+
+
Shares

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसँग वार्ता : पूर्वराष्ट्रपतिले जीवन कसरी बिताउनुहुन्छ, उहाँकै कुरा

बिमस्टेकमा मोदीसँग धेरै कुरामा सहमति भएको छ

विद्या भण्डारीबारे एमालेमा विषय नै बनेको छैन, मिडियामा बनेको विषय हो । अब पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय रूपमा आउनुहुन्छ, आउनुहुन्न, उहाँको कुरा हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच धेरै कुराहरूमा सहमति भएको छ।
  • भारत र नेपालको बीचको सम्बन्ध राम्रो छ।
  • विद्या भण्डारी राजनीतिमा आउने कुरा मिडियामा मात्रै भएको बहस हो।

स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । स्पेन भ्रमणको उपलब्धि, लगानीकर्तासँगको छलफल, भारत भ्रमणमा देखिएको सकस र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँगको अनलाइनखबरका युरोप संवाददाता वसन्त रानाभाटले गरेको संक्षिप्त कुराकानीः

प्रधानमन्त्रीको यो भ्रमणको क्रममा नेपालको सन्दर्भमा के कस्ता विषयहरू उठे, कति उपलब्धिपूर्ण रह्यो भ्रमण ?

यो १० वर्षमा एकचोटी हुने सम्मेलन हो । यो सन् २०३० मा दिगो विकास लक्ष्य पूरा गर्नेसँग सम्बन्धित पनि छ। दिगो लक्ष्य पूरा गर्न अब ५ वर्ष बाँकी छ । यस अवधिमा हामीले आफ्नो लक्ष्य पूरा गर्नलाई विश्वभरिका मुलुकहरूले के गरे र त्यसमा खाल्डो के पर्‍यो भन्ने विमर्श गर्ने पनि कुरा थियो।

हामीले हेर्दाखेरि प्रतिवर्ष ४ ट्रिलियन अमेरिकी डलरको वित्तीय खाडल रहेको निष्कर्ष निक्लियो। त्यसको पूर्तिको लागि विकासशील देशहरूले खासगरी त्यहाँ आफ्नो जीडीपीको ०.७ प्रतिशत विकसित मुलुकहरूले खर्च गर्न पाउनुपर्छ, खर्च गर्नुपर्छ भन्ने दाबी विकासशील र अल्पविकसित मुलुकहरूको रहेको थियो। नेपाल अल्पविकसित मुलुकहरूको समूहको अध्यक्ष भएको नाताले त्यही नै विषयलाई बढी प्रधानमन्त्रीले यो सम्मेलनमा पनि प्रतिविम्बित गर्नुभयो।

त्यसमा पनि थप, आउटकम डकुमेन्ट अथवा सेभिया प्रतिबद्धता भन्ने चलन छ। यो सम्मेलनमा प्रस्तुत भएको सहमति प्रतिबद्धताको दस्तावेजको चारवटा सहजकर्तामध्ये एउटा नेपाल हो र नेपालको भूमिका त्यहाँ नेतृत्वदायी रहेको छ। त्यसैले सम्मेलनमा नेपालको अलि बढी प्रशंसा र नेपाल बढी चिनिने, देखिने काम यसले पनि भएको छ।

यी जम्मै हिसाबले प्रधानमन्त्रीले सेभियामा विकासको लागि वित्त भन्ने विषयमा भएको यो चौथो अन्तर्राष्ट्रिय सम्मेलनका विभिन्न ठाउँमा सहभागिता जनाउनुभयो। सातवटा अवसरमा त उहाँले सेभियामा नै मन्तव्य दिनुभयो ।

एउटा बहुपक्षीय साझेदारहरू संलग्न रहेकाे मञ्च, मल्टी स्टेकहोल्डर फोरम जहाँ विश्वभरीका सहभागीहरू ठूलो संख्यामा थिए । त्यसको त सहअध्यक्षता नै हाम्रो प्रधानमन्त्रीले गर्नुभयो। अझ स्पेनको प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको एउटा राउन्ड टेबलमा हाम्रो प्रधानमन्त्रीले प्यानलमा बसेर छलफल गर्नुभयो।

खानेपानीसँग सम्बन्धित अधिकारको बारेमा पहलकदमीमा नेपाल र बुरुन्डीको अनुभव एकदम राम्रो रह्यो । त्यसमा पनि हामी सहभागी भयौं र प्रधानमन्त्रीले मन्तव्य दिनुभयो। यो हिसाबले हाम्रो सहभागिता नेपालको अनुभव सेयरिङ गर्‍यौं । नेपालले उठाउनुपर्ने अल्पविकसित मुलुकहरूको एजेन्डाहरू उठायौं र त्यो सबैले बुझ्ने भाषामा भन्यौै । यी जम्मै कामहरू हाम्रो तर्फबाट भयो र प्रधानमन्त्रीले त्यसको नेतृत्व गर्नुभयो।

स्पेनका समकक्षी प्रधानमन्त्री पेद्रो सान्चेज, संयुक्त राष्ट्रसंघका महासचिव र अरु राष्ट्र अध्यक्षहरूसँग पनि उहाँ भेटवार्ता भयो। कूटनीतिक रूपमा यी भेटवार्ताबाट के-के विषयमा नेपालले फाइदा लिन सक्छ ?

मूल रूपमा दुई पक्षीय भेटवार्ता भएको ठाउँमा खासगरी दुई देशको बीचको अनुभव आदानप्रदानको अतिरिक्त एकले अर्कालाई खासगरी व्यापार, वित्त र विकासमा कसरी साझेदारी र सहयोग गर्न सक्छौं भन्ने नै विषय भयो।

हाम्रो स्पेनसित ठूलो व्यापार छैन तर पहिलोको तुलनामा बढ्दै छ। हामी स्पेनबाट धेरै आयात गरिरहेका छौं। नेपालको निर्यात पनि केही बढिरहेको छ। यहाँबाट विकासका खासगरी निर्माणका सामग्रीहरू, पाइपलाइनको कुरा आउन सक्लान् । एयरलाइन्सको कुरा पनि हुन सक्छ। यस्ता धेरै विषयहरू उहाँहरूले उठाउनुभएको छ।

एउटा प्रसंग जोडिहालौं, हिजो मात्रै यहाँका प्रतिष्ठित व्यवसायीसित पनि प्रधानमन्त्रीको छलफल भयो र उहाँहरू नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ । प्रधानमन्त्रीले लगानीको लागि दुवै हात फिँजाएर हामी तपाईंहरूलाई स्वागत गर्छौं भन्नुभएको छ।

लगानी गर्न हामीले दुई-तीनवटा कुराको ग्यारेन्टी गरेका छौं । पहिलो, नेपाल लगानीको लागि एकदम महत्वपूर्ण ठाउँ हो। पाँच-सातवटा क्षेत्रमा आरामसँग कुनै पनि व्यवसायीले लगानी गर्न सक्छ ।

दोस्रो, लगानी गर्दा उहाँहरूको लगानी संरक्षण गरिदिने र भएको नाफालाई उचित तरिकाले आफ्नो देशमा ल्याउन पाउने वातावरण हामीले बनाएका छौं भन्यौं ।

अहिले कानुनी प्रावधानहरू, व्यवधानहरू पनि हटेका छन् र एउटा नयाँ वातावरण बनेको छ । यो कुरा हामीले स्पेनमा पनि भन्यौं र यही नै विषय हामीले इजिप्टको प्रधानमन्त्रीसँग कुरा गर्दा राख्यौं। यही नै विषय हामीले अरु देशका राष्ट्र अध्यक्ष र सरकार प्रमुखसित बस्दाखेरि राखेका छौं।

जस्तो हामीले इस्टोनियाको राष्ट्रपतिलाई भेट्यौं, त्यसपछि अर्मेनियाको राष्ट्रपतिसित पनि बाटोमा भेट भएको थियो, उहाँसित पनि यिनै कुरा रहेका थिए। धेरै देशका राष्ट्र प्रमुख, सरकार प्रमुखले हाम्रो प्रधानमन्त्रीलाई भेट्दा उहाँहरूले सद्भाव व्यक्त गर्नुभएको छ र जोसित हामीले समय लिएर अथवा उहाँहरूले समय मागेर हामीले दुई पक्षीय वार्ता गर्‍यौं ।

स्पेनमा २० हजार बढी वायु ऊर्जाका टर्बाइन छन् । प्रधानमन्त्री सेभिया जाँदा र मड्रिड फर्किँदा रेलका झ्यालबाट देखिने टर्बाइनहरू देख्नुभयो । यसबाट प्रधानमन्त्रीले आफूले बोलेका कुराहरूलाई स्मरण गर्नुभयो ?

सन् २०१६ मा जब पहिलोचोटि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिखेरको ऊर्जा संकटको सन्दर्भ, खासगरी लोडसेडिङ र नाकाबन्दीलाई सम्बोधन गर्दै ऊर्जाका विभिन्न स्रोतहरू उल्लेख गर्दा उहाँले त्यो व्याख्या गर्नुभएको हो । खासगरी सजिलो जनबोलीको भाषामा भन्दा पानीबाट मात्र होइन, हावा र पानीबाट पनि बिजुली निक्लिन्छ भन्नुभएको हो। बायोग्यासबाट पनि बिजुली निक्लिन्छ।

त्यो त्यतिबेला उखान टुक्का भनेर ट्रोल भयो नि हैन?

हो, यो ट्रोल बनाइयो किनभने यस्तो कुरामा ट्रोल बन्छ, त्यसमा हामी काम गर्ने मान्छेहरू आत्तिनु हुँदैन।

यसमा म यति मात्र जोड्न चाहन्छु कि सम्भावनाका यी जम्मै पक्षहरू छन्। नेपालमा सबभन्दा धेरै चाँडै गर्न सक्ने के-के छन्, त्यो नै हामीले गर्न खोजेका थियौं। अहिले त हामी ग्रीन हाइड्रोजनको समेत कुरा गर्ने तहमा पुग्यौं नि !

तपाईंले भन्नुभएको लगानी सम्मेलनमा ग्रीन हाइड्रोजन र वायु ऊर्जा क्षेत्रका प्रतिनिधि पनि हुनुहुन्थ्यो होला कम्तीमा त्यो बहसबाट केही अपेक्षा गर्न सकिन्छ?

त्यसमा लगानी हाम्रो दुइटा पाटोबाट हुन्छ। एउटा सिधै लगानीकर्ताहरू एउटा ढंगले जानुहुन्छ। अर्को एउटा अंक तोकिएको छ, त्योभन्दा बढी लगानी गर्नेहरू लगानी बोर्डमार्फत जानुहुन्छ, त्यसमा हामी सहजीकरण गर्दिन्छौं।

नेपालको सन्दर्भमा हामी सहजीकरणको तहमा छौं। जस्तो ऊर्जाको सवालमा पहिला हामीले हाइड्रोमा बढी जोड दियौं र अहिले हामी हाइड्रोको पनि सबस्टेसनहरू र ग्रिड लाइनमा बढी फोकस गरिरहेका छौं । यो जम्मै नभइकन त हावाबाट निकाले पनि, घामबाट निकाले पनि, बायोग्यासबाट निकाले पनि बिजुली त जाँदैन नि उत्पादन गरेर। त्यो चरण पनि छ।

त्यतिखेर, जतिखेर २०१६ मा उहाँले भन्दै हुनुहुन्थ्यो, आवश्यकताभन्दा धेरै कम हामीले जलविद्युत उत्पादन गरिरहेका थियौं। त्यतिखेर जुन चाँडो हुन्छ त्यो गर्नुपर्छ भनेर हामीले छिटोभन्दा छिटो गर्नको लागि ३० मेगावाटको सौर्य ऊर्जाको तय गर्‍यौं जुन अहिले नुवाकोटमा छ। मेरै आफ्नै गाउँबाट त्यो सौर्य ऊर्जा उत्पादन भइरहेको छ ।

सरकारी तहबाट भएको त्यो नै पहिलो र ठूलो थियो। अब अहिले जलविद्युतमा हामीले अलिकति तरक्की गरेका छौं, तर पर्याप्त छैन । सँगसँगै अरु पनि सँगै लैजान सक्ने विकल्पहरू छन्। अब मान्छेले हावाबाट बिजुली निक्लिन्छ भन्ने कुरो नपत्याउनुपर्ने कारण छैन । घामबाट बिजुली निक्लिन्छ भन्ने कुरा नपत्याउनुपर्ने कारण छैन । त्यो हिजो बुझाउन खोज्दाखेरि टुक्का भनियो, ट्रोल हानियो। अब यतिखेर गर्न सकिने सम्भावना छ र हामी सबैलाई जसको जेमा विज्ञता छ, प्रविधि लिएर आउनुस्, हामी उपयुक्त वातावरण बनाउँछौं भनिरहेका छौं । प्रधानमन्त्रीले त्यही नै भन्नुभएको छ।

प्रधानमन्त्रीको कार्यकाल यो असार मसान्तमा एक वर्ष लगभग पूरा हुँदैछ। अझै पनि भारत भ्रमणको सकसलाई लिएर समाचारहरू देखिन्छन्। साँच्चिकै भारत भ्रमण गर्नलाई किन ढिला भइरहेको छ?

भ्रमण भनेको आवश्यकताले हुने हो। कुन देशमा जाने, कुन देश नजाने भन्ने कुरो फर्मुला हुँदैन नि ! जस्तो हामी स्पेनमा त धेरै पछि आयौं नि। किन स्पेन भ्रमण गरेन नभनेको त ? सन् १९८३ मा राजा वीरेन्द्रले भ्रमण गरेका थिए।

तैपनि प्रधानमन्त्री मोदीसँग सम्बन्ध चिसिएको भनेर कुटनीतिक वृत्तमा चर्चा हुने गरेको छ ?

हैन, त्यो चिसिएकै छैन, त्यो त तातिसक्यो । किनभने प्रधानमन्त्री र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बीचमा त बिमस्टेक सम्मेलनमा एक्लाएक्लै नै वार्ता भयो। उहाँहरूको बीचमा धेरै कुराहरूमा सहमति भएको छ । भारत र नेपालको बीचको सम्बन्ध राम्रो छ। अरु देशसित जे छ, त्यही छ भारतसित पनि। यसमा चिसिएको भनेर अर्थ लगाउनु त गलत कुरा हो।

पछिल्लो समय एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने चर्चा बाक्लिएका छन् । स्पेनमै नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो कुरालाई सम्बोधन गर्ने कोसिस गरिरहनुभएको थियो। उहाँको विकल्पको रूपमा भण्डारीको आगमन हुन लागेको हो ?

यो एमालेमा विषय नै बनेको छैन, मिडियामा बनेको विषय हो । अब पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय रूपमा आउनुहुन्छ, आउनुहुन्न, उहाँको कुरा हो।

त्यसलाई हृदयदेखि नै स्वागत छ कि केही टिप्पणी छ?

यो त बहसको विषय नै भएन नि ! यो के बहसको विषय भयो र ? पूर्व राष्ट्रपति कसरी आफ्नो अगाडिको जीवन बिताउन चाहनुहुन्छ, उहाँको कुरा भयो ।

तर, नेतृत्वमा नै गर्ने हिसाबले आउनुभएको त सत्य हो नि ?

त्यो जम्मै हुनलाई त पार्टीमा छलफल हुनुपरेन र ? पार्टीमा त केही पनि छलफल भएको छैन अहिलेसम्म । मिडियामा मात्रै छलफल भएको छ। मिडियाको छलफलको आधारमा मैले प्रतिक्रिया व्यक्त गर्न थालें भने त कच्चा भएन र ?

त्यो त प्रधानमन्त्रीले पनि अहिलेसम्म विद्यादेवी भण्डारी मौन नै हुनुहुन्छ भनेर भन्नुभएको छ ?

हो, त्यो प्रधानमन्त्रीले भनिसक्नुभएको कुरा मैले नै किन दोहोर्‍याउनुपर्‍यो र ? त्यो तपाईंलाई मभन्दा माथि (पार्टी अध्यक्ष) बाटै जवाफ पाइसक्नुभएको छ। त्यसकारणले मिडियाले जे बहसको विषय बनायो, त्यसलाई हामीले प्रतिक्रिया दिइरहनुपर्ने जरुरी नै भएन नि। हामीले त आफ्नो कुरा गर्ने हो । तपाईंले एमालेको कुरा सोध्नुभयो भने एमालेमा त केही पनि छलफल भएको छैन। एमालेको विषय नै बनेको छैन। जबसम्म एमालेमा विषय बन्दैन, एमालेको नेता कार्यकर्ताले बोल्ने विषय त भएन नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?