+
+
Shares

मेराविरुद्ध विद्या भण्डारीको नियोजित चर्चा चलाइएको छ : प्रधानमन्त्री ओली

‘नयाँ नाममा आएकाहरूको वास्तविकता खुलिसकेको छ’

‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ असार २० गते ६:५८
बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत । फोटो : प्रधानमन्त्री सचिवालय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।
  • प्रधानमन्त्री ओलीले नेपालमा राम्रो कामलाई रोक्ने प्रवृत्ति मौलाउँदै गएको पनि बताए ।
  • ‘नयाँ नाममा आएका शक्तिहरूको वास्तविकता जनतामाझ खुलिसकेको छ,’ उनले भने, ‘हल्ला र प्रचारले मात्रै राजनीति सम्भव छैन ।\'

२० असार, बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिबाट पार्टीभित्र गलत सन्देश दिन खोजिएको बताए ।

स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा भने, ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’

उनले नेकपा एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको दाबी गरे ।

‘देशबाट गरिबी हटाउनु छ, नेपाललाई आधुनिक र विकसित बनाउनु छ,’ उनले भने, ‘एमालेले विभिन्न उतारचढाव पार गरेको छ र अझ जिम्मेवार भएर अघि बढ्नेछ ।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र पनि विवादहरू रहेको जनाउँदै ती विषयको पनि समाधान आवश्यक रहेको धारणा राखे ।

नयाँ नाममा आएकाहरूको वास्तविकता खुलिसकेको छ’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत केही समूहले निराशा र भ्रम फैलाउने काम गरिरहेको बताए ।

उनले विदेशमा रहेका नेपालीहरूलाई यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै भने, ‘देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ । तपाईंहरू विदेशमा भए पनि मातृभूमिको समृद्धिमा जोडिनु पर्छ ।’

उनले पछिल्लो समय आफूलाई ‘नयाँ शक्ति’ भनेर चिनाउने केही समूहले सहकारीलगायत माध्यमबाट आर्थिक अनियमितता गरिसकेको आरोपसमेत लगाए ।

‘नयाँ नाममा आएका यस्ता शक्तिहरूको वास्तविकता जनतामाझ खुलिसकेको छ,’ उनले भने, ‘हल्ला र प्रचारले मात्रै राजनीति सम्भव छैन । जनताले विश्वास गर्ने आधार ठोस काम र स्पष्ट दृष्टिकोण हो ।’

राम्रो काम नहुने वातावरण बनाइँदैछ : ओली

प्रधानमन्त्री ओलीले नेपालमा राम्रो कामलाई रोक्ने प्रवृत्ति मौलाउँदै गएको पनि बताए । उनले सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णयसँग जोड्दै देशमा विकासका प्रयासहरूविरुद्ध निरन्तर अवरोध सिर्जना गरिएको बताए ।

‘नेपालमा अहिले एउटा माहोल बनेको छ,’ उनले भने, ‘हिजो सर्वोच्च अदालतले एउटा फैसला गर्यो । केही तत्वहरू जमेर उजुरी हाल्न थाले । उनीहरूको उद्देश्य के हो भने राम्रो काम हुन नदिने । मुद्दा हाल्ने, काम रोक्ने प्रवृत्तिले मुलुकको समग्र प्रगति अवरुद्ध बनाउने खतरा छ ।’

प्रधानमन्त्रीले विकास निर्माणका काममा समेत मुद्दा हाल्ने प्रवृत्तिले योजना ठप्प हुने स्थिति बनाएको बताए । ‘बाटो बनाउने काममा मुद्दा दर्ता भइहाल्छ,’ उनले भने, ‘यदि केही गल्ती भएको छ भने काम रोक्न आदेश आउँछ । तर फैसला आउन २–३ वर्ष लाग्छ । त्यो बेलासम्म न त मेसिन रहन्छ, न कामदार। यसले स्रोतको दुरुपयोग मात्रै होइन, कार्यान्वयन प्रक्रिया नै ठप्प बनाउँछ ।’

उनले कानुनी प्रक्रिया आवश्यक भए पनि त्यसलाई ‘काम रोक्ने हतियार’को रूपमा प्रयोग नगर्न आग्रह गरे ।

नेपालीलाई स्वदेश फर्कन आह्वान

उनले युरोपमा रहेका नेपालीहरूको सक्रियता, योगदान र मातृभूमिप्रतिको सम्बन्धलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर आफ्नो सीप, श्रम र पुँजी देशको विकासमा लगाउन आग्रह गरे । ‘देश तपाईंहरूको पर्खाइमा छ,’ उनले भने, ‘जे आर्जन गर्नु छ, गरेर चाँडै फर्किनुहोस् । सरकार सहकार्यका लागि तयार छ ।’

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?