
१४ असार, काठमाडौं । लामो समयदेखिको चर्चा र चासोबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राजनीतिक पुनरागमनको घोषणा गरेकी छिन् ।
राष्ट्रपतिको पदमा पुगेकाहरू राजनीतिमा फर्कन हुने वा नहुने चर्चाकाबीच भण्डारीले शनिबार एक विशेष अवसर पारेर राजनीतिको नयाँ मोड घोषणा गरेकी हुन् ।
शनिबार स्व. मदन भण्डारीको ७४ औं जन्मदिन हो । उनै मदनको नाममा बनेको फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा विद्याले भावुक हुँदै राजनीतिमा सक्रिय हुने घोषणा गरिन् ।
एमालेको भावी नेतृत्वको रुपमा विद्यालाई चर्चा यसअघिबाटै हुन थालेको थियो । सोही कारण पनि आजको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिलाई महत्त्वका साथ हेरियो ।
हतार–हतार प्रधानमन्त्री ओली राष्ट्रिय सभा गृह पुगे । केहीबेर सम्बोधन गरे । र, अन्तिममा विद्याको सम्बोधन पहिल्यैदेखि सुनेको, आज विदेश भ्रमण रहेकाले नभ्याउने र एमाले एकजुट अवस्थामा रहेको लगायतका सन्देश दिएर उनी बिदा भए ।
ओलीले पनि आफ्नो सम्बोधन सुनिदिए हुन्थ्यो भन्ने विद्याको रहर रहेछ । उक्त कुरा ओलीले सम्बोधनको अन्तिमतिर भन्न पनि भ्याए । त्यसपछि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोले । उनले पनि विद्यालाई राजनीतिमा आउन रोक्न नहुने आशय व्यक्त गरे ।
र, अन्तिममा सम्बोधन थालेकी विद्याले केही कारण प्रस्तुत गर्दै राजनीतिमा पुनरागमनको घोषणा गरेकी छिन् ।
भण्डारीले सुरुमै उनले मदन भण्डारीको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता आवश्यक रहेको बताइन् ।
मदन भण्डारीको जन्मदिन स्मरण गर्दै विद्याले भनिन्, ‘उहाँका युगान्तकारी विचार र ऐतिहासिक योगदानप्रति गहिरो सम्मान प्रकट गर्दै सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्ने उहाँको दूरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नै पर्दछ ।’
यसो नगरिए मदन भण्डारीको सपना अधुरै रहने भनेर उनले आफ्नो राजनीतिक सक्रियताको आवश्यकता पुष्टि गर्ने प्रयास विद्याको थियो । जसलाई उनले पहिलो कारण भनेकी छिन् ।
‘अन्यथा, जननेताद्वारा प्रतिपादित नवीन सिद्धान्त अनुरूपको सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया सफल पार्ने उद्देश्यले बाटो बिराउनेछ र उहाँको सपना अधुरै रहनेछ,’ भण्डारीले भनेकी छिन् ।
२००९ साल असार १४ गते जन्मिएका जनताको बहुदलीय जनवाद (जवज)का ब्याख्याता मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
एमालेले मदन भण्डारीले ब्याख्या गरेको जवजलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको छ । यो विचारलाई अगाडि बढाउन आफू थप सक्रिय हुनुपरेको विद्या भण्डारीको घोषणा छ ।
उनले भनेकी छन्, ‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईहरूको साथमा म आफू पनि सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
अर्थात्, जबजलाई निरन्तरता दिन समेत आफ्नो भूमिका राजनीतिमा आवश्यक रहेको पुष्ट्याउने विद्याको प्रयास रह्यो । यसलाई उनले आफू राजनीतिमा सक्रिय हुनपर्ने पहिलो कारणको रुपमा प्रस्तुत गरेकी छन् ।
१) जबजलाई थप फैलाउने चाहना
मदन भण्डारीले जबजको व्याख्या गर्न सके पनि फैलाउन नपाएको विद्याको दलिल छ । उनका अनुसार, मदन भण्डारीको युवा उमेरै निधन भएकाले यस्तो हुन पुगेको हो ।
विद्याले स्मरण गरेकी छन्, ‘विडम्बना ! नेपालका एक विचारक जसले मुलुकका निम्ति नयाँ विचार जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्नु भयो, त्यसलाई आफ्नो पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित गराउनु भयो, त्यसमाथि छिमेकी मुलुक भारत तथा चीनको भ्रमण गरेर अन्तर्राष्ट्रिय जगतमा विमर्श चलाउँदै हुनु हुनुहुन्थ्यो ।’
विद्याका अनुसार मदन मुलुकमा कम्युनिष्ट आन्दोलनको विकास तथा विस्तारका निम्ति सघन रूपमा कार्यक्रममा सहभागि हुँदै जनता एवम् पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तीब्र पार्दै थिए, जबजलाई फैलाउँदै थिए । त्यही अवस्थामा राजनीतिक व्यस्तताबीच मदन सवार जीप २०५० साल जेठ ३ गते रहस्यमय दुर्घटनामा पर्यो ।
मदनले आफ्नो जीवन नै गुमाएपछि जबजको फैलावटमा ब्रेक लाग्यो । तथापि, दु:ख र पीडाका बीचबाट जबजको फैलावटका निम्ति मदन भण्डारी फाउण्डेशन स्थापित भएको विद्याले सुनाइन् । अब यो संस्थालाई संस्थाको रुपमा नभइ जबजको थप फैलावटका निम्ति प्रयोग गर्ने विद्याको घोषणा छ ।
उनले भनेकी छन्, ‘मदन भण्डारी फाउण्डेशनलाई एउटा संस्थाका रूपमा भन्दा पनि जननेताका विचारलाई देशभर फैलाएर त्यसलाई स्थापित गराउने र देशमा सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने एउटा अभियानको रूपमा म परिभाषित गर्न चाहन्छु ।’
यसलाई विद्याले आफू राजनीतिमा सक्रिय हुनपर्ने दोस्रो कारण भनेकी छन् ।
यो अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओलीका साथ रहने भनेर विद्याले आफ्नो चाहनामा सहयोगी हुने अपेक्षा समेत राखेकी छन् ।
उनले भनेकी छन्, ‘यस संस्थालाई आज एउटा प्रतिष्ठित सामाजिक संस्थाको रूपमा र पवित्र उद्देश्य लिएको अविचलित अभियानकर्ताका रूपमा विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा श्री केपी शर्मा ओलीसहित नेकपा (एमाले) का नेता तथा कार्यकर्ताको योगदानको म सराहना गर्दछु ।’
२) एमालेको शक्ति जबज
विद्याले आफू राजनीतिमा सक्रिय हुनपर्ने तेस्रो कारणमा एमालेको शक्ति जबज हो भनेर देखाउने प्रयास गरेकी छन् । नेपाली राजनीतिमा मान्यता स्थापित गर्नु विद्याको ध्येय देखिन्छ ।
उनले भनेकी छन्, ‘जननेताको निधनले पार्टीको वैचारिक निरन्तरता र नेतृत्व विकासमा अस्थायी झट्का पुर्याए पनि शोकलाई शक्तिमा बदलेर नेकपा (एमाले) ले जबजलाई क्रान्तिको कार्यक्रम तथा मार्गदर्शक सिद्धान्तको रूपमा थप समृद्ध पार्दै यसकै आलोकमा आज आफूलाई मुलुकको राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सक्षम भएको छ ।’
यसलाई पुष्टि गर्न विद्याले विभिन्न उदाहरण दिने प्रयास गरेकी छन् । जबजले अवलम्बन गरेका राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक नीति, दृष्टिकोण र सोच अन्तरगत नै बितेका तीन दशकमा नेपालको राजनीति, अर्थतन्त्र र समाज लाभान्वित बनेर सकारात्मक परिणामहरू देखा परेको उल्लेख गरेकी छन् ।
नेकपा माओवादीले नेपालमा १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गर्न जबजको सिद्धान्तले काम गरेको विद्याको दलिल छ ।
उनल भनेकी छन्, ‘यस बीचमा मुलुकमा निरंकुशता लाद्ने दुष्प्रयासलाई निस्तेज पार्न, उग्रवामपन्थी जडसूत्रवादी चिन्तनद्वारा पोषित सशस्त्र द्वन्द्वलाई समाप्त पारेर त्यसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वाचनका माध्यमबाट संस्थागत गरिकन यसलाई सुदृढ तुल्याउन नेकपा (एमाले) ले आत्मसात गरेको सिद्धान्तबाट नै सफलता मिलेको हो ।’
मुलुकले प्राप्त गरेको सबै प्रकारका सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै भएको उनको अर्को दलिल छ ।
अगाडि भनेकी छन्, ‘नेपालको लामो राजनीतिक संक्रमणकाललाई समाप्त पारेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त भएको यो सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै हो ।’
जबजलाई नेपाली भूमिमा सिर्जना भएको राजनीतिक विचारको रुपमा चर्चा गर्दै यसको निरन्तरता र थप फैलावट खोजेकी विद्याले जबजले नेपाली समाज र राजनीतिमा के कस्तो भूमिका खेल्यो भनेर प्रष्ट्याउन मात्रै खोजिनन् ।
यो नेपालमा सिर्जन भएको राजनीतिक विचार भएकाले थप प्रवर्द्धनका निम्ति आफूले राजनीतिमा थप सक्रियता देखाउनुपर्ने अवस्था आएको भनेर आफ्नो प्राथमिकता प्रष्ट्याउन खोजेकी छन् ।
‘जबज कुनै विदेशी सिद्धान्तको नक्कल होइन, बरु नेपाली जनताको जीवन, सामाजिक संघर्ष, ऐतिहासिक सन्दर्भ र भविष्यप्रतिको सामूहिक आकांक्षाबाट उत्पन्न एक नवीन र सृजनात्मक राजनीतिक विचार हो,’ विद्याले भनेकी छन्, ‘त्यसैले, हामी यसलाई नेपाली माटोमा उत्पत्ति र विकास भएको एक मौलिक राजनीतिक–वैचारिक सिद्धान्तका रूपमा स्वीकार गर्दछौँ ।’
३) भविष्य देखाउने प्रयास
नेपालको माटोमा जन्मेको मौलिक सिद्धान्त जबजको प्रकाशमा मुलुकमा सामाजिक–आर्थिक विकासका क्षेत्रमा अहिलेसम्म प्राप्त भएको सफलता महत्त्वपूर्ण भएपनि मदनको चाहना अनुसार मुलुकले उपलब्धि प्राप्त गर्न बाँकी रहेको बताएकी छन् ।
यसलाई उनले आफ्नो राजनीतिक सक्रियताको चौथो कारणको रुपमा व्याख्या गरेकी छिन् ।
विकास र सुशासनलाई नैराश्यता चिर्ने प्रयास विद्याले आफ्नो सम्बोधनको क्रममा गरिन् । ‘अझै पनि मुलुकमा वर्गीय असमानता, क्षेत्रीय विषमता, भ्रष्टाचार, जातिय विभेद, लैङ्गिक असमानता, अवसरवाद र अराजकतावादजस्ता सामाजिक, आर्थिक एवं राजनीतिक विकृति र विसंगतिहरू यथावत छन्,’ विद्याले भनेकी छन्, ‘समाजको रूपान्तरणका बाधक यस्ता समस्याहरू अन्त नगरी नेपाल समुन्नत बन्न सक्दैन ।’
विद्याका अनुसार, जबजले नै समाजवादमा पुग्ने मार्गका रूपमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गर्दै विशिष्ट बाटो निर्माण गरेको छ । ‘यो मार्क्सवाद आधारित गतिशील विचार हो, जसलाई समय, समाज र चेतना सँगसँगै समृद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।’
व्यावहारिक प्रयोगको कसीमा खारिँदै जबज सिद्धान्त झनझन् सुदृढ हुँदै जाने उल्लेख गर्दै विद्याले भनेकी छन्, ‘यसर्थ जबज आज पनि मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि उत्तिकै सान्दर्भिक र दिशानिर्देशक रहेको छ ।’
नेपाली जनताको भविष्य उज्वल रहेको देखाउने प्रयास अन्तर्गत विद्याले भनेकी छन्, ‘यसको लागि जबजको थप प्रभावकारी कार्यान्वयन र जननेताले देखाएको राजनीतिक निष्ठा, समर्पण, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहारजस्ता गुणहरूको अनुशरण गरिनु अपरिहार्य छ ।’
नागरिकले नेताहरूबाट सुशासन खोजिरहेका बेला विद्याले राजनीतिक निष्ठा, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहारजस्ता गुणहरूको अनुशरण अपरिहार्य रहेको भनेर आफ्नो भूमिका देखाउने प्रयास गरेकी छन् ।
नेपाललाई एक स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र भएको विकसित राष्ट्र बनाउने सपना साकार पार्न सुशासनप्रति अडिग आस्था, नतिजामूलक कार्यक्रमहरू र जनमुखी व्यवहार जबजको आगामी यात्राका मुख्य आधार बन्ने विद्याको प्रतिबद्धता छ ।
भविष्य देखाउने प्रयास अन्तर्गत विद्याले मुलुकको भविष्यको महत्त्वपूर्ण आधार बालबालिका, नव–पुस्ता र युवाहरु नै भएकाले उनीहरूलाई आवश्यकता अनुसार गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशिलता प्रदान गर्नुपर्ने खाँचो औंल्याएकी छन् ।
आफ्नो राजनीतिक सक्रियताले विज्ञान र प्रविधिको विकासमा शैक्षिक संस्था र प्राज्ञिक निकायले विशेष ध्यान दिने वातावरण बनाउने पनि विद्याको विश्वास छ ।
उनले भनेकी छन्, ‘विचार र व्यवहारको दूरी कम गर्ने, नारा र नतिजा बीचको अन्तर घटाउने अनि भविष्यप्रतिको जनताको विश्वास सुदृढ गर्ने अभियान कुनै सामान्य सुधार होइन, बरु यो त जबजलाई युगानुकूल कार्यान्वयन गर्ने गहन र ऐतिहासिक जिम्मेवारी हो ।’
निकट छिमेकी देश भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दुई मुलुकसँगको हाम्रो सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नु पर्दछ ।’
४) नेतृत्वका लागि सक्षम रहेको सन्देश
मदन भण्डारीको ७४ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा विद्याले नेपाली राजनीतिको नेतृत्व लिन आफू सक्षम रहेको देखाउने प्रयास पटक–पटक गरिन् ।
यसका निम्ति उनले राजनीतिक संघर्ष र अभियान, व्यक्तिगत अनुभव, अनुभूति र प्रसंगहरूलाई क्रमबद्ध रुपमै उठाइन् ।
आफ्नो सक्षमतालाई नै उनले आफू राजनीतिमा पुन: सक्रिय हुन खोज्नु अर्को कारण अन्तर्गत राखेकी छिन् ।
विद्याकै शब्दमा उनको राजनीतिक संघर्ष र अभियान र अनुभव
म विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियूको सम्पर्कमा रहेँ, त्यसमा संगठित भएँ र २०३५/०३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनदेखि त विद्यार्थी राजनीतिमा मेरो सक्रियता झनै सघन हुँदै गयो ।
अनेरास्ववियुका विभिन्न कमिटीमा आबद्ध भएँ र क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएर विद्यार्थी हक, हित र अधिकार प्राप्तिको अभियानमा केन्द्रित भएँ ।
त्यसो त तत्कालिन नेकपा(माले) को त्यसबेलाको नीति अन्तर्गत अगुवा विद्यार्थी नेता कार्यकर्तालाई पार्टीमा जोडेर लैजाने परिपाटीले मलाई पार्टी राजनीतिमा समेत जोडिसकेको थियो ।
अर्थात्, मुलुकमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लादिएको बेलादेखि नै म सँगसँगै नै अनेरास्ववियु र पार्टीको समेत कार्यकर्ताको रूपमा भूमिका निर्वाह गर्नुपर्ने परिवेशबाट अगाडि बढेको थिएँ ।
नेपाली जनताको अथक संघर्षको बलमा २०४६ सालमा प्राप्त भएको बहुदलीय राजनीतिक प्रणाली पछिको खुल्ला राजनीतिक वातावरणले व्यक्तिका जिम्मेवारी र भूमिका बहनका सन्दर्भमा बेग्लै
परिस्थिति निर्माण भयो । मदनसँगको वैवाहिक जीवन, त्यस पछि उहाँसँगको सहयात्रा र नयाँ राजनीतिक परिवेशले मेरो दायित्व बेग्लै ढङ्गले अगाडि बढ्न खोजिरहेको थियो ।
उहाँको व्यस्त राजनीतिक जीवनलाई सहज बनाएर आफू पारिवारिक दायित्व अलि बढि लिने कुरा परिस्थितिले माग गरेको थियो ।
तर नेकपा (एमाले) का तत्कालिन महासचिव समेत रहनु भएका जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दूर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले अर्कै मोड लिन पुग्यो ।
पार्टीले मलाई विभिन्न जिम्मेवारी दिने, संसदीय निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेपछि राजनीतिक क्षेत्रमा मेरो सक्रियता बढ्दै गयो ।
संसदीय मोर्चा र पार्टीको जिम्मेवारी सँगै बहन गर्नुपर्ने अवस्था सिर्जना भयो ।
नेकपा (एमाले) को उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकै परिवेशमा २०७२ सालमा राष्ट्रपतिको लागि हुने निर्वाचनमा पार्टीले मलाई उम्मेद्वारको रूपमा प्रस्तुत गर्यो र म राष्ट्रपतिमा निर्वाचित भएँ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष मैले देश र जनताको सेवामा फरक ढङ्गले क्रियाशील हुनुपर्ने अवस्था बन्यो ।
त्यस जिम्मेवारीमा रहँदा मैले देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेँ र मेरो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम गरिँन ।
यो किताबको खुल्ला पाना जस्तै छर्लङ्ग छ ।
पार्टीको विश्वासका कारणले नै म त्यो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएको हुँ ।
यसका निम्ति म पार्टी नेतृत्व र सिङ्गो पार्टी परिवारलाई पुन: धन्यवाद समेत दिन चाहन्छु ।
विद्या भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बाहिर रहेको दुई वर्ष बढी भयो । यसबीचमा उनी देशका विभिन्न भागमा पुगिन । त्यसक्रममा मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया गरिन् । विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग समेत भेटघाट र अन्तक्रिया गरिन् ।
५) कार्यकर्ताको चाहना
यस्तै भेटघाट र अन्तक्रियाले आफूलाई राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने बोध भएको विद्याको प्रष्टीकरण छ ।
उनले भनेकी छन्, ‘… छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो । त्यसैले, यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ ।’
विद्या राष्ट्रपतिको भूमिकाबाट बाहिर भएपछि नै उनको भविष्यबारे धेरैले चासो राख्दै आएका छन् । अझ देश दौडाहमा निस्केपछि थप सघन रूपमा नै उनको भविष्यलाई लिएर छलफल हुने नै भयो । यसबाट विद्या उत्साहित छिन् ।
उनी भन्छिन्, ‘मेरो सामाजिक तथा राजनीतिक जीवनको बारेमा सञ्चारजगत र पार्टीको कार्यकर्ता पंक्तिबाट समेत चासो राखेको पाएको छु । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरा बारेमा चर्चा परिचर्चा भइरहेको देखेको छु र पढेको छु ।’
सार्वजनिक सरोकारकै रुपमा आफूबारे उठेका जिज्ञासा र विषयहरूलाई गहन रूपमा चिन्तन–मनन गरेरै राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको विद्याको घोषणा छ – फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
एमालेको राजनीतिमा सक्रिय भएपछिको चाहना के छ त ? यो प्रश्नको जवाफ विद्याले सम्बोधनमै दिएकी छन्– मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।’
यसो भन्दै गर्दा मदन भण्डारीलाई सम्झिएर विद्याले नागरिकलाई आफ्नो अभियानमा जोडिन अपिल गरेकी छन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
राजनीतिमा थकाइ नहुने र आफू नथाकेको सन्देश दिएर नागरिकसँग अपिल गरेकी विद्याले आफू परिपक्क राजनीतिज्ञ हुँ भन्न छुटाएकी छैनन् ।
‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्’ उनले पुन: सबैसँग अपिल गरेकी छन्, ‘समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’
प्रतिक्रिया 4