+
+
Shares

एमालेमा हलचल, तर खुल्न डर

‘एमाले नेताहरूको हालत ४ हजार वर्ष पहिले लेखिएको महाभारतमा द्रौपदीको वस्त्र हरण हुँदा समेत बोल्न नसक्ने महारथीहरूकै जस्तो छ,’ ती शीर्ष नेता भन्छन्, ‘मनमा छ, बोल्न सक्दैनन् ।’

सइन्द्र राई सइन्द्र राई
२०८२ असार २२ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ११ जेठमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले त पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी विधानमा व्यवस्था गरेरै सक्रिय राजनीतिमा आउन रोक्नुपर्ने प्रस्ताव लगेका थिए ।
  • पार्टीको औपचारिक बैठक बाहेक हत्तपत्त कार्यक्रममा नदेखिने उपाध्यक्ष रामबहादुर थापा बादल १४ असारमा राष्ट्रिय सभागृह पुगेका थिए ।

२२ असार, काठमाडौं । गृहनगर जनकपुर पुगेका नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुने बताएका छन् ।

फरक प्रसंगमा आइतबार बिहान पत्रकार सम्मेलन गरेका महासेठले देशको संविधान र पार्टीको विधानले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नरोक्ने बताएका हुन् ।

‘पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो । संविधानले पूर्वराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ,’ उनको तर्क थियो, ‘उहाँ (विद्या भण्डारी) सक्रिय राजनीतिमा आउनुहुन्छ भने हामीलाई रोक्ने अधिकार संविधानले दिएकै छैन ।’

तर, पूर्वराष्ट्रपति भण्डारीलाई लिएर पार्टीभित्र भइरहेको कित्ताकाट स्वीकार्य नहुने महासेठले बताए । आगामी महाधिवेशनसम्म केपी ओली नै अध्यक्ष भएकाले कित्ताकाट गर्न नहुने उनको तर्क थियो । ‘आउने महाधिवेशनसम्म केपी ओलीको कुनै विकल्प छैन,’ महासेठले भने ।

विदेश विभाग प्रमुख समेत रहेका महासेठको अभिव्यक्तिलाई थोरै ध्यान दिने हो भने उनी पूर्वराष्ट्रपति भण्डारीतर्फ उभिएको सजिलै अड्कल काट्न सकिन्छ । किनकि, ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने चाहने नेताहरूले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कनै नहुने तर्क गरिरहेका छन् ।

गत ११ जेठमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले त पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी विधानमा व्यवस्था गरेरै सक्रिय राजनीतिमा आउनबाट रोक्नुपर्ने प्रस्ताव लगेका थिए । भलै अरू पदाधिकारीको साथ पाउने अवस्था नरहेपछि ओली आफैंले पोखरेलको प्रस्ताव अस्वीकृत गरे ।

तर, महासचिव पोखरेलको भाषा पछ्याउँदै ओलीतर्फ खुल्ने नेताहरू पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कंदा व्यवस्था खतरामा पर्ने तर्क गर्न थालेका छन् ।

‘पूर्वराष्ट्रपतिले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएपछि एमालेभित्र ठूलै हलचल छ । नेताहरूमा कता खुल्ने भन्ने अलमलमा छन्,’ एमालेका एक शीर्ष नेता भन्छन्, ‘तर कुन नेता कता लाग्ने रहेछ भन्ने अनुमान गर्न सकिने केही आधार देखिन थालेको छ ।’

उनका अनुसार भण्डारीतर्फ उभिने संकेत गरेका नेताहरूले पूर्वराष्ट्रपतिलाई संविधान र पार्टी विधानले सक्रिय राजनीतिमा फर्कन नरोक्ने भाषा प्रयोग गरिरहेका छन् ।

यो मानकलाई आधार मान्दा रघुवीर महासेठ पूर्वराष्ट्रपति भण्डारी पक्षतर्फ खुलेको अनुमान लगाउन सकिन्छ । अझ उनले ‘आगामी महाधिवेशनसम्म ओली निर्विकल्प अध्यक्ष हुन्, पार्टीभित्र कित्ताकाट नगरौं’ भन्ने आग्रह चलाखीका साथ प्रयोग गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको चीन भ्रमणमा (गत १०-१९ जेठ) समेत सामेल भएकाले महासेठलाई भण्डारीकै पक्षमा उभिएको अड्कल एमाले पंक्तिमा हुने गरेको थियो । तर त्यस्तो अड्कलप्रति आपत्ति जनाउँदै महासेठले आफू एमाले पक्षधर भएको प्रष्टोक्ति दिएका छन् ।

महासेठ एमालेभित्र एक उदाहरण पात्र हुन् । नेताहरूका अनुसार उनीजस्तै भाषा प्रयोग गर्ने नेताहरूको पंक्ति ठूलो छ । अर्थात् पार्टीको ११औं महाधिवेशनबाट ओलीको विकल्प खोज्न चाहने, तर ओलीकै डरले उनीहरूले आफ्नो कुरा भन्न सकिरहेका छैनन् ।

‘एमाले नेताहरूको हालत ४ हजार वर्ष पहिले लेखिएको महाभारतमा द्रौपदीको वस्त्र हरण हुँदा समेत बोल्न नसक्ने महारथीहरूकै जस्तो छ,’ ती शीर्ष नेता भन्छन्, ‘मनमा छ, बोल्न सक्दैनन् ।’

एमालेभित्र ओलीको भयले बोल्न नसक्ने प्रवृत्ति नौलो चाहिँ होइन । विशेषगरी तत्कालीन नेकपा फुटेपछि ओली र उनको निर्णयप्रति विमति जनाउने नेताहरूलाई स्पष्टीकरण सोध्नेदेखि पार्टी निकाला गर्नेसम्म हुँदै आएको छ । यस्तो हाइहुकुमलाई ओलीले अझै २०-२५ वर्षसम्म चलाउने सार्वजनिक घोषणा गरेका छन् ।

र, ओलीको यस्तो सार्वजनिक घोषणालाई पूर्वराष्ट्रपति भण्डारीले चुनौती दिएकी छन् । गत १४ असारमा मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले एमालेको सदस्यता नवीकरण गरिसकेको र सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । भण्डारीको यस्तो निर्णयप्रति ओली खुसी छैनन् ।

विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकै सभा सम्बोधन गर्दै ओलीले मदन भण्डारीलाई नै उपेक्षा गर्नेगरी बोलेका थिए । विशेषगरी मदन भण्डारीलाई ४ वटी श्रीमती र सहकारी ठगको आरोप लगाइएको प्रसंग निकालेर ओलीले विद्या भण्डारीलाई चिढ्याउने काम गरेका थिए ।

तर, ओलीको एकलौटी चल्दै आएको एमालेभित्र त्यही दिनदेखि हलचल बढेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त त्यही सभाबाट ओलीका तर्कलाई सैद्धान्तिक, वैचारिक र संगठनात्मक शृङ्खला सहित खण्डन गरेका थिए । विधान महाधिवेशन आएकाले ‘सचेत नेता-कार्यकर्ताले पार्टीको विधान र व्यवस्थाबारे बोल्दा नबोल भन्न नपाइने’ पोखरेलले तर्क गर्दा हल तालीले गुञ्जिएको थियो ।

पूर्वराष्ट्रपति भण्डारी र वरिष्ठ उपाध्यक्ष पोखरेलको अभिव्यक्तिबाट केन्द्रदेखि स्थानीय कार्यकर्ताहरूसम्म हलचल आएको छ । पदाधिकारीहरूमै कित्ताकाट देखिन थालेको छ । उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे खुलेरै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा छन् ।

पार्टीको औपचारिक बैठक बाहेक हत्तपत्त कार्यक्रममा नदेखिने उपाध्यक्ष रामबहादुर थापा बादल १४ असारमा राष्ट्रिय सभागृह पुगेका थिए ।

विद्या भण्डारीका पक्षमा नेताहरू खुलिरहँदा ओलीको वकालतमा गर्न केही नेताहरू उत्रिएका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायत नेताहरूले अनेक माध्यमबाट ओलीको रक्षा प्रयास गरिरहेका छन् ।

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा र पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबै सरकारी सेवा-सुविधा फिर्ता गरेकी भण्डारीले भूगोल र जनसंगठनका नेताहरूसँग निरन्तर संवाद गरिरहेकी छन् । तर पूर्वराष्ट्रपति भण्डारीको भन्दा ज्यादा संस्थापनतर्फकै नेताहरूको सक्रियता बढी देखिन्छ ।

महासचिव पोखरेलले दिनहुँजसो पार्टीका नेताहरूसँग बैठक, भेटवार्ता र भर्चुअल बैठकमार्फत संस्थापनको निर्णय सुनाइरहेका छन् । संगठनात्मक प्रतिवेदनको तयारी गर्न भन्दै पोखरेलले सातै प्रदेशका केन्दीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला नेतृत्वसँग संवाद गरिसकेका छन् ।

संगठनात्मक कामको प्रतिवेदन सुनिरहँदा महासचिव पोखरेलले पार्टीभित्र चलिरहेको मतभेदमा संस्थापनको धारणा राखिरहेका छन् । एउटै पदमा लगातार दुई कार्यकाल बढी बस्न नपाइने पार्टी विधानको व्यवस्था महाधिवेशनबाटै हटाइएको तर अहिले कतिपय नेताहरूले भ्रम फैलाउने काम गरिरहेका महासचिव पोखरेलले बताइरहेका छन् ।

‘केन्द्रीय कमिटी र विधान महाधिवेशनमा उपस्थित नेताहरूले विधानमा हेरफेर गरियो भन्नु नैतिक हिसाबले अनुचित हो । तथ्यलाई तोडमोड गर्ने कुरा इमान्दार नेताले गर्ने काम होइन भन्ने बुझ्नुपर्छ,’ पोखरेलले भर्चुअल बैठकमा भन्ने गरेका छन्, ‘जिम्मेवार नेताहरूबाट भ्रम सिर्जना गर्ने कुरा गलत हो । र, त्यसको पार्टी केन्द्रले आलोचना गर्छ ।’

जनसंगठनहरूको बैठक राखेर पनि महासचिव पोखरेलले यही बेहोराको भाषण दिइरहेको नेताहरू बताउँछन् । ‘संगठनात्मक कामको प्रतिवेदन तयार पार्नुपर्ने महासचिवले विधानमाथि छलफल चलाइरहनुभएको छ । उहाँले केन्द्रदेखि जिल्लासम्मका नेताहरू र जनसंगठनको नेतृत्वलाई पार्टीको धारणाप्रति प्रष्ट हुन निर्देशन दिइरहनुभएको छ,’ भण्डारीतर्फ लागेका एक नेता भन्छन् ।

यसरी महासचिवले संस्थागत रूपमै ओलीका निम्ति गुटबन्दी चलाइरहेको आरोप लगाउने भण्डारीतर्फका नेताहरूको लविइङ तल्लो कमिटीसम्मै पुगेको छ । पदाधिकारी र केन्द्रीय नेताहरू कोपभाजनमा परिने डरसहित कित्ताकाट गरिरहँदा पूर्वराष्ट्रपति भण्डारीको गतिविधि बाक्लो बनेको छ ।

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा र पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबै सरकारी सेवा-सुविधा फिर्ता गरेकी भण्डारीले भूगोल र जनसंगठनका नेताहरूसँग निरन्तर संवाद गरिरहेकी छन् । तर पूर्वराष्ट्रपति भण्डारीको भन्दा ज्यादा संस्थापन तर्फकै नेताहरूको सक्रियता बढी देखिन्छ ।

जनसंगठनहरूको अधिवेशनहरूमा ओलीको उम्मेदवार भन्दै पदाधिकारी घोषणा गरिने, इतर तर्फका नेताहरूलाई मनोनयन दर्ता गर्नै नदिने, दर्ता गरिएकै उम्मेदवारी पनि प्रक्रियामा नलैजाने जस्ता गतिविधिदेखि अहिले लगातार पार्टी बैठक राखेरै विद्या भण्डारीतर्फका नेताहरूको तर्कलाई खण्डन गरिँदैछ । यसले भण्डारीतर्फ नेताहरू खुल्दै गएको आभास संस्थापनलाई भइरहेको छ भन्ने बुझ्न सकिन्छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?