+
+
Shares

मस्क साँच्चै पार्टी खोल्दैछन् कि दबाब दिने रणनीति मात्रै ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते २१:४४

२२ असार, काठमाडौं । अमेरिकी उद्योगपति इलन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएको केही सातापछि मस्कले यो घोषणा गरेका हुन् ।

मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत ‘अमेरिका पार्टी’ गठन गरेको जानकारी दिएका छन् । उनले उक्त पार्टीले अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीचको दुईदलीय राजनीतिक प्रणालीलाई चुनौती दिने दाबी गरेका छन् ।

मस्कका अनुसार, ‘अमेरिका पार्टी’ ती ८० प्रतिशत मतदाताको आवाज हो जो अहिलेका दुवै प्रमुख पार्टीहरू (रिपब्लिकन र डेमोक्रेट) प्रति असन्तुष्ट छन् ।

यद्यपि, अहिलेसम्म यो पार्टी अमेरिकी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरिएको छ कि छैन भन्ने स्पष्ट छैन। मस्कले पार्टी नेतृत्व र संगठनात्मक संरचना कस्तो हुनेछ भनेर पनि केही खुलाएका छैनन् ।

मस्कले नयाँ पार्टीको कुरा पहिलो पटक डोनाल्ड ट्रम्पसँग विवाद चुलिएपछि गरेका थिए । त्यसपछि उनी ट्रम्प प्रशासनबाट अलग भए र ट्रम्पसँग सार्वजनिक रूपमै तिक्ततापूर्ण बहसमा उत्रिए ।

पार्टीको घोषणा गर्दै मस्कले सुरुमा २ वा ३ सिनेट सिट र ८ देखि १० हाउस डिस्ट्रिक्ट अर्थात् प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूमा मात्र केन्द्रित हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा प्रत्येक दुई वर्षमा ४३५ प्रतिनिधिसभा (हाउस अफ रिप्रजेन्टेटिभ्स) सिटहरूमा चुनाव हुन्छ । यस्तै, ६ वर्षे कार्यकाल पाएका १०० सिनेट सदस्यहरूमध्ये करिब एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पुनःनिर्वाचनमा जान्छन् । मस्कको ध्यान यिनै सिटहरूमा केन्द्रित रहेको देखिन्छ ।

मस्कको पार्टी घोषणाको अर्थ

ट्रम्पसँगको विवादपछि एलन मस्कले एक्समा एक सर्भे (पोल) गरेका थिए। सो सर्भेमा उनले प्रयोगकर्ताहरूलाई सोधेका थिए, ‘के अमेरिकामा नयाँ राजनीतिक पार्टी आवश्यक छ ?’

उक्त पोलमा अधिकांश प्रयोगकर्ताहरूले नयाँ पार्टीको पक्षमा समर्थन जनाएका थिए ।

शनिबार, सोही पोलमा व्यक्त जनमतलाई उल्लेख गर्दै मस्कले लेखे, ‘पोलमा तपाईंहरूले नयाँ पार्टी आवश्यक रहेको बताउनुभयो, अब तपाईंसँग नयाँ पार्टी हुनेछ ।’

मस्कले थपे, ‘हामी एक पार्टीको यस्तो प्रणालीमा बाँचिरहेका छौं जसले देशलाई अनावश्यक खर्च र भ्रष्टाचारमार्फत बर्बाद गरिरहेको छ, यो लोकतन्त्र होइन। आज ‘अमेरिका पार्टी’ गठन गरिएको छ ताकि तपाईंहरूको स्वतन्त्रता पुनः फर्काउन सकियोस्।’

तर, शनिबारसम्म अमेरिकी संघीय निर्वाचन आयोग (एफईसी) ले यो पार्टी कानुनी रूपमा दर्ता भएको पुष्टि गर्ने कुनै कागजात सार्वजनिक गरेको छैन ।

पृष्ठभूमिमा ट्रम्पसँगको विवाद 

सन् २०२४ को राष्ट्रपतीय चुनावमा इलन मस्क ट्रम्पका प्रमुख समर्थक थिए र करिब २५० मिलियन डलर ट्रम्पको जितको लागि खर्च गरेका थिए । चुनावपछि मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोज)’ को प्रमुख बनाइएको थियो, जसको काम संघीय बजेटमा भारी कटौती गर्न सुझाव दिनु थियो ।

तर, मे महिनामा मस्कले प्रशासन छाडे र ट्रम्पको कर तथा खर्च नीतिको सार्वजनिक आलोचना गरेपछि उनीहरूबीच मतभेद सुरु भयो ।

ट्रम्पले उक्त विधेयकलाई ‘बिग ब्यूटिफुल बिल’ भनेका थिए । उक्त विधेयक कंग्रेसबाट मुस्किलले पारित भएको थियो र गत साता राष्ट्रपति ट्रम्पले त्यसमा हस्ताक्षर गरी कानुनी रूप दिइसकेका छन् । मस्कले भने सो विधेयकलाई ‘देशलाई कंगाल बनाउने’ कानुनको संज्ञा दिएका थिए ।

यसको प्रतिक्रियामा ट्रम्पले मस्कका कम्पनीहरू टेस्ला, स्पेसएक्स लगायतमा अनुदान सहायता (सब्सिडी) बन्द गर्ने र उनलाई देशबाटै निकाल्ने धम्की दिएका थिए ।

‘बिग, ब्यूटीफुल’ कानुनमा ठूलो मात्रामा सरकारी खर्च र कर कटौतीको व्यवस्था गरिएको छ । अनुमानअनुसार, यसले अर्को १० वर्षमा अमेरिकाको बजेट घाटा ३ ट्रिलियन डलरभन्दा बढी थप्नेछ ।

साँच्चै पार्टी खोल्नेछन् वा दबाब मात्र ?   

अमेरिकाका प्रमुख सञ्चारमाध्यमहरू सीएनएन, सीबीएस र न्युयोर्क टाइम्सले मस्कले नयाँ राजनीतिक पार्टी घोषणा गर्नुको पछाडि उनको ट्रम्पसँगको कटुता मुख्य कारण भएको विश्लेषण गरेका छन् ।

वासिङ्गटन पोस्टले ट्रम्प समर्थकबाट आलोचकमा ट्रम्पको रूपान्तरणलाई एक महत्वपूर्ण राजनीतिक मोड भनेको छ। पहिले मस्कको झुकाव रिपब्लिकन पार्टीतर्फ देखिन्थ्यो, तर ‘डोज’ नामक सरकारी निकायको आलोचना र विस्कन्सिन सुप्रीम कोर्टको चुनावमा असफल हस्तक्षेपपछि उनले आफ्नो बाटो फेरेका हुन् ।

न्यूजविक म्यागजिनले मस्क र ट्रम्पबीचको सामाजिक सञ्जालमा चलेको सार्वजनिक बहस उल्लेख गर्दै लेखेको छ, ‘मस्कको विरोध इलेक्ट्रिक सवारी साधनमा कर छुट समाप्त हुने कुरासँग सम्बन्धित छ, जसले टेस्लालाई नोक्सान पुर्‍याउन सक्छ भन्ने ट्रम्पको दाबी थियो ।’

कतारस्थित अलजजिराले राजनीतिक विश्लेषक थोमस गिफ्टलाई उद्धृत गर्दै मस्कको नयाँ पार्टी घोषणालाई ‘एक चाल’ मात्र भनेको छ। ‘एलन मस्कलाई डेमोक्रेट र रिपब्लिकन पार्टीजस्ता सशक्त संगठनलाई चुनौती दिनु अत्यन्तै कठिन छ भन्ने थाहा छ ।’

गिफ्टले आफ्नो विश्लेषण विस्तार गर्दै भनेका छन्, ‘पार्टी दर्ता गर्न त सम्भव छ, तर अमेरिकी कंग्रेसमा सिट जित्नु बिल्कुल फरक र झनै कठिन कुरा हो ।’

सीबीएस न्यूजले निर्वाचन विज्ञ ब्रेट क्यापलसँग कुराकानी गर्दै भनेको छ, ‘मस्कले कानुनी चुनौतीहरूको सामना गर्नु पर्नेछ, विशेषगरी मतपत्रमा पार्टी राख्न आवश्यक हस्ताक्षर संकलन, राज्यअनुसारका नियमहरू र पार्टीको औपचारिक मान्यतासम्बन्धी प्रावधानहरूमा ।’

क्यापल अनुसार, अमेरिकी कानुनी संरचनाले डेमोक्रेट र रिपब्लिकनहरूलाई सघाउँछ र अरूलाई राष्ट्रिय स्तरको पार्टी बनाउने प्रक्रिया निकै जटिल छ । त्यसैले मस्कले २०२६ लक्षित सार्वजनिक गरेको योजना हाललाई अव्यावहारिक देखिन्छ ।’

मस्कका चुनौतीहरू

इलन मस्कले पार्टी बनाउने घोषणा गरे पनि अमेरिकामा दुईदलीय प्रणाली छ । राज्यअनुसारको मतपत्र प्रणाली छ । दर्ता प्रक्रिया, आर्थिक संकलन र मतदाता समर्थनको अभाव जस्ता समस्या मस्कसामु छन् ।

जानकारहरूका अनुसार मस्कसँग स्रोत-साधन त छ, तर राजनीतिक धैर्य र जनस्तरीय संगठनको कमी सबैभन्दा ठूलो बाधक बन्न सक्छ ।

न्युयोर्क टाइम्सका अनुसार, मस्कले स्रोत-साधन प्रयोग गरेर ठूला निर्णय लिन सक्ने कुरा देखाइसकेका छन्, तर उनले धेरैपटक आफ्ना घोषणाहरू अधुरै छाडेका प्रशस्तै उदाहरण र इतिहास छन् ।

सरकारी कार्यकुशलता विभाग’को नेतृत्व गर्दा मस्कले धेरै सरकारी योजना र बजेटमा कटौती गराए ।

तर, पछि जब ट्रम्पसँग टकराव सुरु भयो, उनले राष्ट्रपतिका घरेलु नीतिसँग सम्बन्धित ठूला विधेयकमाथि असन्तुष्टि व्यक्त गरे ।

गत महिना मस्कले सामाजिक सञ्जालमा उक्त कानुनलाई ‘घिनलाग्दो र भयावह’ भनेका थिए। ‘पहिल्यै अत्यधिक बजेट घाटामा रहेको अमेरिकालाई यसले झन् घाटामा पुर्‍याउनेछ,’ उनले भनेका थिए ।

अमेरिकाको निर्वाचन प्रणाली जित्नले सबै लिने सिद्धानमा आधारित छ, जहाँ तेस्रो पार्टीका लागि स्थान बनाउनु अत्यन्तै कठिन हुन्छ ।

जर्जटाउन विश्वविद्यालयका प्राध्यापक हान्स नोएल भन्छन्, ‘अमेरिकामा बहुदलीय व्यवस्थालाई प्रभावकारी रूपमा सफल हुन दिन सक्ने संस्थाहरू छैनन् ।’

उनी थप्छन्, ‘अन्य लोकतान्त्रिक देशहरूमा जस्तो यहाँ २०-३० प्रतिशत मत प्राप्त गर्दा पनि कुनै सिट पाइँदैन, त्यसैले साना पार्टीहरूका लागि टिकिरहनु अत्यन्तै गाह्रो हुन्छ ।’

मस्कले शनिबार एक्समा लेखे, ‘मेरो योजना आउँदो वर्षको मध्यावधि चुनावहरूलाई लक्षित छ ।’

आफ्नो रणनीतिको तुलना ग्रिक सेनापति एपेमिनोन्डासको युद्ध नीतिसँग गर्दै मस्कले एक विशेष स्थानमा सम्पूर्ण शक्ति केन्द्रित गरेर दुश्मनलाई हराइएको उदाहरण दिने गरेका छन् ।

जित्नेले सबै लिने प्रणालीका बाबजुद यदि मस्कले विभिन्न राज्यहरूमा संघीय उम्मेदवार खडा गर्न चाहन्छन् वा भविष्यमा तेस्रो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउन चाहन्छन् भने उनलाई प्रत्येक राज्यका फरक मतपत्र नियमहरू पालना गर्नुपर्ने हुन्छ ।

राज्य र संघीय निर्वाचन आयोग (एफईसी) सँग नयाँ पार्टी दर्ताका लागि छुट्टाछुट्टै नियमहरू हुन्छन्। प्रायः यिनमा बसोबास प्रमाणपत्र र मतदाताबाट निवेदनमा हस्ताक्षर गराउनुपर्ने जस्ता सर्तहरू पर्छन् ।

ड्युक विश्वविद्यालयको सेनफोर्ड स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक म्याक म्याककोर्कलले यसअघि डेमोक्रेटिक पार्टीका सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन् ।

वासिङ्टन पोस्टसँगको कुराकानीमा प्रोफेसर म्याक म्याककोर्कलले यी नियमहरू निकै ठूलो चुनौती बन्न सक्ने बताएका छन् । यद्यपि, मस्कले आफ्नो अथाह सम्पत्तिको बलमा यी काम गर्न सक्छन् ।

एस्सेक्स विश्वविद्यालयको प्राध्यापक नताशा लिंडस्ट्याडले अलजजिरासँग कुराकानी गर्दै भनिन्, ‘मस्कसँग निश्चय नै यति धेरै आर्थिक शक्ति छ कि उनी रिपब्लिकन पार्टीलाई चुनौती दिन सक्ने तेस्रो पार्टी खडा गर्न सक्छन्, तर उनले यति ठूलो जोखिम उठाउँछन् कि उठाउँदैनन् भन्ने कुरा स्पष्ट छैन ।’

उनले थपिन्, ‘अमेरिकी मतदाताहरूमा नयाँ पार्टीप्रति निकै उत्सुकता देखिन्छ ।’

ट्रम्पको नयाँ कानुनले अमेरिकालाई केवल ब्याजमै सयौं अर्ब डलर खर्च गर्न बाध्य बनाउने उनी तर्क गर्छिन् ।

‘जसैजसै मानिसहरूले यो बुझ्दै जान्छन्, उनीहरूले केही नयाँ खोज्न थाल्नेछन् । परम्परागत पार्टीप्रति जनताको आक्रोश उच्चतम विन्दुमा छ र मस्कले सायद त्यसको फाइदा उठाउन सक्छन्,’ उनले भनिन् ।

दुईदलीय व्यवस्थाको अमेरिकी इतिहास

अमेरिकामा लामो समयदेखि दुई प्रमुख दल (रिपब्लिकन र डेमोक्र्याट) बाहेक अन्य राजनीतिक दलहरू पनि छन्, तर पछिल्ला वर्षहरूमा उनीहरूलाई राष्ट्रिय स्तरमा सीमित समर्थन मात्रै मिलेको छ ।

पछिल्लो पटक सन् १९६८ मा जर्ज वालेस नामक तेस्रो दलका उम्मेदवारले राष्ट्रपतीय चुनावमा इलेक्टोरल भोट प्राप्त गरेका थिए।

त्यतिबेला अमेरिकाका पाँच दक्षिणी राज्यहरूले जर्ज वालेसलाई मतदान गरेका थिए, जो अमेरिकन इन्डिपेन्डेन्ट पार्टीका उम्मेदवार थिए।

अर्बपति व्यवसायी रोस पेरोटले सन् १९९२ मा झण्डै १९ प्रतिशत लोकप्रिय मत पाएका थिए, तर उनलाई कुनै इलेक्टोरल कलेज भोट प्राप्त भएको थिएन ।

नोएल भन्छन्, ‘पेरोटले अचम्मको प्रदर्शन गरे… तर उनी कुनै पनि राज्यमा पहिलो नम्बरमा आएनन् । निर्वाचन प्रणाली यस्तो छ कि उनले केही गर्न पाएनन् ।’

सन् २००० को राष्ट्रपतीय चुनावी अभियानमा राल्फ नेडरको ग्रिन पार्टीको प्रभाव फ्लोरिडामा देखिएको थियो, तर उनले पनि कुनै इलेक्टोरल भोट प्राप्त गर्न सकेनन् ।

सन् १९१२ मा प्रोग्रेसिभ पार्टीका थियोडोर रुजवेल्टले २७.४ प्रतिशत लोकप्रिय भोट र ८८ इलेक्टोरल भोट प्राप्त गरेका थिए, जुन अमेरिकी इतिहासमा तेस्रो पार्टीको उत्कृष्ट प्रदर्शनमध्ये एक हो ।

तेस्रो पार्टीहरूले धेरै चुनावहरूमा मत विभाजन गर्दा मुख्य दलहरूलाई नाफा-घाटा भए ।

सन् १९२० पछि केही सीमित घटनामा मात्रै तेस्रो पार्टीहरूले राज्यमा जित हासिल गर्न सके ।

नयाँ पार्टीलाई चुनौतीका चाङ

अमेरिकामा नयाँ राजनीतिक दल बनाउने घोषणा सुन्दा जति सजिलो लाग्छ, वास्तवमा त्यो त्यति नै जटिल र लामो प्रक्रिया हो ।

मस्कको नयाँ पार्टी बनाउने घोषणासँगै फेरि प्रश्न उठेको छ- साँच्चै कुनै नयाँ दलले अमेरिकी राजनीतिमा जरा गाड्न सक्छ ?

नयाँ पार्टी बनाउन कुनै पनि नयाँ समूहले सबैभन्दा पहिले एउटा औपचारिक नाम तोक्नुपर्छ ।

त्यससँगै पार्टी घोषणापत्र र संगठनात्मक संरचना आवश्यक तय गर्नुपर्छ, जस्तै पार्टी अध्यक्ष, कोषाध्यक्ष र अन्य पदाधिकारीहरू । यो संरचना राज्य र राष्ट्रिय तहमा काम गर्नका लागि तयार गरिन्छ ।

यदि कुनै पनि पार्टीले अमेरिका भित्र राष्ट्रपति, सिनेट वा प्रतिनिधिसभा जस्ता संघीय चुनावहरू लड्न चाहन्छ भने उसले संघीय निर्वाचन आयोग (एफईसी)मा दर्ता हुनुपर्छ ।

त्यससँगै, पार्टीले चन्दा संकलन गर्न र खर्च गर्न पारदर्शी नियमहरू पालना गर्नुपर्छ ।

अमेरिकामा सबैभन्दा ठूलो चुनौती हुन्छ, ‘ब्यालेट एक्सेस’ अर्थात् मतपत्रमा पार्टीको नाम आउनु ।

यसका लागि प्रत्येक राज्यमा छुट्टाछुट्टै कानुनी प्रावधानहरू हुन्छन् ।

धेरै राज्यहरूमा हजारौं वैध नागरिकका हस्ताक्षर संकलन गर्नु अनिवार्य हुन्छ। केही राज्यहरूमा अघिल्लो चुनावमा तोकिएको प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने सर्त हुन्छ ।

पार्टी सञ्चालन गर्न, उम्मेदवार उठाउन र प्रचार अभियान चलाउन ठूलो धनराशिको आवश्यकता पर्छ। यसका लागि उसले निजी दाता र समर्थकहरूबाट चन्दा संकलन गर्नुपर्छ ।

साथसाथै, प्रचार खर्चको सीमा र पारदर्शिता कायम राख्न एफईसीका कडा नियमहरू पालना गर्नुपर्छ ।

त्यसका अतिरिक्त, राष्ट्रपतीय चुनावको क्रममा टेलिभिजनमा हुने राष्ट्रिय बहसहरूमा सहभागी हुनका लागि उम्मेदवारले १५ प्रतिशत राष्ट्रिय समर्थन (मत सर्वेक्षणको आधारमा) देखाउनुपर्ने हुन्छ ।

एलन मस्कसँग पैसाको कमी छैन, तर उनका लागि नयाँ पार्टी बनाएर चुनाव लड्नु सजिलो हुने छैन । -बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?