
२३ असार, काठमाडौं । पटकपटक नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लाग्ने गरेका युनुस अन्सारीले १८ वर्षअघि खोलेको नेसनल टेलिभिजनको लगानी नै अवैध भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान गरेको प्रहरीले टेलिभिजनमा गरेको ५ करोड २५ लाख रुपैयाँ लगानी नै अपराधबाट सिर्जित रकम भएको निष्कर्ष निकालेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख चन्द्रकुवेर खापुङका अनुसार, अपराधबाट आर्जित सम्पत्ति आफू र निकटका व्यक्ति, कम्पनीको खाताहरुमा खण्डिकरण गरी राष्ट्रिय अर्थतन्त्रमा समाहित गराउने प्रक्रिया अन्तरगत सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानबाट देखिएको छ ।
‘सीआईबीले अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा समेत दर्ता भइसकेको छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङ भन्छन्, ‘लगानी र आर्थिक कारोबारको विवरणसहितका तथ्य समेत राखेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका थियौं ।’
प्रहरीको अनुसन्धानलाई आधार मानेर अदालतमा दायर अभियोग पत्रमा जाली नोट र लागूऔषध कारोबार गरेर कमाएको रकम अन्सारीले वैध देखाउने प्रयास गरेको भनिएको छ ।
‘अन्सारीले विगतदेखिको संलग्नता भएको कसूर अपराधहरुबाट आर्जित सम्पत्तिलाई वैधता दिने मनसाय अनुरुप गैरकानूनी आर्जनलाई शुद्धीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर निकटस्थ व्यक्ति र कम्पनीको बैंक खाताहरुमा जम्मा गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘उक्त खाताहरुबाट रकम ट्रान्सफर गरी कम्पनीमा लगानी गरी उक्त रकम निसर्गः समेत गराएर सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिन आयो ।’
‘पूर्वमन्त्रीका छोरा, दाउदका एजेन्ट !’
अन्सारी पहिलो पटक १७ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय बराबरको नक्कली भारतीय नोट र लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका थिए ।
अन्सारीसँगै त्यसबेला उनको सुरक्षार्थ खटिएका भक्तपुरका काशिराम अधिकारी र दुई पाकिस्तानी नागरिक अमिर भनिने मोहम्मद इकबाल र मोहम्मद सज्जाद पनि पक्राउ परेका थिए ।
नक्कली नोट कारोबारमा पक्राउ पर्नुअघि नै उनले नेसनल टेलिभिजनका सञ्चालनमा ल्याइसकेका थिए । त्यसबेला अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार, टेलिभिजन सञ्चालन गर्नुअघि पनि उनको नाम डलरको अवैध कारोबारदेखि भारतविरुद्ध हुने गतिविधिमा जोडिन्थ्यो ।
‘भारतीय पक्षले उनलाई अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडेर प्रचार गरिरहे पनि उनी सप्रमाण पक्राउ परेका थिएनन्’, ती अधिकृत भन्छन्, ‘२०६६ पुसमा चाहिँ बरामद नक्कली नोट कारोबारमा उनको प्रत्यक्ष संलग्नता देखिएको थियो ।’
पछि उनीमाथि भएको हत्या प्रयासबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिने क्रममा अन्सारीले ‘मिडियामा लागेपछि त्यो काम छाडेको’ दाबी गरेका थिए । उनले आफूलाई नक्कली नोटको कारोबारका कारण मार्न खोजिएको भन्दै त्यसबाट अलग भइसकेको जिकिर गरेका थिए ।
यद्यपि, अन्सारी जेलभित्रै रहेका बेला ६ असोज २०६७ मा क्षेत्रपाटीबाट बरामद करिब ४१ लाख रुपैयाँ बराबरको नक्कली नोटमा समेत उनको संलग्नता अनुसन्धानबाट खुलेको अधिकृतहरु बताउँछन् ।
पाकिस्तानबाट अवैध रुपमा नेपाल भित्रिएको एक हजार दरका भारतीय नोटहरुबारे अनुसन्धान गरिरहेको प्रहरीले कारागारमा छँदा चिनजान भएका लागूऔषध मुद्दाका दिनेश आलेलाई अन्सारीले प्रयोग गरेको फेला पारेको थियो ।
बयानमा उनले आफ्नो नाममा खरिद भएको सीमा कार्ड समेत अन्सारीले प्रयोग गरेको उनले खुलाएका थिए ।

अदालतको फैसलामा उल्लेख भएको विवरण अनुसार, पाकिस्तानी नागरिक मसुदले प्रयोग गरेको मोबाइलबाट आले र युनुसले प्रयोग गरेको मोबाइलबीचमा पटकपटक कुराकानी भएको देखिएको थियो । यद्यपि, अन्सारीले इन्कारी बयान दिएका थिए ।
अन्सारी पक्राउ गरेर थुनामा गएपछि नेसनल टिभी नै बन्द हुन पुग्यो । टिभीमा काम गरेका एक जना पत्रकार भन्छन्, ‘त्यसबेला तलब समेत भुक्तानी नभएपछि पत्रकार महासंघले कार्यालयमा भएर आन्दोलन नै गर्नुपरेको थियो ।’
प्रहरीको दाबीमा, उनी आन्तरिक रुपमा जाली नोटको कारोबार गर्थे भने बाह्य आवरणमा सञ्चार उद्योमीका रुपमा आफूलाई प्रस्तुत गराउन चाहन्थे । त्यही कारण उनले नेसनल टिभी सञ्चालन गर्नुअघि एभिन्यूज टेलिभिजनमा जोडिएका थिए ।
तर, आन्तरिक मतभेदका कारण आफ्नो शेयर विक्री गरेर नेसनल टिभीमा लगानी गरेका थिए । सरकारी वकिलको उपस्थितिमा प्रहरीलाई दिएको बयानमा युनुसले टिभीमा लगानी गरेको रकम ‘बुबाले सीताराम प्रसाईंसँग कर्जा वापत लिएर आफूलाई दिलाएको’ भनेका छन् ।
युनुस पूर्वमन्त्री एवं बाराका एमाले नेता सलिम अन्सारीका छोरा हुन् । उनको अहिले मृत्यु भइसकेको छ ।
पहिले एउटा आयोगलाई दिएको बयानमा भने अन्सारीले एभिन्यूजको शेयर ७ करोड रुपैयाँमा प्रसाईंलाई विक्री गरेर नेसनल च्यानल सुरु गरेको बताएका थिए ।
अदालतमा दायर अभियोग पत्रमा सोही लगानीमाथि प्रश्न उठाइएको छ, ‘अन्सारी सञ्चालक रहेको नेसनल टेलिभिजन प्रा.लि. भएको लगानी तथा कारोबारहरु अन्सारीले खोटा चलन समेतका कसूरहरुमा निरन्तर रुपमा संलग्न रहेर आर्जित सम्पत्तिलाई उक्त कम्पनीमा लगानीको रुपमा रुपान्तरण गरेर सम्पत्ति शुद्धीकरण गरेको देखिन आयो ।’
श्रीमतीको बैंक खातामा जम्मा रकममाथि पनि प्रश्न
उनको श्रीमती सालमा खातुनको नाममा रहेको सानिमा बैंकको खातामा समेत सन् २०१८ देखि २०२५ सम्ममा १८ करोड ६ लाख ११ हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, खातुनको कारोबारमध्ये अरविन्द साह, गौरी शंकर र वाल्मिकी शाह समेतले अन्सारीको नाममा पर्सामा रहेको जग्गा खरिद वापत १ करोड २५ लाख रुपैयाँ भक्तानी गरेवाहेकको रकमको स्रोत खुल्दैन ।
‘त्यो बाहेक उक्त खातामा जम्मा भएका रकमको प्रयोजन तथा स्रोत अन्सारीले खुलाउन नसकेको र त्यसअवधिमा वैध आय समेत नदेखिँदा उल्लेखित रकमहरु अवैध भारतीय नोटको कारोबारबाट आर्जित रकम भएको देखिन आयो’, प्रहरीले भनेको छ ।

उनको खातामा रहेको रकम जफत गर्ने प्रयोजनका लागि खातुनलाई समेत मुद्दामा प्रतिवादी बनाइएको छ । सम्पत्ति जफत प्रयोजनका लागि नेसनल टेलिभिजन प्रालिलाई समेत प्रतिवेदन बनाइएको छ ।
प्रहरीले अन्सारीको नाममा ग्लोबल आईएमई बैंकको खातामा रकमान्तर गरिएको २० लाख ९५ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको ३ करोड ९ लाख ४७ हजार ५ सय रुपैयाँमाथि पनि प्रश्न उठाएको छ ।
अभियोग पत्रमा ‘अन्सारीले मिडिया लगानीकर्ताको आवरणमा अवैध रुपमा भारतीय जाली नोट कारोबारमा संलग्न रहँदा कसुरहरुबाट प्राप्त गैरकानूनी आर्जनबाट चोकट महतोको नाममा जग्गा समेत खरिद गरेको देखिने’ भनिएको छ ।
पछि त्यो जग्गा सीताराम प्रसाईंको नाममा नामसारी भए पनि अन्सारी र उनको परिवार बसी आएको १४ साउन २०७६ को प्रहरी प्रतिवेदनमा समेत उल्लेख रहेको भनिएको छ ।
जेलमै असुरक्षित
प्रहरीको प्रतिआतंकवाद मामलामा अनुसन्धान गर्ने निकाय विशेष ब्यूरोका एक अधिकारीका अनुसार, जमिम शाह कमजोर हुँदै आएका बेला अन्डरवर्ल्ड डन दाउद इब्राहिमले उनको उत्तराधिकारीका रुपमा युनुसलाई विकास गराउँदै लगेका थिए ।
खासगरी १६ भदौ २०६१ मा इराकमा १२ नेपालीको वीभत्स हत्या भएपछि भड्किएको दंगामा कार्यालयमा आक्रमण भएपछि जमिमले सञ्चालन गर्दै आएको स्पेसटाइम दैनिक पत्रिका बन्द भएको थियो । त्यसपछि उनको व्यवसाय समेत आरालो लाग्दै गएको थियो, उनी विवादको घेरामा पर्न थालेका थिए ।
त्यसपछि दाउदको समूहले युनुसमाथि विश्वास गर्न थालेको अधिकृतहरु बताउँछन् । पछि जमिम शाह नेपाल प्रहरीकै केही अधिकारीहरू समेतको संलग्नतामा २४ माघ २०६६ मा लाजिम्पाटमा मारिए ।
शाह मारिएपछि भारतीय अखबार दैनिक जागरणले ‘जमिमको मृत्युबाट भारतीय सुरक्षा एजेन्सीहरूले राहतको सास लिएको’ समाचार छापेको थियो ।
भारतीय सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले समेत ‘जमिमको सम्बन्ध दाउद इब्राहिमको भूमिगत गिरोहसँग भएको र यसबारे नेपाल सरकारलाई सन् २००४ मै जानकारी गराइसकेको’ उल्लेख गरेको थियो ।
जमिम शाह हत्याबारे अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनमा उनले सुरुमा दाउदका लागि काम गर्ने गरेको भनिए पनि बीचमा निष्क्रिय रहेको भनिएको छ । त्यसपछि डी–कम्पनीले प्रभाव विस्तारका लागि युनुस अन्सारीलाई रोजेको त्यो प्रतिवेदनमा समेत उल्लेख छ ।
प्रहरी स्रोतका अनुसार, यसबारे थाहा पाएका भारतीय अधिकृतहरुले कुनै पनि हातमा युनुसलाई बाटोबाट हटाउन चाहन्थे । यस्तोमा अन्सारीमाथि केन्द्रीय कारागारको सार्वजनिक भेटघाट कक्षमै २६ फागुन २०६७ मा गोली प्रहार भएको थियो । तर, संयोगले उनी बाँचेका थिए ।
केन्द्रीय कारागारभित्र भएको गोली प्रहारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा समेत घटनामा काठमाडौंस्थित भारतीय दूतावास एक अधिकारीको शंकास्पद भूमिका रहेको उल्लेख छ ।
२०७० असोजमा उनी थुनामुक्त भए, तर सुरक्षा चुनौतिका बीच चार महिनापछि फेरि पक्राउ परे । २०७४ चैतसम्म कैद भुक्तान गरेर छुटेका उनी १० जेठ २०७६ मा रहस्यमय पृष्ठभूमिका बीच समातिएका थिए ।

विमानस्थलमा ७ करोड बराबरको नक्कली नोट लिन उनी आफैं गएका बेला पक्राउ परेका थिए, यो घटनालाई सुरक्षा मामिलाका जानकारहरुले अपत्यारिलो भनेका थिए । दाउद इब्राहिमसँग समेत सम्बन्ध देखिएका भनिएका उनले बाहिर सुरक्षा चुनौति देखिएपछि पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने शंका गरिएको थियो ।
विमानस्थलबाट समातिएपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दा उनी मुस्कुराइरहेका थिए । अरु अभियुक्त जस्तो गिरफ्तार हुँदा उनको मुहारमा कुनै ग्लानीको भाव थिएन । बरु पक्राउ परेकी महिला भने आफूलाई केही थाहा नभएको बताइरहेकी थिइन् ।
माक्स समेत नलगाई ढाका टोपीमा सजिएर पत्रकार सम्मेलनमा उपस्थित भएका अन्सारीले आफूले माक्स लगाउनु आवश्यकै नभएको बताएका थिए ।
गएको ९ जेठमा उनी ६ वर्ष कैद सजाय पूरा गरेर छुटेका थिए । तर, छुटेलगत्तै प्रहरीको सीआईबीले उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरेको थियो । छुटेलगत्तै पुनः पक्राउ परेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन समेत दिएका थिए ।
अदालतले .मागेजस्तो आदेश त दिएन, तर चाँडै अनुसन्धान सकेर प्रतिवेदन बुझाउन आदेश गर्यो । त्यसअनुसार, गएको शुक्रबार अदालतमा मुद्दा दायर भएको थियो । त्यसमाथि थुनछेक बहस सोमबार जारी छ ।
यो पनि सुन्नुस्
प्रतिक्रिया 4