरू बचाउन सकिन्छ।
प्रतिक्रिया 4