+

८ संकेत, जसले थाहा हुन्छ शरीरमा पानी पुगेको छैन

हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ ।

जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको उत्पादन, चोट लाग्दा त्यसलाई सोस्ने काम पनि पानीले नै गर्छ । शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ ।

Advertisement

विशेषगरी गर्मीयाममा अत्याधिक पसिना बाहिरिने हुँदा शरीरमा पानीको अभाव हुनसक्छ । शरीरमा पानी कम हुने बित्तिकै यसले विभिन्न संकेत देखाउँछ ।

पिसाब गाढा पहेंलो रङको र मात्रा कम हुनु

यसले शरीरमा पानी कम भएको बुझाउँछ । किनकि शरीरमा पानी कम छ भने मिर्गौलाले आफ्नो कार्यलाई कायम राख्न शरीरमा भएको तरल पदार्थ सकेसम्म आफैं राख्छ । जसले रङ पहेंलो र मात्रा कम हुन्छ ।

सुख्खा छाला र ओठ फुट्ने समस्या

यदि पहिले भन्दा छाला सुख्खा छ, पसिना आउँदैन र ओठ पनि सुख्खा भएर फुटिरहेको छ भने शरीरलाई आवश्यक पानी नपुगेको बुझ्न सकिन्छ ।

मांसपेशी दुखाइ

यदि हातखुट्टाको मांसपेशी दुख्ने समस्या पटक-पटक भइरहेको छ भने शरीरमा पानीको कमी हुनसक्छ । किनकि पानीको कमीले शरीरमा इलेक्ट्रोलाइटलाई असन्तुलन हुनसक्छ । जसले मांसपेशीहरुलाई असर गर्छ ।

टाउको दुखाइ

शरीरमा पानी कम हुँदा टाउको दुख्ने र एकाग्रतामा कमी गराउन सक्छ । पानीको कमी हुँदा मस्तिष्कमा आवश्यक अक्सिजन प्राप्त हुँदैन । जसले मस्तिष्कको कार्य क्षमता प्रभावित हुन्छ ।

कब्जियत

पानीले दिसालाई नरम पारेर पाचनको बाटो हुँदै मलद्वारबाट निकाल्न सहज गराउँछ । तर पानीको अभाव हुँदा आन्द्रामा पचेर अनावश्यक तत्त्व पास हुन गाह्रो हुन्छ र दिसा कडा बनेर बस्छ । जसलाई कब्जियत भएको बुझिन्छ ।

पिसाबको मात्रा कम हुनु

शरीरमा पानी कम छ भने मिर्गौलाले शरीरमा भएको तरल पदार्थ आफ्नो कार्यलाई कायम राख्न सकेसम्म आफैं राख्छ ।

ऊर्जा कम हुनु

पानीको स्तर कम हुनेबित्तिकै शरीरको तापक्रम सन्तुलन राख्न कठिन हुन्छ । अझ पानी कम खाने र शारीरिक गतिविधि बढी छ भने शरीर कमजोर हुने, शिथिल रहने हुन्छ । कुनै काम गर्नलाई ऊर्जा नहुने हुन्छ ।

सास गन्हाउनु

पानीले मुखमा र्‍याल उत्पादन गर्ने र मुखमा भएको कीटाणु हटाउने काम गर्छ । पानीको अभावले र्‍याल उत्पादन कम हुन्छ । जसले जिब्रो, दाँत र गिजामा कीटाणुले संक्रमण गरी सास गन्हाउँछ ।

दिनको कति पानी पिउनु आवश्यक ?

सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउन सुझाइन्छ । यद्यपि, दैनिक कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले दिनमा कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ । त्यसैले एउटै नियम सबैलाई लागू हुँदैन ।