+
+
Shares

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

विद्याले शनिबार गरेको घोषणा ओलीकै विकल्पमा मैदानमा उत्रिएको रुपमा लिनुपर्ने एमालेकै शीर्ष नेताहरू बताउँछन् । ‘पार्टीको ओरालो यात्रा रोक्न पनि उहाँ (विद्यादेवी भण्डारी) विकल्प बनेर उभिनुभयो, यो चानचुने सन्देश होइन,’ एक पदाधिकारीले सुनाए ।

सइन्द्र राई सइन्द्र राई
२०८२ असार १४ गते २२:१६

१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’ यस्तो घोषणालाई समर्थकहरूले ताली बजाएर स्वागत गरेका छन् ।

तत्कालीन महासचिव एवं पति मदन भण्डारी सम्झिएर पटकपटक भावुक बनेकी विद्या भण्डारीको यो सम्बोधनलाई समर्थकहरूले ध्यानपूर्वक सुनेका थिए ।

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ।

‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वकांक्षा छैन’, उनले संकल्प गरिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’

मन्तव्यको अन्त्यतिर भण्डारीले यी हरफ प्रस्तुत गर्दा सभा गृह फेरि अर्कोपटक तालीले गुञ्जिएको थियो । र उक्त हलबाट यो तहको समर्थन पाउनु स्वभाविक पनि थियो । किनकि पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा आजै त्यही हलबाट हुने जानकारी सार्वजनिक भइसकेको थियो ।

यद्यपि एमाले पंक्ति र राष्ट्रिय राजनीतिमा संशय थियो । संशयको मुख्य कारण एमालेभित्रको शक्ति–समीकरण थियो । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू एमालेमा नरहेकाले केपी ओली निर्विकल्प भन्ने भाष्य स्थापित गराइएको थियो । ओली आफैंले पनि अझै २०–२५ वर्ष नेतृत्व नछोड्ने सार्वजनिक घोषणा गरेका थिए ।

नेताहरूले निर्धक्क एमालेभित्र ओली चुनौतीहीन रहेको दावी गर्थे । विकल्प खोज्न जरूरी नरहेको भनेर पार्टीकै विधान ओलीको अनुकुल व्याख्या गर्ने र संशोधन गरिन थालेको थियो ।

२०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट ओलीलाई अध्यक्ष दोहोर्‍याउन पार्टी विधानको धारा–६४ (ख) को व्याख्या गरिएको थियो । त्यही वर्ष फागुनमा ओली ७० वर्ष पुरा हुने भएकाले विधानमा ‘७० वर्ष नकटेको’ भन्ने व्याख्या गरिएको थियो ।

अहिले पनि ओलीलाई निरन्तरता दिन लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाइने विधानको व्यवस्था सुटुक्कै हटाइएको खुलेको छ । ११ असारको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टी विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई एमालेमा आउन रोक्नुपर्ने प्रस्ताव नै लगेका थिए ।

यस्तो पृष्ठभूमिमा पूर्वराष्ट्रपति भण्डारीको घोषणा रोकिन सक्ने कयौं नेताहरूको अनुमान थियो । राष्ट्रिय सभा गृह पुगेका कतिपय नेताहरूमा ओली र विद्या भण्डारी मिलेरै अगाडि बढ्ने विश्वास देखिन्थ्यो । विद्या भण्डारी उकासेर एमालेलाई कमजोर पार्ने खेल भइरहेको उनीहरूको बुझाइ थियो ।

तर एमालेका संस्थापक समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकै साथ लिएर विद्या भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरिन् । ‘दुईपटक एमालेको उपाध्यक्ष र पूर्व राष्ट्रपतिको हैसियत बनाइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउँछु भन्नुको सन्देश प्रष्ट छ’, एक पदाधिकारी भन्छन्, ‘अब उहाँ एमालेको अध्यक्ष हुने हो, औपचारिक यात्रा आजबाट सुरु भयो ।’

ती पदाधिकारी ओलीको विकल्प आजबाट मैदानमा उत्रिएको बताउँछन् । ‘एमालेको ओरालो यात्रा रोक्न पनि आजबाट विद्यादेवी भण्डारी केपी ओलीको विकल्प बनेर उभिनुभयो, यो चानचुने सन्देश होइन’, उनी भन्छन् ।

पूर्वराष्ट्रपति भण्डारीले पनि आफ्नो लामो राजनीतिक यात्रा उल्लेख गरेर अब एमालेकै नेतृत्व गर्ने प्रष्ट सन्देश दिएकी छन् ।

‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढाबले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्क समेत बनाएका छन्’ उनले भनेकी छन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ ।’ अर्थात् आफ्नो मन्तव्य मार्फत् भण्डारीले साथ–सहयोगको अपिल गरेका छन् ।

र, राष्ट्रिय गृहको कार्यक्रम हेर्दा ईश्वर पोखरेलले यो अभियानको नेतृत्व गर्ने प्रष्ट संकेत मिल्छ । विद्या भण्डारी भन्दा पहिले बोलेका पोखरेलले पूर्वराष्ट्रपति पनि राजनीतिक पद भएको तर्क गरेका थिए । ‘पूर्वराष्ट्रपति पनि राजनीतिक मान्छे हो । यसमा रुचि राख्नु उहाँको धर्म हो । न्यारो ढंगले सोच्नु हुँदैन’, पोखरेलले भनेका थिए ।

स्पेन भ्रमणमा निस्कने हतारो देखाउँदै सवैभन्दा पहिले बोलेका प्रधानमन्त्री ओलीकै दावीहरू खण्डन गरेर पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी नेतृत्व परिवर्तनको अभियान आफूले चलाउने प्रष्ट संकेत दिए ।

पार्टीभित्रको लोकतान्त्रिकरणले जबज बलियो बन्ने निष्कर्षमा पुग्न वरिष्ठ उपाध्यक्ष पोखरेलले लामै विश्लेषण गरेका थिए । उनको तर्क बमोजिम ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था मानेर ओलीले एमाले अध्यक्ष अब दाबी गर्न हुँदैन ।

जबजको मार्गदर्शनमा पार्टीको लोकतान्त्रिकरण गर्नलाई लामो बहस र छलफल मार्फत् बहुपद, कार्यकालको व्यवस्था र उमेर हदको विधानमा व्यवस्था गरिएको पृष्ठभूमि पोखरेलले प्रस्तुत गरेका थिए । यी सबै कार्यको नेतृत्व सातौं राष्ट्रिय महाधिवेशन पश्चात् ओलीकै नेतृत्वमा भएको पनि पोखरेलले बताए ।

तर माओवादीसँग एकता पछि एमालेको लोकतन्त्र कमजोर बन्दै गएको पोखरेलले विश्लेषण गरे । संभवत: पोखरेलको भाषणमा लामो समयपछि आज धेरै ताली बजेको थियो ।

समर्थकबाट उत्साहित वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि पार्टीभित्रको लोकतान्त्रिकरणबारे सचेत नेता–कार्यकर्ताले प्रश्न उठाउन सक्ने बताए । उनले चुनौती पनि दिए– कसैलाई प्रश्न गर्नबाट रोक्न मिल्दैन ।

वक्ता बनेरै ईश्वर पोखरेलले विद्या भण्डारीको एमाले अध्यक्ष बन्ने अभियान साथ दिदा अरु पदाधिकारी पनि त्यहीँ थिए । उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, सचिवहरू गोकर्ण बिष्ट, र रघुबीर महासेठले दर्शकदीर्घामा थिए । अरु थुप्रै नेता पनि विद्या भण्डारीको एमाले अध्यक्ष बन्ने अभियानका साक्षी बन्न पुगे ।

तर ओलीले भने चर्कै शब्दमा यो अभियानप्रति आपत्ति जनाए । विद्या भण्डारीले एमाले अध्यक्ष बन्ने अभियान चलाइरहेको समाचार लेख्ने आमसञ्चार माध्यमदेखि आफ्नै सहकर्मीहरूप्रति आक्रोश पोखेका थिए ।

‘मदन भण्डारीको ७४औं जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै बम, बन्दुक, बारुद गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’

एमाले अध्यक्ष फेर्ने अभियानप्रति असहमत ओलीले मदन भण्डारी र पार्टी इतिहासबारे लामै चर्चा गरेका थिए । तर ओलीको चर्चाले मदन भण्डारीको सम्मान नभएर उपेक्षा गर्थ्यो । कतिसम्म भने मदन भण्डारीले चार वटी श्रीमती र शहकारी ठगीको आरोप खेप्नु परेको, दुलाबाट निस्के एकैपटक महासचिव बनेको जस्तो प्रशंग ओलीले कार्यक्रममा सम्झिए ।

एमालेले मार्गदर्शक मान्ने जबजको श्रेय पनि मदन भण्डारीलाई दिन ओली तयार थिएनन् । मदन भण्डारीले पाँचौं महाधिवेशनमा प्रस्तुत गरेको जबजको धेरै काम चौथौ महाधिवेशनमै (जुन बेला झलनाथ खनाल महासचिव थिए) भएको ओलीले तर्क गरेका थिए । अगाडि बढेर ओलीले मदन भण्डारीले नमागे पनि आफूहरूले महासचिव बनाइदिएको बताएका छन् ।

अर्थात् पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष बन्ने अभियानको औपचारिक घोषणा गर्नुअघि ओलीले सजिलै नछोड्ने सन्देश दिएका छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?