+
+
Shares

बीपी राजमार्ग अवरुद्ध हुँदा भरतलालले एम्बुलेन्समै गुमाए ज्यान

कपिल कोइराला कपिल कोइराला
२०८२ असार १६ गते २२:२९

१६ असार, काभ्रेपलाञ्चोक । सोमबार दिउँसो बीपी राजमार्गमा भएको अवरोधका कारण एम्बुलेन्समा काठमाडौं आउँदै गरेका एक बिरामीको बाटोमै मृत्यु भएको छ ।

‘ब्रेन ह्यामरेज’ भएर जनकपुरबाट काठमाडौं ल्याउँदै क्रममा महोत्तरीको मनराशिसवा नगरपालिका २ का भरतलाल झाको बाटोमै निधन भएको हो ।

सडक माथिबाट आएको लेदोको कारण सोमबार दिउँसो बीपी राजमार्गस्थित रोशी गाउँपालिका–९ नार्केमा साँझ ५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

सो क्रममा ४ वटा एम्बुलेन्स रोकिएका थिए । तीमध्ये एउटा एम्बुलेन्समा रहेका झाले ज्यान गुमाएका हुन् ।

अवरुद्ध सडकमा एम्बुलेन्स समेत सञ्चालनमा आउन सकेको थिएन । एउटा एम्बुलेन्समा बिरामी हलचल नभएपछि भकुण्डेमा रहेको प्रादेशिक अस्पताल मेथिनकोटमा लगिएको थियो । तर, अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन् ।

मेथिनकोट अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. त्रिभुवन चन्द्र झाले अस्पताल आउँदा भरतलालको मृत्यु भइसकेको जानकारी दिए ।

‘जाममा परेर मृत्यु भएको हो की होइन त्यो हामीलाई थाहा हुने कुरा भएन,’ डा. झाले अनलाइनखबरसँग भने, ‘तर अस्पताल ल्याउँदा बिरामीको बाटोमै मृत्यु भइसकेको थियो ।’

बिरामीका आफन्तले सास नचलेपछि मेथिनकोट अस्पताल पुर्‍याएका थिए ।

सोही नगरपालिकाका मेयर मोहन पाण्डेका अनुसार, मृतकको शव अहिले महोत्तरीतर्फ नै फर्काइएको छ ।

सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक कोमल शाहका अनुसार, एकतर्फी सडक खुलेसँगै जाममा परेका एम्बुलेन्सलाई भने प्राथमिकताका आधारमा पास गराइएको छ ।

हामीले एम्बुलेन्सलाई प्राथमिकतामा राखेर पास गरेपछि अन्य रोकिएका सवारी पठाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ,’ शाहले भने ।

विशेषगरी बीपी राजमार्ग जोडिएका ग्रामिण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ ।

यसअघि पनि धुलिखेल ११ पात्लेखेतमा राजमार्ग अवरुद्ध भएको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?