२ वैशाख, काठमाडौ । प्रतिनिधि सभा निर्वाचमा पार्टीको ठूलो स्केलको पराजयबारे नेकपा एमालेले अहिलेसम्म संस्थागत समीक्षा समेत नथाल्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता भने तीव्र बनेको छ ।
गत २१ फागुनको निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मात्र तीन पटक भेटिसकेकी छन् । गत आइतबार ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी थिइन् । यही अस्पतालमा गत १६ चैतमा पनि ओलीसँग भण्डारीको भेट भएको थियो ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा १४ चैतमा ओली पक्राउ पर्नुअघि पनि भण्डारीले भेटेकी थिइन् । १ चैतमा ओलीलाई भेट्न उनकै निवास गुन्डु पुगेकी थिइन्, भण्डारी ।
यी तीन वटै भेटका प्रशंग भने अलग छन् । पहिलो भेटमा ओली पितृ शोकमा थिए । २७ फागुनमा पिताको निधन भएपछि शोकमा रहेका ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी थिइन् ।
दोस्रो भेट ओलीको गिरफ्तारीसँग जोडिएको छ । गत आइतबार (२९ चैतमा) भएको भेट भने ओलीले पित्तथैलीको शल्यक्रिया गराउने तयारी चलिरहेको सन्दर्भमा भयो । यी तीनवटै भेटमा भण्डारीले ओलीलाई सहानुभूति दिइन् ।
तर तीन वटै भेट सहानुभूति प्रकटमा मात्र सीमित नरहेको नेताहरू बताउँछन् । ‘सहानुभूतिको कुरा त छदैछ, सँगै एमाले संकटबारे पनि कुराकानी हुँदै आएको छ,’ एमाले स्रोत भन्छ ।
स्रोतका अनुसार गत आइतबारको भेटमा त ओली र भण्डारीबीच निर्वाचनको पराजय, राष्ट्रिय राजनीति र निकासबारे लामै छलफल भयो । ‘उहाँहरुबीच साढे दुई घण्टा जति कुराकानी भयो । पूर्वराष्ट्रपतिज्यूले एमालेको संकटबारे चासो राख्नुभएको थियो,’ स्रोत भन्छ ।
भण्डारी निकट एक नेताका अनुसार यथास्थितिबाट एमालेको संकट हल नहुने भएकाले पार्टी पुनर्गठनको प्रस्ताव त्यो भेटमा राखिएको छ । ‘केपी ओलीको नेतृत्वमा एमाले अब पुनजागृत हुन सक्दैन । पुनर्गठन नै अहिलेको विकल्प हो,’ उनी भन्छन्, ‘यही कुरा केपी ओलीसँग राख्नुभयो ।’
भण्डारीको प्रस्तावमा ओली सकारात्मक नदेखिएको उनी बताउँछन् । ‘नेतृत्व छोड्ने कुनै संकेत गर्नुभएन,’ उनी भन्छन्, ‘बाह्य कारणले चुनाव हारेको भनेर उल्टै पढाउने गर्नुभयो ।’
ओलीलाई तीनपटक भेटेर पार्टी पुनर्गठनको प्रस्ताव राखिसकेकी पूर्वराष्ट्रपति भण्डारीले एमालेका नेताहरुसँगको भेटलाई पनि सघन बनाएका छन् । ‘उहाँको पृष्ठभूमि सवैलाई थाहै छ, भेट्न आउनेहरुलाई भेट्ने कुरा नयाँ भएन,’ भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने, ‘भेट्न आउनेहरुसँग भेटघाट भइरहेकै छ ।’
राईले भनेजस्तो भेट्न आउने एमालेहरुसँग मात्र नभएर पूर्वराष्ट्रपति भण्डारी आफैले बोलाएर पनि शीर्ष नेताहरुसँग भेटवार्ता भएको खुलेको छ । ‘शीर्ष तहकै नेताहरुसँग पूर्वराष्ट्रपतिको सम्वाद भइरहेको छ,’ स्रोतले भन्यो, ‘पदाधिकारीहरुसँग सामुहिक भेटवार्ता पनि भइसकेको छ ।’

ती स्रोतका अनुसार चैत दोस्रो साता एमालेका पदाधिकारीहरुलाई पूर्वराष्ट्रपति भण्डारीले आफ्नै निवास बोलाएकी थिइन् । उक्त छलफलमा केही पदाधिकारी मात्र अनुपस्थित थिए । ‘रघुबीर महासेठ, लेखराज भट्ट, हिक्मत कार्की, महेश बस्नेत र खगराज अधिकारी बाहेक सबै त्यो छलफलमा हुनुहुन्थ्यो,’ स्रोत भन्छ ।
यो छलफलमा सहभागी लगभग सबै नेता पार्टी पुनर्गठनको निष्कर्षमा सहमत छन् । ‘ओलीलाई साथ दिदै आएका नेताहरू विष्णु पौडेल, शंकर पोखरेलहरु नै नेतृत्व पुनर्गठनमा सहमत हुनुहुन्छ,’ स्रोत भन्छ ।
आफूलाई हटाउने छलफल चलेको थाहा पाएका ओलीले अस्पतालबाटै उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत मार्फत एमालेका गतिविधि अगाडि बढाएका थिए । यद्यपि ओलीको चाहना बमोजिम एमालेको निर्णय र गतिविधिहरू हुन सकेको देखिदैन ।

तर पूर्वराष्ट्रपति भण्डारीले भने पार्टी पुनर्गठनको छलफल पार्टीबाहिरकै वृत्तसम्म लगिसकेका छन् । गत शुक्रबार केही सम्पादकहरुसँगै भेटवार्ता गरेकी थिइन् । शिव गाउँले, जिवराम भण्डारी, देवप्रकाश त्रिपाठी, युवराज घिमिरे र तीर्थ कोइरालासँग पूर्वराष्ट्रपति भण्डारीले निकै लामो छलफल गरेकी थिइन् ।
एमालेभित्र आफूलाई साथ दिदै आएका नेताहरूसँग निरन्तर सम्वाद गरिरहेकी छन् । ‘एमालेको संकट समाधान गर्न विद्या कमरेड नेतृत्वमा आउनुपर्छ भन्ने अभियानमा रहेका हामीहरुले त लगातार भेटिरहेकै छौ,’ एक नेताले भने ।
गत मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाटै भण्डारी एमालेका अध्यक्ष बन्ने योजनामा थिइन् । त्यसअनुसार गत वर्ष १४ असारमा मदन भण्डारी जयन्तीको अवसर पारेर भण्डारीले एमालेका पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् ।
तर ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय केन्द्रीय कमिटीबाटै गराए । पार्टी सदस्यता नै नपाएपछि भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन पाइनन् । पार्टी विधान संशोधन गरेर ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भए ।
भण्डारीको साथ पाएका ईश्वर पोखरेलले एमाले अध्यक्षमा प्रतिस्पर्धा गरे पनि जित्न सकेनन् । पोखरेललाई एमालेका तत्कालीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरुले साथ दिएका थिए । तर यो समूहबाट गोकर्ण बिष्टले उपाध्यक्ष र योगेश भट्टराईले उपमहासचिव जित्न बाहेक अरु कसैले पनि जितेनन् ।
एकप्रकारले एमालेमा ओलीको कब्जा कायमै रह्यो । तर गत २१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिक १८ गरी २५ सिटको पार्टीमा एमाले खुम्चियो । यो सर्मनाक पराजयबारे एमालेले संस्थागत समीक्षा गर्न सकेको छैन ।
‘बादलको अध्यक्षतामा केही बैठक बसेपनि समीक्षा गरिएको छैन,’ एक पदाधिकारी भन्छन्, ‘सर्मनाक पराजय बेहोर्नु परेकाले समीक्षा तितो हुनेछ । शोकमा रहेका अध्यक्षसँग तितो समीक्षा गर्ने कुरो भएन ।’
१३ दिने शोक सकिनाथ ओली गिरफ्तार भए र अहिले शल्यक्रियाका क्रममा अस्पतालमा छन् । यसरी ओलीको व्यक्तिगत कारणले एमाले अर्को अलमलमा परिरहँदा पूर्वराष्ट्रपति भण्डारीले पार्टी पुनर्गठनको पहलकदमी निकै अगाडि बढाइसकेकी छन् ।
प्रतिक्रिया 4